काठमाडौं – भदौ १८ गते देखि सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरिलाई नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ ।
बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरिले राष्ट्र र नागरिकको सेवाको खातिर नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने आफू मातहत सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारी आम नागरिकलाई न्याय र सुरक्षाको अनुभूति दिन र संगठनको हकहितका लागि केन्द्रित भई आफूले काम गरेको उहाँले उल्लेख गर्नुभयो ।
कानूनी शासनको प्रत्याभूति दिलाउने, मानव अधिकारको संरक्षण, सम्मान एवम् प्रवर्द्धन गर्ने, प्रमाणमुखी अनुसन्धानको साथै आम नागरिक र प्रहरीबीचको सम्बन्ध अझ सुदृढ बनाउन नेपाल प्रहरीको विधि र पद्धतिलाई अंगिकार गरेर सामूहिक भावना तथा भातृत्वभावका साथ जिम्मेवारी निर्वाह गरेको उहाँले बताउनुभयो ।
प्रहरी अतिरिक्त महानिरीक्षक गिरिले आगामी दिनमा समेत संगठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफू तयार रहेको र हरेक सेवा निबृत्त प्रहरी कर्मचारीले समेत नेपाल प्रहरी संगठनलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कर्मचारीहरुको कार्यक्षमता तथा कार्यकौशल अनुरुपको मूल्याङकन पद्धति संस्थागत गर्ने, सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने र संगठनका हरेक सदस्यहरुको संगठनप्रतिको अपनत्व र भातृत्वभाव बढाउन जोड दिएको बताउनुभयो ।
उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले विभिन्न आरोह अवरोहहरू पार गरी सफलतापूर्वक आफ्नो सेवा अवधि सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सेवा निवृत्त जीवन सुखद रहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो ।


