अहिलेका बालबालिकाहरुलाइ बोली फुटनासाथ ABCD भन त बाबु,नानि ! भन्दै पढाउन शुरु गरिन्छ तर हाम्रो पालामा त्यस्तो थिएन । मेरो आदरणीय गुरु, दाजी जयनारायण पौडेलले मलाइ चौथो बर्षको श्रीपञ्चमीको दिनमा घरमा आफैले अक्षर शुरु गराउनु भएको हो । मैले अक्षर फुटाल्न सक्ने भएपछी उहाले चण्डी पाठ गर्न अर्थात घोकाउन शुरु गराउनु भयो । घोकन्ते बिद्या, धावन्ते खेती भन्ने सिद्धान्त सुनाउदै जानुभयो । त्यतिबेलै मैले चण्डी, गिता, बेद, पुराण, रामायण, महाभारत जस्ता हिन्दु धार्मिक ग्रन्थहरुको नाम उहाकै मुखारबिन्दुबाट सुनिसकेको थिए । क्रमश अक्षरहरु मज्जाले लेखन, पढन सक्ने भएपछी मात्र स्कुलमा भर्ना गरिदिनुभयो । अलि बुझ्ने भएपछी हल्का फुल्का मौका मिल्नासाथ धार्मिक ग्रन्थहरु पढने चाहिँ गरियो तर बुझेर पढने प्रयास भने अहिले आएर गर्दैछु । सानैदेखि गिता मेरो मनमा बसिरहेको पुस्तक हो । आज यहि गिताको बारेमा म अबुझले थोरैमात्र बुझेको सार संक्षेपलाई लेखको रुपमा प्रस्तुत गर्दैछु ।
भागवद्गीता हिन्दू धर्मको एक महत्वपूर्ण धार्मिक ग्रन्थ हो, जसलाइ संक्षेपमा गिता मात्र भनेर बुझ्ने गरिन्छ । “गीता” भगवान श्रीकृष्णले अर्जुनलाई महाभारतको कुरुक्षेत्र युद्ध मैदानमा दिनुभएको उपदेशको सङ्ग्रह हो । युद्धको सुरुवात हुनु अघि अर्जुनले अन्तिम अबस्थामा जब आफ्ना, आफन्त, गुरुहरू र भाइबन्धुहरूसँग लड्न अस्वीकार गर्छन्, तब श्री कृष्णले उनलाई उपदेश दिनु हुन्छ । त्यही समयमा श्रीकृष्णले अर्जुनलाइ दिनुभएको कर्म, धर्म, भक्ती, योग र मोक्ष सम्बन्धी दिब्य ज्ञान, जसलाइ आज हामी गिता भनेर बुझ्दछौ । गीतामा १८ अध्याय रहेकाछन जसमा सबैलाइ जोडदा करिब ७०० श्लोकहरु हुन्छन ।



प्रमुख रुपमा समग्र गिता, ४ मार्गहरूमा केन्द्रित छ –
१) कर्मयोग – कर्मको महत्त्व र स्वार्थ रहित कर्म !
२) ज्ञानयोग – आत्मज्ञान र परमात्मासँगको सम्बन्ध !
३) भक्तियोग – भक्ति र समर्पणको मार्ग !
४) ध्यानयोग – ध्यानमार्फत परमात्मासँगको मिलन !
गीतालाई हिन्दू धर्मको मार्गदर्शक ग्रन्थ मानिन्छ, जसले जीवन दर्शन, नैतिकता र आत्मज्ञानको शिक्षा दिन्छ । गिता बिश्वकै आध्यात्मिक ज्ञानको क्षेत्रमा लोकप्रिय मध्येको एक ग्रन्थ हो । छोटकरीमा अलिकती मात्र बुझ्न चाहनेका लागि मैले बुझेको गिताको प्रत्येक अध्यायको सारलाई तल उल्लेख गर्न गैरहेको छु, तर यसको गहिराइमा पुगेर बुझ्न चाहनेका लागि भने सम्पुर्ण ब्रह्माण्ड नै गिता भित्र भेटिन्छ । प्रत्येक अध्यायमा उल्लेखित सारतत्वलाइ संक्षेपमा यसरी बुझ्न सकिन्छ –
अध्याय १ –
कुरुक्षेत्र युद्धको मैदानमा अर्जुनले आफ्नो नातेदार, गुरु र मित्रहरू देखेर मोह तथा शोकले ग्रसित हुन्छन् । उनी धर्म सङ्कटमा पर्छन् र युद्ध लड्न अस्वीकार गर्छन् ।



अध्याय २ –
श्रीकृष्णले आत्माको अमरत्व, कर्मयोग र कर्तव्यको मार्गबारे शिक्षा दिन्छन् । अर्जुनलाई युद्ध गर्न प्रेरित गर्दै, उनले निष्काम कर्म (फलको आशा नगरी गरिने कर्म) को व्याख्या यो अध्यायमा गर्नुहुन्छ ।
अध्याय ३ –
यस अध्यायमा निष्काम कर्मको विस्तृत व्याख्या गर्दै, श्रीकृष्णले कर्मबाट बच्न सकिन्न, तर स्वार्थरहित कर्म गर्नु नै उत्तम हो भनेर उपदेश दिनुभएको पाइन्छ ।
अध्याय ४ –
कर्मयोगलाई ज्ञानयोगसँग जोड्दै यस अध्यायमा श्रीकृष्णले दिव्य ज्ञान, अवतार सिद्धान्त र योगको महत्व दर्शाउनुभएको छ ।
अध्याय ५ –
कर्मयोग र संन्यासयोगको तुलना गर्दै श्रीकृष्णले निष्काम कर्म गर्ने व्यक्ति नै सच्चा संन्यासी हुन् भन्ने भाव ब्याक्त गर्नु भएको छ ।
अध्याय ६ –
ध्यानको महत्त्व र यसको अभ्यासद्वारा आत्म-साक्षात्कार कसरी गर्न सकिन्छ भन्ने व्याख्या यसमा गरिएको छ ।
अध्याय ७ –
यसमा परमात्माको स्वरूप, भक्तिको महत्त्व र भौतिक तथा आध्यात्मिक शक्तिहरूबारे शिक्षा दिइएको छ ।
अध्याय ८ –
मृत्युपछि आत्माको गति, परमात्माप्रति ध्यान केन्द्रित गर्ने उपाय र मोक्ष प्राप्तिको मार्गबारे यो अध्यायमा चर्चा गरिएको छ ।
अध्याय ९ –
यो अध्यायमा श्रीकृष्णले परम भक्तिलाई सर्वोच्च मार्ग बताउनु भएको छ । भक्तिमार्गले नै मानिसलाई मोक्ष दिन सक्छ ।
अध्याय १० –
श्रीकृष्णले आफ्नो विभिन्न दिव्य विभूतिहरू (शक्ति, तेज र महानता) बारे यस अध्यायमा वर्णन गर्नुभएको छ ।
अध्याय ११ –
यस अध्यायमा अर्जुनले श्रीकृष्णको विराटरुप अर्थात विश्वरूप देख्छन्, जसले सम्पूर्ण सृष्टि समेटेको हुन्छ । अर्जुन चकित हुन्छन् र भक्ति भावले भरिन्छन् ।
अध्याय १२ –
भक्ति मार्गको व्याख्या गर्दै, श्रीकृष्णले निःस्वार्थ प्रेम र समर्पणद्वारा परमात्मा प्राप्त गर्न सकिन्छ भन्ने शिक्षा यो अध्यायमा दिनुभएको छ ।
अध्याय १३ –
शरीर र आत्माको भिन्नता, आत्मज्ञान र मोक्षबारे विस्तृत व्याख्या यसमा गरिएको छ ।
अध्याय १४ –
सृष्टिलाई प्रभावित गर्ने तीन गुणहरू सत्व, रज, तम को वर्णन गर्दै, सत्व गुणद्वारा मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने शिक्षा यसमा पाइन्छ ।
अध्याय १५ –
यस अध्यायमा परम पुरुष अर्थात् श्रीकृष्ण नै सृष्टिको परम आधार हुन् भन्ने व्याख्या गर्दै, आत्मज्ञान र भक्ति मार्गलाई सर्वोच्च मार्ग भनी बताइएको छ ।
अध्याय १६ –
यसमा दैवी (सद्गुणयुक्त) र आसुरी (दुष्कर्मयुक्त) कर्म, गुण र स्वभावको तुलना गर्दै, सत्मार्गमा लाग्न प्रेरित गरिएको छ ।
अध्याय १७ –
यहाँ श्रद्धाका तीन प्रकार – सत्वगुणी, रजोगुणी र तमोगुणी का आधारमा जीवनशैली, आहार र आचरणको व्याख्या गरिएको छ ।
अध्याय १८ –
यो अन्तिम अध्यायमा गीताको समग्र सार समेट्दै श्रीकृष्णले अर्जुनलाई पूर्णसमर्पण भाबमा भक्तियुक्त कर्म गर्न प्रेरित गर्नुहुन्छ । निष्काम कर्मयोग, ज्ञानयोग र भक्तियोगको महत्त्व प्रतिपादन गर्दै गीता समाप्त हुन्छ ।
श्रीकृष्णले अर्जुनलाइ समग्र गिताको ज्ञान् कति समय भित्रमा दिइसक्नु भएको थियो भन्ने एकिन तथ्य पाइदैन । कसैले एकैसासमा अर्थात केही सेकेण्डमै दिनुभएको हो भनेर पनि भन्ने गर्छन भने कसैले घण्टौ लगाएर अर्जुनलाइ युद्दको लागि तयार पार्नुभएको थियो पनि भन्दछन । भगवानमा दिब्यशक्ती हुन्थ्यो भन्ने त हामिले मानेकै बिषय हो, यस दृष्टिकोणले हेर्दा छोटो समयमै दिब्ययोगद्वारा सम्पुर्ण ज्ञान् दिनुभएको हुनुपर्छ भन्ने कुरालाई आत्मसाथ गर्न सकिन्छ । भगवानले चाहानु भयो भने त्यसमा बिलम्ब हुने कुरै आउदैन यहि सत्य हो तर यसलाइ अहिलेका सामान्य मानिसले गर्ने तर्कका साथ बुझ्दा भने फरक नतिजा पनि आउन सक्छ ।
हिन्दू ग्रन्थहरू अनुसार महाभारतको युद्ध सूर्योदयसँगै सुरु हुनुपर्थ्यो, सोही अनुसार समयमै युद्द शुरु भएको देखिदा गीता उपदेश पनि सूर्योदय अघि नै दिइएको थियो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । भगवान श्रीकृष्ण सर्वशक्तिमान थिए, त्यसैले उनले अर्जुनलाई दिव्यज्ञान द्वारा तुरुन्तै सम्पूर्ण उपदेश बुझ्न सक्ने क्षमता समेत अर्जुनलाइ प्रदान गर्नुभएको थियो भन्ने भनाइमा सजिलै सहमत हुन सकिन्छ । बैज्ञानिक एबं तथ्यपरक हिसाबले हेर्ने हो भने शब्दसंख्या अनुसार गणनागर्दा भागवद्गीतामा ७०० श्लोक छन् , सामान्य अवस्थामा अहिले पनि हामिलाइ प्रत्येक श्लोक उच्चारण गर्न करिब ८-१० सेकेन्ड लाग्छ, जसअनुसार पूरै गीता उपदेश दिन करिब १ घण्टा समय लाग्यो होला भन्ने तार्किक अनुमान निकाल्न सकिन्छ ।
गीता पाठ गर्नु भनेको कृष्णको भक्ति गर्ने एक महत्वपूर्ण रूप हो । भागवद्गीता केवल ज्ञानको ग्रन्थ मात्र होइन, यो भगवान श्रीकृष्णकै दिव्य वाणी हो । गीता पाठ गर्दा जसले भगवानको शिक्षालाई आत्मसात गर्छ, उसैलाई आध्यात्मिक रूपमा उचाइमा पुर्याउँछ । गीता भगवान श्रीकृष्णले प्रत्यक्ष रूपमा अर्जुनलाई दिएको उपदेश भएकोले यसको अध्ययन र पाठ गर्नु भनेको भगवानकै वाणी सुन्नु र अनुशरण गर्नु हो । गीताले भक्तियोगलाई सबैभन्दा उच्चमार्ग भनेर पनि बताएको छ ।
“भक्त्या मामभिजानाति यावान्यश्चास्मि तत्त्वत:” । (भगवद्गीता १८-५५)
अर्थात श्रीकृष्णले गितामै भन्नुहुन्छ – मलाई केवल भक्तिबाट मात्र सही रूपमा जान्न सकिन्छ । गीता पढ्दा भगवानको स्मरण हुन्छ, जसले आत्मिक शुद्धि गर्छ । गीता पाठले निष्काम कर्म र भक्तिपूर्ण जीवन जिउन प्रेरित गर्छ, जुन कृष्णलाई समर्पण गर्ने मार्ग हो । गीता अनुसार, जो भक्तिपूर्वक भगवानको उपदेश अनुशरण गर्छ, ऊसैले मोक्ष प्राप्त गर्नसक्छ । गीता केवल पढ्ने पुस्तक होइन, यसलाई जीवनमा उतार्नु नै सच्चा भक्ति हो । निष्ठा र श्रद्धासहित गीता पढ्दा भगवानप्रति समर्पण बढ्छ । जसरी हरेक दिन भगवानको नाम जप्नाले भक्ति बढ्छ, त्यसरी नै गीता अध्ययनले पनि कृष्णप्रति भक्ति सुदृढ हुन्छ ।
आजकालको समाजमा उमेर ढल्किएका पाका उमेरका मानिसहरुले हरेक दिन जसो गिता पाठ गरेको, गिताकै अध्यायनमा समय बिताएको हामिले देखिरहेका हुन्छौ । कसैले जवानीमै गिताको बारेमा कुरा गर्यो भने वा गिता पढन थाल्यो भने अहिले तिम्रो गिता पढने बेला हैन, पढनुहुन्न, बौलाइन्छ, जीवनप्रतिको मोह घट्छ, वैराग्यता बढ्छ र परिवारिक जिम्मेवारी पूरागर्न कठिन हुन्छ भनेर पनि भन्ने गरिन्छ तर यथार्थतामा यो पूर्णसत्य होइन । गीता त जीवनलाई अझ राम्रोसँग बुझ्न र सही मार्गमा अघि बढ्न सिकाउने, हिम्मत बढाउने र जिवनमा कर्मको महत्व बुझाउने ग्रन्थ हो । यो नै सत्य हो ।
त्यसो हो भने समाजमा यस्तो नकारात्मक भाव किन फैलियो वा फैल्याइयो त भन्ने प्रश्न पनि यहानेर उठनु स्वभाबिकै रह्यो । किन यस्तो भनिएको होला ? भन्ने बारेमा बुझ्दा गीतामा वैराग्य (संन्यास) को कुरा छ, यो संसार नाशवान् छ, आत्मा अमर छ र मानिसले फलको आशा नगरी कर्म गर्नुपर्छ भनेर गितामा भनिएको छ । कतिपयले यसलाई गलत रूपमा बुझेर सोच्छन् कि गीता पढेपछि मानिसले संसारिक जीवनप्रति रुचि गुमाउँछ । घरपरिवार पाल्नुपर्ने जिम्मेवारी भएकाहरूले कर्मयोग भन्दा वैराग्य मार्गतर्फ नलागून् भन्ने पुरानो सोचअनुसार विगतमा गीता मुख्यत वृद्धावस्थामा पढ्नुपर्ने ग्रन्थ हो है भन्ने धारणा बनाउदै लगिएर पनि त्यसो भनिएको हुन सक्छ । कतिपयले गीताको शिक्षा केवल संन्यास अर्थात घरबार त्याग्नु को रूपमा बुझ्छन् तर गीताले संन्यासयोग भन्दा कर्म योगलाई ठूलो महत्व दिन्छ ।
साँचो अर्थमा भन्ने हो भने गीता पढेपछि जीवनप्रति मोह घट्ने होइन, बरु जीवन अझ राम्रोसँग जिउने प्रेरणा मिल्छ । गीतामै भनिएको छ कि जीवन जिउन जान्नुहोस् तर आसक्त नभइ कर्म गर्नुहोस् । भगवान श्रीकृष्ण स्वयं गृहस्थ हुनुहुन्थ्यो तर उहाले कर्मयोगलाई सर्वोत्तम मार्ग भन्नुभएको छ । गीता त लडाइको मैदानमा दिइएको उपदेश हो जसले अर्जुनलाई संघर्षबाट भाग्न होइन – लड्न सिकायो । त्यसैले जवानीमै गीतालाई बुझेर पढ्नु लाभदायक छ । यसले मानिसलाई आत्मबल दिन्छ, आफ्नो कर्तव्य राम्रोसँग पुरा गर्ने प्रेरणा दिन्छ, जीवनको सही मार्ग देखाउँछ त्यसैले जवानिमा वा गृहस्थी जिवनमा संन्यास होइन, जिम्मेवारी पुरा गर्न सिक्नुपर्छ ।
जिवात्माको भुत, बर्तमान, भबिश्य र सम्पुर्ण ब्रह्माण्डको अथाह ज्ञानको भण्डार हो गिता । सारांशमा भन्ने हो भने धृतराष्ट्रको खराब बुद्धि भएको घमण्डी छोरो दुर्योधनलाइ खुशि पार्नको लागि युद्धमैदानमा जम्मा भएका सबैलाइ हेरेपछि अर्जुनले त्यहा आफ्नैविरुद्ध लडन आफ्नै बाबुहरु, हजुरबुबाहरु, गुरुहरु, मामाहरु, दाजुभाइ, छोराहरु, नातिहरु, ससुराहरु , मित्रहरु र शुभचिन्तकहरु लगायतलाइ देखेपछी उनलाइ जीवन देखि नै नैराश्यता हुन थाल्यो । उनको शरीर थरथर काप्न लाग्यो, मुख सुक्न थाल्यो, करुणाभाब उत्पन्न भइ उनको गाण्डिब धनु हातबाट चिप्लिन थाल्यो । उनी भाबबिभोर भएर रुन थाले । सोच्न थाले कि, मेरै आफन्तलाइ मैले नै मारेर प्राप्त हुने राज्यबाट मैले कहिल्यै सुख प्राप्त गर्न सक्दिन । यसरि लडाइ गर्ने कि नगर्ने भन्ने अन्यौलमा परेर अर्जुन ले युद्ध नगरी एकान्तमा गएर बस्ने इच्छा ब्याक्त गरेपछि नै भगवान कृष्णले एक सासमा पापिहरु आफ्ना हुनै सक्दैनन, उनिहरुलाइ मारेर तिमिले समस्त प्राणिको मात्रै हैन कि धर्मकै उत्थान गर्ने छौ, धर्मकै रक्षा गर्नेछौ, त्यसैले तिमिले लडनैपर्छ, युद्ध गर्नैपर्छ, त्यो तिम्रो क्षत्रीय धर्म पनि हो भनेर सम्झाएको, उपदेश दिएको, लडनको लागि उत्प्रेरित गराएको बार्तालाप नै गिताको मुख्य कथा हो ।
अन्त्यमा संक्षेपमा भन्नुपर्दा गीता केवल धार्मिक ग्रन्थ मात्रै नभएर जीवन जिउने कला पनि हो । यसले कर्म, ज्ञान र भक्ति मार्ग सिकाउँदै आत्मशुद्धि, धर्म र मोक्ष प्राप्तिको मार्ग देखाउँछ । यो अत्यन्त शक्तिशाली र जीवन परिवर्तन गर्ने संवाद थियो, जसले अर्जुनलाई युद्ध लड्न प्रेरित मात्र गरेन, सम्पूर्ण मानवजातिलाई मार्गदर्शन गर्ने ज्ञान प्रदान गर्यो । गीता पाठ गर्नु भनेको कृष्णको भक्ती गर्ने एउटा प्रभावशाली माध्यम हो तर साँचो भक्ति भनेको केवल गीता पढ्नुमा मात्र होइन, यसको शिक्षालाई आफ्नो जीवनमा लागू गर्नु पनि हो । गीता बुझेर, हृदयमा राखेर, त्यसैअनुसार जीवन जिउनु नै कृष्णप्रतिको सच्चा भक्ति हो ।