झापा – करिव तीन महिनाअघि कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका प्रहरी निरीक्षक विजय चौहान प्रदेशकै उत्कृष्ट लागूऔषध अपराध अनुसन्धानकर्ताको रुपमा समेत पुरस्कृत भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत मेचीनगर– ७ काँकडभिट्टा निवासी प्रहरी निरीक्षक चौहानलाई उत्कृष्ट लागूऔषध अपराध अनुसन्धानकर्ताको रुपमा पुरस्कृत गरेको हो ।
७० औं प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय झापामा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको हस्ताक्षर भएको सम्मानपत्र प्रहरी उपरीक्षक राजन लिम्बूले चौहानलाई प्रदान गरेका थिए ।
प्रहरीको पेशागत मर्यादालाई कायम राख्दै आफ्नो जिम्मेवारी बहन गर्ने सन्दर्भमा कुशल व्यावसायिक क्षमता प्रदर्शन गरी लागूऔषध अपराध अनुसन्धानको क्षेत्रमा उल्लेखनीय कार्य गरेवापत् कदर स्वरुप “उत्कृष्ट लागूऔषध अपराध अनुसन्धानकर्ता” पुरस्कार प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ ।


