काठमाडौं – गृह मन्त्रालयले दुई जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ । गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई चितवनको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको हो ।
राजनीतिक र शान्ति-सुरक्षाका हिसाबले संवेदनशील मानिने चितवनमा पछिल्लो समय प्रजिअ नियुक्तिमा रस्साकस्सी थियो। गृह मन्त्रालयले आधा दर्जन बढी सहसचिवहरूमध्ये कार्यसम्पादनका आधारमा अर्याललाई जिम्मेवारी दिएको हो।
पर्साको प्रजिअबाट गृह मन्त्रालयमा सरुवा भएका अर्याल रुपन्देहीका सिडिओ हुँदा साउदी अरेबियामा मृत्युदण्ड पाएका नेपालीलाई ४७ लाख ब्लडमनी संकलन गरेर मृत्युदण्ड कार्यान्वयन हुनु ६ दिनअघि नेपाल फर्काएका थिए भने भैरहवा एयरपोर्टको सार्वजनिक जग्गा दर्ता प्रकरणमा संलग्न तत्कालीन मालपोत अधिकृतविरुद्ध कारबाही अघि बढाएका थिए। संविधानसभा सदस्यले चर्चेको सरकारी जग्गा फिर्ता ल्याउन आक्रामक प्रयासले स्थानीयस्तरमा वाहवाही कमाएका थिए ।
भारत-नेपाल सीमामा एकीकृत चेकजाँच प्रणाली लागू गरेका अर्यालले पर्सामा सिडिओ हुँदा शीतलहर पीडित ४८ सय घरपरिवारलाई एकद्वार प्रणालीमार्फत सहयोग पुर्याएर सरकारको तत्काल अनुभूति दिने खालका काम गरेका अर्यालले १८ वर्षपछि ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न गर्नेलगायतका कामले स्थानीयबाट प्रशंसा पाएका थिए।
झन्डै दुई सातादेखि रिक्त रहेको चितवनको सिडिओ पदमा अर्याललाई पठाइएको छ । अर्याल यसअघि पर्साका सिडिओ थिए । पर्साबाट उनको सरुवा गृह मन्त्रालयमा भएको थियो । पर्साबाट मन्त्रालयमा सरुवा भएका सहसचिव अर्याललाई चितवनमा खटाइएको छ ।
अर्यालको ठाउँमा पर्साको सिडिओका रूपमा तोय नारायण सुवेदी छन् । सुवेदी यसअघि पाल्पाका सिडिओ थिए । चितवनमा कार्यरत रहेका सिडिओ प्रकाश अर्यालको बारामा सरुवा गरिएको छ ।


