कुकुर घरपालुवा जनावर हो, जसलाई वैज्ञानिक रूपमा Canis lupus familiaris भनिन्छ । यो जनावर Canidae परिवार अन्तर्गत पर्छ र साङ्घातिक प्रजाती Canis lupus ( Gray Wolf ) को वंशज हो भनेर भन्ने गरिन्छ । कुकुरलाइ मानबद्वारा पालिएको पहिलो जनावर हो भनेर पनि भन्न सकिन्छ । यसको उत्पत्ति हजारौ बर्ष अघाडि अर्थात मानव सभ्यताको आरम्भसँगै जोडिएको मान्न सकिन्छ । हिन्दुधर्ममा तिहार अर्थात यमपञ्चकभित्र कुकुरको पुजा गर्ने चलन छ । कुकुरलाई यमराजको द्वारपाले र काल भैरबको बाहन समेत मानिन्छ ।
वैज्ञानिकहरूका अनुसार कुकुरको उत्पत्ति खैरो ब्वाँसो बाटै भएको हो । शुरु शुरुमा मानवले मैत्रीपूर्ण, सहयोगी र सजिलो रूपमा नियन्त्रण गर्न सकिने खालका ब्वाँसो हरूलाई रोज्न थाले । यस्ता ब्वाँसोहरूलाई पालेर प्रजनन गराउँदै गर्दा क्रमशः आजका घरपालुवा कुकुरहरू (domesticated dogs) विकसित भए । इजरायलको जेरिको क्षेत्रमा भेटिएको भनिने १२,००० वर्ष बढिको भनिएको पुरानो मानव-कुकुरको समाधि संसारको सबै भन्दा पुरानो मानव र कुकुर बिचको पाल्तु सम्बन्धको प्रमाण हो । चीन, साइबेरिया, युरोप र मिश्रका पुराना सभ्यताहरूमा पनि कुकुरको उपस्थिति देखिन्छ ।
कुकुर मानिसको शुरुवात देखिकै पुरानो साथी पनि हो । नेपालको गाउघरमा पाइने र बढी पालिनेमा भोटे कुकुर, तामाङ कुकुर, देउराली कुकुर, भुला कुकुर आदि पर्दछन । भोटे कुकुर भन्नासाथ हिमाली तथा उच्चपहाडी क्षेत्र मुगु, हुम्ला, जुम्ला, रसुवा, दोलखा आदिमा पाइने बाक्लो रौं भएको, खैरो कालो सेतो वा मिश्रितरङ भएको, जाडो सहने क्षमता भएको, साहसी, बलियो, घर तथा चौपाया को सुरक्षा गर्न सक्षम, लाटो जस्तो चुपचाप शान्त संग बस्ने तर खतराको आभास पाए तुरुन्तै चर्को स्वरमा भुक्ने र झम्टिहाल्ने स्वभाबको हेर्दै डरलाग्दो देखिने खाल को हुन्छ भने तामाङ कुकुर भन्नाले तामाङ समुदायमा मध्यपहाडी क्षेत्रहरूमा पालिने मध्यम आकारको, छोटो रौं भएको, कालो, खैरो वा रातो रङको कुकुर भनेर चिन्दछौ ।
पहाडी क्षेत्रमा पर्ने देउराली भञ्ज्याङ्गहरूमा पाइने कुकुर लाई देउराली कुकुर भनियो भने विभिन्न जातका कुकुर हरु बीचको मिश्रणबाट जन्मिएका सामान्यतया नेपाल भरीनै पाइने कुकुरलाइ भुला जातिका भनेर चिनिन्छ । यिनिहरु सानोदेखि मध्यम आकारका, दुब्ला-पातला तर तेजिला हुन्छन । कसैले यस्ता कुकुरलाइ घरपालुवा बनाएर पनि पाल्ने गर्छन भने धेरै जसो सडकपेटि र गल्लिहरुमा भौतारिने गर्दछन जसलाइ भुस्याहा कुकुर पनि भनिन्छ । माथी उल्लेखित यस्ता सबै कुकुरहरू मानिस र गाउँघरको जीवनशैलीसँग घुलमिल छन् । यिनिहरुले घर, खेतीपाती, चौपाया आदिको सुरक्षाजस्ता विभिन्न कार्यमा सहयोग पुर्याउँछन ।
अहिले बजारमा कुकुरका धेरै नया र आधुनिक प्रजाती हरु पाइन्छन । तिनीहरूको आकार, बनावट, स्वभाव, गुण र उपयोग आदिको आधारमा त्यस्ता बिदेशबाट आयातित कुकुरहरुलाइ विभिन्न बर्गमा वर्गीकरण गर्ने गरिएको छ । केही चर्चित प्रजातीका नामहरूमा जर्मन शेफर्ड (German Shepherd), लाब्राडोर (Labrador Retriever), डोबरम्यान (Doberman), हस्की (Siberian Husky), पग (Pug) आदिलाई लिन सकिन्छ । यस्ता कुकुरहरुको आआफ्नै छुट्टाछुट्टै बिशेषताहरु हुने गर्दछन । मानिससंग छिट्टै घुलमिल हुनसक्ने र खेल्न मनपराउने, सिक्ने र सुध्ने उच्च क्षमता, मालिकप्रतिको बफादारिता र आज्ञापालक प्राय सबै कुकुरहरुमा पाइने साझा गुण र बिशेषताहरु हुन । आजकल कुकुरलाइ घरगोठको सुरक्षाको अलवा अनुसन्धान, युद्ध, खोज र उद्धार लगायतका कार्यहरुमा समेत प्रयोग गरिदै आएको पाइन्छ ।
नेपालको सन्दर्भमा नेपाल प्रहरी र नेपाली सेनामा समेत अनुसन्धान र सुरक्षाकार्यमा कुकुरको प्रयोगगरिदै आएको पाइन्छ । नेपाल प्रहरीले २०२८ सालमा पहिलोपटक अनुसन्धानको कार्यमा कुकुरको प्रयोग गर्ने औपचारिक सुरुवात गरेको थियो । प्रारम्भमा केही जर्मन शेफर्ड कुकुरहरू भारतबाट ल्याइएको हो । २०३० सालमा “कुकुर प्रशिक्षण केन्द्र” स्थापना गरियो भने २०५० पछि यसको थप ब्याबस्थापन गरिदै लगियो । अहिले प्रहरीका कुकुरहरुले सुँघेर अपराधी पत्तालगाउने, लागूऔषध पत्तालगाउने, विस्फोटक पदार्थको पहिचान गर्ने लगायत उद्धारकार्यमा समेत प्रयोग भइरहेका छन भने नेपाली सेनामा १९८० को दशक देखि ( सायद २०३७ सालतिर ) सुरक्षा र तालिममा कुकुरको प्रयोग हुन थालेको हो । यहाँ पनि K9 Unit स्थापना गरेर सुरक्षा, बिष्फोटक पदार्थको पहिचान लगायत आतंकवाद विरोधी कार्यमा कुकुरको प्रयोग भइरहेको छ ।
कुकुर पाल्नुका फाइदाहरु मात्रै छैनन, बेफाइदाहरु पनि प्रशस्तै छन, जस्तै : असाध्यै भुक्ने, आक्रमक स्वभाव, सरसफाइमा समस्या, खर्चिलो, खेतिपातीको क्षती, रोग सार्ने सम्भावना, बास्तु दोष आदि । भुक्नु कुकुरको बिशेषता नै हो । केही कुकुरहरू खाना नपाएर भुक्छन त केही सानोतिनो कुरामा पनि निरन्तर भुक्छन । कुनै मालिकको ध्यान आफुतिर आकर्षित गर्नलाइ भुक्छन भने कुनै दिशा पिसाबको लागि साङ्लो खोलिदिउन भनेर । कुनैले खतराको महसुस गरेर भुक्छन त धेरै जसोले अरु कुकुरहरु भुकेको सुनेर भुक्छन, जसले गर्दा छिमेकी वा घरपरिवारलाई आनन्दसंग सुत्नपनी दिदैनन भने केही कुकुरहरू अपरिचित वा बच्चाहरूप्रति आक्रामक हुन्छन, टोकि हाल्छन, झम्टी हाल्छन, सात्तै लैजान्छन । कहिले काहीँ कुकुर रोएको आवाज पनि सुनिन्छ जसलाइ अत्यान्तै अशुभ मानिन्छ ।
अनियन्त्रित तरिकाले पालिएको कुकुरले घर वरिपरि दिसा पिसाब गरेर फोहोर गर्दछन भने खाना, खोप, उपचार आदिमा उत्तिकै खर्च लाग्छ । विशेष प्रजातीका कुकुरहरू त झनै महँगा पनि हुन्छन । कुकुरलाई खेलाउने, हिँडाउने, माया दिने आदि कुरामा समय दिनुपर्ने हुदा व्यस्त मानिसका लागि सम्भाल्न गाह्रो हुनसक्छ । कुकुरलाइ खुल्ला छाड्दा बारीमा खोस्रेर वा लडिबुडी गरेर अन्नबाली, तरकारीमा नोक्सान पुर्याउछन । विभिन्न प्रकारका मौसमी रोग देखि रेबिज जस्तो गम्भीर र घातक रोगपनि सार्न सक्दछन । कुकुरपाल्ने घरमा सधै बास्तु दोष रहिरहन्छ भने आशिर्वाद दिन आएका पितृहरु गेट बाटै फर्किन्छन भन्ने भनाइ रहेको छ । केही शास्त्रहरुमा घरमा पालिएको कुकुरले लगातार पूर्व दिशातिर फर्केर भुक्न थालेमा त्यो घरमा संकट निम्त्याएको वा मृत्युको संकेत दिएको हुन्छ पनि भनिएको छ ।
नेपालको गाउघरमा घरगोठको सुरक्षा, चौपायको रेख देख, जंगली जनावरबाट बालिनाली जोगाउन लगायतका आबश्यकताले कुकुर पाल्नुपर्ने बाध्यात्मक अबस्था छ भने शहरबजारहरुमा सुरक्षाको लागि भन्दापनी शोखले, रहरले, रमाइलो मानेर, अरुको देखासिकी गरेर, अरुलाइ शान देखाउन, दिन कटाउन वा एक्लोपन कम गर्न कुकुर पाल्ने प्रबृती बढ्दो छ । पहिला दुईचार पैसा अतिरिक्त आम्दानिको लागि दुइचारवटा भेडा बाख्राका पाठापाठी, खरायो, बंगुर, हासकुखुरा, माछा आदि पाल्नेहरु अहिले केही पैसा कमाउने हुनासाथ घरमा कुकुर पालेर कुकुर मालिक हुन पाएकोमा नाकका टोटा फुलाउने प्रबृती पनि फष्टाउदो देखिन्छ । कसैले कुकुर पाल्न थाल्यो भने अब उ धनी भएछ अर्थात सजिलै दुइचार पैसा कमाउने भएछ भनेर बुझ्दा फरक नपर्ने भयो भन्ने आम भनाइ पनि सुनिन्छ । गाई भैंसी भेडा बाख्रा पाल्नेलाइ बिचरो, गरिब र दुखि सम्झिने समाजले कुकुर पाल्नेलाइ “कुकुर मालिक” को संज्ञा र इज्यत दिन थालेको छ ।
आजकल शहरबजारतिर बिहानको मर्निङ्गवाकमा पुस्तैनी खानदानीले आम्दानी अनुसारको झल्को दिने महँगो प्रजाती को सफा सुन्दर चिटिक्कको बिदेशबाटै मगाएको कुकुर र मध्यमबर्गियहरुले नेपालमै क्रसिङ्ग गराएर जन्माइएका ३ देखि २० हजार सम्म मुल्यपर्ने कुकुरका छाउराहरु डोर्याउदै हाय, हेल्लो गर्दै हिडनेहरुको लर्को छ । मानौ उनिहरु आबश्यकताले भन्दापनी शोखले भनौ वा आफु कुकुर पाल्ने हैसियतको भएको भन्ने देखाउने उदेश्यले वा कुकुरलाइ पनि ब्यायम गराउन कुकुर डोर्याएर हिडने गरेका हुनसक्छन । यस्ता मानिसहरुलाइ अर्काले तपाईं भनिदियोस वा नभनि दियोस, आफै मपाइ भन्न भनाउन अग्रसर हुन्छन । यो लेख पढेर तपाइहरुले पनि मलाइ भन्न सक्नुहुनेछ कि आफुले एउटा कुकुर पनि पाल्न नसक्ने, नपाल्ने अनि अरुले कुकुर पालेर कुकुर मालिक भएकोमा रिस, डाहा गर्ने ? त्यस्तालाइ मेरो जवाफ हुनेछ- हात्ती गैडा वा बाघै पाले जस्तो कुरा र शान नगरौन हौ मित्र ! आखिर कुकुर बिराला पो पालेका हौ ! मैले त समाजको अहिलेको अबस्था जस्तो देखे त्यस्तै लेखे, म मा कसैप्रती रिस छैन र डाहा लागेर लेख लेखेको पनि हैन है ।
हाम्रो समाजमा कुकुरपालेर आफैमा सुखी र खुसिभएको आत्मरतीमा रमाउनेहरुको पनि कमि छैन । कुकुरमालिक हरुको चर्तिकला, चुरिफुरी, घमण्ड अनि गैर्हजिम्बेबारीपन देखेर एक्लै हास्नुको बिकल्प पनि देखिन्न । कुकुर पालेर कुकुरको आची सोहोर्ने अहिलेका केही युवायुवतीहरु बाबू आमाको स्याहार गर्न घिनाउछन, झ्याउ मान्छन तर कुकुरलाइ भने चुम्मा खादै मुसार्छन, कुकुरसंगै सुत्छन, कुकुरकै जुठो खान्छन । कुकुर उनिहरु पाल्छन तर त्यसको समस्या र असर गाउँ, समाज, छिमेकिले झेल्दिनु पर्ने अबस्था छ ।
टोलमा अरु कुकुर भुकेको सुनेपछी आफु पनी भुक्ने कुकुरको बिशेषता नै हो । साउण्ड एलर्जी भएका मानिसहरु कुकुरको भुकाइले रातभर निदाउन पाउदैनन । कतिपयले पालेका कुकुरले बाटोमा हिडने बटुवालाइ पटक पटक टोकेर हैरान पार्दा पनि कुकुर मालिकहरुले नियन्त्रण गर्दैनन, उपचार गरिदिनु त परैको कुरा । सार्बजनिक बाटोघाटो, पार्क वा अरुको खेतबारीमा आची गराउनु त मानिदिउ उनिहरुको अधिकारै हो । यस्तो बेथिती रोक्ने जिम्मा भनेको स्थानिय सरकारको हो तर उ कता छ, के गर्दैछ ? अत्तोपत्तो छैन । भर्खरै काठमाडौ महानगरपालिकाले कुकुर बिरालो पाल्नेहरुले अनिबार्यरुपमा दर्ता गराउनुपर्ने भनेको चाही सुनिएको छ, अब अरु पालिकाहरुले पनि यस्तो सामाजिक बिकृतिलाइ नियन्त्रण र अनुगमन गर्लान कि !
हाम्रो समाजमा कसैलाइ तुच्छ शब्द प्रयोग गर्नुपर्यो, अपमान गरेर भन्नुपर्यो वा गाली नै गर्नुपर्यो भने “त कुकुर !” भनेर होच्याइन्छ । कुकुर आफैंमा बुद्धिमान, इमानदार, सुरक्षाका लागि अति उपयोगी जनावर हो, तर नेपाली समाजमा कहिले काहीँ यो शब्द कुनै मानिसको असभ्य, तुच्छ, अनुशासनहीन वा निष्ठाहीन व्यवहारसँग तुलना गर्न प्रयोग हुन्छ । अब यसमा अर्को एउटा नयागाली जन्मिन सक्छ, त्यो हो ” त कुकुर मालिक” । यस किसिमको प्रयोगलाई प्राणीजन्य गाली (zoomorphic insult) भनिन्छ । यस्ता गाली अरु जनावरसंग पनी सम्बन्धित छन जस्तै: त सुँगुर ! ए गधा ! कस्तो बादर रहेछ ! थुक्क गोरु ! बोको ! आदि ।
कुकुरसंग तुलना गरेर मानिसलाइ होच्याउने उखानटुक्का पनि प्रसस्तै छन । कुकुरको काम पनि छैन, फुर्सद पनि छैन ! कुकुरको टाउकोमा तिलक ! कुकुरकै मराइ मरेछ ! कुकुरको पुच्छर १२ बर्ष ढुङ्रोमा हाले पनि बाङ्गाको बाङ्गै ! काम नपाएको कुकुरझै लखर लखर डुलिरहन्छ ! कुकुरलाइ माया गरे मुखमा चाटिदिन्छ ! उ फलानाको पुच्छर हो नि ! इत्यादी । कुकुर मालिकप्रती बफादार रहने हुदा धेरै जसो चाप्लुसी गर्ने र चिप्लो बोल्ने चम्चाहरुलाइ पुच्छरको संज्ञा दिने गरि यस्ता वाक्य प्रयोग गरिन्छन । यस्तो नभनिनुपर्ने हो, नहुनुपर्ने हो तर हुन्छ किन ? उत्तर पाउन सजिलो छैन तथापी हिन्दूधर्ममा काल भैरवको वाहनको रुपमा कुकुरको पुजा र कुकुर तिहार मनाइन्छ जुन सम्मानको दृष्टिकोण पनि हो ।
विभिन्न धर्मका शास्त्र र तिनका कथाहरुमा कुकुरबारे उल्लेख गरिएका धेरै सन्दर्भहरु पनि पढन पाइन्छन । विशेषतः रक्षा, यमलोक, प्रतीकात्मक स्वरूप र कहिले काहीँ नकारात्मक अर्थमा पनि । बौद्ध धर्ममा कुनै प्राणी लाई सिधै राम्रो वा नराम्रो भन्नुको सट्टा, उसले कर्म अनुसार फल भोग्ने कुरा गरिन्छ । कुकुर पनि एक संवेदनशील प्राणी हो भन्ने दृष्टिकोण पाइन्छ । जातक कथाहरूमा अर्थात आफ्नो पूर्वजन्मका कथाहरू सुनाउने क्रममा बुद्ध आफैंले कुकुरको रुपमा जन्म लिएको भनेर भन्नुभएको भन्ने उल्लेख गरिएको छ । बौद्ध दृष्टिकोणमा कुकुरको जन्म कुनै पनि जीवको अज्ञान, लोभ, द्वेष आदि कारणले निम्तिएको हो भन्ने मानिन्छ तर उसमा पनि बोधि प्राप्तिको सम्भावना हुन्छ ।
इसाई धर्मको बाइबलमा कुकुरलाई सामान्यतया नकारात्मक प्रतीकको रूपमा उल्लेख गरिएको छ, तर यो सन्दर्भ अनुसार फरक फरक पनि हुनसक्छ । जस्तै Exodus 11:7 – “But among the Israelites not a dog will bark at any person or animal.” यहाँ कुकुरलाइ शान्तिको संकेत स्वरूप प्रयोग गरिएको छ भने 1 Kings 14:11 – “Dogs will eat those belonging to Jeroboam who die in the city…” यसमा कुकुरलाई लाश खाने जनावरका रूपमा चित्रण गरिएको छ । पौराणिक कथाहरुमा जे जे भनिए पनि आधुनिक क्रिश्चियन समाजमा भने कुकुरलाई ईश्वरको सिर्जना र मानवको मित्रको रूपमा लिइने गरेको सजिलै बुझ्न सकिन्छ ।
इस्लाम धर्मको कुरानमा कुकुरलाई विशेष सर्तसहित स्वीकार गरिएको छ, जहाँ उसलाई एउटा वफादार र ईश्वरप्रेमीहरूको साथिको रूपमा देखाइएको छ भने सहिह मुस्लिम र बुखारी हदीसहरूमा कुकुरलाई घरमा पाल्दा कुनैपनी फरिश्ता घरमा आउँदैनन् भन्ने मान्यता छ ता पनि सिकार गर्ने कुकुर, पाल्तु चराको रक्षा गर्ने कुकुर, बाख्रा वा पशुहरूको सुरक्षार्थ पालिने कुकुरहरूलाई भने अनुमति दिइएको छ । अब म पाठकहरुमा हिन्दुधर्म शास्त्रमा कुकुरबारे उल्लेखित केही श्लोकहरु तल उल्लेख गर्ने अनुमती चाहन्छु ।
“शिवौ श्वानौ यमस्य, चतुर्धारौ विवस्वतः।
तौ नः पाथां परेहि, पथिभिः सुवृक्तिभिः॥”
(ऋग्वेद, मण्डल १०, सूक्त १४, मन्त्र १०)
यमराजका दुई कुकुरहरू, जो चार आँखाहरू भएका र विवस्वानका पुत्र यमका सेवकहरू हौ, हामीलाई कृपया उत्तम मार्गमा लैजाऊ । यहाँ यमद्वारका द्वारपाले कुकुर हरू श्याम र शबल को वर्णन छ ।
“योऽश्वं नाशयति, यो गाम्, यो अग्निं, यो ब्राह्मणं शपथं
शपति । शुनं सादयतु ब्रह्मपेष्ठः॥”
(अथर्ववेद, काण्ड १२, सूक्त १, मन्त्र ३८)
जो घोडा, गाई, अग्नि वा ब्राह्मणको नाश गर्छ, उसलाई ब्रह्मविद्या सम्पन्न व्यक्तिनै भएपनि कुकुरसरह बनाओस ।
कुकुरलाई यहाँ निन्दनीय तत्त्वको प्रतीकको रूपमा उल्लेख गरिएको छ ।
“यदि श्वा अश्रौषीत्, अशुचिः स्यात्।”
(शतपथ ब्राह्मण, काण्ड १, अध्याय ७, ब्राह्मण ४)
यदि यज्ञ गर्दा कुकुरको आवाज सुनियो भने त्यो यज्ञ अपवित्र हुन सक्छ ।
“नृशंसीं शुनं, पिशाचिनीं दुःस्वप्नां दूरे कुरु॥”
(यजुर्वेद, अध्याय १२, मन्त्र ६९)
नरसंहारकारी कुकुर समान राक्षसी शक्तिहरू, पिशाचिनी, दुःस्वप्न दिने आत्माहरूलाई टाढा गर ।
“श्वान वाहन सेव्यपाद पद्म युग्म मण्डितम्।
काल भैरव नमस्तुभ्यं काल कालम नमोऽस्तुते॥”
(कालभैरव अष्टकम्)
कुकुर वाहन भएका भगवान भैरवलाई नमस्कार । श्री काल भैरवलाई कुकुर सवार देवता मानिन्छ, हाम्रो धर्ममा कुकुरलाई कालभैरवको वाहनको रूपमा पूजा समेत गरिन्छ ।
“धर्मो विवेच्यते यस्य स धर्मः स युधिष्ठिरः।
न त्यजाम्यहमेनं स्वार्थेऽपि न च धर्म्यं त्यजाम्यहम्॥”
(महाभारत, बनपर्ब)
धर्ममा अडिग युधिष्ठिर भन्छन्, “म आफ्नो स्वार्थका लागि धर्म (कुकुर/धर्मराज) त्याग्दिन ।” महाभारतको बनपर्बमा युधिष्ठिर र कुकुरको कथा उल्लेखित छ जसमा युधिष्ठिर स्वर्ग जानुअघि एउटा कुकुर उनको साथमा थियो । स्वर्ग द्वारमा इन्द्रले भने “कुकुरलाई छोड, अनि आउ” तर युधिष्ठिरले निष्ठा नछोडी कुकुरलाई पनि साथ लिएर जाने अडान गरे, त्यो कुकुर वास्तवमा धर्मराजको रूप थियो ।
“गृहे श्वा यदि वसेद् नित्यं, रोगशोकभयं भवेत्।
विशेषेण पूर्वद्वारे, दुःस्वप्नं च भवत्यलम्॥”
(वास्तुशास्त्र सार संग्रह, अध्याय ७, श्लोक १२)
यदि कुकुर सधैं घर कमाउण्ड भित्र बस्ने गर्छ भने त्यसले घरमा रोग, शोक र भय ल्याउन सक्छ । विशेष गरी कुकुरले पूर्वद्वारतर्फ हेरेर भुक्छ भने घरपरिवारमा अशुभ सपना, मानसिक अशान्ति वा मृत्युको भय हुन्छ ।
“श्वा यदि गृहद्वारस्थो भीमवर्णो भुनेद्रुजम्।
तत् तत्र मृत्युदूतः स्यात्, त्रैलोक्ये विख्यातदोषकृत्॥
(नारद संहिता, अध्याय १०, श्लोक ३१)
यदि कुकुर चर्को स्वरले लगातार घरको ढोकामा भुकिरहेको छ भने त्यो मृत्युदूतको संकेत हुन सक्छ । त्यस घरमा अशुभ पर्न सक्छ ।
अन्त्यमा, हामि सबैको धर्मशास्त्र र संस्कारमा यो पृथ्वी लाइ साझाघर मानिएको अबस्था छ । यहाँ सबै प्राणिलाइ आनन्दसंग बाच्ने अधिकार छ, बाच्न बचाउन पाउनुपर्छ । सबै प्राणिहरुलाइ माया गर्ने र उनिहरुको पुजा गर्ने हाम्रो संस्कार र परम्परा पनि हो । कालभैरब देवताको बाहनको रुपमा पुजिने कुकुर मानिससंगै रमाउने खेल्ने र मानिसकै कार्यमा सहयोगी प्राणी भएकोले उनिहरुको उचित ब्याबस्थापनमा कुकुर पाल्ने मालिकको भुमिका रहनुपर्छ तथापी यसो भन्दैमा सामान्यतया कुकुरलाई घर कम्पाउडभित्र प्रवेश गराउन वा पाल्नु हुदैन । घर कम्पाउण्डको बाहिरको खाली भाग वा गोठक्षेत्रमा राखेर पालेमा यसले सुरक्षा र शुभफल पनि दिन्छ । शास्त्रानुसार कुकुर पाल्नै नहुने होइन तर सरसफाइ, स्थान, शुद्धता र व्यवहारका नियम पालना गर्नुपर्ने स्पष्ट उल्लेख छ ।
कुकुर पाल्ने वा नपाल्ने तपाइको आफ्नो इच्छा र चाहना हो तर आफ्नो चाहना पूरा गर्ने क्रममा समाज र छिमेकी प्रती असर नपार्ने आफ्नो कर्तब्यलाई भने बिर्सिनु हुदैन । कुकुर मालिक बन्नुभएका सबैलाइ हाम्रो तर्फबाट एकमुष्ट बधाइ !


