चितवन – नेपालका पुराना रोटरी क्लबमध्ये एक र चितवन जिल्लाको पहिलो रोटरी क्लब अफ चितवनले ३४औँ स्थापना दिवस मनाएको छ । भरतपुर हाइटमा रहेको रोटरी दण्डपाणी भट्टराई भवनमा विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै क्लबका अध्यक्ष भानु शर्माले सन् १९९१ अप्रिल २२ तारिखमा ३० जना सदस्यहरु मिलेर रोटरी क्लब अफ चितवनको स्थापना भएको जानकारी दिए । उनले शिक्षा, स्वास्थ्य, खानेपानीको क्षेत्रमा रोटरीले काम गर्दै आइरहेको बताए ।
क्लबका पूर्वअध्यक्ष राजु पौडेलले संचालन गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि एवं रोटरीका पूर्व डिष्ट्रिक्ट गभर्नर रविन्द्र पियाले बिरुवामा पानी सिँचेर कार्यक्रमको उद्घाटन गरेका थिए । रोटरी क्लब अफ चितवनको गौरवमय इतिहास स्मरण गर्दै उनले भने, ‘यो क्लबले विगतमा एकै वर्षमा चार वटा क्लबलाई स्पोन्सर गरेको थियो, जुन काम दक्षिण एसियामै पहिलो पटक वर्ष सन् २००२–२००३ मा भएको थियो ।’
सन् २०२७–२०२८ का लागि रोटरी डिष्ट्रिक्ट गभर्नर प्राध्यापक डा. आइपी ढकालले क्लबका सबै सदस्यहरुलाई महत्त्व दिएर काम गर्नुपर्ने विचार व्यक्त गरे । सन् २०२५–२०२६ का लागि लायन्स डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटाले समाजसेवाको क्षेत्रमा रोटरीसँग हातेमालो गरेर अगाडि बढ्न लायन्स सदैव तयार रहेको बताए ।
रोटरी क्लब अफ चितवनका पूर्वअध्यक्ष राजु पौडेलले संचालन गरेको कार्यक्रममा हालका उपाध्यक्ष राजन पियाले रोटरीको अनुदान परियोजनाहरुबारे जानकारी गराएका थिए । कार्यक्रममा रोटरीका असिस्टेन्ट गभर्नर हरिप्रसाद सुवेदी, क्लबका संस्थापक एवं पूर्वअध्यक्ष महेन्द्रलाल प्रधान, संस्थापक सदस्य चिरञ्जीवी श्रेष्ठ, बालकुमारी माध्यमिक विद्यालयकी पूर्वप्रधानाध्यापक सरस्वती रिजाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, रोटर्याक्ट क्लब अफ चितवनका अध्यक्ष युगल श्रेष्ठलगायतले बोलेका थिए ।
छिमेकी क्लबहरुको तर्फबाट रोटरी क्लब गोरखाका पूवअध्यक्ष पवनरमण खनालले मन्तव्य राखेका थिए । क्लबका निर्वाचित अध्यक्ष रामचन्द्र अधिकारीले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा विभिन्न सामाजिक संस्थाका पदाधिकारी, अन्य रोटरी क्लबका अध्यक्ष एवं रोटरियन, स्पाउज, रोटर्याक्टरहरुको उपस्थिति रहेको थियो ।



