म गाउँघरमा हुर्के, बढे, पढेको मान्छे । हाम्रो घर स्याङ्जामा बिहान बेलुकाको दैनिक पञ्चाङ्ग पुजा लगायत हरेक महिनामा एउटा न एउटा धार्मिक पुजाआजा भैरहन्थ्यो । मेरो ब्रतबन्ध गरिए पछि मैले पनि जनै लगाइरहनु पर्ने र दैनिक बिहान नुवाइधुवाइ गरेर गायत्री मन्त्र जप्नु पर्ने नियममा बाधिएँ । मैले आफ्नो संस्कारलाई अंगाल्दै त गए तर हरेक पुजा गराउन आउने पंडितज्यु र मेरा गुरुलाई यो धागोको डोरो लगाएर के हुन्छ ? पुजा गरेर के हुन्छ ? ढुङ्गापुजेर के हुन्छ जस्ता अनेक प्रश्नहरु गरिरहन्थे भने उहाहरुले पनि शुरु शुरुमा त्यसको महत्व र फाइदा बताउनु हुन्थ्यो तर मैले अज्ञानताका कारण चाहिदा नचाहिदा जिद्दी तर्क गरेर सोध्न थालेपछी मेरा कुराबाट छुटकारा पाउने उहाहरुको एउटै अश्त्र हुन्थ्यो – यस्ता नास्तिकसित के कुरा गर्नु ? अनि म पनि चुप ।
बास्तबमा मलाई नास्तिक र आस्तिकबारे केही थाहै थिएन । मानौ मैले आफुलाई आधुनिक युगको मान्छे सोच्थे भने उहा हरुलाइ पुराना जमानाको । बिस्तारै मेरो सोझो बुझाइ भनेकै धर्म मान्ने मान्छे आस्तिक र धर्म नमान्ने मान्छे नास्तिक हो भन्ने लाग्न लागेको थियो तर अहिले बुझ्दै जादा यो भेग बिषय रहेछ । आज म यसै प्रसङ्गमा केही लेख्ने जमर्को गर्दैछु ।
आस्तिक भन्नाले ईश्वर, आत्मा, पुनर्जन्म, कर्मफल, मोक्ष जस्ता आध्यात्मिक तथा धार्मिक सिद्धान्तहरूमा विश्वास गर्ने ब्याक्ती वा दर्शनलाई जनाइन्छ । आस्तिक हुनु भनेको कुनै विशिष्ट धर्म मान्ने मात्र होइन, कुनै उच्च शक्ति वा ब्रह्माण्डीय न्याय प्रणालीमा विश्वास राख्नु पनि हो । सामान्य भाषामा भन्नुपर्दा जो व्यक्ति परमसत्ता, धर्म वा आध्यात्मिकता स्वीकार गर्छ, ऊ आस्तिक हो । हिन्दूधर्म र आस्तिकता एक अर्कासँग गहिरोरूपमा जोडिएका छन् । हिन्दूधर्म अनुसार वेदहरूलाई प्रमाण मान्ने दर्शनहरू, यसका मुल ग्रन्थहरु बेद, उपनिषद, गिता आदिको मार्गदर्शनमा सांख्य, योग, न्याय, वैशेषिक, मीमांस र वेदान्त जस्ता सिद्धान्तहरुका आधारमा चल्ने, ईश्वर को अस्थित्वमा बिश्वास गर्नेहरु आस्तिक भनिए ।
हिन्दू धर्ममा भगवान विष्णु, शिव, दुर्गा, गणेश, कृष्ण, राम आदि देवताहरूको उपासना आस्तिकताको प्रतिक हो । वेद, उपनिषद्, महाभारत, रामायण, भागवत, पुराण लगायतका ग्रन्थहरूले आस्तिकताको दर्शनलाई बल पुर्याउँछन । अझ अचम्मलाग्दो कुरा त के छ भने, हिन्दू धर्मबाटै अलगधारको रुपमा शुरुभएका शाखाहरु भित्रै पनि केही नास्तिक दर्शनहरू छन्, जसले वेद वा ईश्वरलाई स्वीकार गर्दैनन् । उदाहरणका लागि चार्वाक दर्शनलाई लिन सकिन्छ जसले भौतिकवादमा विश्वास राख्ने गर्छन तर आत्मा र पुनर्जन्मलाइ अस्वीकार गर्दछन । जैन धर्ममा ईश्वरको अवधारणा अस्वीकार गरिएपनि आत्मा, कर्म र मोक्षलाई मान्यता दिइन्छ । बौद्ध धर्ममा ईश्वरमा विश्वास नगर्ने तर नैतिकता, कर्म र निर्वाणलाई महत्त्व दिने गरिन्छ । हरेक धर्म वा दर्शनभित्र आस्तिक र नास्तिक दुबै अटिरहेकै छन ।
कोही व्यक्तिले कुनै संगठित धर्म जस्तै हिन्दू, इस्लाम, क्रिश्चियन, बौद्ध आदि मान्छ भने उनी धार्मिक आस्तिक भए । कोही व्यक्तिले कुनै विशेष धर्म मान्दैन तर आत्मा, पुनर्जन्म वा कुनै उच्च शक्ति (Supreme Power) मा विश्वास गर्छ भने उनीहरु पनि आस्तिक नै हुन । धर्म आस्तिकताको एउटा रूप हो, तर आस्तिकता धर्मभन्दा फराकिलो अवधारणा हो । कुनै व्यक्ति धार्मिक नभए पनि अध्यात्मिक वा ईश्वरमा विश्वास गर्ने भए उनी आस्तिक कहलाउन सक्छन । आस्थावान व्यक्ति अर्थात् धर्ममा विश्वास गर्नेलाई सामान्य रूपमा आस्तिक भनिन्छ । आस्तिक भन्नाले धर्ममा मात्र होइन, कुनै न कुनै रूपको उच्चशक्ति, आत्मा वा आध्यात्मिक सिद्धान्तमा विश्वास गर्ने व्यक्ति बुझिन्छ । धर्मप्रति आस्था राख्नेहरू त स्वतह: आस्तिक भनिने भइहाले, धर्म नमान्ने तर अन्य आध्यात्मिक तत्वमा विश्वास राख्नेहरू पनि आस्तिक नै हुन भनेर हामिले मान्नुपर्ने हुन्छ ।


आस्तिक हुनुका फाइदाहरु
आस्तिक हुनुका धेरै फाइदाहरू छन जुन मानसिक, सामाजिक र नैतिक दृष्टिकोणबाट व्यक्तिको जीवनमा सकारात्मक प्रभाव पार्छन । अब आउनुहोस, आस्तिक हुनुका केही प्रमुख फाइदाहरूको बारेमा बुझौ !
१. मानसिक शान्ति र आत्मविश्वास –
आस्तिक व्यक्तिहरूले ईश्वर वा कुनै उच्च शक्तिमा विश्वास गर्ने भएकाले जीवनका चुनौतीहरू सहज रूपमा स्वीकार गर्छन् । कठिन परिस्थितिमा पनि उनीहरूमा आशाबादी रहन्छन, जसले मानसिक तनाव कमगर्न मद्धत पुर्याउछ । ध्यान, पूजा, प्रार्थना जस्ता आध्यात्मिक अभ्यासहरूले मानसिक शान्ति दिन्छ ।
२. नैतिकता र चरित्र निर्माण –
आस्तिक व्यक्तिहरू सधै नैतिक मुल्य, अहिंसा, दया, सेवा आदिमा विश्वास राख्छन् जसले उनीहरूलाई धर्म वा कर्म सिद्धान्तले राम्रो व्यवहार गर्न प्रेरित गर्छ । खराब कर्म नगर्ने प्रेरणा मिल्ने हुँदा समाजमा राम्रो छवि बन्छ ।
३. जीवनलाई अर्थपूर्ण बनाउने –
जीवन भनेको केवल भौतिक सुख-सुविधा मात्र होइन, यो आध्यात्मिक रूपमा समृद्ध पनि हुनुपर्छ भन्ने भावना जागृत हुन्छ । कर्म र पुनर्जन्ममा विश्वास गर्ने भएकाले राम्रो कार्यगर्न प्रेरित हुन्छन् । ब्याक्तिमा दया, प्रेम, करुणा, परोपकार जस्ता गुणहरू विकास हुन्छन् ।
४. तनाव व्यवस्थापन र सहनशीलता –
आस्तिक व्यक्तिले सबै कुरा ईश्वरको इच्छा अनुसार हुन्छ भन्ने सोच राख्ने हुँदा निराश हुनुपर्दैन । मेरो इच्छा बिना पात पनि हल्लिदैन भनेर भगवान श्रीकृष्णले गितामा भन्नुभएको वाक्य यहाँ स्मरणयोग्य हुनसक्दछ । जीवनमा आउने कठिनाइहरूलाई धैर्यका साथ सामनागर्ने शक्ति प्राप्त हुन्छ । धर्म र आध्यात्मिक विश्वासले सकारात्मक सोचलाई बल दिन्छ ।
५. सामाजिक सद्भाव र एकता –
आस्तिक व्यक्तिहरू प्रायः धार्मिक तथा सामाजिक संस्था सँग जोडिएका हुन्छन्, जसले समुदायमा सेवागर्ने अवसर प्रदान गर्छ । धार्मिक रीतिरिवाज, पर्व, मठमन्दिर,पुजा, आदिले पारिवारिक र सामाजिक सम्बन्ध बलियो बनाउँछ । परोपकार, दान, सहयोग आदिमा प्रेरित भएर समाजका लागि योगदान गर्न सकिन्छ ।
६. मृत्युको भय कम हुन्छ –
पुनर्जन्म वा मोक्षमा विश्वास गर्ने भएकाले मृत्युको भय हुँदैन । यो जीवन कर्मभूमि हो, मृत्युपछि पनि फेरी मेरो जन्म हुन्छ भन्ने विचारले डर हटाउँछ । मृत्युपछि पनि आत्माको अस्तित्व रहन्छ भन्ने विश्वासले शान्ति दिन्छ । आदि ।
नास्तिक र यसका फाइदाहरु:
नास्तिक भन्नाले वेदहरूको प्रमाण नमान्ने ब्याक्ती बा दर्शनहरू भन्ने बुझिन्छ । “नास्तिक” भन्नेशब्द संस्कृत मूलको हो, यसको अर्थ अस्तित्वलाई स्वीकार नगर्ने भन्ने हुन्छ । धार्मिक सन्दर्भमा नास्तिक भन्नाले भगवान, आत्मा, पुनर्जन्म वा कुनै धार्मिक मान्यतालाई अस्वीकार गर्ने व्यक्तिलाई जनाउँछ । हिन्दू दर्शनमा चार्वाक, बौद्ध, जैन लगायतका दर्शनलाई नास्तिक दर्शनको रूपमा लिइन्छ किनभने यिनिहरुले वेदलाई प्रमाण मान्दैनन्, तर सबै नास्तिकहरूले धार्मिक वा नैतिक मूल्य अस्वीकार गर्छन् भन्ने चाहिँ होइन । धेरै नास्तिकहरूले मानवता, नैतिकता र तर्कमाआधारित जीवनशैली अँगाल्छन् ।
हिन्दुधर्म अनुसार बुझ्ने हो भने ईश्वर नमान्ने, बेदका प्रमाणलाइ अस्विकार गर्ने, परम्परागत संस्कृती मूल्य मान्यतालाइ तोडने वा हिन्दुधर्म त्यागेर अन्य धर्म अपनाउनेहरु नै नास्तिक हुन । नास्तिकहरूलाई हिन्दु धर्मालम्बिहरुले कहिलेकाहीँ “पापी” वा “अबुझ” भनेर पनि भन्ने गर्दछन । यसरी भनिनुको पछाडिको मुख्य कारण भनेको धार्मिक मान्यता र समाजिक सोचसँग जोडिएकोले नै हो किनभने धेरै धार्मिक परम्पराहरूमा ईश्वरमा विश्वास गर्नुनै धर्मपरायणताको आधार मानिन्छ । नास्तिकहरूलाई ईश्वरको अस्तित्व अस्वीकार गर्ने भएकाले “पथभ्रष्ट” वा “पापी” भनेर हेपिन्छ । हाम्रो समाजमा धर्मले निर्धारित गरेको नैतिकताको मार्ग नअपनाएमा व्यक्तिलाई गलत मान्ने प्रवृत्ति जो छ । त्यसै गरि हाम्रो समाजमा पुरानो समयदेखि नै धार्मिक विश्वास हरूलाई महत्वपूर्ण स्थान दिइएको छ, जब कसैले ती विश्वासहरूलाई अस्वीकार गर्छ, समाजले उसलाई परम्परा विरुद्ध देख्छ र कहिलेकाहीँ “अबुझ वा अज्ञानि” को नजरले हेर्छ ।
धेरै मानिसहरूले सोच्छन् कि नैतिकताको भावना धर्म बाटै आउँछ । त्यसैले धर्ममा बिश्वास नगर्ने ब्याक्ति नैतिकहीन हुन्छन भन्ने धारणा फैलिएको छ । धेरै जसो अवस्थामा नास्तिकता र नैतिकता बीचको फरकलाई नबुझेर मानिसहरूले पूर्वाग्रहीरूपमा नास्तिकहरूलाई धर्म बिरोधी भन्ने गरिएको हो । नास्तिकता भनेको केवल ईश्वर प्रतिको अविश्वास हो, नैतिकताको अस्वीकार होइन । वास्तवमा धेरै नास्तिकहरू पनि उच्च नैतिक मूल्यहरू मा विश्वास गर्छन् र सदाचारको पालन गर्छन् भन्ने कुरा हामिले किन कहिल्यै सोच्दैनौ ?
धेरै समय सम्म मानिएको थियो कि नैतिकता धर्मबाट मात्र आउँछ तर सबै कुरा त त्यसो पनि होइन रहेछ । नास्तिकहरूले पनि उच्च नैतिक मान्यताहरू अपनाउँछन् भन्ने कुरा त माथिनै उल्लेख गरिसकियो । उनिहरुमा झन बढी मानवता (Humanism) हुनसक्छ, सबै मानवलाई समान अधिकार र सम्मान दिनुपर्छ भन्ने विचार पलाउन सक्छ । उनिहरुमा कसैलाइ बिश्वास गर्न र निर्णय लिन लाई तथ्य प्रमाण चाहिने वैज्ञानिक सोच (Scientific reasoning) रहेको हुन्छ । उनिहरुले पनि आस्तिक सरह सामाजिक जिम्मेवारी (Social responsibility) बहन गरिरहेका हुनसक्छन । कहिलेकाहीँ मानिसहरू भन्छन्, “नास्तिक हुनु भनेको आध्यात्मिक नहुनु हो,” तर यो सत्य होइन । नास्तिक हरूले पनि ध्यान, योग वा प्रकृति प्रतिको प्रेम जस्ता आध्यात्मिक अभ्यासहरु गरि रहेकै हुन्छन । फरक यत्ती हो कि उनीहरूलाई कुनै अलौकिक शक्तिमा विश्वास गर्नुपर्छ भन्ने छैन ।
धेरै मानिसहरू धर्म र ईश्वरप्रतिको विश्वासलाई एउटै ठान्छन्, तर यी अलग कुराहरु हुन् । धर्म (Religion) कुनै समुदाय बिशेषको आध्यात्मिक प्रणाली हो जसले जीवन, नैतिकता, ब्रह्माण्ड र अस्तित्वका बारेमा केही मान्यता र परम्पराहरू प्रदान गर्छ । छोटो अर्थमा हामिले स्विकार गरेको वा धारण गरेको ब्याबहार, संस्कार, पद्धति, ज्ञान नै धर्म हो जसलाइ पालना गर्नेहरु आस्तिक हुन भने नास्तिकता (Atheism) केवल ईश्वर वा कुनै सर्वोच्च शक्ति प्रतिको अविश्वास हो । धर्मले ईश्वरको अवधारणा अनिवार्य रूपमा समावेश गर्नुपर्छ भन्ने छैन । उदाहरणका लागि बौद्धधर्मका कतिपय शाखाहरूमा ईश्वरको अस्तित्वमा विश्वासै छैन । जैन धर्ममा पनि ईश्वरलाई सृष्टिकर्ता मानेको पाइदैन ।
सबै नास्तिकहरू एउटै सोचका पनि हुँदैनन् । नास्तिकतामा पनि फरक फरक धार अर्थात भिन्नता हुन्छ । सैद्धान्तिक नास्तिकहरुले स्पष्ट रूपमा ईश्वरको अवधारणालाई अस्वीकार गर्छन् र तर्कवितर्क मार्फत आफ्नो धारणा प्रकट गर्छन् तर व्यवहारिक नास्तिक का मानिसहरुले ईश्वरको अस्तित्वबारे धेरै चिन्ता गर्दैनन् । उनीहरू जीवनलाई व्यावहारिक दृष्टिकोणबाट हेर्छन् तर धर्मका नियमहरू पालना गर्दैनन् भने सांस्कृतिक नास्तिकहरु धार्मिक संस्कार वा पर्वहरू सांस्कृतिक पहिचानका रूपमा मनाउँछन्, तर धार्मिक आस्थामा जोडिन्नन । जस्तै: हिन्दू नास्तिकहरूले पनि दशैं वा तिहारलाई रमाइलो पर्बकोरुपमा मनाउन सक्छन्, तर उनिहरुले टीका जमरा लगाउदैनन, दुर्गाको पुजा आराधना नगर्न सक्ने भए । पश्चिमी देशहरुमा केही नास्तिकहरूले भनौ वा हामी हिन्दुहरुले पनि उनिहरुको समाजमा रहदा मज्जाले क्रिसमसमा रमाइलो गर्छौ, मिठा मिठा परिकार बनाएर खान्छौ, खुशी साटासाट गर्छौ तर धार्मिक कारणले यसुलाइ प्रभु मानेर मनमा त बसाल्दैनौ नि !
समाजमा नास्तिकहरूलाई नकारात्मक रूपमा हेरिन्छ, किन भने धर्मशास्त्रमा विश्वास नगर्नेलाइ “धार्मिक पथभ्रष्टता” मानिन्छ । यसरी हेर्दा त एउटा धर्मको अनुयायिले अर्को धर्म मान्ने ब्याक्तिलाइ नास्तिक पो भन्न सक्ने भयो । धार्मिक कट्टर समाजहरूमा नास्तिकहरू लाई आलोचना वा भेदभावको सामना गर्नुपर्छ । संसारमा धर्म कै कारण ठुला ठुला युद्दहरु र हिसांहरु भएको ईतिहास हामिले पढेकै छौ । अहिले पनि धार्मिक द्वन्दले अराजकताको रुप लिएका कैयौ उदाहरणहरु छन । लोकतान्त्रिक समाजमा नास्तिकता पनि एउटा स्वतन्त्र वैध विचारधारा हो, आआफ्नो इच्छाको बिषय हो भनेर मान्नु उचितै हो जस्तो देखिन्छ । आजकल समयको परिवर्तनसँगै मानिसहरूको सोच बदलिंदै गएको छ र नास्तिकता पनि स्वीकारिएको छ । नास्तिकताको मुख्य फाइदाहरू निम्न छन-
१. तार्किक र वैज्ञानिक सोचको विकास –
नास्तिकहरू विश्वासभन्दा प्रमाणमा भर पर्ने भएकाले उनीहरू को सोच वैज्ञानिक आधारमा हुन्छ । धार्मिक अन्धविश्वास वा अडानहरूलाई प्रश्न गर्ने क्षमताको विकास हुन्छ । उनीहरू कुनै पनि मान्यता, परम्परा वा सिद्धान्तलाई बिना प्रमाण स्वीकार गर्दैनन् ।
२. आत्मनिर्भरता र जिम्मेवारीबोध –
नास्तिकहरूले आफ्नो जीवनको उत्तरदायित्व आफूले नै वहन गर्नुपर्छ भन्ने मान्यता राख्छन् । उनीहरू भाग्य वा ईश्वरको भरोसामा नबस्ने भएकाले आफ्नो कर्ममा ध्यान दिन्छन । सफलताका लागि कर्म र मेहनतलाई नै प्राथमिकता दिन्छन ।
३. धार्मिक विभाजन र अन्धविश्वासबाट मुक्त-
नास्तिकहरूले धार्मिक भिन्नतालाई महत्त्व नदिने भएकाले उनीहरू सबैलाई समान दृष्टिकोणले हेर्छन् । धार्मिक परम्परा, जातीय विभाजन तथा कर्मकाण्डमा विश्वास नगर्ने भएकाले समाजका विकृतिहरूबाट स्वतन्त्र रहन्छन् ।
४. नैतिकता धर्मबाट हैन, मानवताबाट आउँछ भन्ने सोच-
नास्तिकहरू राम्रो वा नराम्रोको आधार धर्म नभई मानवीय नैतिकता हो भन्ने सोच्दै मानवतावादको पक्षमा रहने हुँदा उनीहरू सहानुभूति, करुणा र परोपकारको भावना राख्छन् । दान, सहयोग, समाजसेवा जस्ता काम धर्मको आधारमा नभई मानवीय दायित्वको रूपमा गर्छन् ।
५. स्वतन्त्र सोच र व्यक्तिगत स्वतन्त्रता-
नास्तिकहरू आफ्नो निर्णय आफैं गर्न स्वतन्त्र हुन्छन्, धार्मिक नियम वा बन्धनबाट प्रभावित हुँदैनन् । उनीहरू लाई धर्मका नाममा लादिएका नियमहरु जस्तै, के खान हुन्छ/हुँदैन, के गर्न पाइन्छ/पाइँदैन जस्ताकुरा पालना गर्नुपर्ने बाध्यता हुँदैन । व्यक्तिगत स्वतन्त्रतामा बढी विश्वास गर्ने भएकाले जीवनलाई आफ्नै तरिकाले बाँच्न चाहन्छन् ।
६. जीवनको वास्तविक उद्देश्य खोज्ने प्रेरणा –
नास्तिकहरूले मृत्युपछि जीवन नरहने विश्वास गर्ने भएकाले हालको जीवनलाई नै अर्थपूर्ण बनाउन प्रयास गर्छन् । उनीहरू लाई स्वर्ग/नर्कको डर हुँदैन, जसले गर्दा उनीहरू स्वतन्त्र तरिकाले जीवन जिउन खोज्छन् । कर्मफल वा पुनर्जन्म भन्दा तत्कालीन प्रयासमा बढी ध्यान दिन्छन् ।
म तपाईंहरुलाई आस्तिक वा नास्तिक कस्तो बन्न ठिक भनेर सीधासुझाव दिन्न । यो एकदमै व्यक्तिगत निर्णय हो, जुन तपाईंको विश्वास, सोच, अनुभव र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको हुन्छ तर सही निर्णयको लागि केही विचार गर्न सकिने पक्षहरू भने अवश्य सुझावदिन सक्छु । सर्बप्रथम त आफैले आफैलाइ चिन्ने प्रयास अबश्य गर्नुहोस् र आफ्नै मनलाइ सोध्नुहोस कि म को हु ? कहाबाट कसरी र किन आएको हु ? के म ईश्वरको अस्तित्वमा बिश्वास गर्छु ? के म धार्मिक परम्पराहरूमा आत्मिक शान्ति पाउँछु ? के म तर्क र वैज्ञानिक प्रमाण हरूलाई प्राथमिकता दिन्छु ? मेरो नैतिकता धर्ममा आधारित छ वा मानवतामा ? आदि । आफैले धर्म, अध्यात्म र आस्थाका पक्षहरूबारे बुझ्नुहोस् ।
आस्तिकलाई धर्मले मानसिक शान्ति र जीवनको उद्देश्य दिन्छ भने नास्तिकताले प्रश्न गर्न र स्वतन्त्र सोच्न प्रेरित गर्छ । कुनै एउटा धारालाई मात्र पक्षपाती दृष्टिकोणबाट हेर्नुहुदैन, दुबैको बारेमा सकारात्मक र नकारात्मक पक्ष बुझ्नुहोस् । धेरै कुरा पढेर, सुनेर वा सुनाइएर मात्र होइन, आफ्नो मनको भावना पनि बुझ्नुहोस् । पूजा, ध्यान वा अन्य आध्यात्मिक अभ्यास गर्दा तपाईंलाई मानसिक शान्ति मिल्छ भने आस्तिकता तपाईंको लागि उपयुक्त हुन सक्छ तर तपाईंलाई तर्क, विज्ञान र मानवता केन्द्रित सोच मनपर्छ भने नास्तिकताको बाटो पनि तपाईंको लागि खुल्ला छ । कुन बाटो अपनाउने भनेर निर्णय लिन नसक्नेका लागि आस्तिक र नास्तिकको बीचमा
अज्ञेयवादी (Agnostic) अर्थात ईश्वरको अस्तित्वबारे निश्चित हुन नसक्ने तर सोचिरहने दृष्टिकोण पनि बिकल्प हुनसक्छ । जीवनमा अनुभवको आधारमा बिचारहरू परिवर्तनशील हुन्छन् । तपाईं अहिले आस्तिक हुनुहुन्छ भने पछि नास्तिक बन्न सक्नुहुन्छ, वा नास्तिक मान्छे आस्तिक बन्न बेरै लाग्दैन । धेरै मानिसहरूको विचार समयले परिवर्तन गराउन सक्छ, जुन स्वाभाविक कुरा पनि हो ।
निष्कर्ष
हिन्दूधर्म मूलतः आस्तिक धर्म हो किनकि यसमा आत्मा, कर्म, पुनर्जन्म र मोक्षजस्ता अवधारणाहरूलाई केन्द्रमा राखिन्छ । हिन्दू दर्शनमा विचारहरूको विविधता रहेकोले, यसभित्र नास्तिक विचारधाराहरूको स्थान पनि रहेकोछ । तसर्थ, हिन्दू धर्ममा कसैलाइ पनि पुर्णतया आस्तिक वा नास्तिक भनेर मात्रै वर्गीकरण गर्न सकिँदैन, यो एक व्यापक र समावेशी दर्शन हो । आस्तिक हुनु केवल धर्ममान्नु मात्रहोइन, जीवनलाई सकारात्मक दृष्टिकोणले हेर्नु पनि हो । यसले मानसिक सन्तुलन, नैतिकता, समाजसेवा र जीवनको गहिरो अर्थ बुझ्न मद्दत गर्छ ।
नास्तिकता एउटा वैचारिक दृष्टिकोण हो, जसले वैज्ञानिक तर्क, अनुभव र आलोचनात्मक सोचलाई प्राथमिकता दिन्छ । कुनै व्यक्तिको नैतिकता उसले ईश्वरमा विश्वास गर्छ वा गर्दैन भन्ने कुरालेमात्र निर्धारण हुँदैन । नास्तिकता भनेको केवल ईश्वरमा विश्वास नगर्नु हो, तर यसले मानिसलाई नैतिकता र आध्यात्मिक अभ्यासबाट टाढा राख्छ भन्ने होइन । धेरै नास्तिकहरूले पनि मानवता र समाजका लागि योगदान पुर्याउने काम गरेका छन ।
धार्मिक परम्पराको प्रभावबाट मुक्त रहन पाउदा नास्तिक हरुलाई स्वतन्त्र रूपमा सोच्न र निर्णय गर्न सजिलो हुन्छ भने आस्तिकहरुको साथमा, मनमा सदा ईश्वर को बास हुने भएकोले उसको मनोबल सधै उच्च रहन्छ । आफ्नो सोच अनुसार आस्तिक वा नास्तिक जे सुकै हुनुहोस तर दुबैपक्षले आफ्नो रिति रिवाज परम्परा र मानबियतालाइ नभुल्नुहोला ।