गैँडाकोट – उपन्यास ‘धीमहि’ लिएर साहित्य क्षेत्रमा प्रवेश गरेका लेखक जयराम तिमल्सिनाले शुक्रबार साँझ पाठकको अदालतमा उभिएर बहसको सामना गरे । अक्षर समूह चितवनले गैँडाकोटमा आयोजना गरेको कार्यक्रममा लेखक तिमल्सिनालाई पाठकको अदालतमा उभ्याइएको हो ।
अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले स्वागत मन्तव्य राखेपछि कार्यक्रमलाई संवादका रूपमा अगाडि बढाइएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार एलबी क्षेत्री न्यायाधीशको रूपमा उपस्थित थिए । समालोचक रमेश प्रभात सहजकर्ता रहेको कार्यक्रममा साहित्यकारद्वय लक्ष्मी बराल र सूर्यप्रकाश कँडेल वक्ताको भूमिकामा थिए ।



वक्ता कँडेलले आध्यात्मिकपन दिने कृतिमा पात्रविन्यास मिलेको बताए । परिवेशले नभइ पात्रले कथा भनिरहेको पक्ष अलि कमजोर रहेको उनको भनाइ थियो। कृतिमा स्थान र परिवेश प्रस्ट खुल्न नसकेको पनि उनले बताए ।
प्राचीन समयको तथा सय वर्ष अगाडिका मिथकहरुलाई तथ्यको रुपमा लेख्न नसकिने तर आख्यानीकरण गर्न सकिने लेखक तिमल्सिनाले बताए । आफूले सोही प्रकृतिको आख्यानको कल्पना गरेको पनि उनले बताए । उपन्यासमा आफूले भोगेका बाल्यकालका घटना समेत जोडिएको उनको भनाइ थियो ।
अर्की वक्ता बरालले कृतिमा महिला पात्रलाई न्याय दिलाइएको तर पुरुष पात्रले त्यति नपाएको बताइन् ।



विमर्शको अन्त्यमा न्यायाधीशको भूमिकामा रहेका साहित्यकार क्षेत्रीले उपन्यासको पात्र दीपेन्द्रले गरेको आत्महत्याको विषय नखुलेको बताए । यस्तै सुयोग र दीपेन्द्र विशेष पात्रको रुपमा रहेका बताए । धीमहि कृति ध्यान र समर्पणमा पुगेर टुङ्गिएको उनको भनाइ थियो । लेखनमा कृतिकारका केही कमजोरी पनि औंल्याएका थिए । देशमा शान्ति हराएको समयमा तिमल्सिनाले एउटा गहन उपन्यास ल्याएको भन्दै उनी सफल भएको प्रस्ट पारे ।
पाठकका तर्फबाट सामना पहाड र मधुसूदन दवाडीले धीमहिका बारेमा प्रतिक्रिया राखेका थिए ।