आधुनिक चित्रकलाका विषयमा प्रदर्शन र छलफल

गैँडाकोट – आधुनिक चित्रकला र यसको साधना विषयक प्रदर्शन एवम् अन्तरक्रिया कार्यक्रम शुक्रबार जानकी ग्यालरी गैँडाकोटमा सम्पन्न भएको छ । गैँडाकोट नगरपालिकाको सहयोगमा गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले गैँडाकोटमा धेरै कलाकार भएको जानकारी दिँदै प्रज्ञाप्रतिष्ठानलाई उनीहरूले अझ अगाडि बढाउने विश्वास व्यक्त गरे । मन्तव्यका क्रममा उनले भने, ‘आज आधुनिक कलाको विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भसहित चर्चा भयो । यो कार्यक्रम फलदायी भएको मैले ठानेको छु ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य रामहरि श्रेष्ठले विश्वमा साहित्यभन्दा पनि पहिले कलाको विकास भएकाले साहित्यभन्दा कला अगाडि आएको बताए । ‘कला नबुझ्नेहरू सत्तामा हुँदा कलाको विकास हुन सकेन’ उनले भने, ‘कला बुझ्ने बालेनको कारण आज काठमाडौँ कलामय बनेको छ ।’

आधुनिक चित्रकलाको प्रदर्शनी (डेमो) अन्तर्गत वरिष्ठ चित्रकारद्वय मुकेश मल्ल र जीवन राजोपाध्यायले एक–एक वटा अमूर्त चित्र सिर्जना गरेका थिए । चित्र तयार भएपछि अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले आफ्ना जिज्ञासा राखेका थिए । सहभागीहरुका जिज्ञासामाथि जवाफ दिँदै चित्रकार मल्लले भने, ‘आधुनिक कला भनेको कलाको एउटा सानो भाग हो । कला क्षेत्र विशाल छ । कला भनेको जिन्दगीको एउटा भाग हो ।’

‘आधुनिक कला झट्ट बुझिँदैन, बुझिने हुन पनि हुँदैन’ उनले भने, ‘आधुनिक कला महसुस गर्ने कुरा हो । कलाको सन्देश हुनु पर्छ भन्ने कुरा दुई सय वर्ष पुरानो कुरा हो ।’ १९औँ शताब्दीको अन्ततिर आधुनिक कलाको सुरूवात पश्चिमा देशबाट भएको उनको भनाइ थियो । ‘मनको कुरा पोख्न आधुनिक कला आयो’ मल्लले भने, ‘आधुनिक कलाको बारेमा पर्याप्त छलफल आवश्यक छ ।’

Forbes

मल्लका अनुसार, जङ्गबहादुर बेलायत यात्रामा जाँदा उनीसँगै गएका भाजुमानले नेपालमा फरक खालको कला भित्र्याएको मानिन्छ । ‘सन् १९६० मा नेपालमा आधुनिक कला भित्रियो । लैनसिंह बाङ्देल, शशी शाह, लक्ष्मण श्रेष्ठलगायतले यसलाई अगाडि बढाए’ मल्लले भने, ‘चन्द्रमानसिंह मास्के परम्परागत र आधुनिक कलाका पुल हुन् ।’

अर्का चित्रकार राजोपाध्यायले आधुनिक कलाको बारेमा कन्फ्युजन राजधानी काठमाडौँमा पनि रहेको बताए । क्यामराको आविष्कारपछि युरोपबाट आधुनिक कलाको सुरूवात भएको उनले जानकारी दिए । ‘आजभन्दा ६५ वर्षअघि नेपालमा पनि आधुनिक कला सुरू भयो’ उनले भने ।

‘आधुनिक अर्थात् अमूर्त कला भनेको बाँसुरीको धुन जस्तै हो’ सहभागीहरुले अमूर्त चित्रको अर्थ बताउन आग्रह गरेपछि राजोपाध्यायले भने, ‘बाँसुरी लयमा बज्दा जसरी मन आनन्दित हुन्छ, अर्थ चाहिँदैन त्यसरी नै अमूर्त कलालाई पनि अर्थ चाहिँदैन ।’

गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति भीम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार रामहरि शर्माले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु