एक अक्षरजीवीको शतायु–यात्रा

एटुजेड समाचार

तिनताक भैरव रिसालको उमेर थियो ९३ वर्ष । गर्मी बितेर जाडो लाग्न लागेको कात्तिक १६, २०७६ मा उनको कानमा एउटा समाचार पर्न पुग्यो– कालापानीलाई भारतले आफ्नै देशमा राखेर नयाँ नक्सा जारी गर्‍यो । त्यो जाडोमा पनि रिसालको रगत तातेर उम्लेलाजस्तो भयो, समाचारको रन्कोले ।

‘यो सरासर भारतले हेपेको हो,’ त्यसबेलाको एउटा लामो कुराकानीमा उनले मसँग भनेका थिए, ‘म खुद गएर त्यहाँ जनगणना गराएको छु, त्यो नेपालकै भूभाग हो, भारतले नक्सामा राख्न कसरी पाउँछ ?’

भैरव रिसाल उमेरले मेरा जिजुबा पुस्ताका थिए । तर, म उनलाई आत्मीयताले ‘भैरव दाइ’ भन्थें । यसो भन्नाको कारण के भने, उनी मेरा छिमेकी थिए । गाउँका सबै उनलाई एउटै साइनोले सम्बोधन गर्थे– भैरव दाइ । सबको साइनोलाई सर्लक्कै टिपेर हामी फुच्चाफाच्ची पनि उनलाई ‘भैरव दाइ’ भन्दै जौंला हात गर्थ्यौं । टिलिक्क टल्केको तालु, आइरनको धार बसेको पाइन्ट र सुकिलो हाफ–सर्ट लगाएर बडा फुर्तीका साथ हिँड्ने एक रसिक मानिसको छवि बनाएका भैरव दाजु केटाकेटीसँग पनि उत्तिकै घुलमिल हुन्थे । जहाँ भेटे पनि ‘कति पढियो, के पढियो ?’ भनेर सोध्ने उनको बानीले मलाई जीवनका प्राथमिक दिनहरूमै ‘भैरव दाइ’ सँग अलि बढी नै आत्मीय बनाएको थियो ।

‘थाहा छ, शक्ति केमा हुन्छ ?’ एक पटक उनले मलाई सोधेका थिए, हातै समातेर । तिनताक हामी केटाकेटीलाई स्कुलमा के पढाइँदै गरिएको थियो भने– शक्ति हरियो साग, फलफूल र गेडागुडीमा हुन्छ । मैले त्यसै भनिदिएँ । भैरव दाइ मज्जाले हाँसे । र, भने– फलफूल र गेडागुडीमा भन्दा पनि धेरै शक्ति अक्षरमा हुन्छ, लौ भन कसरी ?

मैले भनें– कसरी ?

‘बस चढ्दा अक्षर चिनेको मान्छे कसैलाई नसोधी आफू ओर्लने ठाउँमा फुर्तीका साथ ओर्लन्छ,’ उनका आँखामा एउटा चमक देखियो, ‘अक्षर नचिनेका मान्छेलाई कतै आउने ठाउँ छुटिसक्यो कि भन्ने डरले बाटैभरि पिरोल्छ, देखेका छौ होला नि ?’

‘छु दाजु’ भनेर मैले मुन्टो हल्लाएँ । अनि उनले थपेका थिए– फेरि खानेकुराको शक्ति खाएपिच्छे सकिन्छ, त्यसो हुनाले त्यो खाइरहनुपर्छ । तर अक्षरको शक्ति, एक पटक जानेपछि त्यो सधैं रहिरहन्छ ।

यति सुनेपछि मेरो बाल हृदयले साँचो शक्ति अक्षरमै छ भन्नेमा भैरव दाइलाई रत्ति शंका नगरी पत्यायो । हुन पनि हो, जति नै पौष्टिक भोजन गरे पनि निरक्षरलाई अक्षर नचिन्नाको दुःखले सताउँछ । र, यो दुःखले बस चढ्दा मात्रै होइन, ओर्लेपछि पनि, जीवनैभर पिरोलिरहन्छ । किनभने, अक्षरले त्यो संसारको ढोका खोलिदिन्छ, जसको चुकुल नपढी फेलै पार्न सकिन्न । केटाकेटीलाई पनि अक्षरको महत्त्व कति छ भनेर यति सजिलो तरिकाले भन्न सक्ने भैरव दाइ मलाई झनै मन पर्न थाले । गाउँ घुम्न आउँदा मीत लगाएको गोरेलाई ‘अंग्रेजीमा पत्र लेखिदेऊ न’ भन्दा ज्यादै मानमनितो गर्ने छिमेकी र पल्टने छोराले पठाएको चिट्ठी पढिदिँदा औधी माया गर्ने आमाहरूको आँखामा देखिएको कृतज्ञताले पनि हुर्कँदै गरेको मेरो किशोर हृदयलाई भैरव दाइकै भंगिमाले झङ्कृत गरिरहेको थियो– असली शक्ति अक्षरमै छ ।

एक पटक जानेपछि सधैंका लागि काम लाग्ने, त्यो चोर्न पनि कसैले नसक्ने, बोकेर पनि हिँड्नु नपर्ने, अंशबन्डा पनि नलाग्ने, आगोले जलाउन र पानीले बगाउन पनि नसक्ने अनि जुनै देश–कालमा पनि काम आउने हुनाले ‘विद्या धनं सर्वधनम् प्रधानम्’ भनेर अलिक पछि मैले संस्कृतको एउटा श्लोक पनि पढें । र, भैरव दाइको चम्किला आँखाले के भन्न खोजेका रहेछन् त्यस दिन भनेर पनि सम्झिएँ ।

तिनताक गतिलो बाटो नभएको हुनाले यातायातको असुविधा थियो काँठका गाउँहरूमा । त्यसो हुनाले भैरव दाइ घट्टेकुलो बस्थे । तर, गाउँ बरोबर आइरहन्थे । उनी गाउँ आएका बखत मानिसहरू बडा उत्सुक हुँदै गर्दै गरेको काम रोकेर नजर उनैपट्टि लगाउँथे । भैरव दाइ आउँदा गाउँमा कुनै न कुनै सामाजिक विषयमा भेला हुने गर्थ्यो । र, त्यहाँ भैरव दाइ आफूले देखेजानेका देश दुनियाँको अनुभव पनि सुनाउँथे । र, मानिसहरू अवाक् भएर उनलाई सुन्थे ।

मैले जानेदेखि नै गाउँभरिका मानिस एकै ठाउँमा भेला भएर भोज गर्थे, जो अझै पनि जारी नै छ । र, त्यो भोजमा भैरव दाइ अनिवार्य रूपमा आएकै हुन्थे । भोजको आयोजक हुन्थ्यो– अनन्त सेवा गुठी । र, त्यस गुठीका संस्थापक रहेछन् भैरव दाइ, जो मैले निकै पछि थाहा पाएको थिएँ ।

भैरव दाइ बितेपछि गुठियारहरू शोकाकुल भए । आशौच बारेका ठाउँमा चामल, पैसा इत्यादि लिएर भेट्न जानुपर्छ भन्ने चलन भैरव दाइले नै चलाएका थिए गुठीमा । यो चलनले गाउँमा धेरैलाई मर्दापर्दा ठूलो भरथेग भएको छ ।

गाउँमा आएका बखत उनी सधैं केटाकेटीहरूका कुरा सुन्थे, महिलालाई अघि बढ्नुपर्छ भन्थे र दलितहरूलाई छुवाछूत मुक्त पार्न के कसो गर्न सकिन्छ भन्नेबारे छलफल चलाउँथे ।

पञ्चायत ढलेपछि चुनाव भयो । भैरव दाइले पनि चुनाव लडे– मादल चिह्न लिएर । त्यतिबेला मात्रै हामी केटाकेटीलाई थाहा भयो– भैरव दाइ पत्रकार मात्रै होइनन्, नेपाल मजदुर किसान पार्टीका नेता पनि रहेछन् । पञ्चायतकालमै कम्युनिस्ट पार्टीको सदस्यता लिएर सुशुप्त रूपले प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदै आएका रहेछन् । र, नै त भैरव दाइ मादल चिह्न लिएर चुनावमा होमिए । घरघरमा भोट माग्दै हिँडे । गाउँ–टोल जता पनि भैरव दाइकै चर्चा भएको देखेको थिएँ मैले । र, लागेको थियो– दाइले चुनाव जित्छन् किनभने यत्तिको ठूलो परिधिमा जीवन बाँचेको, अक्षरको शक्ति बुझेको र यति कल्याणकारी विचार भएको मानिसलाई मतदाताले आँखा चिम्लेर चुन्छन् । भैरव दाइ स्वयंमा त त्यो आत्मविश्वास धेरै थियो । त्यसो हुनाले नै होला, ज्यादा आमसभा र भड्किलो प्रचार उनले केही गरेनन् । ‘आफ्नै गाउँघरका छरछिमेकीलाई के नै पो भन्नुपर्छ र ?’ भनेजस्तो भाव उनमा थियो र कुरा पनि उनले त्यस्तै गरेका थिए । त्यसो हुनाले सबैको लख थियो– दाइले चुनाव जित्छन् । तर, त्यस्तो भएन, दाइले चुनाव हारे ।

चुनावको नतिजा निक्लेपछि टोल–छिमेकमा त्यसको विश्लेषण गरे जान्नेबुझ्नेले । अनि के भने भने ठूला दलबाट चुनाव लडेको भए भैरव दाइले पक्का जित्थे । यसो भन्नेहरूले नै भैरव दाइलाई भोट दिएका रहेनछन् । उनीहरूले कुरैकुरामा के पनि भनेका थिए भने पार्टी भनेको पार्टी नै हो, दाइ भनेको दाइ, दुवै एकै ठाउँमा कहाँ मिसाउन मिल्छ ? यो मैले धेरै पटक धेरै काकाहरूको मुखबाट सुनें ।

अनि कसरी भैरव दाइलाई भोट नहालीकन अरूमै छाप लगाउने सल्लाहको कार्यान्वयन भयो भन्ने पनि थाहा पाएँ । म फुच्चेले पनि चाल पाएको त्यो राजनीति भैरव दाइले थाहा नपाउने कुरै भएन । आफ्नै टोलछिमेक र दाजुभाइले ‘आफू होइन, पार्टी हेरेपछि’ स्वाभाविक रूपले दाजैको मन कुँडियो होला । त्यसपछि उनी गाउँमा उतिसाह्रो आउन छाडे । नयाँ वर्षको भोजमा पनि आक्कलझुक्कल मात्रै देखा पर्थे । तर, हामी केटाकेटीका लागि भने उनी सदैव उत्तिकै हार्दिक रहे । भेटेपछि स्नेह दर्शाउने र लेखपढमा अघि बढ्न प्रेरित गर्ने उनको बानीमा कत्ति पनि कमी आएन ।

मेरो अवचेतनमा भैरव दाइको के प्रभाव परेको थियो कुन्नि ! मैले नजानी–नजानी अक्षरकै संसार समातें । पत्रकारिताकै बाटो रोजें । कविताहरू कोर्न र कथाहरू लेख्न थालें । पुस्तकहरू पढ्न र पुस्तकालयहरू छिर्नमा बढी नै जोड लगाएँ । संयोग कतिसम्म भने, राजनीति चटक्कै छाडेर रेडियो पत्रकारितामा होमिएका भैरव दाजु सम्मिलित ‘रेडियो सगरमाथा’ मा म पनि समाचार लेख्ने फुच्चे रिपोर्टर हुन पुगें । दाजु दुई लोकप्रिय कार्यक्रम चलाउँथे– ‘कुरो कन्थो’ र ‘उहिले बाजेको पालामा’ । म ‘उपत्यका सेरोफेरो’ भन्ने समाचार बुलेटिनका लागि रिपोर्टिङ गर्थें । गाउँमा भन्दा बाक्लै, बखुण्डोलस्थित रेडियो स्टेसनमा भैरव दाइसँग भेटघाट हुन थाल्यो । उतिबेलाको पत्रकारिता र यतिबेलाको पत्रकारिताबारे दाइका कुरा सुन्ने मेसो मिल्यो । र, भैरव दाइलाई मैले उनको पत्रकारितादेखि सामाजिक अभियानसम्ममा सक्रिय हुँदाको विविध कालखण्डका बारेमा नजिकबाट जान्ने मौका पाएँ ।

पछि मैले रेडियो छाडेर छापा पत्रकारिता रोजें । फ्रिलान्सरका रूपमा अखबारहरूमा मेरा लेखरचना आएपिच्छे भैरव दाइ मलाई फोन गरेर ‘काइदा गर्‍यौ’ भनी खुसी प्रकट गर्थे । पछि त, नियमित रूपले म ‘कान्तिपुर’ सँग जोडिएँ । उनको खुसीको सीमा रहेन ।

‘लै है, यो मान्छेले मेरो बिँडो थाम्ने भयो,’ एक दिन घरमा बोलाएर मलाई चिया खुवाउँदै भैरव दाइले सुशीला भाउजूसँग भनेका थिए र मायाले मेरा गाला मुसारेका थिए । कुनै पुराना प्रसंगबारे लेख्नु परे भैरव दाइ मलाई बडो स्नेहका साथ जानकारीको पोको फुकाएर दिइदिन्थे । बरोबरजसो भन्ने गर्थे– ‘हाम्रो पालामा भन्दा त अहिले कति धेरै अवसर र सुविधा छ पत्रकारितामा, त्यसबाट सकेको लाभ लिनु र अघि बढ्नु ।’

दाइसँगको कुराकानीमा म जहिल्यै एउटा अभिभावकीय अनुभूति र हार्दिकतापूर्ण स्नेह पाउँथे । यसै कारणले पनि होला, पुराना कुराको जानकारी पाउनु परे मेरो एउटा भरपर्दो ‘स्रोत’ नै उनी हुन पुगे ।

लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा राखेपछि तरंगित बनेको नेपाली समाजलाई ‘त्यो जमिन हाम्रै थियो’ भनिदिने जिउँदो प्रमाण थिए उनै भैरव दाइ । र, उनले मलाई आफूले देखे–जानेको सबै फेहरिस्त दिएका थिए ।

टेलिफोनमा होइन, घरमै बोलाएर लिम्पियाधुरामा जनगणना गर्न जाँदाको नालीबेली मात्रै बताएनन् उनले, मिसिलजस्तो पोकाबाट पुराना कागज झिकेर त्यसको फोटोसमेत खिच्न दिए ।

त्यस उपक्रममा भैरव दाइसँग लिम्पियाधुराको मात्रै कुरा भएन, पत्रकारितामा उनी कसरी लागे, कसरी बीचमा जागिर चट् हुनाले जनगणनाको म्यादी जागिर खाए र कसरी राष्ट्रिय समाचार समितिमा प्रवेश गरे भन्नेबारेमा पनि रसिलो गफ भयो । शताब्दी आयु पुग्नै लाग्दासमेत लेखन–कर्ममा उत्तिकै सक्रिय र जिउँदोजाग्दो अक्षरजीवी भैरव दाइले त्यसबखतको पत्रकारिताबारे अनेकन किस्सा सुनाउँदै गर्दा मैले आफ्नै पेसाको एक जीवित इतिहासलाई पढिरहेको तृप्त अनुभूति भएको थियो ।

भक्तपुरको गुन्डु ताथलीमा संवत् १९८५ साउन २१ मा जन्मेका, ३ वर्षकै उमेरमा आमा गुमाएका र त्यसपछि विरक्तिएका बाबुले दधिकोटमा बसाइँ सरेपछि परको गाउँ लुभुको भाषा पाठ्शालामा पढ्न पाएका भैरव दाइका पुराना कुरा जति सुन्यो, उति सुनुँ लाग्नेखालका थिए ।

२०१२ सालमा लोक सेवाको जाँचमा निक्लेको अधिकृतको जागिर कम्युनिस्ट पार्टीको सदस्य भएकाले नपाएपछि कटुञ्जेतिर बस्ने राजाका जनसम्पर्क अधिकृत पूर्णप्रसाद उपाध्यायको भनसुनमा भैरव दाइले ‘हालखबर दैनिक’ मा समाचार लेख्ने काम पाएका रहेछन् । त्यो थियो २०१३ सालको कुरो । तिनताक पत्रिकै खासै नहुनाले पत्रकार पनि धेरै थिएनन् । जति थिए, तिनले सिधै राज्यसंयन्त्रको मूलधारमा प्रवेश पाउँथे । जस्तो कि, पत्रकारिता थालेको एकै वर्षमा उनले दुई महत्त्वपूर्ण व्यक्तिको यात्रामा रिपोर्टिङ गर्न साथै जाने मौका पाए– राजा महेन्द्र र नेपाली कांग्रेसका सभापति बीपी कोइराला । महेन्द्रले दुई साता लामो सुदूरपश्चिमको भ्रमण गर्दा भैरव दाइले अनेकन कुरा देखे । त्यसमध्ये एउटा कुरा उनले राजाबारे खास ‘नोटिस’ गरेका रहेछन् । त्यो के भने, पूरै यात्रा अवधिभर महेन्द्र एक पटक पनि हाँसेनन् । तर, दाजैले राजा हाँस्दा रहेनछन् भनेर पत्रिकामा लेख्न भने पाएनन्, किनभने त्यो समय नै त्यस्तो थियो ।

त्यसै वर्ष अर्थात् २०१४ असोज २० मा काठमाडौंबाट एउटा विमानमा बीपी सिमरा विमानस्थल जाँदै थिए र साथमा भैरव दाइ पनि । आम निर्वाचनका लागि मिति तोक्न राजालाई बाध्य कसरी पार्ने भन्ने रणनीति तय गर्न नेपाली कांग्रेस, नेपाल प्रजा परिषद्ले वीरगन्जमा सम्मेलन गर्दै थिए । यसको मूल हर्ताकर्ता उनै बीपी थिए । बीपी चाहिँ राजाका तुलनामा बडो रसिक र हार्दिक स्वभावका लागे अरे भैरव दाइलाई ।

‘सिमरा उत्रिनेबित्तिकै तात्तातो जिलेवी खाउँला,’ विमानमै बीपीले भैरव दाजुसँग भनेका रहेछन्, ‘केटाकेटीले पापा खाएझैं ।’

त्यत्रो ठूलो सम्मेलन गर्न र त्यति ठूलो रणनीति तय गर्न जाँदै गर्दा पनि बीपीमा भएको त्यो निश्छलता र हार्दिकताका साथ कुरा गर्ने स्वभाव एकातिर, पूरा राजसी ठाँटमा मोजमस्तीको जीवन बाँच्दा पनि हाँस्दै नहाँस्ने राजा अर्कातिर । यी दुईबीचको अलग व्यक्तित्व र यी दुईले प्रतिनिधित्व गर्ने अलग–अलग संसार अनि राज्य व्यवस्थाको द्वन्द्वबीच देशको ६ दशक बित्यो । र, यो ६ दशकलाई नै भैरव दाइले एक पत्रकारका रूपमा विश्लेषण गरे– सुरुमा निजी पत्रिका ‘हालखबर’ मार्फत र पछि सरकारी अड्डा ‘राष्ट्रिय समाचार समिति’ मार्फत ।

पत्रकारितामा भैरव दाइका समकालीन, तर उमेरले सात वर्ष कान्छा भैरव अर्यालले ‘त्यतिबलाको पत्रकारिता कस्तो थियो’ भन्नेबारे बडो सटीक पाराले एकै वाक्यमा लेखेका छन्– देखेका कुरा लेख्न नपाइने र लेखेका कुरा देख्न नपाइने । पञ्चायत बदनाम छ, जनता दुःखी छन् र नेता तथा कर्मचारी भ्रष्ट छन् भन्ने सिधै देखिन्थ्यो, तर यो लेख्न पाइन्नथ्यो । अनि जनता खुसी छन्, व्यवस्था राम्रो छ भनेर लेख्नुपर्थ्यो, जो देख्न पाइन्नथ्यो । अर्यालको यो अभिव्यक्तिमा भएको सत्यको प्रमाण भैरव रिसालका आफ्नै अनेकन अनुभव थिए । जस्तो कि, बजारमा मट्टितेल र नुन सकिँदा पनि ‘प्रशस्तै पाइन्छ’ भन्ने समाचार भैरव दाजुले लेख्नुपरेको थियो । बीपीलाई थुनामा राखेर फाँसीको सजाय दिने मुद्दामा बहस हुँदा उनले सरकारी वकिलको तर्कलाई मात्रै समाचार बनाउनु परेको थियो । अनि, जिल्ला भ्रमणमा गएका पञ्चायती प्रधानमन्त्रीहरूको भाषण छोटो लेखेकामा गालीसमेत खानुपरेको थियो ।

गएको आइतबार ९७ वर्षको उमेरमा भैरव दाजुले यो संसार छाडे । तर, उनले ठम्याएको ‘अक्षरको शक्ति’ र त्यसमार्फत उनले उजागर गरेका अनेकन सत्यतथ्यले शतायु बाँचेका अक्षरजीवी भैरव दाइलाई चिरस्मरणीय बनाएका छन् । साँच्चै हो रहेछ भैरव दाजु– अक्षरमा शक्ति छ !

(आज प्रकाशित कान्तिपुर दैनिकको कोसेलीमा घनश्याम खड्काले यो सामग्री लेखेका हुन् ।)

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू