काठमाडौँ – इरानले काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आज भएको फाइनलमा काजकस्तानलाई ३-१ को सेटमा पराजित गर्दै इरानले उपाधि जितेको हो।
इरानले कजाकस्तानलाई २५–१८, १९–२५, २५–१५ र २५–२१ ले हराएको हो। इरानले सेमिफाइनलमा घरेलु टोली नेपाललाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको थियो। कजास्तानले भने भारतलाई हराएको थियो।
इरान र काजकस्तान एकै समूहबाट सेमिफाइनल पुगेका थिए। समूह चरणमा इरानले काजकिस्तानलाई ३-० ले हराएको थियो।
नेपाली राष्ट्रिय महिला भलिबल टोली काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा पदक विहीन भएको छ।
काठमाडौँमा आयोजना भएको पछिल्ला ३ काभा च्याम्पियनसिपमामा नेपाल पहिलो पटक पदक विहीन भएको हो।
सन् २०२४ मा भारतसँगै पराजित नेपालले रजत र पछिल्लो पटक कास्य पदक जितेको थियो। यसपटक तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा नेपाल भारतसँग ३-१ ले पराजित भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भारतले नेपाललाई २५-२२, २५-२३,१५-२५,२५-२२ ले हराएको हो ।
हिजो सेमिफाइनलमा दुबै टोलीले निराशाजनक प्रदर्शन गरेपछि च्याम्पियनसिपको तेस्रो स्थानका लागि नेपाल र भारतबीच भेट भएको थियो ।
सेमिफाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग समान ३-० को सोझो सेटमा पराजित भएको थियो।
नेपाल र भारत एउटै समूहबाट सेमिफाइनल पुगेका थिए। लिग चरणमा भारतले नेपाललाई ३-२ ले हराएको थियो। अन्तिम तथा निर्णायक सेटमा कमजोर प्रदर्शन गरेपछि नेपाल पराजित भएको थियो।
पहिलो सेट जितेको नेपालले त्यसपछि लगातार दुई सेट गुमाएको थियो। चौथो सेटमा सानदार पुनरागमनसहित २-२ को बराबरी गरेपछि निर्णायक सेटमा चुकेको थियो।


