काठमाडौँ — खराब मौसमको सामना गर्दै यो बर्षको पहिलो आरोहणमै बुधबार एकै दिन ४० जना स्वदेशी तथा विदेशी विश्वकै अग्लो हिमाल सगरमाथाको शिखरमा पुगेका छन् । जसमा २२ नेपालीसहित चिनियाँ, युक्रेनी, चेक रिपब्लिकन, अमेरिकी र जापानी आरोही छन् । पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार तीनवटा फरक–फरक कम्पनीबाट गएका उनीहरू बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन् ।
सगरमाथा चुचुरोमा पुग्नेमा ८ चिनियाँ, ६ युक्रेनी, २ चेक रिपब्लिकन, १ अमेरिकी र १ जापानी आरोही छन् । उनीहरूलाई मद्दत गर्ने २२ नेपाली गाइड तथा शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेको विभागले जनाएको छ । आइतबारसम्म सगरमाथासहित २६ वटा हिमाल आरोहणका लागि विभागले ११९ वटा आरोहण दललाई अनुमति जारी गरिसकेको छ, जसमा नेपालसहित ५७ देशका २४० महिला र ८८७ पुरुष छन् ।
यीमध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि ४५ वटा आरोहण दलले अनुमति पाएका छन्, जसमा ८४ महिला र ३७२ पुरुष छन् । सगरमाथासँगै रहेको ल्होत्से हिमाल आरोहणका लागि १०७ र नुप्से हिमाल आरोहणका लागि ७६ जनाले अनुमति पाएका छन् ।
यी तीनवटै हिमाल आरोहण गर्न अनुमति लिने र उनीहरूका सहयोगीसहित यतिबेला सगरमाथा आधार शिविरमा कम्तीमा एक हजार स्वदेशी/विदेशी रहेको विभागले जनाएको छ । विभागले सबै हिमाल आरोहण अनुमति जारी गर्दै ७७ करोड ३५ लाख रुपैयाँ दस्तुर संकलन गरेको छ ।


