मैले हाम्रो धर्म, संस्कृति र परम्परालाई जान्ने, बुझ्ने, अनुभव गर्ने उमेरको भएदेखि नै हाम्रो घरमा एकादशी तिथिमा कहिल्यै चामलको भात पकाएर खाएको थाहा पाइन । आज एकादशी हो, हामी त केही खादैनौ, व्रत बस्छौ, तिमिहरुले पनि भात खानु हुदैन भन्दै आमाले कहिले मकैको च्याख्ला अर्थात आटो, कहिले गहुको गिलोरोटि पकाइ दिनुहुन्थ्यो त कहिले मकै भुटि दिनु हुन्थ्यो । हामी भुराभुरीले आटो रोटि मकै खाएरै बस्थ्यौ भने उहाहरुले घरमा भए केही फलफूल, कन्दमुल खानु हुन्थ्यो नत्र दूध मात्रै खाएर भोकभोकै काममा खटिनु हुन्थ्यो । अहिलेको जस्तो फलफूल किन्न पाइने अबस्था पनि थिएन उतिखेर । बेलुका पनि आमाले हामिलाइ भात पकाइ दिनुहुन्थ्यो भने उहाहरुले आटो पिठो खानुहुन्थ्यो । यो क्रम हरेक १५/१५ दिनमा निरन्तर चलिरहन्थ्यो ।
एकादशी भनेको हिन्दूधर्ममा विशेष रूपमा व्रत बस्ने र पूजा गरिने तिथि हो, जुन प्रत्येक महिनाको शुक्ल पक्ष र कृष्ण पक्षको ११औं दिन (तिथि) मा पर्दछ । यस दिन लाई भगवान विष्णुको अतिनै प्रिय दिन मानिन्छ, त्यसैले भक्तजनहरूले व्रत (उपवास) बस्छन् , पुजा गर्छन । एकादशी व्रत भनेको शरीर र मनलाई पवित्र राख्दै विष्णुभगवानको भक्तिगर्ने विशेष साधना हो । यस दिन पूजा, भजन कीर्तन, भागवद्गीता पाठ र सत्संग गरिन्छ । व्रत बस्दा पापहरू नाश हुने, पुण्य र मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ । बैज्ञानिक दृष्टिकोणबाट हेर्दा पनि पाचन तन्त्रलाई आराम दिनको लागि, आध्यात्मिक ऊर्जा र आत्मसंयम बढाउने उद्देश्यले पेटलाइ आराम दिन एकादशी व्रत गरिन्छ ।
एकादशीमा किन अन्न खाइदैन वा खानुहुदैन ? भन्ने सन्दर्भमा आआफ्नै तार्किक दृष्टिकोणहरु हुनसक्छन । हिन्दू धर्म शास्त्रहरू अनुसार एकादशीको दिन अन्न (विशेष गरी चामल) खानै हुँदैन भनिन्छ । पद्म पुराण र स्कन्द पुराणमा एकादशीको दिन अन्नमा पापरूपी दोष प्रवेश गर्छ भनेर उल्लेख गरिएको छ । भगवान विष्णुको कृपा प्राप्त गर्न एकादशीमा पूर्ण उपवास (निर्जला वा फलाहार) बस्नुपर्छ भन्ने मान्यता रहिआएको छ ।
बैज्ञानिक हिसाबले हेर्दा हरेक पन्ध्रदिनमा एक दिन भोकै रहदा पाचन तन्त्रलाई आराम हुन्छ भन्ने नै हो । लगातार अन्न सेवन गर्दा पाचन तन्त्रमा बोझ पर्छ, उपवास बस्दा पाचन प्रणालीलाई आराम मिल्छ जुन सबैले सजिलै बुझ्नसक्ने तर्क हो । व्रतले शरीरका विषाक्त पदार्थहरू (toxins) हटाउन मद्दत गर्छ नै । हल्का भोजन गर्दा शरीरमा अतिरिक्त ऊर्जा सञ्चय हुन्छ भन्ने पनि हामिले सजिलै अनुमान गर्ने कुरा भयो । उपवासबाट मानसिक शान्ति मिल्दछ । ध्यान, पूजापाठ र अध्यात्ममा केन्द्रित हुन सजिलो हुन्छ ।
ज्योतिषीय दृष्टिकोणबाट हेर्दा चन्द्रमाको प्रभावले मानिसको शरीरमा तरल पदार्थको स्तर परिवर्तन गर्छ, जसले पाचन प्रक्रियामा असर पार्छ । एकादशीको दिन उपवास गर्दा शरीर र मनलाई सकारात्मक ऊर्जा मिल्छ त्यसैले सामान्यतया चामल, गहुँ, दाल, रोटी, जौ, मकै लगायतका अन्नहरु नखानु नै उत्तम मानिन्छ । उक्तदिन सबैका लागि पूर्ण उपवास सम्भव नहुन सक्छ, त्यसैले विकल्पका रुपमा फलाहार अर्थात फलफुल, दूध, दही, नरिवल पानी, सात्त्विक भोजन जस्तै साबुदाना, सिंगाडा, आलु, गिठ्ठा, तरुल, खजुर लगायत खान सकिन्छ ।


एकादशीमा व्रत बस्ने चलन कसरी सुरु भयो ? एकादशी व्रतको उत्पत्ति कसरी भयो ? भन्ने बारे विभिन्न हिन्दू धर्मशास्त्र, पद्म पुराण र स्कन्द पुराणमा उल्लेख गरिएका कथा अनुसार सृष्टिको सुरुवातमा मधु र कैटभ नामक दुई दैत्यहरूले देवताहरूलाई अत्यधिक सताएपछी उनीहरू ले भगवान विष्णुको ध्यान गर्न थाले, जसको कारण विष्णु भगवान निद्रामा पर्नुभयो । जब दानवहरूले चारैतिर आतंक मच्चाए तब भगवान विष्णुको शरीरबाट एक दिव्य तेज (शक्ति) उत्पन्न भयो जुन शक्ति नारीको रूपमा प्रकट भइन्, जसलाई “एकादशी देवी” भनियो । एकादशी देवीले तिनै मधु-कैटभ दानवलाई नष्ट गरिन् र सबैले शान्तीको महसुस गर्नपाए । एकादशी देवीको शक्ति देखेर भगवान बिष्णु अत्यन्त प्रसन्न हुदै भन्नुभयो कि जो कोही तिमीलाई सम्झेर उपवास (व्रत) गर्छ, उनीहरूका सबै पापहरू नष्ट हुन्छन् र मोक्ष प्राप्तगर्छन ।
त्यस दिन एकादशी तिथि थियो, त्यसैले त्यस दिनबाट उपवास बस्ने परम्परा सुरु भयो ।
विष्णु धर्मसूत्र र हरिवंश पुराणमा एकादशी व्रतको महिमाको बारेमा एकादशीलाई “उत्तम व्रत” भनिएको छ, जसले शरीर र आत्मालाई शुद्ध गर्छ । महाभारतको अनुशासन पर्बमा भगवान श्रीकृष्णले अर्जुनलाई भनेका छन् – हे अर्जुन ! एकादशीका दिन उपवास गरे पुण्य प्राप्त हुन्छ, पापहरू नाश हुन्छन् र मोक्ष प्राप्त गर्न सकिन्छ । बैज्ञानिक र आयुर्वेदका अनुसार प्रत्येक १५ दिनमा शरीरलाई डिटोक्स गर्नुपर्छ, त्यसैले एकादशी व्रत महत्वपूर्ण मानिन्छ । चन्द्रमाको प्रभाव शरीरमा धेरै हुन्छ, एकादशीका दिन व्रत गर्दा मानसिक स्थिरता आउँछ भन्ने कुरा त माथी पनि उल्लेख गरिसकिएकै छ ।
हरेक व्रत बस्ने मानिसहरुले व्रतको अघिल्लो दिन अर्थात दशमीमा शुद्ध सात्त्विक भोजन गर्नुपर्छ । एकादशीको दिन बिहानै उठी स्नान गरेर नित्यकर्म पश्चात भगवान विष्णुको बिषेश पूजा गर्नुपर्छ । उक्तदिन सकिन्छ भने पानी मात्रै खाएर, नसके फलाहार ग्रहण गरेर उपबास बस्नुपर्छ, कसै सकिँदैन भने पनि चामलको परिकार सेवन नगर्नु भन्ने मान्यता रहि आएको छ । दिनै भर भगवान विष्णुको नाम स्मरण, कीर्तन, भजन, पुजा वा गीता पाठ गर्नुपर्दछ ।
नेपालमा बर्षभरिमा पर्ने दुइवटा एकादशीलाई मात्र “ठूली एकादशी” र “सानी एकादशी” भन्ने चलन पनि विशेष रूपमा प्रचलित छ तर त्यसो होइन । हरेक महिनालाइ कृष्ण पक्ष (अमावस्यासम्म) र शुक्ल पक्ष (पूर्णिमासम्म) गरी दुई भागमा विभाजन गर्ने गरिन्छ, शुक्लपक्षमा पर्ने एकादशीलाई ठूली एकादशी भन्न सकिन्छ भने कृष्ण पक्षमा पर्ने एकादशीलाई सानी एकादशी भन्नुपर्ने हुन सक्छ । शुक्ल पक्षमा पर्ने एकादशीलाई ठूलो र विशेष मानिन्छ किनभने यो उज्यालो पक्षमा पर्छ, जुन शुभ मानिन्छ भने कृष्णपक्षको एकादशीलाई सानो मानिन्छ किनभने यो अन्धकार पक्षमा पर्छ । ठुली र सानी भनेर कुनै भेदभाब चाहिँ गरिनुहुदैन ।
एकादशीका नाम र ब्रत गर्दा प्राप्त हुने फलहरू
साधारणतया वर्षमा २४ वटा एकादशीहरू हुन्छन् तर कुनै बर्ष अधिकमास (मलमास) परेमा २ वटा थप भएर २६ पुग्छन । विभिन्न ग्रन्थ, पुराना र अहिलेका पात्राहरुमा यिनिहरुका नाम फरक फरक उल्लेख गरिने गरेको पनि मैले अध्यायनको क्रममा भेटेको छु तथापी धेरैजसोमा उल्लेखित प्रचलित नामहरु निम्नानुसार छन :
(१) वैशाख महिनाका एकादशीहरू
– वरूथिनी एकादशी: शारीरिक तथा मानसिक समस्याबाट मुक्ति पाइन्छ ।
– मोहिनी एकादशी: मोह, माया, लोभ जस्ता विकारहरू हट्छन् ।
(२) जेठ महिनाका एकादशीहरू
– अपरा एकादशी: गंगास्नान जत्तिकै पुण्य प्राप्त हुन्छ, सबै पाप नाश हुन्छन् ।
– निर्जला एकादशी: सबै एकादशीहरूको पुण्य प्राप्त हुन्छ, व्रत कठिन तर अत्यन्त लाभदायी ।
(३) असार महिनाका एकादशीहरू
– योगिनी एकादशी: पापहरूको नाश र रोगमुक्ति ।
– हरिशयनी (देवशयनी): एकादशी: भगवान विष्णु चार महिना योगनिद्रामा जानुहुन्छ, चातुर्मास व्रत सुरू हुन्छ ।
(४) साउन महिनाका एकादशीहरू
– कामिका एकादशी: मनका दुष्टभाव हटाउने, मोक्ष प्राप्तगर्ने ।
– पवित्रा एकादशी: सन्तान प्राप्ति र उनिहरुको राम्रोको लागि ।
(५) भदौ महिनाका एकादशीहरू
– अन्नदा (अजा) एकादशी: अन्नदान जत्तिकै पुण्य प्राप्त हुन्छ, दरिद्रता नाश हुन्छ ।
– हरिपरिबर्तनि (परमा/व्रज) एकादशी: विशेषतः धन, ऐश्वर्य प्राप्तिकोलागि ।
(६) असोज महिनाका एकादशीहरू
– इन्दिरा (इन्द्रा) एकादशी: पितृ उद्धारको लागि उत्तम व्रत ।
– पाशाङ्कुशा एकादशी: मनोकामना पूर्ण हुन्छ, पुण्य प्राप्त हुन्छ ।
(७) कात्तिक महिनाका एकादशीहरू
– रमा एकादशी: विशेष गरी लक्ष्मी प्राप्तिको लागि ।
– हरिबोधिनी (देवउठनी) एकादशी: भगवान विष्णु योग निद्राबाट ब्युँझनुहुन्छ, तुलसी विवाह गरिन्छ ।
(८) मंसिर महिनाका एकादशीहरू
– उत्पन्ना (उत्पतिका) एकादशी: एकादशी व्रतको महत्व स्थापना भएको दिन ।
– मोक्षदा एकादशी: भागवद्गीताको उपदेश दिनु भएको दिन, मोक्ष प्राप्ति ।
(९) पुष महिनाका एकादशीहरू
– सफला एकादशी – जीवनमा सफलता प्राप्त हुन्छ ।
– पुत्रदा एकादशी – सन्तान प्राप्ति एवं संरक्षणको लागि ।
(१०) माघ महिनाका एकादशीहरू
– षट्तिला एकादशी: अन्नदान एवं दरिद्रता नाशकोलागि ।
– जया (भिमा) एकादशी: पिशाचयोनीबाट मुक्तिकोलागि।
(११) फागुन महिनाका एकादशीहरू
– विजया एकादशी: शत्रु बाधा नाशगर्न, विजय प्राप्तगर्न ।
– आमलकी एकादशी: आँवला वृक्षको पूजा गरी स्वास्थ्य र दीर्घायु प्राप्त गर्ने ।
(१२) चैत्र महिनाका एकादशीहरू
– पापमोचनी एकादशी: सबै प्रकारका पापहरू नाश भई मुक्ति प्राप्त हुन्छ ।
– कामदा एकादशी: मनोकामना पूर्ति हुन्छ, विशेष गरी सन्तान प्राप्तिको लागि लाभदायी ।
(१३) अधिकमासमा (मलमास) पर्ने दुई विशेष एकादशीहरू
– पद्मिनी एकादशी: विशेष पुण्य प्राप्त हुने, मोक्षदायिनी ।
– परमा एकादशी: विशेष गरी मोक्ष प्राप्तिका लागि ।
शास्त्रहरुमा एकादशीबारे के भनिएको छ ?
हिन्दू शास्त्रहरूमा एकादशी व्रतको महिमा अनेकौं श्लोकहरूमा वर्णन गरिएको छ । मुख्य रूपमा पद्म पुराण, स्कन्द पुराण, नारद पुराण, श्रीमद्भागवत महापुराण र महाभारतमा एकादशीको विशेष महत्व बताइएको छ । यहाँ केही प्रमुख श्लोकहरू प्रस्तुत गरिएका छन्:
“एकादश्यां न भोक्तव्यं जलमत्रापि वा पिबेत्।
भुक्त्वा चैव जलं पीत्वा जायते ह्यनृषंसकः॥”
(पद्म पुराण, उत्तर खण्ड, अध्याय ३१, श्लोक ११)
अर्थात, एकादशीका दिन अन्न खानु हुँदैन, पानीसमेत कम मात्रामा पिउनु उत्तम मानिन्छ । जो अन्न सेवन गर्छ वा अधिक पानी पिउँछ, उनीहरु पापकर्ममा संलग्न हुन्छन ।
“एकादश्याः तिथेः पुण्यं यत्फलं भूमिदानतः।
गवां शतसहस्रस्य समं स्यात् किल भारत॥”
(पद्म पुराण, उत्तर खण्ड, अध्याय ३१, श्लोक २६)
अर्थात, हे भारत ! एकादशी व्रतको पुण्य भूमिदान गर्ने वा लाखौं गाई दान गर्ने पुण्य बराबर हुन्छ ।
“पुत्रकाम्याः स्त्रियः पुत्रान् भर्तृकाम्यास्तु भर्तृदं।
धनकाम्यास्तु ये पुरुषास्ते कुर्युरेकादशी व्रतम्॥”
(महाभारत, अनुशासन पर्व, अध्याय १०६, श्लोक ३८)
अर्थात, जो सन्तानको इच्छा राख्छन्, स्त्रीहरू जसले असल पति पाउन चाहन्छन्, वा जो धन सम्पत्तिको अभिलाषी छन्, ती सबैले एकादशी व्रत अवश्य गर्नुपर्छ ।
“एकादश्यां निराहारो यो भवेत्तु नराधिप।
जन्मान्तरसहस्रेषु दारिद्र्यं नोपजायते॥”
(नारद पुराण, पूर्व भाग, अध्याय २३, श्लोक १२०)
अर्थात, जो एकादशीका दिन उपवास बस्छ, ऊ हजारौं जन्म सम्म कहिल्यै दरिद्र (गरिब) हुँदैन ।
“न हि तत्फलमाप्नोति महास्नानेन भारत।
यत्फलं सम्प्रयात्येव एकादश्युपवासनात्॥”
(स्कन्द पुराण, वैष्णव खण्ड, अध्याय ६, श्लोक २६.८)
अर्थात हे भारत ! गङ्गा, यमुना जस्ता पवित्र तीर्थहरूमा स्नान गरेर पनि प्राप्त नहुने पुण्य एकादशीको उपवास बस्दा सहजै प्राप्त हुन्छ ।
“मम व्रतमिदं पुण्यं सर्वपापप्रणाशनम्।
कर्तव्यं सर्ववर्णैश्च ब्राह्मणाद्यैः विशेषतः॥”
(पद्म पुराण, उत्तर खण्ड, अध्याय २२२, श्लोक ३१)
अर्थात, एकादशी मेरो प्रिय व्रत हो, जसले सबै पापहरू नष्ट गर्छ । यो व्रत ब्राह्मण लगायत सबैवर्णका व्यक्तिहरू ले गर्नु आवश्यक छ ।
सारशंमा, एकादशी व्रत भगवान विष्णुको कृपा प्राप्त गर्नको लागि गरिन्छ । पाप नाश, पुण्य प्राप्ति र मोक्षको लागि यो महत्वपूर्ण व्रत हो । यसका वैज्ञानिक र आध्यात्मिक लाभहरू पनि छन् । एकादशी व्रतको सुरुवात पौराणिककालमै भएको हो । प्रत्येक एकादशी को आफ्नै विशेष महत्व छ । धन, सुख, समृद्धि, मोक्ष, रोगमुक्ति, पापमोचन तथा शत्रुनाश जस्ता विभिन्न फलहरू प्राप्त गर्न यी एकादशीहरूको व्रत बस्ने गरिन्छ । निर्जला एकादशीलाइ सबै एकादशीहरू मध्ये कै सर्वश्रेष्ठ मानिन्छ ।
धार्मिक, वैज्ञानिक र ज्योतिषीय कारणले एकादशीमा अन्न सेवन नगर्नु उपयुक्त मानिन्छ । सामान्य स्वास्थ्य अवस्था भएकाहरूले पूर्ण उपवास गर्न सक्छन्, तर आवश्यक परे हल्का फलाहार पनि ग्रण गर्न सकिन्छ । एकादशी उपवास केवल धार्मिक कर्म मात्र नभई स्वस्थ जीवनशैली अपनाउने महत्वपूर्ण अभ्यास पनि हो । नेपालमा शुक्लपक्षको एकादशी लाई “ठूली” र कृष्ण पक्षको एकादशीलाई “सानी” भन्ने चलन छ । दुवै एकादशीको आ-आफ्नो महत्व छ, तर सामान्य रूपमा शुक्ल पक्षको एकादशीलाई बढी विशेष मानिन्छ । हिन्दू धर्मशास्त्रहरूमा एकादशीको पुण्य गङ्गा स्नान, यज्ञ तथा दानभन्दा बढी छ भन्ने उल्लेख गरिएको छ ।