प्रधानको स्मृतिमा परिवारजनबाट विद्यालयमा ट्यांकीसहित पानीका धारा निर्माण

चितवन – लायन्स क्लब अफ नारायणगढ संगमचोकका संस्थापक सदस्य एवं पूर्वअध्यक्ष स्वर्गीय शिवकुमार प्रधानको स्मृतिमा उनका परिवारजनले नारायणगढमा रहेको बालकुमारी कन्या मावि परिसरमा प्राकृतिकरुपमा पानी शुद्धिकरण हुने प्रविधिसहितको पानीट्यांकी र धाराहरु निर्माण गरिदिएका छन् । प्राकृतिकरुपमा पानी शुद्धिकरण हुने प्रविधिसहितको पानीट्यांकी र धाराहरु शुक्रबार एक समारोहबिच समुद्घाटन एवं हस्तान्तरण गरिएको छ ।

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको पिडिजी स्पाउस फोरमले बालकुमारी कन्या माविमा आयोजना गरेको प्राकृतिक स्वच्छ खानेपानी धाराको समुद्घाटन एवं हस्तान्तरण कार्यक्रममा मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको पिडिजी फोरमका अध्यक्ष सुनिलभक्त श्रेष्ठले खानेपानी ट्यांकीको उद्घाटन गरेका हुन् । श्रेष्ठले विद्यालयको पुस्तकालयका लागि बाल साहित्यका पुस्तकहरु समेत प्रदान गरे ।

लायन धाराका निर्माताहरुमा स्वर्गीय प्रधानकी धर्मपत्नी रोहिणी श्रेष्ठ, छोरा/बुहारीहरु सुरज प्रधान/श्वेता कार्की प्रधान, छोरा शुभाङ्ग प्रधान, छोरी/ज्वाइँ विनिता प्रधान श्रेष्ठ/लेविस श्रेष्ठ, नातिनीहरु सुरिना प्रधान, लुना श्रेष्ठ र नाति ईभान श्रेष्ठ रहेका छन् । धारा निर्माण सहजकर्ताहरुमा पिडिजी स्पाउस फोरमकी अध्यक्ष दुर्गालक्ष्मी श्रेष्ठ, सचिव रचना चुके, सदस्यहरु सुधा जोशी, सीतादेवी पौडेल भट्ट एवं पिडिजी स्पाउस फोरम, लायन्स क्लब अन्तर्राष्ट्रिय, मल्टिपल ३२५, नेपाल रहेका छन् ।

खानेपानी समुद्घाटन एवं हस्तान्तरण समारोहमा बालकुमारी कन्या माविका प्रधानाध्यापक विष्णु वाग्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल चुके, डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटालगायतले मन्तव्य व्यक्त गर्दै मानवीय सेवाको प्रशंसा गरेका थिए । कार्यक्रममा फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर प्रभाकर पण्डित, पास्ट डिस्ट्रिक्ट गभर्नरहरु सिद्धार्थलाल चुके, रामप्रसाद भट्ट, प्रभातकुमार जोशी, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर दीपेन्द्रप्रसाद खतिवडालगायतको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु