सामाजिक संजाल र टिकटक

बिहानको ५ बजिसकेको तर म भने मस्त निद्रामै रहेछु । ए उठनुहोस त ! सुन्नुहोस त ! भन्दै उनले मानौ करोडौंको चिठ्ठा परेर खुशी भएझै लाग्ने भावमा मलाइ ब्युझाइन ।

बिहानबिहान निकै खुशी छौ, के भयो ? मैले अर्धनिद्रामै सोध्न भ्याउदा नभ्याउदै उनले हसिलो अनुहारमा ठुलै सफलता प्राप्त गरे जस्तै गरि भनिन, – मेरो टिकटकको भिडियोमा 2M भ्यु आयो नि हेर्नुहोस त, उठनु न उठनु !

मलाइ भित्रभित्रै रिस उठदा उठदै पनी, झ्याउ लाग्दा लाग्दै पनी, उनको उत्साह र खुशिमा कमि नआओस भनेर “बधाइ छ” भन्दै फेरि बिस्तरैमा पल्टिए । सोच्दै गए, यो टिकटकमा उनको कस्तो खालको नशा बसेको होला ? किन यतिबिधी गहिरिएकी होलिन ? बिहानै उठेर गर्नुपर्ने पुजापाठ, जप ध्यान, योगा, घरधन्दा गर्न छोडेर उठने बित्तिकै मोबाइलमा टिकटक खोलेर आफैमा खुशी हुने यो कस्तो खाले कर्म हो ? कस्तो जमाना आयो ? मैले केही बुझिन, उत्तर भेटिन तर पनि उनी यसैमा खुशी छन भने त्यो पनि राम्रै भो ! त्यसैले म चुप छु ।

पहिलो सामाजिक सञ्जाल मानिने Six Degrees को सुरुवात इस्बि सम्बत १९९७ मा भयो, जसले प्रयोगकर्ता लाई प्रोफाइल बनाउने र साथीहरू थप्ने सुविधा दियो भने २००३ मा LinkedIn आयो । यसबेलासम्म समाजमा सामाजिक संजालमा मानिसको खासै उपस्थिती थिएन । जब २००४ मा मार्क जुकरबर्गद्वारा हार्वर्ड विश्वविद्यालय मा Facebook अर्थात हालको Meta लन्च गरिएबाटै यसले विश्व व्यापीरुपमा तहल्का मच्चाउन शुरु गर्यो । यसको लगत्तै २००५ मा भिडियो सेयरिङ प्लेटफर्मको रूपमा YouTube को शुरुवात भयो । २००६ मा Twitter आयो, २०१० मा Instagram आयो भने २०११ मा आएको Snapchat ले फोटो र भिडियो सेयरिङ एपको रूपमा सुबिधा दियो ।

बिगतमा लैण्ड लाइन फोनबाट बिदेशमा रहेका आफन्तसंग कुरा गर्न सहज थिएन तर मेसेन्जर, भाइवर, ह्वाटसएप, विच्याट लगायतका एपहरुले मेसेजको आदनप्रदान, फोन र भिडियोकल समेत गर्न मिल्ने सुबिधा दिएपछी अहिले सबै जना बिदेशमा रहेका आफन्तसंङ्ग घण्टौ गफमा भुल्ने गरेको पाइन्छ ।

Forbes

सामाजिक संजालको कुरा गरिरहदा कतिपय पाठकले यहा Email को त कुरै आएन भनेर प्रश्न पनि उठाउन सक्नुहुनेछ । इमेल ब्याक्तिगत सुचनाको आदन प्रदानको साइट भएकोले यसलाइ सामाजिक संजालमा गणना गरिदैन । यो आधुनिक संचार प्रणालीको बिकसित र सुबिधाजनक रुप हो भन्ने सम्झिनु ठिक होला । इमेलको पहिलो प्रयोग सन् १९७१ मा अमेरिकी कम्प्युटर इन्जिनियर Ray Tomlinson ले दुईवटा कम्प्युटरबीच पहिलोपटक @ साइन प्रयोग गरेर प्रयोगकर्ताको नाम र सर्भर छुट्याउने तरिका सुरु गरे, जुन आजको इमेल सिस्टमको आधार हो । सार्वजनिक रूपमा इमेल सेवा दिने पहिलो कम्पनी CompuServe हो, जसले सन् १९७९ मा प्रयोगकर्तालाई इमेल खाता उपलब्ध गरायो भने निःशुल्क इमेल सेवा दिने पहिलो प्रमुख कम्पनी भने Hotmail हो, जुन सन् १९९६ मा सुरु भएको थियो । Hotmail लाई पछि Microsoft ले किनेर यसलाई Outlook मा परिणत गर्‍यो । yahoo, gmail लगायतका नामहरु भने यहाहरुले क्रमश सुन्दै प्रयोगगर्दै आउनु भएकै छ ।

२०१६ मा चीनमा Douyin नामले सुरुभएको प्लेट फर्मको अन्तर्राष्ट्रिय संस्करणलाई २०१७ मा TikTok भन्ने नाम दिइयो । २०१८ मा टिकटकले Musical .ly नामको एपलाई किन्ना साथ यसको प्रयोग विश्वभरमा अतिनै लोकप्रिय बन्यो । Tik Tok को मालिक अर्थात बनाउने कम्पनी ByteDance हो भने संस्थापक, स्थापना गर्ने व्यक्ति Zhang Yiming हुन । यसको मुख्य कार्यालय बेइजिङ, चीनमा रहेको छ । टिकटकसँग अहिले विश्वभरका १ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ता आवद्ध छन । विश्वकै सबैभन्दा बढी डाउनलोड गरिने एपहरू मध्ये टिकटक पनि एक हो । सामाजिक संजाल को भिडमा थुप्रै एप र साइटहरु प्रयोगमा आइरहेका छन जसको प्रयोगले बिश्वभरका मानिसहरु यसैमा मस्त र ब्यस्त छन । नेपालमा पनि युवावर्गहरुमा यो अत्यधिक लोकप्रिय छ ।

बिश्वभरमा घटेका राम्रा, नराम्रा खवरहरु छोटो समयमै सबैको पहुच र जानकारीमा पुगेका छन । सामाजिक सञ्जालको उद्देश्य भनेकै सञ्जाल निर्माण, सूचनाको आदानप्रदान, मनोरञ्जन, व्यापार प्रवर्द्धन लगायत समाजमा शिक्षा र जनचेतना फैल्याउनु रहेको देखिन्छ ।

सामाजिक संजालका प्रयोगकर्ताले बिभिन्न माध्ययमबाट संगीत, संवाद, अभिनय, नृत्य, हास्य, शैक्षिक सामग्री, जनचेतना लगायतका कन्टेन्टहरु पस्किरहेका छन । प्रयोगकर्ताले आफ्नै शैलीमा विभिन्न सामग्री सिर्जना गरि पोष्ट गर्न पाउने सुबिधाको खुल्ला प्रयोग गरिरहेका छन । सामाजिक संजाल को प्रयोगबाट आफ्नो सिर्जनात्मकता बढाउने, आफ्ना मनका बह पीडा र आत्मिक अभिव्यक्ति सबैका सामु ब्याक्त गर्ने, आफ्नो कलाप्रतिभा देखाउने, व्यापार प्रबर्द्धन गर्ने, समाजिक सञ्जालबाटै अतिरिक्त आम्दानीको अबसर जुटाउने लगायत का सकारात्मक प्रयोग पनि भएका पाइन्छन भने समयको दुरुपयोग, गलत सूचना सम्प्रेषण, अफवाह फैल्याउने, मानसिक स्वास्थ्यमा असर, अश्लिल आपत्तिजनक अपाच्य सामग्री, किशोर किशोरीहरूमा नकारात्मक प्रभाव, शान्तीसुरक्षा मा चुनौती लगायतका समस्याहरु पनि यसले निम्त्याएको छ भन्न सकिन्छ । नेपालमा COVID 19 को समयमा टिकटकको प्रयोग ह्वात्तै बढेको थियो ।

यसै सन्दर्भमा २०८० कार्तिक २७ गते सामाजिक सद्भाव र शान्तिसुब्यबस्थामा असर पारेको, सामाजिक असहिष्णुता र द्वन्द्व बढाएको, नेपालमा दर्ताहुन नमानेको लगायतका कारण देखाइ प्रचण्ड नेतृत्वको सरकारले नेपालमा TikTok बन्द गर्ने निर्णय गर्यो । यसरी एकाएक बन्द गरिनुमा राजनैतिक नेताहरु र प्रचण्ड नेतृत्वको सरकारमाथि TikTok का प्रयोगकर्ताबाट ब्याङ्गय, कडा आलोचना र बिरोधका सामग्री अत्याधिक फैल्याइएकोले यसलाइ नियन्त्रण गर्ने बहाना पारेर गरिएको एउटा राजनैतिक कारण थियो भन्ने एकथरिको तर्क पनि सुनिएकै हो । टिकटक माथिको प्रतिबन्धको केही ब्याक्तिहरुले खुलेरै स्वागत गरे भने केहिले बिरोध ।

बिरोध गर्नेहरुले सरकारले नागरिकलाइ संविधान प्रदत्त ब्याक्तिगत स्वतन्त्रता र सुचनाको अधिकार लाई कुण्ठित गरेको, आर्थिक नोक्सानी भएको भन्दै आवाज उठाए, नारा जुलुस नै गरिए । TikTok माथिको प्रतिबन्ध असंवैधानिक भएको तर्कसहित अदालतमा मुद्दा समेत परे पछि सरकार थप दबाबमा परिरहेकै अबस्थामा सत्ताको आलोचना रोक्ने र खुल्ला गरेर जनमत व्यवस्थापन गर्ने रणनीति अनुरुप युवा बर्गमा बन्दको नराम्रो सन्देश जान नदिनको लागि सरकारले पुनर्विचार गर्ने निर्णयमा पुगेर अब TikTok ले स्थानीय प्रतिनिधि तोक्ने, अश्लील/हिंसात्मक सामग्री तुरुन्त हटाउने र प्रयोगकर्ताको गोपनीयताको सुरक्षा गर्ने, नियमहरू पालना गर्नुपर्ने शर्तमा २०८१ भाद्र ६ गते केपि ओलि नेतृत्वको सरकारले टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय गरेको प्रसंग पनि यहाँ स्मरणयोग्य हुनेछ ।

बिगतका केही बर्षहरुबाट टिकटक र अमेरिका (USA) बीचको असमझदारी बढदै गएको समाचारहरु पनि सुन्न मा आएका छन । यसको मुख्य कारण भनेको डेटाको सम्भाबित दुरुपयोग र राष्ट्रिय सुरक्षासँग सम्बन्धित भनिने गरिएको छ । अमेरिकी सरकारले टिकटकमा चिनियाँ सरकारको प्रभाव हुनेहुदा आफ्ना नागरिकको ब्याक्तिगत डेटामार्फत जासुसी हुनसक्ने शंका वा डर मानिरहेको हुनसक्छ । चीनको साइबर सुरक्षासम्बन्धी कानूनअनुसार चिनियाँ कम्पनीहरूले माग भएकोबेला सरकारलाई डेटा दिनुपर्छ । यहि प्राबधानको कारणले ByteDance माथि अमेरिकी नेताहरूले शंका ब्याक्त गर्ने गरेका छन ।

टिकटकले आफ्नो अमेरिकी कारोबार अमेरिकी कम्पनीलाई बेच्नुपर्छ भन्ने उनिहरुको मनसाय बुझिन्छ । अमेरिकी संसदमा TikTok प्रतिबन्ध गर्न वा Byte Dance लाई यसको स्वामित्व बेच्न बाध्य पार्ने विधेयक प्रस्ताव गरिएको भन्ने समाचार पनि आइरहेकै छन । यदि स्वामित्व परिवर्तन भएन भने भबिश्यमा अमेरिका भित्र Tik Tok पूर्णरूपमा प्रतिबन्धित पनि हुन सक्छ भन्ने अडकल काटन सकिन्छ ।

नेपाल र नेपालीले सामाजिक संजाल र टिकटकबाट के के पाए, के के गुमाए ? कसले कति कमाए, कति क्षती ब्योहोरे भन्ने विश्लेषण गर्ने हो भने लामै प्रतिबेदन तयार होला तथापी यसबारेमा कुनै सर्भेक्षण भने भएको पाइदैन । यकिनका साथ केही भन्न नसकिए पनि टिकटकमा लाइभ बसेर आफ्ना समर्थकहरुले दिएका गिफ्टहरुबाट, ब्याबशायिक प्रचार गरेर, भ्यु शेयर बटुलेर लगायतका विभिन्न माध्यायमबाट पारश बम ठकुरी, अंशु बर्मा, मिस पबि, आयुष सिंह ठकुरी, राजकुमार थापा मगर, एलिना चौहान, नारद ओझा, दिपक राज गिरि, पल शाह, प्रशान्त तामाङ लगायतले राम्रै आम्दानी गरिरहेका छन भन्ने पनि प्रचारमा सुनिन्छ । टिकटकबाट कसरी कमाइन्छ भन्ने बिषयमा धेरै प्रयोगकर्ताहरुलाई खासै ज्ञान छैन, फेरि पनि कमाउनेहरुले कमाइरहेकै छन । टिकटक मा अपलोडगर्ने भिडियो बनाउन र भाइरल हुनकै लागि दिनहु अनेक आइडिया लगाएर हुदा नहुदा उटपट्याङ्ग र हासो मजाकका भिडियोहरु बनाउने, भिडियो बनाउनकै लागि नया नया कपडाहरु किन्ने, मेकप गरिरहने, यात्रामा निस्किरहनेमा पुरुषको तुलनामा महिलाबर्गहरु केहि अघाडी नै देखिन्छन ।

अहिले नेपाली समाजमा सबैजसोको हात हातमा मोबाइल पुगिसकेको कारणले पनि सामाजिक सञ्जाल र टिकटकको प्रयोग ह्वात्तै बढेर गएको छ । सा-साना नानिबाबुहरुलाइ भुलाउनको लागि आमाबाबुले नै मोबाइलमा बानी पारिरहेका छन । मोबाइल हेर्न खेलाउन दिएर खाना ख्वाउने, भुलाउने प्रचलन फेसन जस्तै भैसकेको छ जसको कारणले बच्चाको मानसिक अबस्था र आखाको ज्योती कमजोर बन्दै गैरहेको देखिन्छ । पहिला आफैले बच्चालाइ मोबाइलको लत बसालिदिन्छन अनि ठूलो हुँदै गएपछी दिनरात कति मोबाइल मै झुण्डिएको भनेर गाली गर्छन, चिन्ता मान्छन । बच्चाहरुले बढी मात्रामा कार्टुन, भिडियो गेम, युट्युब आदिमा ध्यान केन्द्रित गरेको पाइन्छ भने महिलाबर्गहरुले टिकटक मा र पुरुषहरुले फेसबुकमा आफ्नो उपस्थिती बढाइरहेका छन, मानौ नेपालीहरु फुर्सदिला छन र बसि बसि खान पुग्ने अबस्थामा पुगिसकेका छन ।

सामाजिक संजालकै कारण नेपालमा चेतना र जागरूकता बढिरहेको छ यो सकारात्मक पक्ष हो । सामाजिक सञ्जाल मार्फत शिक्षा, स्वास्थ्य, कानुन, सुरक्षा, वातावरण आदि विषयमा जनचेतना फैलिएको छ । युवायुबतीहरू विभिन्न सामाजिक मुद्दामा सचेत हुन थालेका छन । उनिहरुले गीत, नाच, अभिनय, हास्य लगायतका आफ्ना सृजनात्मक सामग्री TikTok र YouTube मा अपलोड गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाउदै केहिले राम्रै आम्दानी पनि गरिरहेका छन भने अर्कोतर्फ यसकै प्रभाबले नेपालीहरु अल्छी हुँदै गैरहेकाछन । टिकटककै कारणले घर झगडा, पारिबारिक मनमुटाब र शंकालु स्वभाव बढिरहेको छ, युवायुवतीहरुले पढाइमा ध्यान केन्द्रीत गर्न सकिरहेका छैनन, परिवारिक जमघटमा दुख सुखका गफहरु हुन छोडेकाछन, भोलि गर्नुपर्ने कामको सरसल्लाह, भाबी योजना आदिको बिषयमा कुरै हुन छोडेका छन । परिवारभित्र एकापसको सम्बन्ध र बोलचालमा कमि महसुस हुँदै गएको देखिन्छ । मानौ एउटै घरमा संगै बसेर पनि सबै जना एक्लाएक्लै आफ्नै दुनियामा ब्यस्त छन । कसैलाइ कसैसित बोल्ने फुर्सदै छैन ।

गलत, अपुष्ट र भ्रम फैलाउने सामग्री सामाजिक सञ्जालबाट छिट्टै फैलिइरहेका छन जसले समाजमा भय, विभाजन र असहिष्णुता बढाउन मद्धत पुर्याइरहेको छ । धेरैजसो प्रयोगकर्ताले फेक आइडी बनाएर अश्लील, गालिगलौज, धोखाधडी, भड्किला पोष्टहरु, समाज विरोधी र हिंसात्मक सामग्री प्रस्तुत गरेर नकारात्मकता फैलाइरहेका छन, जसले गर्दा परंपरागत संस्कार, नैतिकता र सामाजिक मर्यादामा असर परिरहेको छ । लाइक, कमेन्ट, भ्यु, फ्लोअर्स वा शेयरकै चक्करमा साइबर बुलिङ्गमा फस्दा डिप्रेसन, आत्मग्लानि, तनाब जस्ता समस्यामा परेको पनि देखिन्छ । कतिपय अबस्था मा टिकटक बनाउने क्रममा दुर्घटना, आत्महत्या, परिवार र साथिभाइसँगको टकराव आदि समेत देखिएको छ भने साबधानी नअपनाउदा ह्याकरले बैंकखाता रित्तै बनाइदिने देखि विभिन्न प्रकारका ठगिहरु पनि सामाजिक सञ्जाल को प्रयोगबाट बढिरहेका छन ।

अहिले सबैजसो घरघरमा हरेक पारिबारिक जमघट, यात्रामा, बिबाह ब्रतबन्ध लगायतका धार्मिक वा सामाजिक सेवाका कार्यहरुमा, साथिभाइ संगी वा इष्टमित्र भेटघाटको अबसरमा सम्झना वा रमाइलोको लागि एउटा भिडियो खिचेर टिकटक मा हालिहाल्ने फेसन बढिरहेको छ । यस्ता सामाजिक कार्यमा पहिले जस्तो छरछिमेकका आफन्तहरुले काममा सहयोग गर्न छोडेर केवल फोटो खिच्न र टिकटकमा भिडियो हाल्नै सबै जना ब्यस्त हुने गरेकाछन । गृहिणीहरुले भान्सामा परिकार डढेको पत्तै नपाउने भैसकेका छन भने पुरुषले पनि कहाँ कतिखेर को सित मनसाटने हुन अनुमान गर्नै नसकिने अबस्था आएको छ । कतिपय उमेर ढल्केका बृद्धाबस्थाका ब्याक्तिहरुलाइ दिन कटाउन, भुल्नभुलाउन, रमाउन सजिलो होस भनेर छोराछोरी नातिनातिनाहरुले नै आइडी बनाइदिएर मोबाइल चलाउन सिकाइरहेका पनि छन जसको कारणले उनिहरु खुशी पनि देखिन्छन ।

सामाजिक सञ्जाल र टिकटक दुई धारका तरबार जस्तै छन, उचित प्रयोगले ज्ञान, सिर्जनशीलता, मनोरञ्जन, सुबिधा र अवसर दिन्छ भने दुरुपयोगले समस्या, विकृति र संकट निम्त्याउँछ । त्यसैले यसको प्रयोगगर्दा सचेत भएर, सुरक्षित तबरले सन्तुलन मिलाउनु नै आजको आवश्यकता हो । नेपाल को सन्दर्भमा भन्ने हो भने धेरैजसो सामाजिक संजालमा नकारात्मक कुराहरुको प्रचार, गाली गलौज, अश्लिलता, जसलाइ जे मनलाग्यो त्यही लेख्ने छाडातन्त्र हाबी छ । सधै बिरोध मात्रै गर्ने नकारात्मक प्रबृती बढ्दो छ । फेक आइडी बनाएर, फेक ग्रुपखोलेर कसैको बिरोध र कसैको समर्थन गर्दै नागरिक को भावनामा खेलेर मतदाता भडकाउने वा आफ्नो पक्षमा जनमत तयार पार्ने हतकण्डा अपनाउने गरिएको छ ।

सामाजिक संजालको दुरुपयोगबाट बढ्दै गएको अराजकता र बिकृतीलाई रोक्नको लागि सरकारले ऎन नै बनाएर नियमन गरि त्यस्ता ब्याक्तिहरुलाइ कारबाहीको दायरामा ल्याउनु आबश्यक छ । सामाजिक संजाललाइ नियन्त्रण हैन, नियमन भने गर्नैपर्छ यसमा दुइमत छैन तर यहि कुरालाइ आफू सरकारमा रहदा आबश्यकता देख्ने दलले प्रतिपक्षमा पुग्ने बित्तिकै प्रेस र वाक स्वतन्त्रतामा सरकारले अंकुश लगाउन खोजेको भन्दै बिरोध गर्ने प्रवृत्ति हाबी छ । जबसम्म पार्टी हरुले मौकापरस्त दोक्ला राजनिती गर्न छोडदैनन, तबसम्म यस्ता बिषयहरुले निकास नपाउने निश्चित छ । सबैले सामाजिक संजालको प्रयोग गरौ तर अनुशासित र मर्यादित भएर फुर्सदको समयमा मात्र । दिन रात यसैमा झुण्डिएर आँखा र टाउको दुखाएर कुनै उपलब्धी हासिल हुदैन त्यसैले संख्यात्मक भन्दा पनि गुणात्मक वृद्धिको सोच राखौ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु