बिहानै करिब ७ बजेतिर एकजना शुभचिन्तक भाइले आज बाबुको Brithday हो, साझ ७ बजे …(फलानो)…. पार्टी प्यालेसमा आइदिनको लागि दाजुलाइ निमन्त्रणा गरे भन्दै फोनमा कुरा गरे । अनाबश्यक रुपमा अर्थात हैसियत भन्दा बढी फजुल खर्चगर्न लागेको देखेर उनलाइ सचेत गराउने आशयले घरमै जमघट राखेको भए पनि हुन्थ्यो नि भन्दै मैले सुझाब मिश्रित भनाइ राख्दा केही छैन दाइ, घरमा म्यानेज गर्न पनि झण्झटै हुने, त्यसैले बाबुको पहिलो जन्मदिन, अलि मन फुकाएरै, केक काटेरै गरि दिउ भन्ने लाग्यो, जसरी भएपनि भाउजुलाइ लिएर समयमै आइपुग्नु है भनेर कुरा सकाए ।
आजकल हप्तैपिच्छे जस्तो एउटा न एउटा उत्सबमा भाग लिनको लागि निमन्त्रणा आइरहेको हुन्छ । आजको हाम्रो नेपाली समाज तीव्ररुपमा आधुनिक सामाजिक रूपान्तरणको चरणमा अग्रसर छ । पौराणिक मूल्यमान्यता र संस्कारहरूमा आधुनिकता मिसिदै जाँदा केही कुराहरु सकारात्मक जस्ता देखिए पनि, धेरै कुराले मौलिक संस्कृतिमा गहिरो असर पारिरहेका छन् । यस्तै मध्येको अहिलेको चलनचल्तिमा देखिएको एक विषय जन्मोत्सव, बैबाहिक बर्षगाठ, बिबाह, पास्नी, बेबिसावर वा विभिन्न सफलताको नाममा रमाइलो उत्सवहरू आदि मनाउन केक काट्ने प्रचलन पनि एक हो ।
हाम्रो समाजमा पहिले पहिले जन्मोत्सव, न्वारान, पास्नी, बिहेको वर्षगाँठ, पदोन्नति वा अन्य शुभअवसरहरू आदिमा छरछिमेक इष्टमित्र साथिसंगती आदिलाइ बोलाइ गर्नुपर्ने कर्म, पुजा आदि गरिसकेपछि अग्रज ब्याक्तित्वको हातबाट टीका लगाइ आशीर्वाद लिदै मिठाई, फलफूल, दूध दही, सेलरोटी, रोटी-तरकारी, दही चिउरा जस्ता परिकारहरू ख्वाएर, खाएर भजन किर्तन गर्दै नाचगान गरेर रमाइलो तरिकाले मनाउने गरिथ्यो ।
क्रमश सबैबाट आशीर्वाद लिने र दिने संस्कार थियो तर आजको पुस्ताले यी मौलिक परम्पराहरूलाई बिर्सेर, पश्चिमी सभ्यताबाट आयातित केक काट्ने संस्कृतिलाई आत्मसात गरेको देखिन्छ । यसपाली केक नै काटेर जन्मदिन मनाउने बिचार गरियो भन्दै ठुलै चिज गर्न लागेको, गरेको जस्तो गरि बखान गर्दै निमन्त्रणा गर्नेको पनि कमि छैन हाम्रो समाजमा । कसैले भने सच्चा मनले नै बोलाएका पनि हुन्छन् ।
गाउघरको तुलनामा विशेष गरी शहरी क्षेत्रका परिवारहरूमा आजकल केक काटेर उत्सव मनाउनु देखासिकीको एउटा अनिवार्य सामाजिक चलन वा बाध्यता नै बनिसकेको अबस्था छ । जन्मदिन मनाउने नाउमा बच्चाका आमाबुबा र आफन्त हरूले पनि केक नकटाइ मनाइएको जन्मदिनलाइ अधुरो र अपुरो मान्न थालिसकेका छन, त्यसैले पनि केक काटनै पर्ने बाध्यता बनिरहेको छ । जन्मदिन मनाएका अरे, तर केक नै काटेनन बिचरा ! भनेर हेप्ने प्रवृत्ति पनि समाजमा शुरु भै सकेको छ । उत्सबहरुमा केक काटनुलाइ इज्जत मानप्रतिष्ठा संग जोडेर हेर्न थालिएको छ, जब कि केक आफैमा त्यस्तो कुनै शुभ, मुल्यवान वा इज्यतिलो बस्तु होइन ।
आजकल केक काट्नु भनेको ब्याक्तिको इज्जत, प्रतिष्ठा, आर्थिक हैसियत, आधुनिकता र सामाजिक मानसम्मानको सूचक जस्तो नै बन्ने गरेको छ । सामान्य रुपमा अष्टचिरञ्जिबिको पुजा गरेर घरमै आफन्तजन बोलाएर मनाउदा पनि हुने जन्मदिनलाई विभिन्न पार्टी प्यालेसमा महङ्गो सजावट र उत्कृष्ट मिठा मिठा परिकारका साथ मनाउने निर्णयले गर्दा अभिभावकको फजुल खर्च त बढछ ।
त्यसमाथी पनि अनेक चिन्ता थपिन्छन जस्तै कस्तो केक ल्याउने, कति तल्ले केक ल्याउने, कत्रो केक ल्याउने, मेनुमा के के राख्ने, को को लाई बोलाउने, ड्रीङ्समा के के राख्ने, कस्तो ड्रेस र गहना लगाएर जाने ? आदि इत्यादी । प्रसस्त धनसम्पत्ती, आम्दानी हुनेले मन खोलेर भब्य कार्यक्रम गरे भन्दैमा त्यसैको देखासिकी गरेर आफुले पनि सकि नसकी खर्च गर्न तम्सिनु उचित निर्णय हुँदै होइन ।
आजकल एउटै परिवारमा पनि वल्लो कोठाबाट पल्लो कोठामा रहेका परिवारकै सदस्यलाइ फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालहरूबाटै शुभकामना ब्यक्त गर्ने अचम्मको फेसन शुरु भएको छ । अझ जन्मदिनमा केक काटेका भिडिओ र फोटोहरू सामाजिक संजालमा पोष्ट अर्थात अपलोड गरिएन भने आफू पछि परेको वा आफ्नो प्रतिष्ठा घटेको महसुस गर्नेहरु पनि थुप्रै भेटिन्छन ।
यस्तो कार्य समाजलाई देखाउने अभिन्न अंङ्ग वा अनिवार्य प्रक्रिया जस्तै बनिसकेको छ । यस्तो प्रवृत्तिले देखावटी प्रतिस्पर्धालाई बढावा दिएको छ । फलानाको जन्मदिनमा पार्टी प्यालेसमै गएर पाँच तले केक काटे, हामीले पनि अब त्यही स्तरको गर्नुपर्छ, नत्र उ भन्दा हामी तल पर्छौ भन्ने सोचले अभिभावकको बजेटमा अनावश्यक बोझ पनि थपिरहेको छ ।
अधिकांश बजारमा पाइने केकहरूमा अण्डा, बटर, क्रीम, जेलाटिन, मादक पदार्थ जस्तै ब्रान्डी रम जिन, कृत्रिम रङ र स्वाद आदि मिसाइन्छ । यस्ता केक न बालबालिकाका लागि स्वास्थ्य वर्द्धक छन्, न त सात्विक भोजनप्रति श्रद्धा राख्नेका लागि उपयुक्त । हुन त अण्डा नराखी भेजिटेरियन केक पनि बनाउन सकिन्छ तर यस्तो कमै मात्र प्रयोगमा आउने गर्दछ ।
धार्मिक र सांस्कृतिक दृष्टिकोणले हेर्ने हो भने यस धर्तिमा मानबको रुपमा जन्मदिनु नै भगवानप्रति कृतज्ञता प्रकट गर्ने अवसर हो, जहाँ साधु, सन्त, गुरुजन वा बृद्धबृद्धाबाट आशीर्वाद लिने संस्कारले प्राथमिकता पाउनु पर्थ्यो तर अहिले त्यो स्थान एक बाक्लो क्रीम भएको केकले ओगटेको छ । मैले नबुझेको कुरा केक काट्दैमा हुने चाहिँ के हो र केक नकाटेमा बिग्रीने चाहिँ के हो ? के केक पबित्र चिज वा बस्तु हो ? के केक काटदा शुभ हुने हो ? सायद यसको उत्तर कसैसंग छैन वा भएपनी कमैले दिन सक्लान ।
ब्याक्तिगत रुपमा मलाइ सोध्नुहुन्छ भने जन्मदिन वा कुनै उत्सबमा यो केक काटने प्रचलन पटक्कै मन पर्दैन तर फेरि पनि बाध्याताले भनौ वा अरुको खुशियालिमा कुनै कमि नआओस भनेर सहभागी चाहिँ हुने गर्दछु । जन्मदिन मनाउदा कुनैपनि चिजबस्तुलाइ काटनु अर्थात चक्कु चलाएर टुक्रापार्नु, बालेका बत्तिहरु निभाउनु हाम्रो संस्कृती हुदै होइन ।
हामिले त जिवनमा थप सफलताको लागि भगवानको आराधना गर्दै बत्ती जलाउने हो, आफ्नो र अरुको जिवनमा उज्यालोको प्रकाश छर्ने प्रयास र आफुमा भएका खराब चरित्र, ब्याबहार हरुलाइ त्यागेर नैतिकवान बन्ने प्रण गर्नुपर्ने हो, असहायलाइ सकेको दान दिनुपर्ने हो कि ?
हामी हिन्दुधर्मालम्बिहरुले यस्ता उत्सबहरु मनाउदा हिन्दू वैदिक विधिबाट नवग्रहको आशिर्वाद प्राप्त गर्न “ॐ आदित्याय च सोमाय मङ्गलाय बुधाय च…” भन्दै मन्त्र जप गर्नु राम्रो हुन्छ । जन्मदिन मनाउदा सबभन्दा महत्वपूर्ण कुरा भनेकै भगवानको प्रार्थना गर्नु हो ।
“ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ॥” भन्दै यस प्रकारको मन्त्र उच्चारणले आयु, आरोग्यता र नकारात्मक शक्तिबाट सुरक्षा दिन्छ भन्ने बिर्सनै हुदैन तर अहिलेको केक संस्कृतिमा न त भगवानलाइ प्रसाद भोग लगाइन्छ, न त प्रार्थना नै गरिन्छ । अहिले त Happy birthday to you भनेर अंग्रेजीका दुई शब्द फलाक्दै ताली पिटेपछी, बलेका मैनबत्ती फुकेर निभाए पछि, रंगीचंगी बेलुन सजाएर पटका जस्ता झिरझिरे बालेपछी केकानै गर्यौ भन्दै आधुनिकताको हाहाहुहु कै आत्मरतिमा रमाउने गरिन्छ ।
हामीले हाम्रो संस्कृती र धार्मिक परंम्परालाइ किन छोडिरहेका छौ, किन बिर्सिरहेका छौ, किन अरुकै संस्कृतिको देखासिकी गरिरहेका छौ ? के केक काटनु हाम्रो संस्कृति र परंम्परा हो ? केक काट्ने प्रचलनले हाम्रोसंस्कार, हाम्रोधर्म, हाम्रो सामाजिक परिवेशसँग कतै मेल खान्छ ? हामिले हाम्रो आफ्नो इज्जत केक, केकको आकार, मूल्य वा डिजाइनमा खोज्ने हो कि हाम्रै इमान, भावना, सरलता, सहयोगीपन र सच्चाइमा ? यस्ता प्रश्नहरूमा अब हामीले हाम्रो समाज, परिवार र आफ्ना छोराछोरीहरुलाई सिकाउनुपर्ने बेला आएको छ । उनिहरुलाइ शिक्षा दिने स्कुलहरुले नै यस्ता बिषयमा सचेतना फैल्याउनु पर्नेमा उल्टै जन्मदिनमा केक काटने शब्दहरुलाइ ब्यक्त गरेर बिज्ञापन पो गरिरहेका हुन कि ?
जन्मदिन वा उत्सबहरु मनाउदा केक काट्नु आफैंमा गलत नै त होइन होला, उत्सवमा मिठास थप्ने माध्यम बन्नु स्वागतयोग्य कुरा पनि हुनसक्ला तर जबसम्म यसलाइ देखावटी सान, मान, प्रतिष्ठा र सामाजिक दबाबको रूपमा ग्रहण गरिन्छ, तबसम्म यसले हाम्रो संस्कार, धार्मिक परंम्परा, अर्थतन्त्र र पारिबारिक खर्चमा दीर्घकालीन असर पार्दै जाने निश्चित छ ।
हामीले हाम्रो संस्कृति बिर्सने होइन, समयानुकूल थप परिष्कृत गर्दै जानू पर्ने हो । बच्चालाई जन्मदिनको उपलक्ष्यमा सात्विक भोजन खुवाउँदै, मान्यजनबाट आशीर्वाद दिलाउँदै, सामाजिक सेवाका कार्यहरु गर्न सिकाउदै मनाउन पनि त सकिन्छ । साँचो इज्जत केकमा होइन, कर्ममा हुन्छ भनेर प्रेरित गर्न पनि त सकिन्छ हैन र ?
