अस्ट्रेलिया – अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूको साझा संस्था गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अहिले फेरि चुनावी रौनकमा छ। आगामी जुलाई २६ मा हुने भनिएको निर्वाचनको तयारी तीव्र बन्दै गर्दा राज्यदेखि संघीय तहसम्म उम्मेदवारहरूको घोषणा, प्रचार, र रणनीति निर्माणको लहर चलिरहेको छ।
संसारभर छरिएका नेपालीहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले स्थापना गरिएको यो संस्था हाल विश्वका ८० भन्दा बढी देशमा क्रियाशील छ। अष्ट्रेलियामा पनि यसको उपस्थिति विशेष सक्रिय छ, जहाँ समुदायमा सामाजिक, शैक्षिक, आपतकालीन सहायता र नीति वकालत जस्ता क्षेत्रमा यसको प्रभाव परिरहेको छ। एकातिर उम्मेदवारहरू उत्साहित छन्, अर्कातिर सर्वसाधारण सदस्यहरूको मनमा अनेकौं प्रश्न उब्जिएको छ,एनआरएनए कता जाँदैछ? किन उम्मेदवारी? नेतृत्व परिवर्तनले के फरक पार्छ? अनि, हामी सदस्यहरूको भुमिका के? माहोल तातिएको छ, तर विश्वास अझै जमिन खोज्दैछ चुनावी माहोल हेर्दा सक्रियता त छ?



सामाजिक सञ्जालमा पोस्टर, घोषणापत्र, भिडियो सन्देश र समर्थनका अभिव्यक्तिहरूको ओइरो लागेको छ। तर, ठूला कुरा भन्दा अगाडि उठेको छ एउटा मौलिक प्रश्न — एनआरएनए साँच्चै सबैको साझा संस्था हो त? धेरै सदस्यहरू अझै पनि यो संस्थालाई केही व्यक्तिहरूको गुटमा सीमित भएको महसुस गर्छन्। परिणामस्वरूप, आस्थाको संकट अझै गहिरो छ। किन उम्मेदवारी? कस्तो नेतृत्व? हालसालै थुप्रै पुराना तथा नयाँ अनुहारहरूले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्। कोही “पुराना अधुरा काम पूरा गर्न” मैदानमा छन्, कोही “पारदर्शिता र जवाफदेही नेतृत्व” दिने कुरा गर्दैछन्।
नयाँ पुस्ता, विद्यार्थी, महिला, व्यवसायी र स्थानीय संघसंस्थाबीच समन्वय गर्ने प्रतिबद्धता प्रायः सबै उम्मेदवारको घोषणापत्रमा देखिन्छ। तर, कसले के गर्यो र कसले के गर्न सक्छ भन्ने छुट्याउने मूल्यांकन गर्ने बेला हो। नेतृत्व अब केवल पदको नाम होइन, सेवा गर्ने ईच्छा र क्षमताको प्रमाणित अभ्यास हुनुपर्छ। संगठनमा रहेको चुनौती र अवसर एनआरएनए अष्ट्रेलियाले विगतमा आपतकालीन सहायता, विद्यार्थी समस्यामा हस्तक्षेप, सामुदायिक पहल र नेपाल-अष्ट्रेलिया सम्बन्ध सुदृढीकरण जस्ता थुप्रै उदाहरणीय कार्यहरू गरेको छ। तर, संगठन भित्रका गुटबन्दी, निष्क्रियता, अपारदर्शिता, र प्रतिनिधित्वको असन्तुलनले संस्थाको गरिमा घटाएको गुनासोहरू पनि प्रशस्त छन्।
अब प्रश्न उठ्छ — नयाँ नेतृत्वले यी समस्याहरूको सामना कसरी गर्ने? उत्तर छ — सुनुवाइ, सहभागिता, पारदर्शिता, र परिणाममुखी कार्यक्रमहरू। सदस्यको भूमिका: चुनावको साँचो निर्णायक चुनाव भनेको केवल उम्मेदवारको कुरा होइन, यो संस्था बनाउने हरेक सदस्यको जिम्मेवारी पनि हो। तपाईंले मतदान गरेर नेतृत्व चयन गर्नुहुन्छ सोचेर, बुझेर, हेरेर। तपाईंले प्रश्न गर्न सक्नुहुन्छ उम्मेदवारहरूलाई, कार्यशैलीलाई। तपाईं सक्रिय भएर कार्यक्रमहरूमा भाग लिन सक्नुहुन्छ विचार र सुझाव दिन सक्नुहुन्छ। “हामी सबैको एनआरएनए” भन्ने कुरा पोस्टरमा मात्र होइन, व्यवहारमा उतार्नका लागि हामी सबै सक्रिय हुनु आवश्यक छ। अबको आवश्यकता: उद्देश्य र एकताको समन्वय चुनावी झिल्काहरूले संस्था सिंगारिन्छ , तर संस्थालाई सार्थक बनाउने भनेको नियत, नीतिगत काम, र निष्पक्षता हो। जसले एक्लो हैसियतमा होइन, सबैको आवाज लिएर अघि बढ्छ।



