जीवन के हो ?

संघर्ष हो जीवन, जीवन संघर्ष हो,
जीवनदेखि थाकेर बस्छु नभन
जीवनदेखि हारेर मर्छु नभन ।

जिन्दगी हो हार–जीत भइरहन्छ,
बाधा पन्छाउँदै नदी बगिरहन्छ,
हार भयो भनेर दु:ख नमान
रातपछि दिन हुन्छ हेर बिहान ।

न्याय निम्ति जिन्दगी यो लम्किरहन्छ,
उज्यालो हो जिन्दगी यो चम्किरहन्छ,
चेतनाको प्रवाहलाई रोक्न सकिन्न
जति छोप्न खोजे पनि सत्य छोपिन्न ।

मलाइ अति नै मन पर्ने गित हो यो । यदि म गलत छैन भने श्याम तमोट र गोविन्द विकलले रचना गर्नुभएको अनि रामेश श्रेष्ठले गाउनु भएको यो गित मैले ७/८ कक्षामा पढदा अर्थात २०३७/३८ सालतिरै सुने जस्तो लाग्छ । यस हिसाबले यो गित २०३० को दशकमै गाइएको हुनु पर्छ । पछि २०६२/६३ सालतिर होला ‘पलेटी’ कार्यक्रम अन्तर्गत मंजुलले यस गीतलाई सार्बजनिकरुपमा प्रत्यक्ष पुनः प्रस्तुति (revival) गर्नुभएको हो कि ?

साथिभाइ मिलेर बनपाखाहरुमा घाँस दाउरा काटन जादा हामिहरुले यो गित खुब गाइरहन्थेउ । यो गीतले जीवनमा आउने कठिनाइहरुलाई सामना गर्दै अघि बढ्न प्रेरणा दिन्छ । यस गितले जीवनलाई संघर्षको रूपमा चित्रण गर्दै हार नमान्नको लागि सन्देश पनि दिएको छ । यस गीतका शब्दहरू मानिसलाई आशावादी बनाउने खालका छन, जसले जीवनमा सकारात्मक सोचराख्न मद्दत पुर्‍याउँछन ।

Forbes

जीवन के हो भन्ने बारेमा परिभाषित गर्न खोज्नु सजिलो बिषय हैन । यसको अर्थ र क्षेत्र व्यापक छ । मेरो बिचारमा जीवन भनेको सुख-दु:ख, आशा-निराशा, हासो-रोदन, धनी-गरिब, हार-जित, सफलता-असफलता, माया-घृणा, भोगबिलास लगायतका सबल र दुर्बल पक्षहरुको समिश्रण मात्रै होइन कि यो त एउटा अनन्तयात्रा हो र हामी त्यो यात्राका यात्रीहरु मात्रै हौ ।

मानिसको जन्म र मृत्युको बीचको अहिले बाचिरहेको समयलाई नै समग्रमा हामी जीवन भनेर बुझ्दछौ । केवल बाच्ने अर्थात सास फेर्ने प्रक्रिया मात्र जिवन होइन कि यो त भावनात्मक, सामाजिक, बौद्धिक र आध्यात्मिक अनुभूतिको एकमुष्ट भोगाइ हो । जीवनको अर्थ केवल अस्तित्वमा रहनुमात्र होइन, अनुभव गर्नु, सिक्नु, माया गर्नु, संघर्ष गर्नु र योगदान दिनु पनि हो ।

जीवनको उद्वेश्य व्यक्तिपिच्छे आआफ्नो सोच अनुरुप फरक फरक पनि हुनसक्छ । धार्मिक वा आध्यात्मिक दृष्टिकोणबाट हेर्दा आत्मा को उद्धार, परमात्मा सँगको मिलन, पापकर्मबाट मुक्तिमार्गको खोजी नै जीवन हो भने मानवतावादी दृष्टिकोण बाट अरूको सेवामा रमाउनु, समाजमा सकारात्मक प्रभाव पार्नु हुनसक्छ । व्यक्तिबादी सोचबाट हेर्दा आत्माको विकास, सन्तोष, सुख शान्ती समृद्धि र शान्तिको खोजीनै जिवनको उद्वेश्य हुनसक्छ । बास्तबमा त्यो जीवन उद्वेश्यपूर्ण हुन्छ, जहाँ व्यक्तिले आफ्नो कर्तव्य, मूल्य र मान्यतासँग सुसंगत भएर बाँच्दछ । आफूलाई आफैले चिन्ने, जान्ने र बुझ्ने प्रयास गर्नु, अरू को लागि केही गर्न सक्ने भावना राख्नु र सकेको जति सेवा गर्नु, आफ्नो कर्तव्य र जिम्मेवारीलाइ इमान्दार भएर पूरा गर्नु, भौतिक र आध्यात्मिक सुखको बीचमा सन्तुलन कायम गर्नु, समाज परिवार देश र समग्र प्रकृतिप्रति उत्तरदायी हुनु जिवनमा बाच्नुका सारहरु हुन सक्छन ।

हामी जन्मिन्छौ, बाच्छौ, बाचुन्जेल हरेक कर्महरु गर्दछौ र एक दिन लामो चिरनिद्रामा पर्दछौ । यो बीचको यात्रालाई अर्थपूर्ण, उद्वेश्यपूर्ण र पवित्र बनाउन सक्नु नै जीवनको सफलता हो । मानवको जीवन सामान्य जीवको भन्दा भिन्न छ, किनभने हामी चेतनशील छौं, विचारशील छौ, नैतिक विवेकले युक्त छौ । जीवन केवल जन्मेर खाने, सुत्ने र मर्ने कर्मको लागि मात्र होइन, यो त आत्माबाटै परमात्माको खोजको यात्रा पनि हो । हामी यो पृथ्वीमा आउनुको खास औचित्य र लक्ष्य छ भन्ने कुरा कहिल्यै बिर्सिनु हुदैन । जीवन संघषकै लागि हो, कर्म गर्नकै लागि हो तर हरेक कर्ममा भक्ति, नम्रता र समर्पण हुनुपर्छ तब मात्र त्यो जीवन सार्थक हुन्छ । जीवनको उदेश्य भनेकै बर्तमानमा कर्मबाटै सुखको आनन्द, दुख कष्ट र समस्याको समाधान र मृत्युपश्चातको लागि पुण्य को संचिति अनि मोक्ष प्राप्तिको लक्ष्य हुनुपर्दछ ।
परम्परागत रूपमा जीवनलाई चारवटा आश्रममा विभाजन गरिएको छ, जसलाई चतुर्वर्णाश्रम प्रणाली भनिन्छ । यी चार आश्रमहरू यस प्रकार छन –

१) ब्रह्मचार्य आश्रम –

हाम्रो जिवनको बाल्यकालदेखि यौवनाबस्थासम्म्मको अबधी अर्थात जन्मदेखि करिब २५ बर्षसम्मको उमेरलाइ शिक्षा प्राप्तिको चरण मान्न सकिन्छ जसलाइ ब्राह्मचार्य आश्रम पनि भनिन्छ । यहि समयमा मानिसले शिक्षा प्राप्त गर्ने, गुरुकुलमा रही वेद शास्त्र लगायत अध्ययन गर्ने, ब्रह्मचारी जीवन बिताउने लगायतका कार्यहरु गर्ने हुन्छन । अनुशासन, संयम, गुरुको सेवा गरेर ज्ञान प्राप्ति गर्नु नै यस अबस्थाका गुणहरु हुन भनेर बुझ्न सकिन्छ ।

२) गृहस्थ आश्रम –

२५ देखि झण्डै ५० वर्षसम्मको उमेरलाइ वैवाहिक जीवन, कर्तव्य र कर्मको चरण हो भन्न सकिन्छ जसलाइ गृहस्थ आश्रम पनि भनिन्छ । यो अबधिमा मानिस पारिवारिक जंजालको बन्धनमा पर्दछ । आफ्नो र परिवारको सुखसुबिधा लालन पोषणको लागि कडा मेहनत गर्नुपर्ने हुन्छ । आफ्नो संस्कार र कर्तव्यको बिच मा तालमेल मिलाउदै समाजप्रतिको दायित्व पनि यसै चरणमा पूरा गर्नुपर्छ । गृहस्थ आश्रमलाइ चारै आश्रमको आधार पनि मानिन्छ, किनभने गृहस्थले अरु तीनै ओटा आश्रमलाई पनि सहयोग पुर्याउँछ ।

३) बनप्रस्थ आश्रम –

मानिसको ५० देखि ७५ वर्षसम्मको अबधीलाई बनप्रस्थ को समय मान्न सकिन्छ । सांसारिक जिम्मेवारीबाट वाक्क दिक्कहुने त्यस्तो परिबेशबाट मुक्त भै आत्मशान्ती र इश्वरप्राप्तिको खोजिमा घरपरिवार छोडेर वनमा गइ ध्यान, तपस्या, साधना गर्दै आध्यात्मिक जीवनको सुरुवात गर्ने चरण हो यो । पति पत्नी दुबैजनाले मिलेर बनप्रस्थ जीवन बिताउन सक्छन ।

४) सन्यास आश्रम –

७५ वर्ष पछिको समय भनेको सम्पूर्ण संसार त्याग्ने र मोक्ष प्राप्तिको अन्तिम चरण हो सन्यास आश्रम । संसार का सबै बन्धन र मोहलाई पुर्णरुपमा त्यागेर आत्मज्ञान र मोक्ष प्राप्तिका लागि साधना गर्नु यस अबस्थाको एकमात्र लक्ष्य हुनुपर्छ । बैराग्य जीवन नै सन्यास आश्रम हो अर्थात शरणागतीको अन्तिम मौका हो भन्न सकियो ।

के अहिलेका जन्मिदै भौतिक साधनको सुख सुबिधामा रमाउन चाहने र स्वार्थ जीवन जिउने मानिसहरुले यस्ता पौराणिक आश्रमहरुलाइ अनुशरण गर्लान त अर्थात गरेका छन त ? यो प्रश्न सबैको मनमा उठनु स्वाभाबिक हुनसक्छ तथापी बहुमुल्य धनसम्पत्ती वा भौतिक श्रोत र साधनले मात्रै जिवनको कुनै मोडमा मानिस खुसि र सुखी नहुनसक्छ भन्ने हामिले विभिन्न घटनाहरुलाइ हेरेर देखेर अबश्य बुझ्नसक्छौ । मानिसले आत्महत्या किन गर्छ ? भनेर घोत्लिने हो भने यसको सार बुझ्न सहयोग पुग्न सक्छ । मर्नु आफैमा कष्टकर हुन्छ, फेरि पनि मानिसमा आत्महत्या गर्ने सोचमा सजिलै पुग्न त पक्कै सक्दैन । जब उसले बाच्नुभन्दा मर्नु नै ठिक हो भन्ने अन्तिम निष्कर्षमा पुग्दछ तब उसको लागि बर्तमान जीवन, सम्पुर्ण धनसम्पत्ती, परिवार, सांसरिक मोह र भौतिक सुखसुबिधा गौण हुन्छन ।

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ॥
(भागवद्गीता – अध्याय २, श्लोक ४७)

अर्थात जीवनको उद्देश्य कर्म गर्नको लागि हो, फल प्राप्तिको मोहमा होइन । तिम्रो अधिकार केवल कर्म गर्नमा छ, त्यसको फलमा होइन । कर्तब्य पूरा गर, कर्म अनुसारको फल त स्वतह: पाइन्छ, त्यसैले त्यसको आश गर्नैपर्दैन, आश गरेर बस्नैपर्दैन । फलको आशमा कर्म गर्ने होइन, कर्म गर तर फलको आश नगर । कर्ममार्ग, भक्ति मार्ग, ज्ञानमार्ग सबैले जीवनलाई उच्च उद्वेश्यतर्फ डोहोर्‍याउँछन ।

“सब्बपापस्य अकरणं, कुसलस्य उपसंपदा,
सचित्तपरियोदपनं – एतं बुद्धानं सासनं।”
(बुद्ध वचन – धम्मपद १८३)

अर्थात जिवनमा पाप नगर्नु, सदकर्म गर्नु र मनलाई शुद्धपार्नु नै जीवनको सार्थकता हो । यही नै बुद्धको शिक्षा हो । सफल जीवन त्यही हो जसले पाप त्याग्छ, धर्म अंगाल्छ र अन्तर्मन शुद्ध राख्छ ।

अतः पुम्भिर्द्विजश्रेष्ठा वर्णाश्रमविभागशः ।
स्वनुष्ठितस्य धर्मस्य संसिद्धिर्हरितोषणम् ॥
(श्रीमद्भागवत महापुराण १-२-१३)

हे श्रेष्ठ द्विजहरू ! वर्ण र आश्रम अनुसारको कर्तव्यपालन गर्दा त्यसको सिद्धि त्यति बेला मानिन्छ, जब भगवान प्रसन्न हुनुहुनेछ । जिवनको उद्देश्य केवल कर्म होइन, ईश्वरलाई प्रसन्न पार्ने भावनाबाट गरिने कर्म हो भन्ने बुझ्न जरुरी छ ।

यो लेखलाइ यहासम्म पढिरहदा सधै कर्म कर्म मात्रै भनेको छ, कर्तव्य पूरा गर मात्रै भनेर लेखेको छ, गतिलो खानु लाउनुछैन, रमाइलो गर्नुछैन, मोजमस्ती आनन्दको कुरै आउदैन भन्ने रिस पनि तपाइलाइ उठन सक्छ ! यस्तो पनि जिवनको परिभाषा हुन्छ ? भनेर बिद्रोह गर्ने भावना पनि जाग्न सक्छ, समग्रमा यो सोच पनि जीवनकै हो । रमाइलो, सुख र आनन्द पनि जीवनको एउटा भाग हो । ८४ लाख योनिमा जन्म लिदै मर्दै प्राप्त हुने भनिएको मानब जिवनमा पनि मोजमस्ती नगरेर कुन जुनिमा गर्ने हो ? भनेर कसैले भन्छ भने उसको कुरा पनि ठिकै हो भनेर मान्दिन सकियो ।

“आनन्दो ब्रह्मेति व्यजानात्” – कठोपनिषद् ।

अर्थात परम ब्रह्म नै आनन्द हो । परमसत्य वा जीवनको अन्तिम सत्य पनि “आनन्द” नै हो ।

यसले यो इशारा गर्छ कि जीवनमा रमाइलो, प्रेम, हासो र रोमान्सहरु पनि चाहिन्छन जुन अपवित्र होइनन, तर परम सत्यतर्फ पुग्ने मार्गमा पनि सहयोगी हुन सक्छन यदि तिनीहरू सीमामा छन र संस्कार युक्त छन भने । हाम्रो परम्परामा राधा-कृष्णको प्रेम एक अनुपम आदर्श हो । राधाकृष्णको प्रेम केवल सांसारिक रोमान्स होइन, त्यो त आत्मा र परमात्मा को मिलनको प्रतीक हो । त्यस्तै, भगवान राम र सीताको प्रेम, शिव र पार्वतीको समर्पण, यी सबैले देखाउँछन् कि प्रेम र रोमान्स जीवनको सौन्दर्य हो तर त्यसमा श्रद्धा, पवित्रता र सच्चाई हुनुपर्छ ।

“यं हि न व्यथयन्त्येते पुरुषं पुरुषर्षभ ।
समदुःखसुखं धीरं सोऽमृतत्वाय कल्पते॥” (गीता २-१५)

अर्थात जो सुख-दुखमा समान रहन्छ, त्यही व्यक्ति मोक्ष को योग्य हुन्छ । सुख खोज्नु पाप होइन, तर त्यसमा अति आसक्ति गर्नु र दुःखबाट भाग्नु पथभ्रष्टता हो । आजको जीवनशैलीमा यदि मानिस हाँस्न सक्दैन, रमाउन सक्दैन, प्रेम गर्न सक्दैन भने त्यो जीवन सुकेको रूख झैं बन्छ । प्रेम, संगीत, सौन्दर्य, काव्य, हास्य यी सबैले जीवनलाई रसिलो, प्रेरणादायी र स्मरणीय बनाउँछन ।

त्यसैले सफल जीवन त्यो होइन जुन केवल स्वार्थमा सीमित छ, साँचो जीवन त्यो हो जुन आत्मकल्याण र लोककल्याण दुवैमा केन्द्रित छ । ज्ञान, करुणा, सेवा, ध्यान र समर्पण नै जीवनका पाँच आधारस्तम्भ हुन । हामी जन्मन्छौं, बाँच्छौ र एक दिन जान्छौ तर यो बीचको यात्रालाई अर्थपूर्ण, उद्देश्यपूर्ण र पवित्र बनाउन सक्नु नै जीवनको सच्चा विजय हो । हाम्रो शरिर पञ्चतत्वहरु मिलेर नै बनेको हो र मृत्यु पश्चात् पनि पञ्चमहाभुतमै बिलय हुने हो । जीवनको वास्तविक सौन्दर्य पञ्चतत्वको सन्तुलनमा नै निर्भर गर्दछ । जब यी पंचतत्वहरूले सामञ्जस्यपूर्ण रूपमा कार्य गर्छन्, तब हामी स्वस्थ, शान्त र सुखी जीवन जिउन सक्छौँ ।

जीवनको सार भनेकै पञ्च तत्वलाई बुझ्नु, त्यसैसँग तालमेल मिलाउनु र अन्ततः आत्मज्ञानको मार्गमा अग्रसर हुनु हो । समग्रमा जीवन कर्मको रंगमञ्च नै हो, यसलाइ कसरी के गरेर जिउने भन्ने सोच हाम्रो आफ्नै हो भने साथ र सहयोग भगवान कै हो । मेरो बिचारमा यहि हो जीवन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु