काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद् बैठक बस्ने भएको छ । असार ६ र ७ गते ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा बैठक बस्न लागेको जसपाका नेता दुर्गा सुवेदीले बताए ।
पार्टी पुनर्गठनपछिको यो पहिलो सङ्घीय परिषद् बैठक हो । सङ्घीय परिषद् पार्टीको नीति निर्माण गर्ने मुख्य अङ्ग भएकाले यस बैठकलाई विशेष महत्त्वका साथ हेरिएको उनले बताए ।



बैठकमा सङ्घीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीको नीति, सिद्धान्त र विचारसम्बन्धी प्रस्ताव पेस गर्नेछन् भने उपाध्यक्ष रणध्वज लिम्बूले पार्टी विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ ।
बैठकमा देशभरका विभिन्न प्रदेश, जिल्ला र क्षेत्रीय तहबाट निर्वाचित गरी पठाइएका ४१३ जना प्रतिनिधिको सहभागिता रहने पार्टीका केन्द्रीय सदस्य अर्जुन लम्सालले जानकारी दिए । बैठकले पार्टीको भावी दिशा, राजनीतिक एजेन्डा र साङ्गठनिक पुनर्ताजगीका विषयमा महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।