काठमाडौँ – चैत १५ मा काठमाडौंमा राजावादीले ‘निर्णायक’ प्रदर्शनको घोषणा गरेका थिए । प्रदर्शनलाई नियन्त्रणमा राख्न बिहानैदेखि काठमाडौंका मुख्य चोकहरूमा प्रहरीको तैनाथी बढाइएको थियो । राजावादीहरू संसद् भवनसम्म आइपुग्ने आकलनका आधारमा सुरक्षा संयन्त्र त्यतातिर बलियो बनाइएको थियो । तर अघि बढ्न नसकेका राजावादीहरूले तीनकुनेमै उत्पात मचाए । राजावादीको उन्माद र सुरक्षा संयन्त्रको अलमल र बल प्रयोगले २० जनालाई गोली लाग्यो, २ जनाको ज्यान गयो, १९ जना घाइते भए, ५ जना अझै अस्पतालमा छन् ।
४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट भयो, ६९ गाडीमा क्षति पुग्यो । यो क्षतिका भुक्तभोगी विभिन्न पक्षका आ–आफ्नै मूल्यांकन छन् । कान्तिपुरले मृतकका आफन्त, घाइते, सुरक्षाकर्मी र प्रदर्शनकारी गरी १२ जनासँग अन्तर्वार्ता गरेर एकै दिनको घटनालाई फरक–फरक नजरबाट हेर्ने कोसिस गरेको छ ।
बिहान ४ बजे
डिल्लीप्रसाद लुइँटेल (बस टिकट काउन्टरका कर्मचारी, गोलीका घाइते) : बिहान ४ बजे उठेर त्यो दिन पनि म बालकोटबाट ५ बजे कोटेश्वर पुगिसकेको थिएँ । कोटेश्वरमा पुगेर चियानास्ता गरेपछि काममा लागें । बिहान पूर्व जाने पहिलो लटका गाडीहरू हिँडेपछि काम केही होलो हुन्छ ।
बिहान ५ बजे


रामचन्द्र बुढाथोकी (बोलेरो चालक, गोलीका घाइते) : सधैंझैं बिहान ५ बजे उठें । पार्किङमा पुगेर गाडी निकाली कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट अगाडि लगेर राखें ।
बिहान ६ बजे
शम्भु दर्जी (कतार जान काठमाडौं आएका, गोलीका घाइते): म गौरीघाटमा दिदीको कोठामा बसेको थिएँ । चैत १९ मा कतार जाने तयारी थियो । दिदी बिहान ६ बजे नै उठेर काममा जानुभयो । म कोठामै सुतिरहेको थिएँ ।
बिहान ६:३० बजे
शर्मिला नगरकोटी (पत्रकार, प्राइम टेलिभिजन) : मलाई ६:३० बजेतिर अफिसबाट फोन आयो । दिउँसो दुई ठाउँमा प्रदर्शन भएकाले कसले कहाँ रिपोर्टिङ गर्ने भन्ने तय गर्न अफिस आउन भनिएको थियो ।
बिहान ९ बजे
दिनेश रजक (मृतक सुरेश रजकका दाइ) : दाजुभाइ बिहान करिब ९ बजेतिर घरबाट सँगसँगै जस्तो निस्किएका थियौं । चन्द्रागिरिस्थित घरबाट निस्किँदा घरमा भोजको तयारी भइरहेको थियो । भाइले ‘आज म पनि चाँडै आउँछु, तँ पनि चाँडै आइज’ भनेको थियो । १० बजेतिर साथी अनिल रायमाझीसँगै ऊ रिपोर्टिङका लागि तीनकुनेतिर गएको रहेछ ।
रामहरि श्रेष्ठ (व्यापारी, गोलीका घाइते) : ९ बजेतिर जडिबुटीमा रहेको पसल खोलें । एसईईको अन्तिम दिन भएकाले बिहान विद्यार्थीको बाक्लो चहलपहल थियो । चोकचोकमा प्रहरी तैनाथ थिए ।
बिहान १० बजे
भविशा महर्जन (मृतक सविनकी श्रीमती) : श्रीमान्ले काठमाडौं–हेटौंडा रुटमा सुमो गाडी चलाउनुहुन्थ्यो । बल्खुमा गाडी बनाउनुछ भनेर १० बजे बाइकमा निस्किनुभयो ।
शर्मिला : १० बजेपछि समाजवादी मोर्चाको प्रदर्शनस्थल भृकुटीमण्डप पुग्यौं । त्यसपछि सवा १० बजेतिर राजावादीको प्रदर्शनस्थल तीनकुनेतिर लाग्यौं । त्यहाँ खासै चहलपहल सुरु भइसकेको थिएन । त्यसपछि भीमसेनगोलास्थित कार्यालय पुग्यौं । न्युजरुमले तीनकुनेको प्रदर्शनमा नजान भन्यो । तर, मैले जाने अडान लिएँ । त्यसपछि त्यतै जाने भइयो ।
अनिल रायमाझी (पत्रकार, एभिन्युज टेलिभिजन) : सहकर्मी सुरेशसँगै हामी रिपोर्टिङका लागि एभिन्युजको कार्यालयबाट निस्कियौं । हामीले खाना बाहिर खायौं । तीनकुनेको एउटा कलेजमा बाइक पार्किङ गरेर फिल्डमा गएका थियौं ।
सुरक्षा बैठक : बिहान १० बजेबाटै गृहमन्त्री, गृह मन्त्रालयका सचिव, नेपाली सेनाका रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखको नियमित गृह मन्त्रालयमा बैठक ।
जिल्ला सुरक्षा समिति काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखको १० बजेदेखि नियमित समन्वय र बैठक ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा ‘संयुक्त सुरक्षा कमान्ड सेन्टर’ उपत्यकास्थित काठमाडौं उपत्यकाका सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखको १० बजेदेखि नियमित बैठक ।
बिहान १०:१५ बजे
रेबिका खत्री (गोली लागी घाइते) : बिहान सबा १० बजे पैदल कार्यालय जाँदै थिएँ । अरु दिन पनि पैदल नै जाने गरेको थिएँ । अरु दिनजस्तै बाटोमा चहलपहल थियो ।
बिहान १०:३० बजे
शम्भु : १०:३० मा दिदीले फोन गरेर कोटेश्वरमा एक जनासँग ५० हजार लिई म्यानपावरमा बुझाउन जान भन्नुभयो । १ तारिखमा मेरो कतार जाने तयारी थियो । ११ बजे पठाओ गरेर म निस्कें । प्रहरीले सिनामंगलबाट गाडी, बाइक जान दिएको थिएन । पुरानो सिनामंगलबाट कोटेश्वरतर्फ हिँड्दै गएँ । तीनकुनेमा मान्छेको भीड थियो ।
बिहान : ११ बजे
दिनेश गौतम (पत्रकार, अनलाइन खबर, घाइते) : बिहान ११ बजे नियमित समाचार कक्षको बैठकमा सहभागी भएँ । राजावादीको आन्दोलनमा नयाँ पुस्ता (जेन–जी) आउँछन् कि आउँदैनन् त्यो हेर्ने र राजतन्त्र नदेखेका, नभोगेका पुस्ताको बुझाइमा के रहेछ भन्नेबारे उनीहरूसँग कुराकानी गरेर ‘स्टोरी’ लेख्ने तय भयो ।
बिहान : ११:४५ बजे
डीआईजी दिनेश आचार्य (प्रहरी प्रवक्ता) : बिहान ११:४५ बजेतिर तीनकुनेमा ३५ सय जनाजति जम्मा भइसकेका थिए । ३ हजारजति बालकुमारीबाट आउँदै थिए भने २ हजारजति सिनामंगलतर्फबाट आउँदै गरेको सूचना पाइरहेका थियौं ।
मध्याह्न १२:१५ बजे
शर्मिला : सवा १२ बजेतिर तीनकुने पुगेका थियौं । हामी तीनकुने पुग्दा भाषण सुरु भइसकेको थियो । मञ्च अगाडि थोरैको मात्र उपस्थिति थियो । कोटेश्वरबाट नारा लगाउँदै आइरहेका प्रदर्शनकारीको लाइभ गर्न त्यता गयौं । त्यतिबेलासम्म स्थिति सामान्य नै थियो ।
१२:३० बजे
डीआईजी आचार्य : कार्यक्रमस्थलमा भेला नभएर निषेधित क्षेत्र बानेश्वरतर्फको सडकमा जम्मा हुन थालेको थियो । १२:३० बजेको आसपासमा भीडले प्रहरीको सुरक्षा घेरा तोडेर अगाडि बढ्न खोज्यो । प्रहरीले माइकिङ गरेर प्रदर्शनकारीलाई कार्यक्रमस्थलतर्फ नै फर्काएको थियो ।
१२:४५ बजे
डीआईजी आचार्य : भीड फेरि प्रहरीको घेरा तोड्न उद्यत देखियो । प्रहरीले करिब १२ बजेर ५० मिनेट जाँदा पहिलो राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।
शर्मिला : करिब पौने १ बजेतिर कोटेश्वरतर्फबाट दुर्गा प्रसाईंसहितका प्रदर्शनकारी नाराबाजी गर्दै तीनकुनेतर्फ जाँदै थिए । होहल्ला र नारा लगाउँदै प्रसाईं उभिएर हात हल्लाउँदै आए । प्रसाईंको पक्षमा होहल्ला झनै ठूलो सुनियो ।
१:०० बजे
दिनेश गौतम : अफिसबाट निस्किएपछि बानेश्वर चोकमा एसईई दिएर फर्किएका विद्यार्थीसँग कुराकानी गरें । तीनकुने प्रहरी चौकी अगाडि पुग्दा करिब १ बज्नै लागेको थियो । होहल्ला भइरहेको थियो । तर, तनाव भने सुरु भइसकेको थिएन ।
शर्मिला : १ बजेतिर हुनुपर्छ, कोटेश्वरबाट आएको प्रसाईंसहितको टोली तीनकुने मञ्चतर्फ नगई सिधै बानेश्वरतर्फ अघि बढ्यो । त्यसैबेला प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । बानेश्वरतर्फबाट सबै भाग्दै आए । त्यसपछि झन् धेरै अश्रुग्यास हानियो । त्यतिबेलै राष्ट्रिय गान बजेको सुनियो ।
नवराज सुवेदी (प्रदर्शन संयोजक) : चैत १५ मा हाम्रो कार्यक्रमको तयारी थियो । कार्यक्रम स्थलमा पुगेर आफ्ना कुरा राखेर फर्किने मेरो योजना थियो । त्यहीअनुसार अपराह्न १ बजेतिर मेरो गाडी तीनकुनेस्थित मैदानमा बनाइएको मञ्च नजिकै रोकियो । गाडीबाट ओलर्नेबित्तिकै प्रहरीले हानेको अश्रुग्यास मेरो गाडी नजिकै झर्यो, हेर्नै सकिएन, गाह्रो भयो । बल्लतल्ल पानी छ्यापेर साथीहरूको सहयोगले मञ्चमा चढें । त्यही बेला अश्रुग्यास प्रहार भयो ।
डिल्लीप्रसाद : १ बजेसम्म तीनकुनेतिर भने भीड देखिन्थ्यो तर कोटेश्वरमा थिएन । म काउन्टरमै काम गर्ने साथीहरूसँग हेर्न गएको थिएँ । प्रहरीले अश्रुग्यास हानिरहेको थियो । त्यहीबेला प्रसाईं पनि आए रे भन्ने सुनें ।
शम्भु : म तीनकुनेबाट कोटेश्वरतर्फ पनि जान सकिनँ । सिनामंगलतर्फ पनि आउन सकिनँ, बीचमै फसें । अब कतातिर जाने अलमल भयो ।
१:१० बजे
दिनेश गौतम : करिब १ बजेर १० मिनेट जाँदा प्रहरीले बानेश्वरतर्फ अघि बढ्न खोजेका केहीलाई तीनकुने पुलबाट नियन्त्रणमा लियो । म राजावादीको मञ्च भएस्थल पुगें ।
१:२० बजे
डीआईजी आचार्य : करिब १ बजेर २० मिनेट जाँदा प्रसाईं गाडीसहित तीनकुनेमा देखिए । उनीसँगै भक्तपुरबाट आएको भीड प्रहरी घेरा भएतर्फ आयो । उनले आफैं गाडी चलाएर सुरक्षा घेरा तोड्न खोजे ।
१:२३ बजे
दिनेश गौतम : १ बजेर २३ मिनेट जाँदा मैले पहिलो पटक अश्रुग्यास प्रहार भएको आवाज सुनें ।
१:३० बजे
डीआईजी आचार्य : साढे १ बजे प्रसाईंको गाडीले प्रहरीको घेरा तोडेर बानेश्वरतर्फ लागेपछि भीड झनै उत्तेजित भयो । प्रहरी र प्रदर्शनकारीबीच सिलसिलेवार भिडन्त सुरु भयो र त्यसबेला अत्यधिक बल प्रयोग भयो । त्यसैबेला ‘वाटर क्यानन’ र थप अश्रुग्यास प्रहार गरिएको थियो ।
दिनेश गौतम : साढे १ बजेतिर प्रहरीले मञ्चमा पनि अश्रुग्यास प्रहार गरेको थियो । त्यसैबेला प्रसाईं पनि गाडीबाट ‘आओ, आओ…’ भन्दै तीनकुनेबाट बानेश्वरतर्फ अगाडि बढेका थिए । छेउको घरमा ढुंगा हान्न थालियो ।
रामहरि : २ बजेतिर म कोटेश्वर चोक गएको थिएँ । त्यतिबेलासम्म कोटेश्वर चोक शान्त नै थियो । तर ३ बजे भने भीडभाड देखिएको थियो ।
१:५० बजे
दिनेश गौतम : १ बजेर ५० मिनेटमा प्रहरीको घेरा तोडेका प्रसाईं एक्कासि तीनकुनेको मञ्चमा देखिए । त्यतिबेलासम्म तीनकुनेको घरमा आगो लागिसकेको थियो ।
२:०० बजे
भविशा : मैले २ बजेतिर श्रीमानलाई फोन गरेको थिएँ तर फोन उठेन ।
डीआईजी आचार्य : करिब २ बजेतिर प्रदर्शनकारीले घरहरूमा जथाभावी ढुंगा हान्न थाले । प्रहरीले लाठीचार्जसहित निरन्तर अश्रुग्यास प्रहार गरिरह्यो ।
दिनेश रजक : सुरेशले तीनकुनेको घर तोडफोड गरेको र घर अगाडि आगो लगाएको भिडियो खिचिरहेको थियो ।
नवराज : फेरि मञ्चतिर जाने स्थिति बनेन । भित्रको बाटो भएर बिस्तारै तिलगंगा धर्मशाला नजिक आइपुगियो । एकजना चिनेकैले गाडीमा घर पुर्याए ।
रवीन्द्र मिश्र (राप्रपा वरिष्ठ उपाध्यक्ष) : नवराजजी र म एउटै गाडीमा थियौं, गाडीबाट ओर्लिएर स्टेजमा जानेबित्तिकै ८७ वर्षका नवराज सुवेदी बसेको मञ्चमा टियर ग्यास प्रहार भयो । टियर ग्यास प्रहार भएपछि त्यहाँ उत्तेजना बढ्यो । हामी केही प्रमुख मान्छे तीनकुनेमै सीमित थियौं । आन्दोलनमा घुसपैठ भयो, जति पनि धन र जनको क्षति भयो त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ ।
शर्मिला : ‘एमसीआर’को सम्पर्कमा बसेर अपडेट गराइरहेका थियौं । ढुंगामुढाबाट बच्न एउटा मन्दिरमा छिर्यौं । त्यहाँ सशस्त्र प्रहरीका १५ जना जति बसेका रहेछन्, केही क्षणपछि आक्रोशित प्रदर्शनकारीले ती प्रहरीलाई लक्षित गर्दै ढुंगामुढा बर्साउन थाले । प्रदर्शनकारीले हामीलाई नै ताकेर ढुंगामुढा हान्न थाले, धन्न बच्यौं ।
२:३० बजे
दिनेश गौतम : आगो लागेको घरबाट कोही बाहिर निस्किरहेका थिए, कोही भित्रै थिए । साढे २ बजेतिरै चौरमा अब कान्तिपुर र अन्नपूर्ण पनि तोडफोड गर्नुपर्छ भनेर प्रदर्शनकारीहरू हिँडेका थिए ।
२:४५ बजे
शर्मिला : पौने ३ बजेतिर गोली चलेको आवाज निरन्तर आइरहेको थियो । त्यसपछि अश्रुग्यास, गोली प्रहारको आवाज आयो । तीनकुनेमा घर जलेको देखियो ।
दिनेश गौतम : पौन ३ बजेतिर घरमा लागेको आगो निभाउन सशस्त्रको दमकल आयो । तर, ढुंगामुढा भएपछि फर्कियो । प्रसाईंले स्टेजबाट प्रहरीसँग धक्कामुक्का नगर्न भने तर भीड अनियन्त्रित भइसकेको थियो । यही बीचमा आगो लगाइएको घर नजिकै रहेका १०/१२ जना सशस्त्र प्रहरीको टोलीमाथि ढुंगामुढा प्रहार भयो । एक महिला प्रहरी रुँदै नहान्न भनिरहेको देखें ।
२:५० बजे
डिल्लीप्रसाद : २ बजेर ५० मिनेटतिर मलाई गोली लाग्यो । म ढलें । त्यसपछि मैले प्रहरीलाई फोन दिएर सँगै आएर छुटिएका साथीलाई फोन गरिदिन भनें । मलाई नजिकको अस्पताल लगियो । त्यसपछि ट्रमा सेन्टरमा पुर्याइयो ।
शम्भु : मैले दिदीलाई फोन गरेर आफू तीनकुनेको आन्दोलनमा फसेको बताएँ । त्यसको करिब २० मिनेट
पछि हुनुपर्छ, मलाई कुममा गोली लाग्यो । त्यसपछि के भयो याद छैन ।
दिनेश रजक : घरमा आगो दन्किन थालिसकेको थियो । मैले घरभित्र गएको भाइ बाहिर आएको छैन भनेर त्यहाँ रहेका प्रहरीलाई भन्दा पनि कसैले सुनेनन् । प्रहरीले भित्र कोही छैन भनेपछि म सिभिल अस्पतालसम्म पनि पुगें । त्यहाँ नभेटेपछि फेरि फर्केर त्यहीं आएँ ।
डीआईजी आचार्य : तीनकुनेको घरमा लागेको आगो निभाउन आएको दमकलाई पनि ढुंगामुढा भयो । त्यसपछि एउटा भीड सिनामंगलतर्फ र अर्को भीड कोटेश्वरतर्फ लाग्यो । प्रहरीले सोही समयमा भीड नियन्त्रण गर्नका लागि घुँडामुनि गोली प्रहार गरेको हो ।
३:०० बजे
दिनेश गौतम : ३ बजेतिर प्रहरीको हतियारसहित एक प्रदर्शनकारी युवा तीनकुने चौरतर्फ दौडिएको देखें । उसलाई पछ्याउँदै फोटो खिचें । ती युवाले फोटो नखिच्न भनिरहेका थिए । मोबाइलबाट फोटो र भिडियो खिचेको देखेपछि एउटा समूहले ‘सीआईडी’ हो भन्दै थर्काउँदै हुत्याइदिए । म लड्न पुगें । बल्लतल्ल उठें । केही युवाले मलाई पछ्याइरहेका थिए । तर टियरग्यासका कारण तितरबितर भए ।
शर्मिला : गोली लागेर एक जनाको मृत्यु भयो भन्ने सूचना पाएँ । तीनकुने चोकमै रहेका प्रदर्शनकारीमध्ये २ जना गोली लागेर ढले । केही क्षणमा एम्बुलेन्स आएर घाइतेलाई लग्यो ।
अपिलराज बोहरा (प्रहरी उपरीक्षक, काठमाडौं परिसर प्रवक्ता) : कम संख्यामा रहेका सुरक्षाकर्मीलाई ज्यान जोगाउनै मुस्किल परेको थियो । आफ्नो रक्षाका लागि गोली चलाउँदा सविनलाई गोली लाग्यो ।
कृष्णप्रसाद : एउटा मान्छे भाटभटेनी अगाडि आएर ‘ओ साथी हो, यहाँ आओ, यसलाई हान्नुपर्छ’ भन्यो । त्यसपछि मानिसहरू जम्मा हुन थाले र ढुंगा हान्न थाले ।
३:३० बजे
दिनेश गौतम : साढे ३ बजेतिर कोटेश्वरबाट महादेवस्थान पेरिसडाँडातर्फ एउटा भीड लाग्यो । प्रदर्शनकारी माओवादी कार्यालय र माधव नेपालको घर जलाउने भन्दै त्यसतर्फ लागेका थिए । पेरिसडाँडामा लागूऔषध ब्युरोको गाडी तोडफोड र आगजनी गरियो । प्रदर्शनकारी माओवादी कार्यालयतर्फ छिर्न खोजेका थिए तर सकेनन् ।
कृष्णप्रसाद : ढुंगामुढा हुन थालेपछि ज्यान जोगाउन साइड लागेर बस्यौं । गेट भने लगाइसकेका थियौं । पछि धेरै मान्छेहरू आए । त्यसपछि जे पायो त्यसैले हान्न थाले । उनीहरू गेट तोडेर भित्र पसेर लुटपाट गर्न थाले ।
डीआईजी आचार्य : प्रदर्शनकारीले कान्तिपुर र अन्नपूर्ण मिडियामा ढुंगामुडा गरे । त्यसपछि पेरिसडाँडामा रहेको लागूऔषध ब्युरोको गाडीमा आगजनी गरे । कोटेश्वरको भाटभटेनीमा पनि लुटपाट गर्न सुरु गरे । सिनामंगलमा रहेको भन्सार कार्यालय परिसरको गाडीमा आगो लगाए । त्यसपछि एयरपोर्ट अगाडिको सीसीटीभीमा पनि तोडफोड गरेर आगजनी गरे । सिनामंगल केएमसी अस्पताल नजिकको प्रहरी बिटमा पनि आगो लगाइदिए । जडीबुटीतर्फ पुगेका केही प्रदर्शनकारीले त्यहाँको सीसीटीभी पनि फुटाएर ट्राफिकबुथमा आगजनी गरे ।
४:०० बजे
रेबिका : कार्यालय सकिएपछि बस चढ्न ४ बजे जडिबुटी चोक निस्किएँ । त्यहाँ मान्छे र प्रहरीको भीड देखेर छक्कै परें ।
भविशा : ४ बजेतिर फेरि फोन गरेको थिएँ । त्यतिखेर भने उनको फोन प्रहरीले उठाए । ‘तपाईंको मान्छे टिचिङ अस्पतालमा सिरियस छ, आउनुस्’ भने । त्यसपछि हामी अस्पताल जान हतारियौं ।
रामहरि : जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीभित्र गाडी जलाउन थाले । एक घण्टासम्म प्रहरी आएका थिएनन् । ५/७ वटा गाडी जलेपछि बल्ल आइपुगे । म पसलको बरन्डामा बसिरहेको थिएँ । अश्रुग्यास हान्दै प्रहरी कोटेश्वरतर्फबाट आए । मैले प्रहरीलाई म प्रदर्शनकारी नभएको बताएँ । ‘मेरो पसल हो, चाबी लगाएर जान्छु’ भनें ।
हेलमेट लगाएर पार्किङमा जाँदै थिएँ । तर पार्किङ पहिले नै सुरक्षाका कारण बन्द गरिसकिएको रहेछ । प्रहरीले हानेको अश्रुग्यासले मेरो आँखा पोल्यो । आँखा मिच्दै पसलदेखि पेप्सीकोलातर्फ जाँदै थिएँ । त्यही बेला पाखुरामा गोली लाग्यो । पहिला काठमाडौं मेडिकल कलेज लगेर बीएन्डबी ल्याइयो ।
शर्मिला : तीनकुनेबाट प्रदर्शनकारीको आक्रोश लाइभ गर्दै थियौं, कर्फ्यु लागेको जानकारी पायौं । प्रहरी टोली थपियो, प्रहरीले प्रदर्शनकारी र सर्वसाधारणलाई कर्फ्यु लागिसकेको भन्दै हपार्दै लाठी हान्दै लखेट्न थाले । कर्फ्यु जारी भएपछि माहोल केही शान्त भयो ।
४:१५ बजे
दिनेश गौतम : सवा ४ बजे करिडोरको सडकमा आइपुग्दा समाजवादीको कार्यालय तोडफोड र आगजनी भएको देखें ।
४:३० बजे
डीआईजी आचार्य : साढे ४ बजेतिर कर्फ्यु आदेश जारी भयो । तैपनि बालकुमारीको पुल नजिक गाडीमा आगो लगाइयो । च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकै पनि ट्याक्सीमा आगो लगाइयो ।
दिनेश गौतम : साढे ४ बजेतिर तीनकुने पुलमा प्रहरीले कर्फ्यु लाग्दै छ भनेर माइकिङ गरेको सुनें । त्यसपछि प्रहरी चौकी नजिकै रहेको स्कुटी आफैंले चलाएर अफिस पुग्दा ५ बजेको थियो । जुत्ता खोलेर हेर्दा खुट्टा पूरै सुन्निएको रहेछ । बानेश्वरको एभरेस्ट हस्पिटल पुगेर एक्सरे, सिटीस्क्यान गर्दा खुट्टा भाँचिएको रहेछ । प्लास्टर गरेर राति डिस्चार्ज भएँ ।
रेबिका : साढे ४ बजेतिर कोटेश्वरतिर हिँड्दै पुगे । कोटेश्वरको पुलमुनि पुगेपछि भने डर लाग्यो । अनि दाइलाई फोन गरें । दाइले ‘पारि आउँदै गर म लिन आउँछु’ भने ।
४:४५ बजे
रेबिका : पौने ५ बजेतिर दाइलाई भेटेपछि कोठातर्फ जाँदै थियौं, एकै पटक गोलीको आवाज आयो । त्यसपछि मलाई नजिकैको क्लिनिक पुर्याइयो । लगत्तै एम्बुलेन्समा सिभिल अस्पताल लगियो । त्यसपछि के भयो याद छैन ।
५:०० बजे
रामचन्द्र : घर जाने बाटो बन्द थियो । लगत्तै भाटभटेनीमा तोडफोड सुरु भयो । गाडी पनि जलाए । म साइडमा बसेर हेरिरहेको थिएँ, ५ बजेतिर मेरो हातमा गोली लाग्यो ।
डीआईजी आचार्य : ५ बजेतिर एसको कार्यालयमा तोडफोड गरेर आगजनी गरियो । ५ बजेर ३३ मिनेट जाँदा जडीबुटीमा रहेको प्रहरी बिटमा तोडफोड गरिएको थियो ।
६:०० बजे
६ बजेतिर त्रिवि शिक्षण अस्पतालमा भविशा पुग्दा सविनको मृत्यु घोषणा भइसकेको थियो ।
सुरक्षा निकायको बैठक : साँझ ७ देखि ८ बजेसम्म गृहमन्त्री, गृह सचिव र सेनाका रथी, प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग प्रमुखसहितको आकस्मिक बैठक बस्यो । राति ९ बजेपछि प्रधानमन्त्री, गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति, गृहसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग प्रमुखसहितको आपत्कालीन बैठक बसेको थियो ।
(कान्तिपुर दैनिकमा आज प्रकाशित यो समाचार विवेक पोखरेलले लेखेका हुन् ।)