“एक प्रहरी, एक थुनुवा पक्राउ अभियान” अभियान ल्याएका छौ : डिआईजी थपलिया

मधेस प्रदेश – फरार अभियुक्त तथा थुनुवा नियन्त्रणमा लिनका लागि मधेस प्रदेश प्रहरीले “एक प्रहरी, एक थुनुवा पक्राउ अभियान” माघ १ गते देखि सुरु गरेको छ। अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने र कानुन कार्यान्वयनलाई थप सशक्त बनाउने उद्देश्यसहित यो अभियान मधेस को जिल्ला भरी सञ्चालनमा ल्याइएको हो।

मधेस प्रदेश प्रहरी कार्यालयका नायब महानिरीक्षक गोबिन्द थपलियाका अनुसार अभियानअन्तर्गत प्रत्येक प्रहरी कर्मचारीलाई कम्तीमा एक जना फरार थुनुवा वा वाञ्छित अभियुक्त पक्राउ गर्ने जिम्मेवारी तोकिएको छ। यस अभियानले लामो समयदेखि फरार रहेका अभियुक्तलाई कानुनी दायरामा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नायब महानिरीक्षक थपलियाले अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन, सूचनाको आधारमा खोजी कार्य तीव्र पार्न तथा समुदायसँग समन्वय बढाउन अभियान उपयोगी हुने बताएका छन्। अभियान सञ्चालनपछि विभिन्न जिल्लाबाट फरार अभियुक्त पक्राउ पर्ने क्रम बढेको प्रहरीको दाबी छ।

सुरक्षा निकायका अनुसार अभियान नियमित अनुगमनमा रहनेछ र उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई पुरस्कृत गर्ने व्यवस्था पनि गरिनेछ।

मधेस प्रदेश प्रहरी कार्यलयका अनुसार अदालतबाट फैसला भइसकेका तर फरार रहेका थुनुवा, अनुसन्धानका क्रममा खोजीमा रहेका अभियुक्त तथा विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न अभियान केन्द्रित रहनेछ।

प्रहरी नायब महानिरीक्षक थपलियाले अभियानबारे जानकारी दिँदै भने, “अपराध अनुसन्धानलाई परिणाममुखी बनाउने, फरार अभियुक्तप्रति कडाइ गर्ने र कानुनको शासनलाई बलियो बनाउने हाम्रो उद्देश्य हो। यस अभियानले प्रहरीको सक्रियता बढाउनुका साथै जिम्मेवारीबोध पनि थप्नेछ।”

अभियान सञ्चालनपछि विभिन्न जिल्लामा खोजतलास तीव्र पारिएको छ। प्रहरीका अनुसार स्थानीय तह, जनप्रतिनिधि, समुदाय प्रहरी साझेदारी कार्यक्रम तथा गोप्य सूचनाको आधारमा फरार अभियुक्तको खोजी भइरहेको छ। प्रारम्भिक चरणमै विभिन्न मुद्दामा फरार रहेका थुनुवा पक्राउ पर्न थालेको प्रहरीले जनाएको छ।

सुरक्षा विज्ञहरूका अनुसार यस्तो अभियानले प्रहरी संगठनभित्र प्रतिस्पर्धात्मक कार्यसंस्कृति विकास गर्नुका साथै नागरिकमा सुरक्षा अनुभूति बढाउन सहयोग पुर्‍याउनेछ। उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार तथा प्रोत्साहनको व्यवस्था गरिनेछ भने लापरवाही देखिए कारबाहीसमेत गरिने बताइएको छ।

यसैबीच प्रहरीले आम नागरिकलाई पनि अपराध नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको छ। फरार अभियुक्तसम्बन्धी सूचना नजिकको प्रहरी कार्यालय वा उपलब्ध गराउन अनुरोध गरिएको छ।

मधेसप्रदेश प्रहरीले यो अभियानलाई केवल पक्राउ अभियानमा सीमित नराखी दीर्घकालीन अपराध नियन्त्रण रणनीतिको एक महत्वपूर्ण हिस्साका रूपमा अघि बढाउने जनाएको छ। अभियानले कानुनको कार्यान्वयन सुदृढ गर्दै समाजमा शान्ति, सुरक्षा र विश्वासको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु