चितवन – जापानको ओसाकामा सम्पन्न २१औँ वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिएर नौ वटा मेडलसहित नेपाली खेलाडीहरुको टोली शुक्रबार नेपाल फर्किएको छ । टोलीमा नौ जना खेलाडी, दुई जना रेफ्री, एक जना टिम कोच, दुई जना टिम मेनेजर, एक जना पत्रकार र एक जना राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधि गरी १६ जना थिए ।
नौ जना खेलाडीमध्ये तीन जनाले स्वर्ण, दुई जनाले रजत र चार जनाले कास्य पदक जितेका छन् । स्वर्ण पदक जित्ने तीन जना खेलाडी चितवनको भरतपुरबाट उक्त प्रतियोगितामा सहभागी भएका थिए ।
वैशाख १४ गते आइतबार जापानको ओसाकामा सम्पन्न २१औँ वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भरतपुर-११, बर्मेलीचोकस्थित प्रेरणा तेक्वान्दो डोजाङबाट सहभागी तीन जना खेलाडीले एक-एक वटा स्वर्णपदक जितेका हुन् ।
तीन जना खेलाडीमध्ये योगेश कवर योगीले ३० वर्षमुनिको उमेर समूहमा एकल पुम्से अन्तर्गत स्वर्णपदक जितेका हुन् । प्रतियोगितामा फाइटतर्फ ४८ केजी तौल समूहमा सुलभ शर्मा र पुम्सेतर्फ १४ वर्ष उमेर समूहमा सफल लामाले थप स्वर्णपदक जितेका हुन् ।
बैशाख १२, १३ र १४ गते २१ औं वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका खेलहरू भएका थिए । प्रतियोगितामा सहभागी हुनका लागि प्रेरणा तेक्वान्दो डोजाङका संस्थापक अध्यक्ष योगेश कवर योगीसहित चितवनका दुई जना खेलाडी जापानको ओसाका प्रस्थान गरेका थिए । उनीहरु शुक्रबार राति काठमाडौँ आएपछि शनिबार बिहान भरतपुर आइपुगेका छन् । उनीहरुलाई भरतपुर विमानस्थलमा खादा लगाएर स्वागत गरिएको थियो ।
यसअघि कवर योगीको नेत्तृत्वमा २०८१ साल असोजको ५ र ६ गते भारतको कोलकत्तामा भएको अन्तर्राष्ट्रिय मार्सलआर्ट प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गरेको थियो । उक्त प्रतियोगितामा प्रेरणा तेक्वान्दो डोजाङबाट ६ जना खेलाडी सहभागी भएका थिए ।
२०८१ साल कात्तिक १० र ११ गते थाईल्याण्डमा भएको १०औं तिराक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रेरणा तेक्वान्दो डोजाङबाटै ४ जना खेलाडी सहभागी भई पुम्सेतर्फ एक जनाले रजतपदक र ३ जनाले कास्यपदक जितेका थिए । फाइटतर्फ पनि ४ जना खेलाडी सहभागी भएई एक जनाले रजतपदक र ३ जना कास्यपदक जितेका थिए ।



