भैरहवा – द आर्ट अफ लिभिङको भैरहवामा नवनिर्मित आवासीय आश्रमको मंगलबार एक समारोहबिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका छन् । द आर्ट अफ लिभिङका प्रतिपादक श्री श्री रविशंकरको ६९औँ जन्मोत्सव तथा २५६९औँ बुद्ध जयन्तीको अवसर पारेर दुईदिने कार्यक्रम गर्दै नवनिर्मित आश्रमको उद्घाटन गरिएको हो ।
देशभरमा संचालनमा आएको संस्थागत आवासीय आश्रममध्ये यो तेस्रो आश्रम हो । यसअघि पहिलो आश्रम विराटनगरमा र दोस्रो आश्रम बुटवलमा निर्माण गरिएको थियो । भैरहवामा रहेको नवनिर्मित आश्रममा २७ वटा सुविधासम्पन्न कोठा र कार्यक्रमका लागि ठुला हलहरु रहेको आश्रम संयोजक दिपेन्द्र प्रधानले बताए । उनका अनुसार साढे चार करोडमा बन्ने आश्रममा २ करोडको काम भैसकेको छ ।
६ कट्ठा क्षेत्रफलमा १८ हजार स्क्वायर फिटको बिल्डिङमा ६ हजार स्क्वायर फिटका ३ तला हुने छन् । ३ तलाको भवनमा पहिलो तला बनिसकेको छ । द आर्ट अफ लिभिङ नेपाल एपेक्सका अध्यक्ष एसके सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


