मृतकको शव जलाउदा शिरलाइ कता फर्काउने ?

हिन्दु धर्मशास्त्र अनुसार मानिस जन्मेपछी मृत्युसम्मका हरेक कर्म र संस्कारका विधि प्रक्रिया प्रचलनहरु शास्त्रीय हिसाबले एउटै हुनुपर्ने हो तर ब्यावहारमा फरक फरक पाइन्छ । एउटै सस्कारको कार्यलाइ पनि एकठाउका एउटैबर्गका समुदायले एकथरी र अर्को ठाउका उहीँ बर्गका समुदायले अर्कै प्रक्रिया अपनाएर फरक फरक तरिकाले कार्य सम्पादन गरिरहेको देखिन्छ, चाहे त्यो न्वारन, बर्तबन्ध, बिबाह वा मृत्यु संस्कार पूरा गर्दा नै किन नहोस । किन यसरी फरक फरक संस्कार, विधि र पद्दती अपनाइयो होला भन्ने बारेमा हाम्रो चासो, कौतुहलता र खोजको बिषय रहनैपर्छ तर पनी परंम्परागत चलन र संस्कारलाइ फेर्नेहिम्मत हामिले किन गर्न सक्दैनौ कुन्नी ?

म गाउमा अर्थात स्याङ्जाको आधिखोलामा रहुन्जेल कसैको मृत्युमा मलाम जाने मौकै मिलेन । सायद म सानै भएको कारणले होला, स्वभाबिक रुपमा ठुलोदाजी नै मलाममा जानुहुन्थ्यो, जसले गर्दा मैले कसैको पनि मलाममा जानुपर्ने अबस्थै आएन । बुवा, हजुर बुवा, जिजुबुवाकै पालादेखिनै हाम्रो गाउठाउतिर कसैको मृत्यु भएमा लाशलाइ सदगदको लागि पर्बतको मादी र काली मिसिएको दोभान अर्थात मोदिमुनी लैजाने प्रचलन थियो । पछि गाउमा यातायातको सुबिधा पुगेपछी भने गाडिमै राखेर स्याङ्जाकै राम्दीघाट वा पोखराको सेतिघाटमा लगिन थालियो ।

अहिले भने बिगत ५ बर्षदेखी सरदर महिनामा एकजना कोहि न कोहि चिने जानेका, शुभचिन्तक, इष्टमित्र, आफन्त वा दाजुभाइहरुको मलाममा जाने गरेको छु । त्यसरी मलाममा जादा सदगदको क्रममा कसैले शबको शिरलाइ उत्तर दिशा तर्फ फर्काएर चितामा राखेको देख्छु भने कसैले दक्षिण शिर पारेर राखेका हुन्छन । धेरै पटक शबलाइ चितामा जलाउन राख्नु अघाडी शिरलाइ उत्तर पार्ने कि दक्षिण भनेर घाटमै मलामीहरु बिच तिब्र बहस, छलफल र बादबिबाद समेत भएको देखेसुनेको पनि छु ।

धेरैले गुरुजीले जे भन्नुहुन्छ त्यही गर्ने भनेर पंडितको रायलाइ मान्दछन भने कसैले आफ्नै चलन अनुसार उत्तर वा दक्षिण शिर पारेर चितामा सुताउछन, दागबत्ती दिन्छन । गजबको कुरा त के छ भने तिनै पंडितले पनि कसैको हकमा उत्तरतिर भनेर सल्लाह दिएको र अर्कोको हकमा दक्षिण भनेर भन्ने गरेको मैले भेटेको छु । मलामी मध्येकै कसैले उत्तर भनेमा पंडितले पनि उत्तर नै भनिदिन्छन भने दक्षिण भनेमा दक्षिण नै भनेर बोल्दिन्छन । खासमा शास्त्रीय प्रमाण र हिन्दु संस्कार अनुसार शबलाइ जलाउनको लागि चितामा राख्दा मृतकको शिर कता फर्काएर राखिनुपर्ने हो ? यस बारेमा म अझैसम्म पनि अलमलमै छु, फेरि पनि मलामी बनिरहेकै छु, लास जलाएर फर्किरहेकै छु ।

साच्चिकै मलाइ यस बिषयले मनमा अनेक द्विबिधा, चिन्ता र शंसयहरु उत्पन्न गराइरहेको छ । १३ दिने काजकिरिया गर्न आउने गुरु भनिने पंडितज्युहरुलाइ मैले मौका मिल्नासाथ सोध्ने पनि गरेको छु तर उहाहरुको कुनै एउटै राय बिचार वा भनाइ भने पाउदिन । कुनै कुनै पंडितले भने खुलेरै भन्नुहुन्छ कि खासमा हुनुपर्ने दक्षिण हो तर हामी धेरैको चली आएको चलन परंपरा अनुसार उत्तरतिर शिर पार्ने गरिन्छ, जतातिर फर्काए पनि खासै फरक पर्दैन ! यस्ता द्विअर्थी कुरा गर्ने पंडितहरुलाइ हामिले कसरी गुरु मान्ने होला ? यो यो कारणले उत्तर दक्षिण वा पुर्ब फर्काउनुपर्छ भनेर प्रष्टसंग किन भन्न नसक्ने ? त्यसैले कि त अहिलेका पंडित भन्नेहरुलाई यसबारेमा थाहै छैन, कि त उनिहरु बिबादमा परिन्छ कि भन्ने डरले सत्य बोल्न हिच्किचाइरहेको प्रष्टै बुझ्न सकिन्छ ।

मैले आफ्नो कौतुहलता मेटाउन गुरु, पंडित, गाउका पाका पुराना ब्याक्तित्वहरु, संस्कृत बुझेका जानेका बिद्वानहरु र अहिलेका मलामी जादा चिता बनाउन जान्ने कहलिएका जसले कसैसंग नसोधी आफैले उत्तर वा दक्षिण पारेर शबलाइ राख्ने युवाहरु समेतलाइ सोध्दै गए, सामाजिक संजाल मार्फत पनि धेरैको बिचार र चलन के छ भनेर बुझ्न खोजे तर पनि एकै प्रकारको जवाफ पाउन सकिन ।

तपाईं बिद्वान पाठकहरुको बिचारमा के यो सामान्य बिषय हो वा गम्भीर कुरा हो ? के भन्न चाहनु हुन्छ यस बारेमा ? हुनुपर्ने के हो ? कि जता फर्काएर अन्तेष्टी गरे पनि केही फरक नपर्ने हो ? कि यो खासै चिन्ता लिनुपर्ने बिषय नै हैन ? के यसमा बहस आबश्यक छ ? मलाइ यहाहरुको दृष्टिकोण बुझ्नु छ । सत्य के हो त्यसैको अनुशरण गर्नु गराउनु छ, त्यसैले यो प्रशंग आज उठाइरहेको छु ।

हिन्दू धर्ममा लास जलाउने प्रचलन गहिरो सांस्कृतिक र धार्मिक परम्परासँग जोडिएको बिषय हो भन्नेमा त दुई मत नहोला । शव दाहसंस्कारका बेला शास्त्रीय विधि अनुसार मृतकको शिर कुन दिशातर्फ फर्काउने भन्ने कुरा विशेष महत्वको विषय मानिनुपर्ने हो, किनभने पञ्चतत्व ले बनेको हाम्रो शरीर मृत्यु पश्चात् पञ्चतत्वमै गएर बिलिन हुने हो त्यसैले शरीरलाई पञ्चतत्वमा विलीन गराउने कर्म भनेकै पवित्र अन्तेष्टीको प्रक्रियालाई नै मान्नुपर्दछ । जलाउने क्रममा मृतकको शिर कुन दिशातर्फ फर्काइएर जलाइएको छ भन्ने कुराले मृतक आत्माको पछाडीको पुनर्जन्मको बाटो निर्धारणमा पनि सहायक भुमिका खेल्ने हुन्छ भनेर भन्न चाहिँ सकिन्छ ।

मैले सोधेका मध्ये अधिकांशले शबको शिर उत्तरतिर पार्नुपर्छ भन्ने जानकारी गराउनु भएको छ भने केहिले हाम्रो समाजमा त दक्षिणतर्फ फर्काउने चलन छ भनेर पनि भन्नू भएको छ । यहि नेर एउटैबर्गमा पनि समाजको चलन बिभाजित देखियो ।

धेरैको भनाइ के रहेको छ भने हामिले बाचुन्जेल कहिल्यै उत्तर सिरानी गरेर सुत्दैनौ तर मरेपछी जलाउनु अघाडी शिरलाइ उत्तर दिशातिरै पारेर टाउकोतर्फको भागबाट आगो दिनुपर्छ अर्थात शिर भनेकै उत्तर हो, त्यसैले जसरी नदि उत्तरबाट दक्षिण बगेको हुन्छ त्यसै गरि जलाउनेक्रममा पनि शिरलाइ उत्तर नै पार्नुपर्छ । कसैले मोक्षको पबित्र मन्दिर मुक्तिनाथ उत्तरतर्फ भएकोले शिरलाइ उत्तर फर्काउने चलन चलेको हो समेत भनेर भन्नुभयो ।

हाम्रो स्याङ्जाको गाउघर तिरको प्रचलनमा पनि शिरलाइ उत्तरतिरै फर्काउने गरिदो रहेछ । उत्तर दिशा पितृलोक र मोक्षको प्रतीक हो, दक्षिण यमको दिशा हो भने पुर्ब आध्यात्मिक ऊर्जा र प्रकाशको दिशा हो । जिबित रहदा उत्तर सिरान गरेर किन सुतिदैन भन्ने बारेमा धार्मिक भन्दा पनि उत्तरतिर चुम्बकिय शक्ति हुने, सुत्दा खेरी टाउकोमा रगतको भार बढी रहने र रगतमा प्रसस्त आइरन हुने हुदा शिरलाइ चुम्बकिय आकर्षकबाट बचाउन त्यसो गरिएको हो भन्ने बैज्ञानिक तर्कलाई समेत बिर्सनु हुदैन ।

मैले सोधेका मध्ये केहिले प्रष्टसंग सामान्य गृहस्थ ब्याक्तिको मृत्युभएमा मृतकको शिरलाइ दक्षिणतर्फ राखेर शरीरलाई उत्तरमुखी बनाएर दाहसंस्कार गर्नुपर्छ किनभने मृतकको शिर दक्षिण राख्नुको अर्थ यमराजतर्फ फर्किनु हो, जसले आत्माको यात्रा सुरु गराउने विश्वास गरिन्छ भनेर ठोकेरै भन्नू भएको छ । धर्मशास्त्रीहरुको मत अनुसार पनि “दक्षिण दिशं यमस्य लोकम् इति स्मृतिः।” अर्थात दक्षिण यमको दिशा हो भन्ने रहेको छ । सन्यासी, साधु, त्यागी र तपस्विको शिरलाई भने उत्तरतर्फ वा पूर्वतर्फ राख्नुपर्छ भनेर पनि भन्ने गरिएको पाइन्छ ।

मृत्यु र पितृकर्मका लागि हिन्दुधर्मको मूल ग्रन्थ मानिएको गरुड पुराण, प्रेतखण्ड, अध्याय १०.२० मा “दक्षिणे स्थापयेद् शिरः, यमस्य दिशि निश्चितम् । तस्मात् तत्रैव दग्धव्यं, यमराजानुशासनात्॥” अर्थात मृतकको शिर दक्षिण दिशातर्फ राख्नुपर्छ, किनभने त्यो यमको दिशा हो, त्यस दिशामै शवदाह गर्नुपर्छ भनेरै प्रष्ट लेखिएको पाइयो ।

त्यसै गरि फेरि गरुड पुराणकै प्रेतखण्ड अध्याय ४० मा “अग्निना दह्यते काया यत्र दक्षिणदीक्षितः। यत्र दक्षिणतो मुखं तत्रैव सन्ति पितरः।” भनेर भनियो अर्थात जब शरीर दक्षिणाभिमुख बनाई अग्निदान गरिन्छ, त्यही ठाउँमा पितृहरू बास गर्छन् । त्यसैले दक्षिण मुखी क्रिया आवश्यक छ भनेर यसैमा भनियो । शवदाह प्रक्रिया र विधिको बारेमा अग्नि पुराण, अध्याय १६२ मा “अथ प्रेतस्य दाहं तु कुर्याद् दक्षिणतो मुखम् ।