केक काट्ने प्रचलन पश्चिमा संस्कृती, ख्रिष्टियन समाज अर्थात ग्रीक, रोमनबाट नै सुरु भएको हो भन्न सकिन्छ । हुन त बाइवलमा कहि पनि यसलाइ अनिबार्य धार्मिक परंम्परा भनेर कतै उल्लेख गरिएको भने पाइदैन । त्यसैले यो केवल उनिहरुको उत्सब मनाउने सामाजिक परम्परा, तरिका र सभ्यता सबै हो भन्न सकियो ।
क्रमश मध्यकालीन समयमा जर्मनी हुदै १८ औँ शताब्दीपछि यो चलन युरोप, अमेरिकाबाट बिश्वभर व्यावसायिक र सांस्कृतिक रूपमा फैलिदै गएको हो । नेपालमा धेरैजसो मानिसहरू हिन्दू र थोरै मात्रामा कृश्चियन, बौद्ध, मुस्लिम लगायतका धर्म मान्नेहरु भए पनि आज सामाजिक उत्सवमा केक काट्ने प्रचलन लोकप्रिय र गैर्ह धार्मिक अभ्यास बनिसकेको छ । संस्कृति परिवर्तनशील हुन्छ भनिन्छ, सायद त्यसैले गर्दा होला हाम्रो देश र सबैजसो धर्ममा आज पश्चिमी संस्कृति हाबी हुँदै गैरहेको छ ।
पहिला पहिला नेपाली समाजमा कुनै खुसीयाली वा उत्सब मनाउदा परम्परागत रुपमा धार्मिक विधिबाट पुजाआज, मठमन्दिरको दर्शन गरेर मनाइन्थ्यो । जन्मदिनमा पनि अष्ट चिरन्जिबिको पुजा गरेर अक्षताको टीका लगाइ पञ्चामृत, मिठाई, फलफूल, सेल रोटी लगायतका परिकारहरु सबै जनालाइ खुवाइन्थ्यो ।
विवाहको पार्टिमा पनि टपरीमा दालभात, मांशहारीको लागि मासु, दहीचिउरा, चिउरा तरकारी, कसार, सेलरोटी, मिठाईका बिभिन्न परिकारहरू नै महत्वपूर्ण हुन्थे, केकको कुनै चलन नै थिएन । बिस्तारै अंग्रेजी शिक्षाको प्रभाब र बिदेश तथा काठमाडौबाट गाउ शहरमा फर्किएकाहरूले Birthday Cake भन्ने संस्कृति ल्याउन थालेका हुन । यसलाइ बिदेशी च्यानलका टेलिभिजनहरुले पनि थप मलजल गर्दै गए भन्न सकिन्छ ।
क्रमश होटल, बोर्डिङ स्कुल र केही सम्पन्न परिवारहरुमा केक काट्ने चलन बढदै जान थालेकै हो । प्रारम्भमा केकलाई विदेशी संस्कृति भनेर धेरैले अस्वीकार गरे पनि बालबालिकाहरुले रुचाउन थालेपछि विस्तारै सामाजिक स्वीकृति बढन थालेको हो । अहिले त कतिपयले सोशल मिडियामा आफ्नो तामझाम देखाउन फोटो भिडियो पोस्ट गर्नकै लागि भएपनी केक काटने अनौठो प्रचलनले प्रमुख फेसनकै रुप लिइसकेको छ ।
केक काटने प्रचलनले सबै जना एकै ठाउमा भेलाहुन पाउँदा गाउँ टोल छरछिमेकका मानिसहरू बिचको आत्मीयतामा एक आपसमा घनिष्टता आएको, सामूहिक उत्सवको माध्यम बनेको, बालबालिकाको आत्म विश्वास र खुशी बढेको, व्यवसायिक दृष्टिले बेकरी उद्योग फस्टाएको लगायतका केही सकारात्मक पक्षहरु पनि छन ।
तथापी यस्तो आयतित संस्कृति ले हाम्रो धार्मिक परम्परा ओझेलमा पर्न थालेको, समाजमा धनी र गरिबबर्ग बिचको दुरि थप फराकिलो हुँदै गएको, देखावटी र नक्कली आडम्वरीपनमा वृद्धि भएको चाहिँ पक्कै हो । नेपाली समाजमा केक काट्ने चलन विदेशी संस्कृतिबाट प्रभावित भए पनि, आज यसले नेपाली मौलिक उत्सवको एउटा नयाँ परिबर्तित अध्याय भने थपेको छ ।
धार्मिक, परम्परा र आधुनिक उत्सव सबैलाई सन्तुलनमा राखेर उत्सब मनाउन सकियो भने सामाजिक सौहार्दता र सांस्कृतिक विविधतामा समाज अझ समृद्ध हुँदै जान पनि सक्नेछ जसको लागि केक नै काटने हो भने पनि अण्डा रम रहित सात्विक केकको प्रयोग बढाउनु आबश्यक छ ।


