“पूजा“ एक धार्मिक तथा आध्यात्मिक विधि हो, जसमा भक्तजनहरूले आफ्नो इष्टदेवता वा भगवानलाई श्रद्धा, भक्ति, प्रार्थना तथा धन्यवाद अर्पण गर्छन् । हिन्दु परम्परामा पूजा, पुराणवाचन, महायज्ञ, सप्ताह, कोटिहोम, अनुष्ठान, स्वस्ति शान्ती, कर्मकाण्ड, मन्त्रजप, ध्यान, आरती, प्रसाद चढाउने, दानगर्ने, भजन किर्तन, तीर्थ, ब्रत जस्ता विभिन्न धार्मिक कार्यहरू गरिन्छन् । पूजा व्यक्तिगत रूपमा घरमै गर्न सकिन्छ भने सामुहिकरुपमा मठ–मन्दिर, नदी किनार आदिमा गएर पनि सम्पन्न गरिन्छ ।
हिन्दुधर्ममा पूजाको विशेष महत्व छ । यसलाई आत्मा शुद्ध गर्ने, दैवी कृपा प्राप्त गर्ने तथा नकारात्मक शक्तिहरू हटाउने उपायको रुपमा लिइन्छ । पूजा भगवानप्रति गरिने भक्तिको अभिव्यक्ति हो, जसले भक्त र परमात्मा बीचको सम्बन्धलाई अझ मजबुत बनाउँछ । नियमित पूजा गर्नाले मनलाई शान्त बनाउँछ, शरिरमा सकारात्मक ऊर्जा ल्याउँछ र तनावबाट मुक्ति दिलाउछ । हिन्दु धर्मशास्त्र अनुसार साँचोमनले गरिएको पूजाले पापको क्षय गर्छ, धर्म प्राप्त हुन्छ, जीवनलाई धार्मिक मार्गमा डोर्याउँछ र मृत्यु पश्चात् मुक्ति मिल्छ भन्ने विश्वास गरिन्छ । पूजाले संस्कारहरूलाई जीवित राख्छ र भावी सन्ततिलाई धार्मिक एवं नैतिक शिक्षा दिन मद्दतगर्छ । धूप, दीप, आरती, होम तथा मन्त्र उच्चारणले वातावरणलाई सन्तुलित बनाउदै सकारात्मक ऊर्जा दिन्छ र बायु शुद्ध बनाउँछ भन्ने शास्त्रीय मान्यता पनि रहि आएको छ । सामूहिक रूपमा गरिने पूजाले समाजमा एकता, सहकार्य र प्रेमको भावना बढाउँछ । पूजा आत्मशान्तिको बाटो पनि हो ।
पूजा हिन्दुधर्मको एक अनिवार्य अङ्ग हो, जसको उत्पत्ति वैदिक युगदेखि नै भएको मानिन्छ । यो कर्म, भक्तिभाव तथा आध्यात्मिक जागरणको प्रतीक हो । वैदिककालनै हिन्दुधर्मको प्रारम्भिक युग हो भनेर भन्ने गरिएको छ । करिब १५०० – ५०० ईसापुर्बको समयमा “यज्ञ“ नै पूजाको प्रमुख स्वरूप थियो । वैदिक ग्रन्थहरू ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदमा यज्ञको विस्तृत वर्णन पाइन्छ । यस समयमा मुख्य रूपमा अग्नि (अग्निदेव), इन्द्र, वरुण, सोम र सूर्यको आराधना गरिन्थ्यो । पूजाको स्थान यज्ञमण्डप वा हवनकुण्ड हुन्थ्यो । मन्त्रहरू वेदबाट लिइन्थे, विशेष गरी ऋग्वेद र यजुर्वेद बाट । पण्डित, गुरु वा ऋषिहरूले यज्ञ सञ्चालन गर्ने गर्थे । यसबेला मुख्य रूपमा अग्निलाई हविष्य चढाएर देवताहरूलाई प्रसन्न पार्ने चलन थियो ।
५०० ईसापूर्व – ५०० ईस्वीलाई पौराणिक तथा उपनिषद् युग भनेर भन्ने गरिएको छ । यो कालखण्डमा हिन्दुधर्ममा भक्तियुगको सुरुवात भएको हो । यस समयमा वेदहरूको गहन अध्ययनपछि उपनिषद् दर्शनको विकास भयो, जसले आध्यात्मिक ज्ञानलाई प्राथमिकता दियो । यसै समयदेखि व्यक्तिगत रूपमा मन्दिर वा घरमा पूजा गर्ने परम्परा विकसित हुन थाल्यो भन्ने धेरैको अनुमान रहेको छ । यहि समयदेखी देवताहरुका मूर्तिहरूको स्थापना गरी पूजा गर्ने चलन सुरु भएकोले वेदका साथै पुराणहरूको पनि महत्त्व बढ्दै मन्त्रजप, ध्यान, आरती र मूर्तिपूजाको सुरुवात भयो । यहि समयदेखीनै शिव, विष्णु, ब्रह्मा, दुर्गा, लक्ष्मी, सरस्वती, गणेश र अन्य देवता तथा अवतारहरूको महत्त्व बढ्दैजानुको साथै भगवानप्रतिको प्रेम र समर्पण लोकप्रिय हुन थाल्यो ।
५०० ईस्वीदेखि १७०० ईस्वी बिचको समयलाइ पूजाको मध्यकाल भनेर भन्न सकिन्छ । यस अवधिमा हिन्दु धर्म विभिन्न परम्परागत शाखाहरूमा विभाजित भयो । भक्ति आन्दोलन यो युगको प्रमुख विशेषता हो । यो समयमा मठ–मन्दिरहरू बढ्नथाले, जसले पूजाको परम्परालाई अझ सशक्त बनायो । हिन्दुधर्मको प्रमुख सम्प्रदायहरू यत्रतत्र फैलिन थाले । मूर्तिपूजा अझ व्यापक बन्यो, साथै विभिन्न जात्रा, पर्व र अनुष्ठानहरू लोकप्रिय भए । संस्कृत सँगै बिभिन्न भाषाहरूमा धार्मिक ग्रन्थहरु लेखिन थाले ।
१७०० ईस्वीदेखि हालसम्मको अबस्थालाइ हामिले आधुनिक युग भनेर भन्न सक्दछौ । यो समयमा घरमै दैनिक रूपमा पूजा गर्ने चलन अझ बलियो बन्यो । नवदुर्गा, शिवरात्रि, तीज, जन्माष्टमी, दशैं, तिहार जस्ता पर्वहरू अझ बढी धूमधामले मनाइन थाले । वेद, पुराण, गीता, रामायण र महाभारतको प्रचार–प्रसार विश्वभरि हुँदै गयो । अहिले पूजा गर्ने गराउने परम्परागत अभ्यासमा परिवर्तन हुदै डिजिटल युगमा भर्चुअल पूजा अर्थात अनलाइन आरती, पूजा सेवाको सुरुवात भएको पनि देख्न पाइरहेकै छौ । यसै युगमा हिन्दु धर्ममा केही सुधारवादी परिवर्तनहरू पनि आए भने केही पूजाप्रति अनास्था राख्नेहरुको बाहुल्यता पनि बढ्दै गयो ।
वैदिक ग्रन्थहरूमा “पूजा“ भन्ने शब्द प्रत्यक्ष रूपमा उल्लेख नभए पनि देवताहरूको आराधना, यज्ञ, हवन, स्तुति र प्रार्थनालाई विशेष महत्त्व दिइएको छ । वेदहरूमा भगवानको स्तुति गर्ने, अग्निदेवलाई हविष्य अर्पणगर्ने तथा आत्मशुद्धिका लागि गरिएको धार्मिक कर्मलाई पूजाको आधार मान्न सकिन्छ ।
“ॐ विश्वानि देव सवितर् दुरितानि परा सुव ।
यद् भद्रं तन्न आसुव ।।” (ऋग्वेद १.८९.१)
अर्थात्, हे परमदेव ! हाम्रा सबै पापकर्महरू, कष्टहरू र विघ्नहरू हटाइदिनुहोस् । हामीलाई शुभकार्य, सुसंस्कार र पुण्यमार्गमा डोर्याइदिनुहोस् ।
यो मन्त्रले देवताप्रति पूजा/प्रार्थना गर्ने परम्परालाई दर्शाउँछ । पूजा केवल बाहिरी कर्मकाण्ड मात्र नभई, हाम्रो मन, वाणी र कर्मलाई शुद्ध बनाउनुपर्ने कुरा यस मन्त्रले सिकाउँछ ।
“अग्ने सुपथा राये अस्मान् विश्वानि देव वयुनानि विद्वान् ।
युयोध्यस्मज्जुहुराणम् नो भूयिष्ठां ते नम उक्तिꣳ विदेम ।।“
(यजुर्वेद ३.३५)
हे अग्निदेव ! तपाई सम्पूर्ण ज्ञानका ज्ञाता हुनुहुन्छ । हामीलाई सत्य र धर्मको मार्गमा डोहोर्याउनुहोस् । पापकर्महरूबाट टाढा राख्नुहोस्, हामी तपाईलाई श्रद्धापूर्वक नमन गर्छौं ।
यस मन्त्रमा अग्निदेवलाई हविष्य अर्पण गर्दै सत्य र धर्मको मार्गमा लाग्न अनुरोध गरिएको छ । यो वेदमा वर्णित पूजाको आधारभूत स्वरूप हो ।
“नमस्ते गणपतये त्वमेव प्रत्यक्षं तत्त्वमसि।
त्वमेव केवलं कर्तासि, त्वमेव केवलं धर्तासि ।।“
(अथर्ववेद ६.१२०.३)
हे गणपति ! तपाईँ नै सबै कार्यका कर्ता धर्ता हुनुहुन्छ, हामी तपाईलाई पूर्ण श्रद्धा र भक्तिभावले नमस्कार गर्दछौ ।
यो मन्त्र गणेशको पूजा गर्नका लागि उपयोग गरिन्छ । यसले हिन्दुधर्ममा मूर्तिपूजाको विकाससँगै, भक्ति भावना पनि प्रमुख स्थानमा रहेको देखाउँछ ।
“ऋतं च सत्यं चाभीधायेत् तपसोऽध्यजायत ।
ततो रात्र्यजायत तत: समुद्रो अर्णव: ।।“
(सामवेद ३७५)
सत्य र धर्मको आराधनाले परमशक्ति (परमात्मा) प्रसन्न हुन्छन् । यसैबाट ब्रह्माण्डको सृष्टि भएको हो । यो मन्त्रले पूजाको अन्तर्निहित अर्थ बुझाउँछ । साँचो भक्ति, सत्य र धर्म पालन गर्नु नै सर्वोत्तम पूजा हो भन्ने बुझाउँछ ।
पूजा गर्न बस्नु अघि पूजागर्ने ब्याक्ती शारीरिक, मानसिक, र आध्यात्मिक रूपमा शुद्ध हुनु आवश्यक छ । हिन्दु धर्ममा कुनै पनि धार्मिक अनुष्ठान अघि विशेष रूपले शुद्धि र तयारी गरिन्छ । पूजामा बस्नुअघाडी नुहाएर शरीरलाई शुद्ध गर्नुपर्छ । पुरै शरीर नुहाउन यदि सम्भव नभए हात, खुट्टा धोएर पनि पूजा गर्न सकिन्छ । सकभर नया, सफा र पवित्र बस्त्र लगाउनु राम्रो मानिन्छ । पूजा स्थल, मन्दिर वा घरको पूजाकोठालाई गाइको गोवर, माटो, गंगाजल वा शुद्ध पानीले लिपपोत गरेर स्थान शुद्ध पार्न सकिन्छ । पूजा गर्ने मानिसले मानसिक र आत्मिक शुद्धि बनाउदै मनलाई एकाग्र बनाउने, पूजा अघि केही मिनेट ध्यान गर्ने वा गहिरो श्वास लिने, कुनै रिसराग, तनाव, क्रोध बा नकारात्मक विचारबाट मुक्त भै शान्तहुने प्रयास गर्दै पूजाको उदेश्यलाइ मनमा लिएर संकल्प गर्नुपर्दछ । पूजागर्दा श्रद्धा र भक्ति भावले मात्र गर्नुपर्छ, बाध्यताले होइन ।
पूजामा आवश्यक पर्ने सामग्रीहरू भगवानको मूर्ति प्रतिमा वा तस्बिर, धूप, दीप, चन्दन, कलश, प्रसाद, अक्षता, फूल, घण्टी, शंख, पुस्तक आदिको अग्रिम ब्याबस्थापन गर्नुपर्दछ ता कि पूजा गर्न बसिसकेपछि बारम्बार उठ्न नपरोस । पूजाको अघिल्लो दिनदेखी नै पूजा गर्ने व्यक्तिले लसुन, प्याज, माछामासु, मदिरा लगायतका जुठा मानिने बस्तुहरु सेवन गर्नुहुदैन, सके सम्म सात्त्विक आहार ग्रहण गर्नुपर्दछ । त्यसैगरी असत्य बोल्न नहुने, मन, वचन, कर्मबाट कसैलाई हानी नगर्ने, कुनै झगडा वा द्वेषयुक्त व्यवहार नगर्ने, शुद्ध भाषामा मन्त्रोच्चारण गर्ने, सकेसम्म मन्त्र वा स्तुति पाठ गर्ने, नसके मनले भगवान प्रति आस्था राख्ने अर्थात भगवानलाई कल्पना गरेर मनमा बसाउनु पर्दछ । बिधिपुर्बक गरिएको पूजाबाट अवश्य फल प्राप्ती हुने नै छ ।
अहिले आस्तिक र नास्तिक बिच बादबिबाद भएको पनि सुन्नमा आउँछ । सामाजिक भेदभाबको कारण भनौ वा आर्थिक लोभमा फसेर हिन्दुधर्म परिवर्तन गराउनेहरु, हिन्दु धर्मप्रती अनास्था फैल्याउनेहरु पनि सक्रिय भएको अबस्था देखिन्छ । कसरी बिदेशी धर्मका समर्थक संस्थाहरुले नेपालमा पैसाको खोलो बगाएर हिन्दुधर्म र संस्कारमाथी प्रहार गरे ? तिनका नाइकेहरु को को थिए भन्ने भेदहरु क्रमश खुल्दै पनि गएका छन । पूजा गराउने केही पंडितहरु पनि उल्लेख्य ज्ञान् बिनै पूजागर्दै गराउदै हिडने, शास्त्रको अपब्याख्या गर्ने, शास्त्रीय विधि पद्धतिलाई छोडेर आफ्नै तरिकाले ठगठाग पाराले कार्य सम्पादन गरेर केवल पैसातर्फ मात्र दृष्टि लगाउने द्रब्यपिचास प्रवृत्तिका देखिन थालेकाछन । केही अपबादलाई छोडेर धेरैले अहिले धर्मलाइ सार्बजनिक रुपमा पैसा असुल्ने नियतले यज्ञ, महायज्ञ, कोटिहोम, धानधाञ्यांचल भागवत सप्ताह आदिको नाउमा ब्यापारको माध्यायम बनाउदै गएको तितो सत्य पनि भन्नै पर्ने भएको छ ।
हामी हिन्दुहरु धार्मिक कार्यक्रम भन्नासाथ मन खोलेर दान गर्छौं, भक्तिभावमा रमाउँछौ, भजन किर्तनमा नाचिहाल्छौँ । यसले मनमा आनन्द र शान्तिको अनुभूति गराउँछ । भावनामा हामी अलि बढी नै बग्दछौँ पनि । नेपालमा पछिल्लो समयमा धर्मको नाममा दान गर्ने, भगवानप्रति आस्था राख्ने मानिसहरुको भावनामा खेलेर सप्ताह, कोटिहोम, महायज्ञ जस्ता कार्यक्रमको आयोजना गर्दै करोडौं रुपैयाँ संकलन गरी हिनामिना गर्ने प्रवृत्ति बढिरहेको देखिन्छ । यी धार्मिक कार्यक्रमहरूको मुख्य उद्देश्य देवधर्मको प्रचार, सामाजिक सहयोग, धार्मिक एवं सांस्कृतिक चेतनाको प्रवर्धनगर्नु हुनुपथ्र्यो तर पछिल्लो समय केही व्यक्ति, समूह वा संस्थाहरूले यसलाई आर्थिक फाइदाका लागि प्रयोग गर्न थालिएको देखिन्छ । एकादुइ बाहेक त्यसरी उठेको पैसाको उचित सदुपयोग वा कार्यान्वयन पनि भएको पाइँदैन ।
शुरुशुरुमा धनधान्यान्चल ज्ञान महायज्ञको नाममा होस बा श्रीमदभागबत पुराण महायज्ञ, तुलादानको नाममा उठेको रकमबाट कैयौ वृद्धाश्रम, विद्यालय, सामुदायिक भवन, अस्पताल भवन र मन्दिरहरु लगायत बने । यसबाट समाजमा उदाहरणीय कार्य हुन थालेको महसुस हुँदाहुँदै पनि बिस्तारै त्यो कार्य रकम बटुल्ने कार्यक्रम, फेसन, होडबाजी र व्यापारमा परिणत हुन थालेको छ । उठेको पैसामा सम्बन्धित समितिले हिनामिना गरेको, भने अनुसारको काम नगरेको नभएको, दाताले पनि दान दिन्छु भनेर कबोल गरी उधारोमा हात्ती चढी दोसल्ला ओढेको तर पैसा नतिरेको लागायतका विकृतिका समाचारहरु प्रकाशित हुन थालेपछि त्यस्ता कार्यक्रममा दान गर्नेहरु पनि केही सतर्क भने हुँदै गएका छन् । अहिले हाम्रो समाजमा देखासिकी गर्ने, बाजा बजाएर, हात्ती चढेर, दोसल्ला ओढेर मपाइँत्वको प्रमाणपत्र लिन सबलाई हतार छ । यही मनोभावना बुझेकाहरुको इजि मनि कमाउने गतिलो व्यवसाय बन्दै गरहेको छ धार्मिक व्यापार !
कुनै ठाउँमा त यज्ञबाट उठेको पैसोले मुलपण्डित र उनको गाउने बजाउने टोलीको हिस्सा, टेन्टवालाको भाडा लगायतको बढ्दो लगानीले आयोजकको खर्च पनि नउठेर यज्ञ गर्दा घाटा लागेको भन्ने पनि सुनियो । यस्ता विषयहरुमा छानबिनको लागि अख्तियार समेतमा उजुरी परेमा अख्तियारले पनि त्यस्ता उजुरीलाई जिल्ला प्रशासनतिर पठाइ आफ्नो लगत कट्टा गराउने सजिलो उपाय रोजिरहेको देखिन्छ ।
आजकल नेपालीलाई नास्तिक बनाउन अर्थात् नेपालमा हिन्दु धर्मप्रति वितृष्णा फैलाउन विदेशबाट युएसएआइडीमार्फत करोडौं डलर आएको, खर्च गरिएको भन्ने समाचारले पनि सामाजिक सञ्जालमा राम्रै चर्चा पाइरहेको छ । पोखरामा महिनौँ लामो कोटिहोम लगाउने नाममा पुराना ऐतिहासिक चौताराका वर, पिपल, स्वामीका रुखहरु काटिएको, आयोजक पक्ष र स्थानीय सरकारबिच वादविवाद चर्केको भन्ने खबर समेत सुन्नमा आएकै छ ।
सप्ताह, कोटिहोम, महायज्ञ जस्ता कार्यक्रमहरू हिन्दु धर्ममा पुरानो परम्पराअनुसार गरिन्छन्, जसमा धार्मिक प्रवचन, भजन–कीर्तन र यज्ञ आदि समावेश हुन्छन् । नेपालमा सार्वजनिक रुपमा गरिने यस्ता कार्यक्रमहरूको वित्तीय पारदर्शिता सुनिश्चित गर्ने कुनै प्रभावकारी कानुनी व्यवस्था छैन, जसले गर्दा कतिपय स्थानमा अनियमितता भएका घटनाहरु सार्वजनिक भैरहेका छन् । यस्ता कार्यक्रमहरूमा श्रद्धालुहरूले दिल खोलेर दान–दक्षिणा दिन्छन् तर केही आयोजकहरूले यस्ता धार्मिक कार्यक्रमबाट संकलन गरेको रकम अपारदर्शी रूपमा मनमौजी खर्च गर्ने, निजी स्वार्थका लागि प्रयोग गर्ने वा गलत उद्देश्यले सञ्चालन गर्ने गरेको आरोप लाग्ने गरेको छ । यस्ता ठग माहाराजहरुलाई कसले हो कठघरामा कोच्ने भन्ने आमचासोको बिषय पनि अहिले बहसमा छ । धर्म परिवर्तन गराउने र धर्मको नाममा ठगी गर्नेहरुलाई राज्यले ठेगान लगाउनै पर्छ ।
अन्त्यमा, पूजा हिन्दु धर्मको एक अभिन्न अंग हो, जसले व्यक्तिको आत्मिक उन्नति, समाजमा सकारात्मक ऊर्जा र धर्मप्रतिको आस्थालाई बढावा दिन्छ । पूजा कर्मकाण्ड मात्र होइन, यो त भक्तिको सुगन्ध हो जसले जीवनलाई सार्थक बनाउँछ । पूजा वैदिक युगदेखि आधुनिक युगसम्म निरन्तर विकसित हुँदै आएको छ । प्रारम्भमा यज्ञमुखी पूजा प्रचलित भए पनि कालान्तरमा मूर्तिपूजा, मन्त्र जप, ध्यान र भक्तिकेन्द्रित पूजाबिधिहरू लोकप्रिय बने । पूजा हिन्दु संस्कृतिको अभिन्न अङ्ग हो, जसले व्यक्ति, परिवार र समाजलाई आध्यात्मिक रूपमा जोड्ने कार्य गर्छ । पवित्र मनले पूजालगायत धार्मिक कार्यहरु गरौँ, भगवानप्रतिको आस्था र विश्वासलाई बढाऔँ, भक्तिमार्गबाटै मुक्तिमार्गमा जान सकौँ ।


