बिरगन्ज – विगत चार दिनदेखि लगातार परेको शीतलहर र त्यससँगै बढेको चिसोले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ ।
बिहानदेखि लाग्ने हुस्सु र त्यससँगै चल्ने हावाले तापक्रमलाई १० देखि १२ डिग्रीमा झारेपछि जिल्लावासीको दैनिकी प्रभावित भएको हो ।
चिसो बढेपछि सोबाट जोगिन सर्वसाधारण आगो ताप्नाका साथै तातो चियाको चुस्कीले आफूलाई न्यायो पार्ने प्रयासमा लागेको देखिन्छन् ।
झन्डै पाँच दिन देखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित बनाएको छ ।दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हावाका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ।
दैनिक ज्यालादारी गरी परिवार पाल्नेलाई कठिनाइ भएको छ। बिहानको समयमा हुस्सुका कारण बाटोको पहिचान गर्नसमेत समस्या भएको छ। यातायातका साधन चलाउन कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ।
चिसो बढेसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या दोब्बरले वृद्धि भएको बुझिएको छ ।
बाक्लो हुस्सु कुहिरोका कारण तराईका अधिकान्स जिल्ला पर्सा, महोत्तरी, सप्तरी, बारा, रौतहट र धनुषामा दैनिक मजदूरी गरी जीवनयापन चलाउनेहरु समस्यामा परेका छन् ।


