आजकल फोटो, भिडियो र सेल्फी खिच्ने भनेपछी सबै जना हुरुक्कै हुन्छन, तछाड मछाड नै गर्दछन । एक्लै घरमा रहदा बस्दाहोस वा पारिवारिक, साथिसंगी, शुभचिन्तक, इष्टमित्रसंगको भेटमा होस ! घरबाट बाहिर घुम्न जादा होस वा कतै कुनै ब्यक्तिगत वा सामाजिक कार्यक्रमहरुमा भाग लिदा नै किन नहोस ! सबैले मोबाइल निकालेर फोटो खिचाउन, खिच्न थालिहाल्छन । के बृद्धबृद्धा, के युवायुवती वा बालबालिका, सबै जनाको मोह नै फोटो खिच्नुमा देखिन्छ । फोटोमा पनि अहिले सेल्फी खिच्नु झनै चलनचल्तिको फेसन बनेको छ ।
पाठकबृन्दहरु ! तपाइहरुले पहिलो फोटो कहिले खिच्नु भएको थियो र कसले खिचिदिएको थियो भन्ने सम्झना छ ? साच्चै कहिलेकाही पुराना दिनका यादहरुलाइ सम्झेर बस्नुको पनि बेग्लै आनन्द महसुस हुन्छ । मेरो कुरा सुन्नुहुन्छ भने सायद २०३८ सालमा बिद्यालयमा कक्षा ८ को फारम भर्नको लागि फोटो चाहिने भएकोले घरबाट स्याङ्जा बजार गएर फोटो खिचाएको स्मरण भने ताजै छ ।



त्यो बेला स्याङ्जा बजारमा लक्ष्मी फोटो र प्रबिण फोटो स्टुडियो भन्ने दुइवटा मात्रै फोटो खिच्ने ठाउँ थिए । बाबाका साख्यै भान्जा अर्थात नाताले हामिले बाहुनदाइ भनिने सतौका पद्य प्रसाद आचार्यका छोरा कृष्ण दाइले नै त्यो बेला लक्ष्मी फोटो स्टुडियोमा पहिलो पटक मेरो पासपोर्ट साइजको ब्ल्याक एण्ड ह्वाइट फोटो खिचिदिनु भएको थियो ।
अब आउनुहोस ! फोटो र फोटो खिच्ने क्यामेराको इतिहासको बारेमा केही चर्चा गरौँ । Joseph Nicephore Niepce ले इस्बि सम्बत १८२७ मा क्यामेराको प्रयोग गरेर पहिलो पटक फोटो खिचेका थिए जसलाई “View from the Window at Le Gras” भनिन्छ ।
त्यस बेला उनले फोटो खिच्न camera obscura प्रयोग गरेका थिए, जुन आधुनिक क्यामेराको प्रारम्भिक रूप हो तर यो obscura क्यामेरा उनले आफैंले बनाएका भने थिएनन । फोटो खिच्न त क्यामेरा चाहियो, त्यसो भए पहिला क्यामेरा कसले बनायो त ? भन्ने प्रश्नं यहानेर उठने देखियो । Camera obscura को अवधारणा प्राचीन ग्रीक र चिनियाँ विद्वानहरुले दिएका थिए भनिन्छ ।



अरस्तु र मो झी ले यसको सिद्धान्त प्राचीनकालमै व्याख्या गरेका थिए भन्ने इतिहासमा पढन पाइन्छ । ११औं शताब्दीमा Alhazen नाम गरेका अरबी वैज्ञानिकले पहिलोपटक यसको प्रयोग गरेर फोटो त खिचे तर स्थाइ रुपमा फोटो रहेन अर्थात बसेन । पछी Joseph ले क्यामेरा obscura मा bitumen coated metal plate राखे । त्यो क्यामेरा image project गर्नको लागि मात्र थियो, तर उनले त्यसमा रासायनिक तत्व प्रयोग गरी स्थायी फोटो रहने बनाए ।
आधुनिक फोटोग्रफिको विकास गर्नमा शुरुमा Joseph सँगै Louis Daguerre ले १८३९ मा daguerreotype विधि विकास गरे, जसलाई व्यावसायिक रुपमा फोटोग्राफीको सुरुवात मानिन्छ । धेरैपछि George Eastman ले १८८८ मा box टाइपको कोडाक क्यामेरा बजारमा ल्याए, जसलाई हामी आजको film camera को सुरुवात मान्छौ । यसले आम मानिसलाई फोटो खिच्न सजिलो बनायो । त्यस बेलाको फोटोग्राफी कालो-सेतो चित्रपट (film) मा आधारित थियो ।
१९०७ मा Lumiere brothers ले Autochrome विधि प्रयोग गरी रंगीन फोटो ल्याए भने १९३५ मा Kodak ले Kodachrome रंगीन फिल्म बजारमा ल्यायो । सन् १९७५ मा Kodak का इन्जिनियर Steven Sasson ले पहिलो डिजिटल क्यामेरा बनाए भने १९९० को दशकमा डिजिटल क्यामेरा तथा मोबाइल क्यामेरा विस्तारै लोकप्रिय हुँदै जान थाले ।
आजकल क्यामेरा लगायत मोबाइल, ड्रोन, सीसी टीभी, स्याटेलाइट र ए.आई. क्यामेराबाट फोटो खिच्न थालि सकिएको छ । तस्बिरहरू एआई, फेस रिकग्निशन, 3D स्क्यान र augmented reality सम्म पुगेका छन । अहिले त Facebook, Instagram, TikTok लगायतका धेरै सामाजिक संजालको कारण फोटोको महत्व झनै बढेर गएको पाइन्छ । यसरी हेर्दा फोटो र क्यामेराको बिकास भनेको कुनै एक व्यक्तिले एकाएक गरेका होइनन, यो त हजारौं वर्ष अगाडि देखिको धेरैको मेहनत थियो भन्न सकिन्छ ।
फोटो खिच्नु भनेको केवल क्यामेराको बटनलाइ क्लिक गर्नु मात्र होइन, त्यो त एउटा यस्तो कला हो जसले भाव, दृश्य र क्षणलाई समेटन सकोस । राम्रो फोटो खिच्नका लागि केही आधारभूत कुराहरु जान्नु आबश्यक हुन्छ । जस्तै लाइटिङ्गको सेटअप मिलाउनु, फ्रेमिङ कम्पोजिसन, ब्याकराउण्ड, मुख्य object माथी फोकस गर्नु, Angle र Perspective, लेन्स, Practice र Creativity, Rule of Thirds आदि इत्यादी । फोटो खिच्दा जहिले पनि फरक तरिकाले हेर्न सिकियो भने सामान्य दृश्य पनि अनौठो तरिकाले प्रस्तुत गर्न सकिन्छ रे !
अहिले त सबैका हातहातमा मोबाइल छन र आजकल धेरै जस्तो फोटाहरु मोबाइलबाटै खिचिन्छ । तपाइले मोबाइलबाट फोटो खिच्दै हुनुहुन्छ भने शुरुमा त Object मा ट्याप गरेर फोकस मिलाउनुहोस । यसले फोटो स्पष्ट बनाउँछ । त्यसपछी मोबाइल सेटिङमा गएर “Grid” अन गर्नुहोस, यसले Rule of Thirds मिलाउन सजिलो बनाउँछ । मोबाइलको लेन्स प्रायः फोहोर हुन्छ, त्यसलाई सफा गरेर मात्र फोटो खिच्नु उत्तिकै जरुरी हुन्छ । उज्यालो र अँध्यारो ठाउँ सँगै भएमा HDR मोडले ब्यालेन्स बनाउँछ भन्ने बिर्सनु हुदैन । मोबाइलबाट फोटो खिच्दा जुम गर्नु हुदैन, डिजिटल जुमले फोटो बिगार्ने हुदा बरु नजिक गएर खिच्न सकिन्छ । आबश्यकतानुसार Portrait र Night Mode को प्रयोग गर्न सक्नुहुनेछ । उदाहरणको लागि कम उज्यालोमा Night Mode उपयुक्त हुन्छ ।
क्यामेराबाट फोटो खिच्दै हुनुहुन्छ भने Aperture, Shutter Speed र ISO को सन्तुलन मिलाउनुपर्ने हुन्छ । Auto र Manual Mode को बारेमा पनि जानाकारी हुनु उत्तिकै जरुरी हुन्छ । स्थिरता आवश्यक परेको बेला tripod उपयोगी हुन्छ, विशेषगरी रातको फोटो वा group photo खिच्दा । यदि उपलब्ध छ भने JPEG भन्दा RAW format ले विस्तृत डाटा राख्छ, जुन एडिट गर्दा उपयोगी हुनसक्छ । फोटो खिच्दा जहिले पनि object को चाहना अर्थात Story सोचेर बुझेर फोटो खिच्ने प्रयास गरिनुपर्छ । अझ सबै भन्दा महत्त्वपूर्ण त Timing हुन्छ जसले सही क्षणमा क्लिक गर्न सक्छ ।
आजकल फोटो खिच्दा सेल्फी हान्ने प्रचलन त झनै बढेर गएको छ । सेल्फी खिच्ने भन्ने बित्तिकै मानिसले नया नया स्टायल निकाल्न शुरु गरिहाल्छन । मुख र ओठलाइ बंगुरको थुतुनो जस्तो लामो गोलो र चुच्चो पारेर उम्मा, उ …म्मा गर्दै लामो चुम्मा खादाको स्टायल निकालेर सेल्फी खिच्ने फेसन त हासै उठाउने खालको देखिन्छ । “सेल्फी” भनेको मोबाइल, क्यामेरा वा अन्य कुनै डिजिटल उपकरण प्रयोगबाट आफूले आफ्नै फोटो खिच्नु हो । “Self” (आफू) र “photograph” (फोटो) भन्ने शब्दको मिलनबाट बनेको यो शब्द आजको डिजिटल युगमा निकै चर्चित छ ।
सेल्फी पश्चिमा संस्कृतिकै एउटा हिस्सा हो । सेल्फीको फेसन लगभग सन् २०१० तिरबाट विशेष गरी स्मार्ट फोनमा अगाडिको क्यामेरा (front camera) विकास भएपछि धेरै लोकप्रिय भयो । सामाजिक सञ्जालहरु जस्तै फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट आदि प्लेटफर्महरूले पनि यसलाई भरपुर प्रवर्द्धन गरे ।
मानिसहरूले आफ्नो अनुहार, लुगा, मुड, यात्राको क्षण आदि देखाउने, साझा गर्ने माध्यमको रूपमा सेल्फीलाई प्रयोग गर्न थाले । सधै सबै ठाउमा आफ्नो इच्छा अनुसारको फोटो खिचिदिने मानिसहरु भेटिदैनन नै, त्यस्तो अबस्थामा वा कसैसंग भेट भएको बेला एउटा सेल्फी फोटो त हानी हालौ न भन्ने आशयले सबै जनाको सामुहिक फोटो आओस भन्नको लागि यो उपयुक्त माध्यायम पनि बन्यो ।
केहि व्यक्तिहरुले आफ्नो अनुहार वा मुड अनुसारको फोटो देखाएर पनि अरूसँग जोडिन चाहान्छन जसलाइ सेल्फिले मद्धत पुर्याउन सक्छ । सबैको हातहातमा स्मार्टफोन मोबाइल हुनुले पनि सेल्फिको लोकप्रीयता ह्वात्तै बढेको हो । सेलेब्रेटी र प्रभावशाली व्यक्तिहरूको साथमा फोटो खिच्ने सजिलो तरिका नै सेल्फी बनेको छ ।
त्यस्तो सेल्फी फोटोलाइ सामाजिक सञ्जालमा पोष्ट गर्दा धेरै लाइक,कमेन्ट, सेयर पाइने हुनाले पनि सेल्फिको प्रयोग बढ्दो छ । सेल्फी फेसन पनि समयअनुसार परिवर्तन हुँदैछ । अब त ग्रुप सेल्फी, मिरर सेल्फी, ड्रोन सेल्फी, फिल्टर सेल्फी आदि पनि प्रचलनमा आइसकेका छन । सेल्फीले आफ्नो लुगा, हेयरस्टाइल, मुड, भावना वा अवस्थालाई तुरुन्तै देखाउन मद्दत गर्छ ।
आजकल बजारमा पाइने स्मार्टफोनहरूमा उच्च गुणस्तरको फ्रन्ट क्यामेरा, ब्यूटी मोड, पोर्ट्रेट मोड जस्ता सुविधा भएको कारणले पनि सेल्फी खिच्न सजिलो र आकर्षक बनेको छ । आफ्नो फोटो आफैं खिच्न सकिने भएकाले पनि यो सहज र स्वतन्त्र माध्यम पनि बनेको छ भने सेल्फी स्टिक, रिङ लाइट, मोबाइल ट्राइपड जस्ता उपकरणहरूले यसलाइ झनै सजिलो बनाइदिएको छ ।
सेल्फी फेसनले समाजमा धेरैखाले सामाजिक, मनोवैज्ञानिक, र सांस्कृतिक प्रभाव पारेको छ । यस्ता प्रभावहरू सकारात्मक र नकारात्मक दुबै प्रकारका हुनसक्ने भए । धेरै व्यक्तिहरूले समाजमा अरुको अघाडी आफूलाई राम्रो देखाउने प्रयास गर्दछन जसमा सेल्फिले ब्यक्तिको आत्मविश्वास पनि बढाउदै लैजान सक्छ । साथीभाइ, परिवारसँग सेल्फी लिएर साझा गर्दा सम्बन्ध अझै नजिकिएको महसुस गर्न सकिन्छ ।
मान्छेहरूले आफ्नो जीवनशैली, दु:ख, सुख खुशी, रमाइलो, आदि मनोदशा र परिस्थितिलाइ खुला रूपमा सेल्फिकै माध्यायमद्वारा देखाउन सक्छन । सेल्फी आत्मचिन्तनको माध्याम पनि हो । म कसरी देखिन्छु, कस्तो देखिन्छु, के राम्रो छ, के सुधार गर्न सकिन्छ भन्ने सोच यसले ब्याक्तिमा पैदा गराउछ । नयाँ पोज, नयाँ फिल्टर, नयाँ एक्सप्रेसन खोज्नु सृजनात्मक अभ्यास पनि हो । परम्परागत पहिरन, पर्व, जात्रा आदि सेल्फीमार्फत देखाउँदा संस्कृतिको प्रवर्द्धन पनि भएको मान्न सकिन्छ
हुन त सेल्फी फोटोकै आधारमा उसको मनोभाबलाइ सुखदरुपमा नै बुझ्न भने सकिँदैन किन कि यसको बनावटको भाब नै नक्कली अर्थात देखावटी प्रकृतीको हुन्छ । झूटो जीवनशैली देखाएर अरूलाई प्रभावित गर्ने प्रवृत्ति यसमा लुकेको मानिन्छ । अत्याधिक सेल्फीले समुहमा रहदा बस्दा पनि आफूलाई मात्रै महत्व दिने प्रवृत्ति जन्माउन सक्छ । अरूको सुकिलो-मुकिलो, हासो-खुशी, रमाइलो जीवन देखेर आफू पछाडि परेको महसुस गर्नेहरुमा मानसिक समस्या आउन सक्छ । सेल्फी डिपेन्डेन्सी वा सेल्फी एडिक्शन अर्थात बारम्बार सेल्फी खिच्नेबानी मानसिक रोगको रूपमा पनि देखा परेको छ । आजकल गोप्य राखिनुपर्ने वा गोपनीयता मानिने कुराहरु पनि सेल्फीकै मार्फत सार्वजनिक हुन थालेका छन, जसले मानिसलाइ सामाजिक रुपमा थप पीडा सिर्जना गराइदिन सक्छ भने सांस्कृतिक लाज संकोचको भावनालाई पनि कमजोर पार्न सक्छ ।
सेल्फी खिच्ने भनेपछी हामिहरुले दायाबाया कतै केही नहेरी हतार गर्छौ, एकोहोरो बनिदिन्छौ । आजकलका युवायुवतीहरु सेल्फि खिच्नकै लागि अप्ठेरो र असुरक्षित ठाउमा पनि जोखिम मलेर जाने गरेको देखिन्छ, जुन सुरक्षाका हिसाबले सर्बथा गलत हो । सेल्फीकै चक्करमा अमुल्य जीवन गुमाउनु परेका थुप्रै घटनाहरु पनि सार्बजनिक भैरहेका छन । बिश्वमा मात्रै होइन कि नेपालमा समेत सेल्फी खिच्ने क्रममा भएका दुर्घटनाका घटनाहरु हामिले दिनहु जसो समाचारमा सुन्नु परेकै छ । सेल्फी खिच्नेक्रममा घटेका धेरै दुःखद घटनाहरूले समय मै सावधानी अपनाउनु आवश्यक छ भन्ने देखाउँछन ।
७ बर्ष अघाडी भारतका ४२ वर्षीय नागेन्द्र कुमार तिर्थयात्राको लागि मानसरोवर कैलाश जान भनी नेपाल आउदा सेल्फी खिच्ने क्रममा सिमिकोट बिमानस्थलमै हेलिकप्टरको पंखामा ठोक्किएर ज्यान गुमाएका भन्ने पनि सुनिएकै हो । २०७५ साल तिरै चितवनस्थित नारायणी नदीको सेल्फी रक मा सेल्फी खिच्ने क्रममै भारतको बिहारबाट आएका १७ वर्षीय मनीष साह चिप्लिएर नदीमा खसेर ज्यान गुमाउन पुगेका थिए ।
त्यस्तै २०७६ सालतिर होला, भक्तपुरकी १९ वर्षीया शर्मिला कर्माचार्यले तामाकोशी नदीको दृश्य कैद गर्न खोज्दा चिप्लिएर नदीमा खसेर ज्यान गुमाएकी थिइन । २०७९ चैत्रमा बागलुङकी १५ वर्षीया अप्सरा खातुनले नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल नजिक सेल्फी खिच्ने क्रममा चिप्लिएर खोंचमा खसेर ज्यान गुमाएकी भन्ने पनि सुनिएकै थियो । यी घटनाहरु त केही प्रतिनिधि उदाहरणहरु मात्रै हुन । माथी उल्लेखित घटनाहरूले सेल्फी खिच्ने क्रममा गरिने वा हुने सा-साना लापरवाहीले पनि गम्भीर दुर्घटना हुन सक्छ भन्ने प्रमाणित गर्दछन ।
त्यसैले सेल्फी खिच्दा सधै सजकता/साबधानी अपनाउनुहोस, सुरक्षित स्थान छान्नुहोस । हतार नगर्नुहोस, जोशमा होस नगुमाउनुहोस । आफ्नो सुरक्षालाइ पहिलो प्राथमिकतामा राख्नुहोस, खतरनाक स्थानहरूमा सेल्फी खिच्न जाँदै नजानुहोस । चलिरहेको सवारी साधन वरपर, जंगली वा घर पालुवा जनावरसंग, चिप्लिने ठाउँ, नदि किनार, तालतलैया, भिरपाखा, उचाइ वा गहिराइ लगायतमा सेल्फी खिच्दा विशेष ध्यान पुर्याउनुहोस भन्न चाहान्छु । सेल्फी फोटोको भरपुर आनन्द लिनुहोस फेरि पनि सुरक्षित भएर ।
फाइल तस्विर