चितवन – लायन्स इन्टरनेसनल, डिष्ट्रिक्ट ३२५ आर, नेपालका गभर्नर नवराज सापकोटाले सहकार्यको शक्तिले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ आफ्नो कार्यकाल लायन वर्ष २०२५/२०२६ का लागि ‘एकसाथ हामी गर्छौं परिवर्तन’ भन्ने नारा तय गरेका छन् । विश्वमा लायन्स क्लब एकताको प्रतीकका रुपमा उभिएको उनको भनाइ छ ।
डिष्ट्रिक्ट गभर्नरमा नियुक्त भएपछि सापकोटाले हालै मात्र पोखरामा डिष्ट्रिक्ट क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न गरेका छन् । दुई दिनसम्म चलेको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बालकृष्ण बुर्लाकोटीले गरेका थिए ।
उक्त कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर सापकोटा, निवर्तमान गभर्नर दीनानाथ न्यौपाने, पूर्वगभर्नर रामप्रसाद भट्ट, स्कुलिङका निर्देशक डिके ढुङ्गाना, लायन्सका अन्य व्यक्तित्वहरु राजन लम्साल, बालकृष्ण बुर्लाकोटी, रबिन कटवाल, आरएस महतो, सिद्धार्थलाल चुके, सन्देश दास श्रेष्ठ, डा. जयहरिराज पाण्डेलगायतले विभिन्न शीर्षकमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, सञ्जय खेतान र मनोज ज्ञवालीबिच सामूहिक बहस (प्यानल डिस्कसन) गरिएको थियो ।


