ट्रक चालक लामा भन्छन्,‘कालो वर्ण भएको अग्लो मानिसले मेरो ट्रकमा पैसा राख्यो, उनी नारायण पौडेलका मान्छे हुन्’

एटुजेड समाचार

काठमाडौँ — काठमाडौंको टोखाबाट करिब २५ करोड रुपैयाँ बराबरका विदेशी मुद्रा तस्करीमा दुई जनाविरुद्ध अभियोगपत्र दायर भएको १५ दिन पुगेको छ । बैशाख २ गते राजस्व अनुसन्धान विभागले ट्रकका चालकसमेत रहेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका फुच्चे भनिने कुसाङ लामा र नारायण पौडेललाई मुख्य अभियुक्त बनाई अभियोगपत्र दायर गरेको थियो । तर, फरार रहेका पौडेललाई प्रहरीले अहिलेसम्म भेट्न सकेको छैन ।

राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकारी तथा निर्देशक बद्री कुमार कार्कीका अनुसार काठमाडौं जिल्ला अदालतमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बजोजिम दायर गरेको अभियोगपत्रमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गतको कसूरको मुद्दा चलाइएको छ ।

चैत्र ४ गते भेटिएको सो पैसाका बारेमा बयान दिँदै लामाले सिन्धु मेटेरियल्स प्रालिको टोखा– ३, ग्रिनल्याण्डमा रहेको गोदामबाट राखिएको हुनुपर्ने बताएका छन् । उनले आफूले चलाएको ना ७ ख १६५२ नम्बरको कन्टेनर (ट्रक) चन्द्रागिरि २ मा रहेको बाबा बालखण्ड बडी बिल्डर्स ग्यारेजमा १४/१५ दिन लगाई बनाएपछि ठिमीमा सर्भिसिङ गरी गोकर्णश्वर–२ नयाँपाटीमा १ दिन पार्किङ गरी जोरपाटीमा शंकर अस्पताल निरको पार्किङमा २ दिन पार्किङ गरिएको थियो । त्यसपछि पूजा गरी चैत्र ४ गते गाडी निकाली सिन्धु मेटेरियल्स प्रालिको गोदाममा साँझ ६ बजेतिरको समयमा लगेर राखियो ।

लामाका अनुसार सोही समयमा नारायण पौडेल र पौडेलका ड्राइभर तथा अकाउन्टेन्ट राजकुमार भन्ने हरिबहादुर भण्डारीसँग कुराकानी गरी बसिरहेको समयमा कालो वर्ण भएको अग्लो मानिस उनको गाडीबाट झरेको देखेर के गरेको भनेर सोध्दा नारायण पौडेलले आफ्नो केटा हो भन्दै उसलाई केही समयमा ‘ए केटा काम सकियो?’ भनेर सोधेका समेत थिए । लामाले भने, ‘एछिनपछि नारायण पौडेलले मलाई बस्दै गर भनेर त्यो कालो केटासँगै गए । उक्त विदेशी मुद्रा अमेरिकी डलर र यूरो मेरो कन्टेनर भित्र सिटमाथिको रहेको साउण्डबक्स राख्ने ठाउँमा त्यो कालो केटाले राखेको हुनुपर्छ ।’

त्यसपछि लामा रातको ८ बजे रसुवातिर जानलाई हिँडेका थिए । त्यो समयमा नारायण पौडेल त्यहाँ नभए पनि एकाउन्टेन्ट भण्डारी भने थिए । सिन्धु मेटेरियल्स प्रालि नारायण पौडलसँगै सिन्धुपाल्चोककै हरिबहादुर भण्डारी, तुलसी भण्डारी, जीवन कुमार भण्डारीको हो । जीवन कुमार भण्डारी बाह्रबिसे नगरपालिका–३ का वडा अध्यक्ष पनि हुन् ।

Forbes

लामाले बयानमा चाइनाबाट पैठारी भएका रेडिमेड कपडा लिनको लागि आफू जाँदै गरेको बताएका छन् । पाठक मेसबाट सो सामान लिन आफू गएको उनको बयान छ । उनी पक्राउ पर्नु केही दिनअघि बैंक खातामा आएको ठूलो रकमको बारेमा भाइको साथीहरुले उसको घर किन्ने प्रयोजनका लागि खातामा जम्मा गरिदिएको बताएका छन् ।

प्रहरी टोखा–१०, महादेवटार हाइटमा रहेको नारायण पौडेलको घरमासमेत छापा मारेको थियो । उनको घरमा सफाइको काम गर्ने सुजता हेमरम र उनका श्रीमान् मिलन विकले आफूहरुले कहिलेकाहिँ चिनियाँ नागरिक घरमा नै आउने गरेको देखेकोसमेत बयानमा बताएका छन् । पौडेलसहित घरमा बस्दै आएका उनको श्रीमती र छोरा पनि सो दिन देखि बेपत्ता छन ।

त्यो दिन १ हजार १४ वटा फोन

जानेबेलामा भेट नभए पनि लामाले नारायण पौडेललाई फोन गरेर जान लागेको बताएका थिए । जवाफमा पौडेलले राम्रोसँग गाडी लिएर जाउ भनेका थिए । तर यो बीचमा लामाले पौडेल र दाई ग्याम्जो शेर्पासँग सयौं पटक फोनमा सम्पर्क गरेका छन् ।

नारायण पौडेललाई फोन गर्नुको कारणबारे लामाले बाटोमा गाडीमा खराबी आएको कारणले गाडी बिग्रेको सम्बन्धमा कुराकानी हुँदा बारम्बार फोन सम्पर्क भएको बताए । दाई ग्याम्जो शेर्पासँगको संवाद भने आमा बिरामी भई काठमाडौं उपचारको लागि आउँदा आमासँग कुराकानी गर्नका लागि पटक–पटक सम्पर्क भएको भन्ने बयान छ ।

कल डिटेल प्रतिवेदनमा लामाले नारायण पौडेलले प्रयोग गर्ने माबाइलमा २८ पटक सम्पर्क भएको देखिन्छ । त्यसपछि न्यौपानेले सोही रात टोखा बालकुमारी मन्दिरबाट मोबाइल बन्द गरे । त्यसपछि लामाको नारायण पौडेलका ड्राइभर हरिबहादुर भण्डारीसँग १६९ पटक फोन सम्पर्क भएको थियो । लामाले दाई ग्याम्जो शेर्पासँग १३९ पटक, भाउजु दिवाङ्ग शेर्पासँग १६ र श्रीमती दामु शेर्पासँग ७४ पटक फोन सम्पर्क गरेको अदालतमा प्रस्तुत भएको कल डिटेल प्रतिवेदनमा छ ।

यस्तै राम सिलवालसँग ६ पटक र देवीप्रसाद ढुङ्गेलसँग ९ पटक लामाले सम्पर्क गरेका छन् । यता नारायण पौडेलले आफ्नो ड्राइभर हरिबहादुर भण्डारीसँग २६७ पटक फोन सम्पर्क गरेका छन् । सगुन केसीसँग ७३ पटक, छोरा दिपेश पौडेलको मोबाइलमा २१३ पटक, भाई राजकुमार पौडेलकोमा काम गर्ने सरोज कोइरालाको मोबाइलमा २० पटक फोन गरेका छन् ।

(कान्तिपुर दैनिकमा आज प्रकाशित यो समाचार विवेक पोख्रेलले लेखेका हुन् ।)

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु