चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकताको कुरा चलिरहेको बताएका छन् । शिवनगरस्थित दाहाल निवासमा बुधबार विप्लवका नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रमा प्रवेश गराएपछि मन्तव्यका क्रममा प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।
‘विप्लवजीसँग पार्टी एकताको बारेमा मेरो कुराकानी भइरहेको छ’ अध्यक्ष प्रचण्डले भने, ‘एकता र ध्रुवीकरणको महसुस गर्ने साथीहरु एक हुँदै जानु पर्छ ।’ बुधबार माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई उनले धन्यवाद दिएका छन् ।
विप्लव नेतृत्वको नेकपाबाट १८ जना र अन्य पार्टीबाट थप १८ जना गरी ३६ जनाले बुधबार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । विप्लव समूहको भरतपुर महानगर समितिका सचिव दीपक ढकालको नेतृत्वमा १८ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
कार्यक्रमको संचालन माओवादी केन्द्रका नेता घनश्याम दाहाल ‘अविनाश’ ले गरेका थिए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का ईश्वरी भट्टराई, रेनु दाहाल, ईश्वर सापकोटा ‘सुमन’, रामचन्द्र अधिकारी ‘आरसी’, संगीता भट्टराई, किरण धामीलगायतको उपस्थिति रहेको थियो ।



