वीरगञ्ज – जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित शान्ति टोलको खेल मैदानमा शनिबार राति ‘व्यापारिक तथा सांस्कृतिक महोत्सव’ अनपेक्षित रूपमा स्थगन भएपछि स्थानीय कलाकार तथा आयोजकहरूले गम्भीर खेद प्रकट गरेका छन् ।
इलाका प्रहरी कार्यालय सिमराकी डीएसपी शुभद्रा लामा वाईबाको नेतृत्वमा गएको प्रहरी टोलीले कार्यक्रम चलिरहेको अवस्थामा हस्तक्षेप गरी कार्यक्रम रोकेको छ ।
प्रत्यक्षदर्शीका अनुसार, शनिबार राति ९ बजेर ५ मिनेट जाँदा डीएसपी वाईबा आफैं मञ्चमा पुगेकी थिइन्। कार्यक्रम प्रस्तुत गरिरहेका कलाकार सुनील पंडितको हातबाट उनले माइक खोसिन् र लाउडस्पीकरको तारसमेत चुँडाइदिएकी थिइन् । कुनै किसिमको जानकारी वा सुझाव नदिई डीएसपी वाईबाले इशारामा कार्यक्रमको समय समाप्त भएको भन्दै तत्काल रोक्न निर्देशन दिएकी थिइन् ।
यसरी बिना कुनै स्पष्ट कारण र पूर्व सूचना कार्यक्रम अवरुद्ध भएपछि आयोजक तथा स्थानीय बासिन्दाहरू निराश भएका छन् । मनोरञ्जन लिइरहेका दर्शकहरू कार्यक्रम बीचमै रोकिएपछि खिन्न भएका थिए भने कलाकारहरूले पनि आफ्नो प्रस्तुति पूरा गर्न पाएनन् ।
यस घटनाप्रति स्थानीय कलाकार सुनील पंडितले गहिरो असन्तुष्टि व्यक्त गरेका छन् । उनले भने, “हामीले स्थानीय स्तरमा खुसी र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिरहेका थियौं । तर, डीएसपी साहेबको यो व्यवहार अत्यन्तै दुःखद छ । यसले कार्यक्रम आयोजकलाई ठूलो आर्थिक नोक्सानी भएको छ भने कलाकारहरूको मनोबल पनि गिरेको छ ।”