हामीले अब सोध्नैपर्छ ,के उम्मेदवारले विगतमा सेवा गरे? के उनीसँग कार्यान्वयन क्षमता छ? के उहाँले संस्था सबैको साझा मञ्च बनाउने प्रतिबद्धता गरेका छन्? ‘नेतृत्व होइन, सेवा हो अबको बाटो’ एनआरएनए अष्ट्रेलिया निर्वाचन केवल पदपूर्तिको प्रक्रिया होइन यो समुदायमा पुनः विश्वास स्थापित गर्ने अवसर हो। उम्मेदवारहरूको दृष्टिकोण र सदस्यहरूको विवेकपूर्ण निर्णयले मात्र संस्थाले आफ्नो वास्तविक पहिचान फेला पार्न सक्छ। प्रश्नहरू उठ्न आवश्यक छन् — उत्तर पनि खोज्नुपर्ने बेला यही हो।
सदस्यता लिनुका फाइदाहरू संस्थागत प्रतिनिधित्व र नागरिकता बहसमा सहभागिता एनआरएनए सदस्यता लिएपछि तपाईं संगठनभित्रको औपचारिक सदस्य बन्नुहुन्छ। यसले तपाईंलाई नेतृत्व चयन, नीति बहस, र संस्थागत निर्णयमा मताधिकार दिन्छ। भविष्यमा दोहोरो नागरिकताको सवालमा यस्तो सदस्यता महत्वपूर्ण बन्न सक्छ। आपतकालीन अवस्थाहरूमा प्राथमिक पहुँच अष्ट्रेलियामा बस्ने धेरै नेपालीले भूकम्प, कोभिड, वा व्यक्तिगत आपतकालका बेला एनआरएनको सहयोग पाए। सदस्य भएका व्यक्तिहरूलाई सहयोगको प्राथमिकता दिने चलन अब स्थापित हुँदै गएको छ। सामाजिक, शैक्षिक र व्यवसायिक सञ्जाल विस्तार सदस्य बनेपछि एनआरएनएद्वारा आयोजित कार्यक्रम, सेमिनार, सम्मेलनहरूमा तपाईंले अन्य पेशेवर, समाजसेवी र व्यवसायीहरूसँग नेटवर्क विस्तार गर्ने अवसर पाउनुहुन्छ। नेतृत्व र योगदानको औपचारिक बाटो सामुदायिक काम गर्ने इच्छा भएकालाई सदस्यता प्रवेशद्वार हो। यसले नेतृत्वका लागि दरबारी खोल्छ क्षेत्रीय-देखि अन्तर्राष्ट्रिय कार्यसमितिसम्म।
सदस्यता नलिनुका आशंका र आलोचनाहरू पारदर्शिता र गुटबन्दीप्रति अविश्वास धेरै सदस्य वा समर्थकले गुनासो गरेका छन् कि एनआरएनएमा पारदर्शिता कम छ र नेतृत्व स्तरमा गुटगत राजनीति बढी हावी हुन्छ। सदस्यता लिएर पनि आफ्नो आवाज नसुनेको अनुभव भएकाहरू यो विषयमा निराश छन्। सक्रियताभन्दा औपचारिकता बढी,कतिपयले अनुभव गरेका छन् कि सदस्यता लिएर पनि उनीहरूको सहभागिता केवल कागजी बनिरहेको छ। बैठक, कार्यक्रम र निर्णय प्रक्रियामा सबैलाई समेट्ने प्रयास पर्याप्त छैन। आर्थिक योगदान मूल्यबोधको प्रश्न सदस्यता लिँदा एक किसिमको शुल्क तिर्नुपर्छ। सबैका लागि त्यो शुल्क सस्तो नहुन सक्छ, र सोधिन्छ “के मैले तिरेको शुल्कले मलाई वास्तविक लाभ दियो?” फेरिनुपर्छ दृष्टिकोण सदस्यता मात्रै होइन, सहभागिता पनि चाहिन्छ सदस्यता केवल कार्ड होइन, यो तपाईंको आवाजलाई संस्थागत बनाउने अधिकार हो। तर अधिकारसँगै जिम्मेवारी पनि आउँछ।
हामीले सदस्य बनेर मात्र चुप लाग्नुभन्दा संस्थामा सक्रिय र रचनात्मक भूमिका खेल्नुपर्ने हुन्छ। संस्थालाई आलोचना गर्नु ठीक हो तर आलोचनासँगै सुधारका प्रस्ताव दिनु अझै जरूरी छ। यदि तपाईं संस्थाभित्रका कमजोरीलाई परिवर्तन गर्न चाहनुहुन्छ भने सदस्यता नै पहिलो कदम हुन सक्छ। नलिने मन बनाउनु भएको छ भने पनि कारण सोच्नुस्, विकल्प खोज्नुस् यदि तपाईंले सदस्यता नलिने निर्णय गर्नुभएको छ भने त्यो तपाईंको अधिकार हो। तर सो निर्णय व्यक्तिगत निराशा होइन, तथ्य र अनुभवमा आधारित सोच होस् भन्ने महत्वपूर्ण हुन्छ। र, यदि संगठनको खाँचो देखिन्छ भने यसको विकल्प कस्तो हुन सक्छ भन्ने बहस पनि खुला गरिनुपर्छ।
सदस्यता लिने कि नलिने, निर्णय सोचेर गरौं एनआरएनएलाई केवल आलोचना होइन, सुझाव र सहभागिताको ऊर्जा चाहिएको छ। सदस्यता लिनु भनेको त्यो यात्रा सुरु गर्नु हो, जहाँ तपाईंले चाहेको परिवर्तन स्वयं तपाईंको सहभागिताबाट सुरु हुन्छ। अबको एनआरएनए, केवल नेतृत्व चयन गर्ने संस्था होइन समुदाय निर्माणका लागि महान र विशाल यात्रा बन्नुपर्दछ।