चितवन – ‘हर्टअट्याक’ अर्थात् हृदयघातबारे हामीहरुले सुनेका छौँ तर अधिकांश नेपालीलाई अझै पनि ‘ब्रेन स्ट्रोक’ अर्थात् मस्तिष्कघातबारे जानकारी छैन । मुटुमा रक्तसञ्चार अवरुद्ध हुँदाको अवस्था हृदयघात हो भने मस्तिष्कमा रक्तसञ्चार अवरुद्ध हुँदाको अवस्था मस्तिष्कघात हो । मस्तिष्कघात भएका बिरामीको शल्यक्रियाबाट गरिने उपचार न्यूरोसर्जन चिकित्सकहरुले गर्छन् । भरतपुर–१०, बालमन्दिररोडमा रहेको पुष्पाञ्जली हस्पिटल प्रा.लि. का न्यूरोसर्जरी विभाग प्रमुख न्यूरोसर्जन डा. कुमार पौडेल ‘ब्रेन स्ट्रोक’ को अवस्था निकै घातक हुने भएकोले यसबाट बच्न जरुरी रहेको बताउँछन् ।
त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जबाट एमबिबिएस सकेका डा. पौडेलले त्रि.वि. अन्तर्गतकै युनिभर्सल मेडिकल कलेज भैरहवाबाट एमएसको पढाई पूरा गरे । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालबाट एमसिएचको पढाई सिध्याएका डा. पौडेलले विभिन्न गैरसरकारी संस्थाका परियोजनाहरुमा काम गरेको अनुभव हासिल गरेका छन् । उनले विभिन्न कालखण्डमा ‘डक्टर्स विदआउट बोर्डर्स, ग्लोबल आउटरिच डक्टर्स, शान्ति लेप्रालाइफ, इन्टरनेसनल अर्गनाइजेसन अफ माइग्रेसन र भक्तपुरको साँगामा रहेको स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रमा काम गरेका हुन् ।
न्यूरोसर्जरी भनेको टाउकाको शल्यक्रिया हो । दुर्घटना वा अन्य कारणले टाउकोमा गम्भीर चोट लागेर वा अन्य कारणले हुने स्वास्थ्य समस्या समाधानका लागि न्यूरोसर्जरीबाट उपचार गर्नुपर्ने डा. पौडेलले बताए । उनका अनुसार, पछिल्लो समय ‘ब्रेन स्ट्रोक’ पछिल्लो समयमा जल्दोबल्दो समस्याका रुपमा देखा परेको छ । मस्तिष्कमा रगत कम भएर वा रक्तचाप बढी भएर ‘ब्रेन स्ट्रोक’ हुने गर्छ । ‘ब्रेन स्ट्रोक’ भएका बिरामीहरुमा पक्षघात हुने गर्छ । विभिन्न उमेर समूहका व्यक्तिलाई ‘ब्रेन स्ट्रोक’ हुन सक्ने डा. पौडेल बताउँछन् ।
‘विश्वमा ‘ब्रेन स्ट्रोक’ मृत्युको दोस्रो ठुलो कारक बनेको छ’ डा. पौडेलले भने, ‘ब्रेन स्ट्रोक दुई प्रकारका हुन्छन् । पहिलो, स्केमिक स्ट्रोक हो, जुन दिमागमा रक्तसञ्चारको कमी भएर हुने गर्छ । ‘ब्रेन स्ट्रोक’ का बिरामीमध्ये ९० प्रतिशतलाई स्केमिक स्ट्रोक हुन्छ । दोस्रो, हेमोर्हेजिक स्ट्रोक हो, जुन दिमागमा उच्चरक्तचापको रक्तनली फुटेर कारण हुने गर्छ ।’ स्ट्रोक हुनुको पहिलो कारण हाइपरटेन्सन भएको उनी बताउँछन् । हाम्रो विलासी जीवनशैली पनि स्ट्रोकको एउटा कारण देखिएको डा. पौडेलको भनाइ छ ।

‘मदिरा, चुरोट, सुर्ती प्रयोगकर्ताहरु र शरीरमा कोलेस्ट्रोलको मात्रा बढी भएकाहरुमा स्ट्रोकको सम्भावना धेरै हुन्छ’ डा. पौडेल भन्छन्, ‘केही व्यक्तिहरुमा गरिएको अध्ययनले मदिरा, चुरोट, सुर्तीको प्रयोग गर्न छाडेपछि स्ट्रोकको सम्भावना पनि घटेर गएको देखाएको छ । शारीरिक श्रम प्रशस्त गर्नेहरुमा स्ट्रोक हुने सम्भावना कम हुन्छ ।’ बिहान उठेर २० मिनेट भए पनि मर्निङ वाक गर्ने, व्यायाम गर्ने, खानामा नुनको मात्रा कम गर्ने, रक्तचापलाई नियमितरुपमा चेक गरेर नियन्त्रणमा राख्ने र शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रणमा राख्ने काम गरेर ब्रेन स्ट्रोकको जोखिमबाट बच्न सकिने डा. पौडेलले बताए ।


