प्रधानमन्त्री ओली चितवन आउने कार्यक्रम स्थगित

चितवन – नारायणगढको पुलचोकदेखि भरतपुरको गोन्द्राङसम्मको ६ लेन सडक उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउने कार्यक्रम स्थगित भएको छ । चैत २५ गते ६ लेन सडक उद्घाटनका लागि प्रधानमन्त्री ओली चितवन आउने भनी सञ्चारमाध्यममा समाचारसमेत आइसकेको थियो ।

नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकले कार्यव्यस्तताको कारण प्रधानमन्त्री ओली चितवन आउने कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी दिए । ‘कार्यव्यस्तताको कारण प्रधानमन्त्रीज्यू पर्सी २५ गते चितवन आउन नभ्याउने हुनुभयो’ अध्यक्ष पाठकले भने, ‘६ लेन सडक उद्घाटनको कार्यक्रम केही दिन पर सर्ने भयो ।’

एटुजेड समाचारसँगको टेलिफोन संवादमा अध्यक्ष पाठकले प्रधानमन्त्री ओलीको चितवन आउने मिति र समय निश्चित गर्न आफूहरु चैत २५ गते नै प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ जान लागेको बताए । ‘प्रधानमन्त्रीलाई भेट्न २५ गते काठमाडौँ जाँदैछौँ । अब सडक उद्घाटनको कार्यक्रम वैशाखको ५ वा ६ गतेतिर हुन सक्छ’ अध्यक्ष पाठकले भने, ‘हामीले त चैत २५ गतेका लागि नै सबै तयारी गरिसकेका थियौँ तर प्रधानमन्त्रीज्यूको कार्यव्यस्तताले अहिले उद्घाटन नहुने भयो ।’

२०७७ साल माघ १७ गते तत्कालीन प्रधानमन्त्री ओलीले ६ लेन सडक विस्तारको शिलान्यास गरेका थिए । शिलान्यास गरेको २ वर्षभित्र सडक विस्तार सक्ने भनिएको थियो तर चार वर्षपछि मात्रै सडकको काम सकिएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू