पर्सा – पर्सा जिल्लाको ग्रामिण क्षेत्रमा पर्ने प्रसौनीभाठा नाकाबाट हुँदै आएको तस्करीको लाइन बन्द हुनुको सट्टा झन तस्करहरूको संख्यामा बढोतरी भएको स्थानीयहरूले दुखेसो पोखेका छन ।
जिल्ला प्रहरी कार्यलय पर्सा को को सीमावर्तीबाट हुने अवैध तस्करी नियन्त्रण गर्न असमर्थ भएको देखिएको छ। पर्सा जिल्लाका सीमावर्ती क्षेत्रबाट समेत तस्करी रोक्न प्रहरी असफल देखिएसँगै पर्सा जिल्लाका नाकाहरू तस्करको नियन्त्रणमा पुगेको विभिन्न घटनाक्रमले पुष्टि हुने गरेको छ।
दिनभरी सुनशान देखिने प्रसौनी नाका मात्र नभई रातिको समयमा तस्करहरूको लस्करै लाग्ने गरेको, स्थानीय बताउछन । स्थानीय प्रहरी प्रशासन माथिल्लो निकायसम्मको जिम्मा लिए पश्चात् तस्करी कार्य फस्टाएको बताइन्छ । विभिन्न मिडिया लगायत यस दैनिक पत्रीकाले समाचार प्रकाशित गर्नसाथ बन्द रहेको तस्करीको लाइन जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम शाखा अर्थात अपराध अनुसन्धान शाखाका कर्मचारीहरूको सहयोग र संरक्षणमा पुन: तस्करीको लाइन सुचारू भएको बताइएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा, अन्तर्गतका प्रहरी कार्यालयहरू समेत तथा वीरगंज क्षेत्रभित्रबाट गोदाम एवं गाडीबाट धमाधाम छापामारी गर्ने र तस्करी गरि ल्याइएका सामानहरू बरामद गरेपछि पर्साका विभिन्न नाकाहरूमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट समेतको संरक्षणमा तस्करी भैरहेको पुष्टि हुन्छ।
पछिल्लो पटक प्राप्त खबर अनुसार पर्साका केही नाकाहरूबाट अहिले तस्करी धन्दा शुरू हुन थालेको छ । बुडगाई, टिहुकी, ड्राइपोर्ट, अमरपटि, भिश्वा नाकाबाट तस्करी धन्दा शुरू भएको छ ।
बुडगाई र टिहुकीबाट भारतीय धान ठूलो मात्रामा तस्करी भई नेपाल भित्री रहेको छ भने सख्खरको तस्करी पनि भैरहेको छ ।बुडगाई र टिहुकी स्थित प्रहरी चौकीका असईहरूले तस्करीको लाइन दिएपछि यी नाकाहरूबाट धान र सख्खरको तस्करी धन्दा शुरू भएको हो ।
ड्राइपोर्टबाट पनि कपडाको तस्करी भैरहेको छ । यसैगरी भिश्वा नाकाबाट पनि तस्करी धन्दा चलेको छ । प्रहरी चौकीको पछाडि चमार गाउँ बाट २५ देखि ३० जना भरिया प्रयोग गरि क्यारिङ गर्ने गरेको समेत स्थानीयको भनाइ छ ।
भिस्वा, ड्राईपोर्ट, जानकीटोला, प्रसौनी, अमरपट्टी लगायतका नाकाबाट यतिखेर रांगा भैँसी, खाद्यान्न, काजु, मोटर पार्ट्स, कपड़ा लगायतको काम गरेवापत तस्करहरुले छुट्टै नजराना बुझाउने गरेकोले तस्करीको लाइन निर्वाध संचालनमा आएको बताइन्छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले सीमा नाका लगायत शान्ति सुरक्षामा कडाइ गर्न निर्देशन दिएपनी उहाँकै अपराध अनुसन्धान शाखाका कर्मचारीहरूको मिलोमतोमा तस्करी हुने गरेको पाइन्छ ।

त्यस्तै पर्साका अन्य केहि नाकाबाट पनि रक्सी, माछा, कबाड़, लागु औषध गाँजा, कपड़ा, मोटर पार्ट्स, किराना, हार्डवेयर, कम्प्यूटर पार्ट्स समेतको तस्करी भैरहेको खबरहरू निरन्तर प्रकाशन गर्दै जानेछौँ। तसर्थ : यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।



