काठमाडौं – काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरीको उद्देश्य गाडी चालकलाई कारबाही गर्ने नभएको बताउनुहुन्छ । प्रमुख अधिकारीले ट्राफिक प्रहरीले गाडी चालकलाई जिम्मेवार बनाउनका लागि मात्रै कारबाही गर्नुपरेको धारणा राख्दै आउनु भएको छ । उहाँले अहिले ट्राफिक प्रहरीले कारबाहीलाई प्राथमिकतामा नराखेको उल्लेख गर्नुभयो ।
प्रमुख अधिकारीले ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिएर अहिले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बसेर गाडी चालकलाई कारबाही गरिरहेको उल्लेख गर्नुभयो ।
सडक लेनको कारबाहीमा परेका चालकले लिने कक्षालाई अनलाइन बनाउन लागिरहेको ट्राफिक प्रहरी प्रमुख अधिकारीको भनाइ छ ।
उपत्यकामा २१ लाख वटा मोटरसाइकल रहेको उल्लेख गर्नुभयो । सार्वजनिक गाडीले राम्रो सेवा दिन नसक्दा निजी गाडीको सङ्ख्या बढेको उहाँले बताउनुभयो । सरकारले विदेशको जस्तो सार्वजनिक गाडीको सुविधा खोज्ने तर पूर्वाधारमा कमजोरी भएको उल्लेख गर्नुभयो ।
विद्युतीय गाडीलाई यातायात व्यवसायीले स्वागत गरे पनि राज्यले विद्युतीय गाडीका लागि आवश्यक पूर्वाधारको विकास गर्न आवश्यक रहेको उहाँको भनाइ छ । ट्राफिक प्रहरीले सवारी चालक, यात्रु र पैदल यात्रीहरूलाई सहयात्रीका रूपमा हेर्नुपर्ने र ट्राफिक नियम पालनासँगै सुरक्षित यात्रामा सबैको सहयोग आवश्यक रहेको बताएको छ।
उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले सडकको धुलो, धुवाँ र जामबीच लामो समय ड्युटी गर्नुपर्ने बाध्यता रहेको अवस्थामा उनीहरूको मानसिक स्वास्थ्य र भौतिक थकानलाई सम्बोधन गर्न उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले रिफ्रेसमेन्ट कार्यक्रम पनि नयाँ ढंगले सुरुवाती गरेर चर्चा पाईरहेका छन। एसएसपी अधिकारीको पहलमा साप्ताहिक ‘हाइकिङ तथा मानसिक रिफ्रेसमेन्ट कार्यक्रम’ संचालनमा ल्याइएको हो। एसएसपी अधिकारीले भने, ‘बर्दीधारी ट्राफिक प्रहरी सडकमा सबैभन्दा जिम्मेवार र दृढ हुनुपर्छ। त्यसका लागि उनीहरूको स्वास्थ्य अवस्था राम्रो हुनु आवश्यक रहेको बताउनु हुन्छ ।’
कार्यक्रमले प्रहरीहरूमा कार्यउत्साह वृद्धि गर्ने, मानसिक दबाब घटाउने र सहकार्यको भावना बलियो बनाउने प्रहरी संगठनभित्र मात्र होइन, सर्वसाधारण नागरिकबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको देखिन्छ । नेतृत्व सम्हालेको छोटो अवधिमै एसएसपी अधिकारीले सुरु गरेको यो मानव केन्द्रित कार्यक्रमले उनको दुरदर्शी सोच, संगठनप्रतिको निष्ठा र जनमैत्री नेतृत्व क्षमतालाई प्रतिबिम्बित गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेको संख्या उल्लेख्य रूपमा घटेको छ। लामो प्रयास र प्रभावकारी कार्यक्रमका कारण दुर्घटनामा पनि केही हदसम्म कमी आएको देखिन्छ।