नाना विधेः क्रियायुक्तं, मन्त्रैः साङ्गोपाङ्गतः समम् ॥” अर्थात प्रेत (मृतक) को दाह दक्षिणमुखी राखेर गर्नुपर्छ, सम्पूर्ण विधि मन्त्रसहित नियम पूर्वक सम्पन्न गर्नुपर्छ भनियो । यहाँ दक्षिणमुखी भन्ने शब्दले शिर कता भन्ने प्रष्ट त भएन तर शिर उत्तर पार्दा मुख दक्षिण पर्छ भन्न खोजिएको हो वा शिर र मुख दुबै दक्षिण पार्नुपर्छ भन्न खोजिएको हो भन्नेमै बुझ्न अलमल हुने देखियो । मैले त झन पटक्कै बुझ्न सकिन, कसैले बुझ्नु भएको भए बुझाइदिन अनुरोध गर्दछु ।

त्यस्तै सामान्य गृहस्थ ब्याक्तिको दाह संस्कार गर्दा अपस्तम्ब गृह्यसूत्र २-१६-१ मा “दक्षिणेन शिरसा स्थापयेत्।” अर्थात मृतकको शिर दक्षिणतर्फ राख्नुपर्छ भनेर लेखिएको देखिन्छ भने सन्यासी, साधु, त्यागीको सन्दर्भमा योग याज्ञवल्क्यमा “उत्तराभिमुखं स्थापयेत् वैराग्यं यस्य जीविते।” अर्थात जसले जीवनमा वैराग्य धारण गरेका छन्, ती सन्यासीहरूको शिर उत्तरतर्फ राख्नुपर्छ भनेर भनियो भने विष्णु धर्मसूत्र २१-१-२ मा “दक्षिणतो मुखं मृतस्य स्थापयित्वा शिरसा हुतम्।” अर्थात मृतकको मुख दक्षिणतर्फ फर्काएर शिरबाट अग्नि दिनुपर्छ भनेर लेखिएको देखियो । यहाँ शिर दक्षिणतिर फर्काउनुपर्छ भनेर नलेखी मुख दक्षिणतर्फ फर्काउनुपर्छ भनेर लेखिदिनाले थप भद्रगोल अर्थ लगाइने गरिएको पो हो कि ? फेरि मनुस्मृति को ५-५९ मा “दक्षिणायां दिशि स्थाप्य मृतं सुदग्ध्वा विधिपूर्वकम्।”

अर्थात मृतकलाई दक्षिण दिशामा राखी विधि पूर्वक जलाउनु पर्छ भनियो । यस श्लोकबाट पनि शिर कता फर्काउने भनेर प्रष्ट हुन सकिएन, झन अन्यौल थपियो । अर्को कुरा सामान्य गृहस्थी, बालबालिका, स्त्री, अबिबाहित र साधुसन्यासी को हकमा पनि फरक फरक दिशातर्फ शिर पार्नुपर्छ भन्ने भावार्थ बुझियो अर्थात मृतकमा पनि वर्गीकरण गरेर सोही अनुसार फरक फरक दिशा पारेर दाह गर्नुपर्ने पो रहेछ कि ? तर हामिले सोलोडोलोमै सबैलाइ आफ्नो प्रचलन अनुसार नै उत्तर वा दक्षिण फर्काउने गरिरहेका छौ ।

यम स्मृति वा यम संहितामा “दाहकाले दक्षिणं गत्वा शिरसा स्थापयेत् ततः। पञ्चत्वं गतशरीरं अग्निसंयोगतः शुद्धये ।” अर्थात दाहकर्म गर्दा शिर दक्षिण दिशामा राख्नुपर्छ, किनभने त्यसो गर्दा शरीर पञ्चतत्वमा विलीन भएर शुद्ध हुन्छ भनेर प्रष्टैसंग लेखियो भने कात्यायन श्रौतसूत्रमा “प्राचीं दिशं सन्धाय पुरुषं दक्षिणेन शिरसा स्थापयेत् ।”

अर्थात पूर्व दिशातर्फ शवको पृष्ठभाग फर्काएर शिर दक्षिणतर्फ राख्नुपर्छ भनेर उल्लेख गरियो । यसैमा विशेष परिस्थितिहरूमा भिन्न नियम अंगाल्न सकिने जस्तो कि बालक वा अविवाहित व्यक्तिको हकमा कतिपय परम्परामा पूर्वतर्फ शिर राखिन्छ भनेर पनि स्विकार गरेको देखिन्छ ।

आजकलका पुरोहित पंडित वा गुरुहरुले काजकिरिया गराउदा ॠषिराम शर्मा घिमिरे को “अन्त्यकर्मपद्दती:” भन्ने पुस्तक बोकेर हिडेको पाइन्छ । उक्त पुस्तकमा शब जलाउदा चिताको शिर कता पार्ने ? भनेर विभिन्न ६ वटा बुदामा सारांशमा स्पष्ट रुपमा केही लेखिएको रहेछ ।

“सामेतरेषामुत्तरशिरस्त्वम” अर्थात सामबेदी बाहेकका सबै शबको शिर उत्तर हुन्छ । त्यसैमा अग्निहोत्री, ॠगबेदी र अथर्बेदीहरुको शिर दक्षिण, यजुर्बेदीहरुको शिर उत्तर हुने भए पनि अग्निहोत्री यजुर्बेदिहरुको शिर पुर्ब हुन्छ भनेर समेत लेखिएको रहेछ । अग्निहोत्री भन्नाले जसले दैनिक रुपमा अग्निस्थापना गरेर अग्निलाइ होमादी हविश्व चढाएर मात्र आफुले खानाखाने गर्दछन उनिहरुलाइ बुझिदो रहेछ ।

यसरी हेर्दा सामबेदीहरुले दक्षिण शिर पार्ने र यजुर्बेदी हरुले उत्तर शिर पार्ने पुरानै देखि चलीआएको प्रचलन रहेछ, जसलाइ पुरोहितहरुले अनुशरण गर्दै आएकोले हाम्रो पनि संस्कारनै बसेको हुनसक्ने देखियो ।

नेपालमा बसोबास गर्ने मध्ये अधिकांश शुक्लयजुर्बेदीहरु नै हुन त्यसैले उनिहरुको मृत्युमा शबको शिर उत्तर पार्नुपर्छ भने अग्निहोत्री यजुर्बेदीहरुको पुर्ब र कात्यायन मतानुयायी हरुको शिर दक्षिण पार्नुपर्ने देखियो । यस्ता कर्मकाण्डका पुस्तकहरुमा उल्लेखित कुराहरुलाइ हिन्दुशास्त्रका प्रमाणिक ग्रन्थ नै त मान्न सकिएला वा नसकिएला त्यो छुट्टै बहसको बिषय पनि बन्न सक्ला तर पनि अन्यथा प्रमाणित नहुदासम्म यिनैको आधारमा चल्नुको बिकल्प भने देखिन्न ।

” रात भरी रामायण पढायो, सीता कसकी जोई ” अर्थात हाम्रो समाजमा अबुझहरुलाइ भनिने गरेको एउटा उखान यहाँ नेर आफैले आफैमा लागू भएको सम्झिए मैले । लेख लेख्न शुरु गर्दा मृतकको शब जलाउदा शिरलाइ कुन दिशातर्फ फर्काउने भन्ने बिषयमा सबैलाइ प्रष्ट पार्छु भनेर लेख्न शुरु गरेको थिए तर लेख्दै, बुझ्दै, सोध्दै र एकापसमा बाझिएका शास्त्रीय श्लोकहरु र हाम्रो रिति रिवाज प्रचलनलाइ उदृत गर्दै जादा म आफै अलमलमा पो परे । नढाटी लेखु भने म अझै प्रष्ट हुन सकिन ।

शास्त्रीय हिसाबले मृतकको शिर दक्षिण फर्काउनुपर्ने जस्तो बुझियो तर सबैले आपनाउदै आएको प्रचलन उत्तर फर्काउने रहेको छ । अब के गर्ने ? यो अति महत्त्वपूर्ण तर अलि जेलिएको बिषय रहेछ, त्यसैले जानकार बिद्वानहरुले यस बारेमा सम्पुर्ण हिन्दुग्रन्थहरुको अध्यायन गरेर निचोड निकाली हामी जस्ता समाजका अज्ञानि तर शुद्धकर्म र संस्कार गर्न चाहने ब्याक्तिहरुलाइ मार्गनिर्देश गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु