“बिहानीको हिडाइ” कसैले गरे, गराएको आबिष्कार वा चलाएको प्रचलन हैन । यो त सनातन वैदिककाल देखि नै ऋषि मुनीहरूको बिहान चाँडै उठ्ने, स्नान गर्ने र जंगल वा नदी किनारमा ध्यान, प्राणायाम, योग आदि गर्ने दिनचर्याबाट शुरु भएको अभ्यास हो । उनीहरू बिहानी मा प्रकृतिमा हिड्ने रमाउने गर्थे, जुन आजको Morning walk को प्रारम्भिक रूप थियो भन्न सकिन्छ ।
बिहानै हिड्ने अभ्यास त मानव सभ्यताको आरम्भ देखिकै प्राकृतिक जीवनशैलीको एउटा हिस्सा हो । १८औं शताब्दीमा भएको युरोपको औद्योगिक क्रान्तिपछि मानिसहरूले शारीरिक परिश्रम कम गर्न थालेको देखेर चिकित्सकहरूले स्वास्थ्य बिग्रन नदिन उनिहरुलाइ बिहान एकछिन हिडने सल्लाह दिएपछि क्रमश मानिसहरुको स्वास्थप्रती सचेतना बढ्दै गएकोले युरोपबाट बेलायत र अमेरिका हुँदै अहिले बिश्वभरका मानिसहरु माझ यो लोकप्रीय बन्दै गैरहेको छ ।



आजकल मानिसहरुको स्वास्थप्रतिको सजगता बढ्दो छ । शहरबजारमा बसोबासगर्नेहरु मध्ये धेरै जसो बिहानै उठेर हिडने गरेको दृष्य तपाईं हामि सबैले देखे भोगेकै बिषय हो । युवायुवती देखि वृद्धबृद्धासम्म सबैजना बिहानको स्वच्छ अक्सिजनयुक्त हावा लिनकै लागि खुल्ला सडकहरुमा आफ्नै धुनमा, आफ्नै तालमा कोहि दौडिरहेका त कोहि हिडिरहेका भेटिन्छन ।
बिहानिको हिडाइलाइ धेरैले प्रचलित भाषामा Morning walk नै भन्ने गर्दछन । यसरी हिडदा सजिलोको लागी कसैले हाफपेन्ट र टिसर्ट लगाएर हिडेको देखिन्छ भने कसैले ट्र्याकसुट । कोहि महिलाहरुले कुर्था सलवार त कोहि पुरुषहरुले कुर्था पाइजामा लगाएर हिडेको चाहिँ फाट्टफुट्ट देखिन्छ भने पुरुषले सर्ट पाइन्ट लगाएर वा महिलाले साडीचोलो लगाएर हिडेको भने अपबादमा मात्रैदेखिन्छ ।
हरियाली बन जंगल नदि किनार वा तालतलैयाको बाटो हुदै बिहानीको स्वच्छ बाताबरणमा शीतल हावाको स्पर्श लिदै चराचुरुङ्गीको मीठो आवाज सुन्दै उदाउँदै गरेको सुनौलो सूर्यको रातोलाली लगायतको प्राकृतिक सौन्दर्य लाई नियाल्दै बिहानिको हिडाइ हिडदा साच्चिकै मन आनन्दित हुन्छ ।



हिजोका दुख कष्ट र तनाबलाइ बिर्सेर, आफ्नै परिबेशमा, कहिले मोबाइलमा समाचार वा संगित सुन्दै हिडदाको शान्ती र आनन्दको बयान गर्नै सकिन्न, केवल महसुस मात्र गर्नसकिन्छ । बिहानको हिडाइ केवल पैदल हिडने काम वा क्रिया मात्र होइन, यो त शरीर र मन दुबैको आरोग्यता तर्फको यात्रा आरम्भ हो ।
बिहानीको हिडाइले मस्तिष्क तथा शरीरलाई चुस्त, तन्द्रुस्त र मनलाइ शान्त राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ । नियमित हिडाइले हामिलाइ हृदय रोग, मधुमेह, रक्तचाप, मोटोपन जस्ता रोगहरूबाट जोगाउन मद्दत गर्दछ । बिहानको ताजा हावाले फोक्सो सफा गर्छ, रगतमा अक्सिजनको मात्रा बढाउँछ र शरीरमा ऊर्जा थप्छ । आजकलको भागदौडपूर्ण जीवनशैलीमा मानिसहरू तनाव, चिन्ता र मानसिक रोगका शिकार भइरहेका छन जसलाइ बिहानको हिडाइले केही हदसम्म आनन्दित तुल्याउछ, सकारात्मक सोचको विकास गराउछ । बिहान हिड्दा गाउ टोलछिमेकका मानिसहरू सँग भेटघाट हुने, हिडाइ पछिको चियागफको रमाइलो जमघटले साथिभाइ र समाजप्रतिको अपनत्व भावना पनि बढ्ने गर्दछ ।
प्रत्येक दिन बिहान समयमै उठेर हिड्न निस्कनु आफैँमा एक अनुशासनको, नियमितताको र आत्मशुद्धताको अभ्यास पनि हो । स्वास्थ्यप्रति सचेत रहनुहुने हरेक व्यक्तिका लागि बिहानको हिडाइ आफैमा एक अत्यन्तै उपयोगी निशुल्क औषधि हो भन्नेमा दुइमत नहोला ।बिहानीको हिडाइ कति बजे उठेर हिडनु राम्रो हो भन्ने बारेमा सबैका आआफ्नै सोच र धारणाहरु हुनसक्छन । कोहि बिहानै ३/४ बजे तिरै उठेर अध्यारैमा हिडन शुरु गरेका भेटिन्छन त कोहि मिर्मिरे उज्यालो भएपछी । कोहि सुर्य उदाए पछि हिडन निस्किन्छन त कोहि जति खेर समय मिल्यो, त्यतिबेलै हिडन निस्किन्छन ।
आयुर्बेदमा “ब्रह्मे मुहूर्ते उत्तिष्ठेत् स्वस्थो रक्षार्थमायुषः।” अर्थात दीर्घायु र स्वास्थ्यका लागि मानिसले ब्रह्ममुहूर्तमा उठ्नुपर्छ भनेर भनिएको छ । ब्रम्हमुहुर्त भन्नाले सुर्योदय हुनुभन्दा दुई ढाइ घण्टा अघाडी सम्मको समय भनेर बुझ्नुपर्ने हुन्छ । उठेर नित्यकर्म सकेपछि केहिबेर जप ध्यान योगा आदि गरेर मिर्मिरे उज्यालोमा बिहानिको हिडाइको लागि घरबाट निस्किनु राम्रो हुन्छ । अध्यारोमा हिडदा जंगली जनावर वा खराब प्रबृतीका मानिसहरुबाट असुरक्षित बन्न सकिन्छ भने दुर्घटनामा पर्ने सम्भावना पनि बढि हुन्छ ।
बयस्क मानिसलाइ दिनको ८ घण्टा र पाका उमेरकालाइ दिनको ६ घण्टाको निद्रा स्वास्थको लागि जरुरी मानिन्छ । बेलुका अबेरसम्म बस्ने अनि हिडनकै लागि राती राती उठदा निद्रा नपुगेर उक्त दिनभरी शरीर भारी हुनसक्छ, आलस्य बढछ र अनिद्राको कारण थप स्वास्थ समस्या पनि निम्तिन सक्छ ।
त्यसैले बेलुका कम्तिमा १० बज्नु अघाडी नै अनिबार्यरुपमा सुत्ने, बिहान ४ बजे उठेर नित्यकर्म पश्चात् एकछिन ध्यान योगा गरेर ५ बजेबाट हिडने बानिको बिकास गर्न सकियो भने स्वास्थ र दिर्घायु जिवनको अर्को कुनै निशुल्क औषधि छैन भन्ने बुझ्दा हुनेछ । बिहान जति धेरै, जति छिटो हिड्यो उति नै फाइदा हुन्छ भन्ने धेरैमा गलत बुझाइ पनि रहेको पाइन्छ तर यो सत्य होइन । एउटा स्वास्थ्य मानिसको लागि धुवा धुलो नभएको, फराकिलो हरियाली बाटोमा, मध्यम गतिमा ५/६ कि.मि. को दुरि एकघण्टामा हिडनु पर्याप्त हुन्छ ।
बिहान हिडनको लागि निस्किनु अघाडी दुइ गिलास मनतातो पानी र केही हल्का थोरै फलफुल खाएर निस्किनु स्वास्थको लागि आबश्यक मानिन्छ । उच्च रक्तचाप, सुगर वा दमका बिरामीले चिकित्सकको सल्लाहअनुसार मात्र हिडने गर्नुपर्दछ । त्यसरी हिडदा आबश्यक महसुस हुनेले पानीको बोत्तल पनि साथमै लिएर जानसकिन्छ ।
धेरै चिसो मौसममा वा हावाहुरि पानी आउने सम्भावना भएको अबस्थामा हिडन निस्किनु हुदैन । हिडेर आउदा पसिनै पसिना भएको अबस्थामा तत्कालै नुहाइहाल्नु वा पंखा एसि खोलेर शरिरलाइ कृतिम चिसो बनाइहाल्नु पनि हुदैन, एकछिन आराम गरेर मात्र पुन नुहाउन वा पखाल्न सकिन्छ ।
आजकल बेलुकाको हिडाइ अर्थात Evening walk को प्रचलन पनि खुबै बढेको देखिन्छ । मानिसहरूको व्यस्त जीवनशैलीको कारणले बिहान हिडने समय नमिल्ने अवस्थामा वा दिनभरको थकान र तनाबबाट मुक्तहुनको लागि बेलुकाको हिडाइ पनि लोकप्रिय बन्दै गैरहेको पाइन्छ । साँझको समयमा खाना खानुभन्दा पहिले वा खानापछी शरीरलाई शारीरिक र मानसिकरुपमा तन्दुरुस्त राख्नको लागि आधा घण्टा जति हिडनु स्वास्थको लागि लाभदायकै मानिन्छ ।
बिहानिको हिडाइले जस्तै बेलुकाको हिडाइले पनि मनलाइ आनन्दित, पाचन प्रणालिलाइ सकृय गराउदै ग्याष्ट्रीक, सुगर, प्रेसर, कोलस्ट्रोल, कब्जियत, मोटोपना घटाउन र मीठो निद्राको लागि मद्दत पुर्याउछ तर बेलुका खानाखाने बित्तिकै तुरुन्तै हिडनु भने हुदैन । बेलुका हिडदा जहिले पनि उज्यालो र मानिसहरुको आवत जावत भैरहने स्थानको छनौट गर्नु पर्दछ ।
अब लेखमा रहेको शिर्षकको अर्को पाटो तर्फ अघि बढौ । फूल एउटा शब्द मात्रै होइन, यो त स्नेह, माया, श्रद्धा, प्रेम, करुणा, सम्मान र सौन्दर्यको प्रतीक हो । प्रकृतिको यस अनुपम उपहारलाई हामी जन्मदिनमा, स्वागतमा, श्रद्धाञ्जलीमा, पुजामा, विवाहमा, मन्दिर आदिमा चढाउँछौ । फूल आफैमा मौन देखिएपनि यसको सुगन्ध ले, सौन्दर्यताले केही बोलिरहेको जस्तो आभाष दिन्छ ।
यसले न त कसैसंग कुराकानी गर्छ, न कसैको विरोध जनाउँछ, न त कसैको केही बिगारेको नै हुन्छ तर फेरि पनि मानिसहरू यसलाई निर्दयी भएर टिप्छन, लुट्छन, चोर्छन, भाच्छन । भनिन्छ चुडिनु अघिसम्म पनि फूललाइ आफू श्रद्धाञ्जलीको लागि लाश माथी पुग्छु कि मन्दिरमा चढछु वा कसैको स्वागतको लागि घाटिमा पहिरिन्छु कि, प्रेमको प्रतीक बन्छु भन्ने थाहै हुदैन रे !
म पनि जागर चल्दा प्रायजसो बिहानीको हिडाइमा निस्किने गर्दछु । मर्निङ्गवाकमा हिडनेहरुले घरकम्पाउण्ड वा घरआगन भित्रको फूल पनि चोरेर हैरानै पारे भन्ने धेरै चिनेजानेका मानिसहरुले सधै एउटै गुनासो मेरो अघाडी पोख्नुहुन्छ । लौन न सर यसबारे केही लेखिदिनुहोस भनेर बारम्बार अनुरोधै गर्नुहुन्छ ।
यस्तो बिषयमा पनि लेख बन्छ र ? मैले आफैले आफैलाइ प्रश्न गर्दछु । दैनिक जसो उहाहरुले मलाइ फूल चोर्नेहरुको बारेमा अझै लेख आएन नि भनेर भन्नू भएकोले आज लेख्न तम्सिएको हु । हुन त दुइचार थुङ्गा फूल चोर्नुलाइ कानुनीरुपमा कुनै अपराधै मानिने चोरी गरेको त ठानिदैन तर पनि मानिस को लोभीप्रबृती, नियत र चरित्रलाई यसले पक्कै उजागर गरेकै हुन्छ । यस्तो प्रकारको चोरी हामी गाउमा हुदा तिहारे औशीको अघिल्लो दिन भोग्ने गरेका हुन्थ्यौ तर शहर बजारतिर त दैनिक जसो हुने गर्दोरहेछ । यो समस्या चितवनमा लंकुतिरको मात्रै हो कि भन्ने सोचेको त बुझ्दै जादा सबै क्षेत्र र नेपालैभरिका बजारका बस्तिहरुको सामुहिक पीडा पो रहेछ ।
गाउघरतिर प्रसस्तै खुल्ला जमिन हुन्थे तर शहरमा जग्गाको खण्डिकरण हुँदै सासाना टुक्रे घडेरीमा घर बनाएर बसोबास गर्नथाले पछि खाली जमिनको अभाबले फुल रोप्ने ठाउँ समेत बाकी रहेनन । फेरि पनि भगवानलाइ पुजा गर्दा फुल चढाउने संस्कारको पालना पनि गर्नै छ तर आफ्नोमा फुल छैन, किनिहाल्ने पसल पनि नजिक छैनन वा हरेक दिन फूल किनिरहन पनि सम्भब नहोला । यहि कारणले होला बिहानको हिडाइमा निस्किने अधिकांश महिलाबर्गहरुले अपबादमा पुरुषले समेत हातमा सानो प्लाष्टिकको झोलाबोकेर फुल पनि टिप्दै हिडने गरेको देखिन्छ, भेटिन्छ ।
हाम्रै मेडमले पनि कहिलेकाही घरमै प्रशस्त फूल हुदाहुदै पनि बिहानिको हिडाइमा सार्वजनिक स्थल र बाटोमा भेटिएका रंगीचंगी फूलहरु टिपेर पुजाको लागि ल्याउने गरेकी हुन्छिन । सार्बजनिक स्थलमा आफै उम्रीएका, झाडी बनेका स्थानका फुलहरु टिपेर भगवानलाइ रंगिबिरंङ्गी फूलका थुङ्गाहरु चढाउनु वा आफ्नो काम चलाउनु आफैमा नराम्रो नहोला तर ब्याक्तिको घर कम्पाउण्ड आगनभित्र पसेर अरुले सजावटको लागि हुर्काएका फुलहरु टिप्नु वा चोर्नु भनेको सामाजिक अपराध र बिकृती नै हो ।
जसको घरमा आफ्नै दुइचार फूलका थुङ्गा पनि छैनन उनैलाइ पुजागर्न चोरेरै भएपनी झनधेरै फूल चाहिने किन होलाकुन्नी ? यसरी फूल चोर्दै हिडनेले दैनिकजसो एक झोला टिपेर ल्याएको देखिन्छ । के गर्ने होलान त्यतिका धेरै फूल ! यस्ता फूलहरू कसैको बगैँचामा वा घरआगन कम्पाउण्डमा निकै कष्ट र खर्च गरेर हुर्काइएका हुन्छन ।
आफ्नो घरमा फुलबारी बनाइ ढकमक्क फुल फुलाउने धेरैको शोख पनि हुन्छ । त्यसमा कुनै वृद्धआमाको माया मिसिएको हुन्छ, कुनै बाबुको मेहनत परेको हुन्छ, कुनै छोराछोरीको पौरख मिसिएको हुनसक्छ तर दुखको कुरा बिहान हिडन निस्किएका केही व्यक्तिहरूले यिनै फूलहरू चोरेर भगवानलाइ चढाइ खुशी बनाउने सोच्छन तर संस्कार भने तल्लोस्तरको देखाउछन । कसैको मेहनतको उपज चोरेर चढाइएको फुलबाट के भगवान खुशी हुनु होला त ? यो गम्भीर प्रश्न हो ।
भागवानले जहिले पनि भक्तले आफ्नो पुजा गर्दाको श्रद्धा, निष्ठा, भावना, एकाग्रता, नियत, शुद्धता, चरित्र, सामार्थ्य, नैतिकता र इमान्दारीता लगायतको पनि मुल्यांकन गर्नुहुन्छ । नैतिक मूल्य मान्यताहरू पनि पूजा र भक्ति जीवनका आधारहरु हुन । आउनुहोस ! यस बिषयमा श्रीमद्भगवद्गीतामा के भनिएको छ भन्ने बारेमा तलको श्लोकलाई मनन गरौ –
पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति।
तदहं भक्त्युपहृतम् अश्नामि प्रयतात्मनः॥
( श्रीमद्भगवद्गीता ९-२६ )
अर्थात जो श्रद्धा र प्रेमपूर्वक पत्र (पात), पुष्प (फूल), फल, वा पानी चढाउँछ, म त्यस्तो भक्तले चढाएको कुरा स्वीकार गर्छु । यहाँ श्रद्धा र शुद्ध मनलाइ प्रमुख कुरा मानिएको छ, त्यसैले चोरी र अधर्म गरेर ल्याइएको वा कमाइएको बहुमुल्य बस्तु वा फूल चढाएर भगवान कहिल्यै खुशी हुनु हुने छैन ।
यसबारे गरुड़ पुराणमा थप स्पष्ट संग भनिएको छ कि –
“अन्यस्य चौर्येण समर्पितं यत्,न तत् प्रसीदत्युरुगाय यस्मै”। अर्थात अरूको चोरी गरेर चढाइएको वस्तु भगवानले स्वीकार गर्नुहुन्न । चोरी गरेर चढाइएको फूल मात्रै होइन कि कुनैपनी बस्तु भगवानलाई मन पर्दैन । अरूको बगैचाबाट अनुमति बिनै अर्थात चोरी गरेर चढाइएको फूलले तपाईको भक्ति शून्य नै हुन सक्छ । इमानदारीपूर्वक, कसैको हक नलाग्ने, कसैले स्वेच्छाले दिएको, जंगल बाटो वा सार्वजनिक ठाउँको फूल भने टिपेर चढाउन सकिन्छ ।
अयुक्तं चाप्यदत्तं च हृतं च स्तेनकर्मजम्।
नैव दद्याद्विजातिभ्यो विसृजेद्वा कथञ्चन॥
( मनुस्मृति ३-११७ )
अर्थात जुन वस्तु असंगत, अनधिकृत, वा चोरी गरेर प्राप्त गरिएको हो, त्यसलाई ब्राह्मण वा देवताहरूलाई दान गर्नु हुँदैन, पूजा गर्नु हुँदैन ।
हृतं दत्तं प्रयच्छेत् तं न विन्दति वै शुभम्।
अधर्मेण कृतं दानं तस्मान्न प्रीयते हरिः॥
(स्कन्द पुराण)
अर्थात चोरी गरेर वा अधर्मपूर्वक दिइएको वस्तुबाट प्राप्त पुण्य पनि प्राप्त हुँदैन । अधर्मबाट गरिएको दान वा अर्पणले भगवान् हरि प्रसन्न हुनुहुन्न । हिन्दु धर्मग्रन्थहरुमा यस्ता थुप्रै शास्त्रीय प्रमाणहरु दिइएका छन, त्यसैले आजैबाट चोरी गरिएको फूल वा बस्तु भगवानलाइ अर्पण नगर्नुहोला भन्न चाहान्छु ।
अन्त्यमा बिहानी वा साझको हिडाइ स्वास्थको लागि अत्यान्तै लाभदायक छ तर यसरी हिडने क्रममा भगवानलाइ चढाउन को लागि भन्दै अरुको बगैँचा वा घर कम्पाउण्ड भित्रको फूल कहिल्यै टिपेर, चुडेर नल्याउ । शुद्ध मनले भगवानको श्रद्धा, भक्ती र पुजा गर्नुहुन्छ भने कुनै चिजबस्तु चढाउनु वा नचढाउनुले तपाइको भक्तिमा कुनै कमि हुदैन र भगवानले पनि तपाइलाइ आशिर्वाद अर्थात बरदान दिनमा कुनै कञ्जुस्याइ पटक्कै गर्नुहुने छैन । शुद्ध मनले मात्र हरियो पात र जलमात्रै चढाउनु हुन्छ भने पनि भगवान प्रशन्न हुनुहुनेछ ।