समाज भनेको मानिसहरूको आआफ्नो इलाका भित्रको संगठित समूह हो, जहाँ निश्चित नियम, संस्कार, परम्परा, मूल्य, मान्यता र सहअस्तित्वका आधारमा आपसी सम्बन्धहरु स्थापित हुन्छन । समाज व्यक्ति मात्रको जमघट होइन, बरु एकापसमा निर्भर रहने, सहयोग र सहकार्य गर्ने प्रणाली हो । शुरुवातदेखि अहिलेसम्मको समाजको बिकासक्रमलाइ अनुमान गर्दा मानिसहरू एक्ला-एक्लै बस्ने, हिडने, डुल्ने अबस्थाबाट सामाजिक प्राणीमा रुपान्तरण हुन लामो समय लागेको हुनुपर्छ । यो प्रक्रियाको विकासक्रम आवश्यकता र सामाजिक सम्बन्धहरूका आधारमा अघि बढेको थियो होला भन्न सकिन्छ ।
प्राकृतिक रूपमा मानिसहरू पनि अरू जनावरहरू जस्तै प्रारम्भमा एक्लै वा सा-साना समूहमा बस्ने गर्थे । लाखौँ वर्ष अघि आदिमानवहरू जङ्गलमा बस्ने, सिकार गर्ने र भौतिक आवश्यकताहरू पूरा गर्ने क्रममा व्यक्तिगत जीवन जिउँथे । क्रमश उनिहरुलाइ एक्ला एक्लै रहन गाह्रो हुन थालेको महसुस हुँदै गएको हुनुपर्छ किनकि एक्लो भएकै कारण सिकार गर्न, आत्मरक्षा गर्न र प्रकृति सँग जुध्न कठिन थियो । जब मानिसहरूले महसुस गरे कि संगठनबद्ध भएर बाँच्दा बढी सुरक्षित र सफल भइन्छ, तब तिनीहरूले एकापसमा सहकार्य गर्न थाले होलान !
आफ्नो जीवन शैलिलाइ सहज बनाउनकै लागि अर्थात सिकार गर्ने, खाना खोज्ने, बालबच्चा पालनपोषण गर्ने तथा जंगली जनावरहरूबाट जोगिनका लागि मानिसहरू ले आपसमा मिलेर साना समूह बनाउन थाले । शुरुमा यस्तो समूह आफ्नै परिवार, गोत्र (Tribe) र समुदायमा विकास हुँदै गयो । जब मानिसहरू मिलेर बस्न थाले तबबाटै भाषाको विकास भयो होला भन्ने पनि अनुमान गर्न सकिन्छ । भाषा नहुँदासम्म संकेत र इशाराले कुरा बुझिन्थ्यो होला तर पछि सानो-सानो शब्द र बोलीको विकास भयो । भाषाले विचार, अनुभव, ज्ञान र चेतनाको आदान-प्रदान गर्न मद्दत गर्यो, जसले समाज झन बलियो र्दिनचर्या अलि सहज हुदै गयो ।
हरेक दिन सिकार गरेर जिवनयापन गर्न कठिनाइ हुँदै गएपछी मानिसहरूले खेती गर्न सिके, जसका कारण उनीहरू घुमन्ते जीवन छोडेर स्थायी रूपमा एउटै ठाउँमा बस्न थाले । मिलेर काम गर्न थाले । यसरी परिवारबाट गाउँ, समाज र सभ्यताको विकास भयो । खेती गर्न र गाईवस्तु पालनगर्न थालेपछी खानपान को समस्या हल हुँदै गयो, जनसंख्या वृद्धि भयो र समाज बन्यो । बिस्तारै उनिहरुले समाजलाई व्यवस्थित गर्न धर्म, परम्परा, नैतिक मूल्य र नियमहरूको विकास गर्दै गए । मानिसहरूले सामाजिक अनुशासन, न्याय र नेतृत्वको आवश्यकता ठाने । क्रमश राज्य, शासन व्यवस्था, कानुन र प्रशासन को सुरुवात भयो, जसले समाजलाई अझ सुसंगठित बनायो । यसरी मानिसहरू फिरन्ते जिवनबाट परिवार, समाज, गाउ हुदै शहरमा बस्न थाले । शिक्षा, प्रविधि र विज्ञानको विकास हुँदै गयो । आज हामिले बाचिरहेको देखिरहेको समाज विज्ञान, प्रविधि, व्यापार, प्रशासन र डिजिटल संचारमा आधारित छ ।
हरेक समाज ब्याक्ति व्यक्तिहरूको संयोजनबाट बन्छ, जहाँ सबैले कुनै न कुनै रूपमा सहभागिता जनाउँछन् । समाज भित्र रहने व्यक्तिहरु एकअर्कासँग पारिवारिक, आर्थिक, साँस्कृतिक, राजनीतिक वा अन्य कुनै न कुनै सम्बन्धले जोडिएका हुन्छन् । समाजले आ-आफ्ना चालचलन, परम्परा, रीतिरिवाज, भाषा, धर्म तथा मूल्य मान्यता कायम गर्छ । समाजमा सबै व्यक्तिहरू एकअर्का मा निर्भर हुन्छन जसले गर्दा सहकार्य, आपसी सहयोग र भातृत्वको भावना विकास हुन्छ । कुनै पनि समाज नियम र अनुशासन बिना सञ्चालन हुनै सक्दैन । सामाजिक नियम र संस्कारहरूले नै समाजलाई सुव्यवस्थित बनाउँछ र आबश्यतानुसार विकासको प्रक्रिया, समय, प्रविधि, ज्ञान, आपसी समझदारी र देखासिकी अनुसार निरन्तर परिवर्तन हुँदै जान्छ ।


आउनुहोस ! एकछिन कल्पनामा हराएर साच्चै सभ्य, सुसंस्कृत र बिकसित समाज कस्तोलाई भनिन्छ होला भनेर सोच्न थालौ ! जहाँ मानिसहरू नैतिक, सांस्कृतिक, सामाजिक र कानुनी मूल्यहरूलाई आत्मसात गर्छन् र सहअस्तित्वको भावना राख्छन्, त्यस्तो समाजलाइ नै हामिहरुले सभ्य र सुसंस्कृत समाज भन्न सक्छौ । त्यस्तो समाजमा हामिहरु रहन पाउ जहा हरेक व्यक्तिहरूमा नैतिकता, इमान्दारीता, सदाचारिता, सहिष्णुता र आदर भावले भरिपूर्ण होस । मानबियताको भावनाले ओतपोत भएको शिक्षित समाज नै सुसंस्कृत समाज हो भन्ने सबैले सोचुन र बुझुन । यस्तो समाजमा न्याय, समानता, शिष्टाचार, आपसी सम्मान र जिम्मेवारी बोध हुन्छ जहाँ व्यक्तिहरू ज्ञान सीप र विवेकका आधारमा व्यवहार गर्छन, सबै नागरिकले कानुनको पालना गर्छन् अनि अन्याय, अपराध, भेदभाव र भ्रष्टाचार गर्दैनन । जहा जात, धर्म, लिंग, वर्ग वा अन्य कुनै आधारमा कसैलाइ भेदभाव हुँदैन ।
हामिले कल्पना गर्ने सुसंस्कृत समाजमा सबैलाई समान अवसर र हक प्रदान गरिन्छ, समाजका सदस्यहरू परस्पर सहयोगी हुन्छन्, विपत्तिमा एकअर्कालाई मद्दत गर्छन । सभ्य समाजले आफ्नो मौलिकसंस्कृति, परम्परा, रितिरिवाजको सम्मान गर्दै नयाँपनलाई पनि आत्मसात गर्ने हुनुपर्छ । स्वच्छ वातावरण र सुखद जीवन शैली, सरसफाइ, स्वास्थ्य सचेतना, हरियाली प्रवर्द्धन जस्ता विषयमा सचेत हुने समाज हरपल हाम्रो कल्पनामा रहिरहन्छ जहाँ विज्ञान र प्रविधिको सही सदुपयोग गर्दै जीवनस्तर उकास्ने प्रयास गरिएको होस । अशक्त, गरीब र असहायहरू लाई सहयोग गर्ने संस्कृति रहेको होस । हिंसा, अपराध, द्वेष वा द्वन्द्वको सट्टामा शान्ति, मेल मिलाप र भातृत्वको भावना रहिरहोस ।
हामिले कल्पना गर्ने यस्तो समाजमा शिक्षित, अनुशासित र परिश्रमी जनशक्ति भएकाले आर्थिक विकास छिटो छिटो हुने हुन्छ । स्वास्थ्यकर जीवनशैलीको कारण सबै मानिसहरू स्वस्थ रहने हुन्छन । सबै नागरिकलाई बराबर अधिकार प्राप्त हुन्छ, जसले सामाजिक न्याय प्रवर्द्धन गर्छ । नागरिकहरू सचेत भएकाले गलत क्रियाकलाप रोक्नसकिन्छ, सकारात्मक सोच भएका व्यक्ति बढी हुँदा समाजमा सुख, शान्ति र उत्साह कायम रहन्छ, मानिसहरू एकअर्कालाई विश्वास गर्छन् र आवश्यकता पर्दा सहयोग गर्छन् । भेदभाबरहित, स्वार्थरहित, अपराधरहित, सबल सक्षम र सहयोगि समाज नै हाम्रो कल्पनाको समाजको बनौट हो ।
अहिलेको हामी बसिरहेको समाज हामिले माथी कल्पना गरेको जस्तो छ त ? पक्कै पनि छैन । प्रबिधी र बिकास को गतिसंगै अहिले हाम्रो समाजमा विभिन्न बिकृतीहरु फैलिदै गएको पनि हामिले प्रत्यक्ष महसुस गरिरहेकै छौ ।
आजकल हाम्रो समाजमा विभिन्न प्रकारका स्वार्थप्रवृत्ति हाबी हुँदै गएको हामिले पाउछौ । पहिले समाजमा परोपकार, सहयोग र नैतिकताका उच्च मूल्यहरूलाई सम्मान गरिन्थ्यो तर अहिले व्यक्तिवाद हावी हुँदै जाँदा आत्मकेन्द्रित सोचले नैतिक मूल्यहरूलाई कमजोर बनाइरहेको छ । समाजमा भौतिक सुख-सुविधा प्रतिको मोह अत्यधिक बढेको छ । सम्पन्नता, शक्ति र प्रतिष्ठाका लागि अत्याधिक प्रतिस्पर्धा गर्नु परे पछि मानिसहरूले अरूको हित भन्दा आफ्नै स्वार्थलाई प्राथमिकता दिन थालेका छन् । पहिले संयुक्त परिवार, छर छिमेक, गाउँ समाजबीच सुमधुर सम्बन्ध हुन्थ्यो, जसले स्वार्थभन्दा माथि परोपकार र धर्मलाई राखेको हुन्थ्यो । अहिले परिवार सानो हुँदै गएको छ, छरछिमेक बीचको सम्बन्ध कमजोर हुँदै गएको छ, जसले गर्दा एकअर्कामा सहयोग गर्ने भावना पनि घट्दै गएको छ ।
अहिले धनी र गरिबबीचको खाडल पुर्नै नसकिने गरि बढ्दै गइरहेको छ । मानिसहरू अवसर र स्रोत-साधनमा पहुँच बढाउन स्वार्थी बन्दै गएका छन् । बेरोजगारीको चापले पनि मानिसले आफैंलाई बचाउनुपर्ने मानसिकता सिर्जना गरिदिएको छ । राजनीतिज्ञ तथा उच्चतहका व्यक्तिहरू नै जब आफ्ना स्वार्थ पूरा गर्न भ्रष्टाचार गर्छन् भने समाजले पनि त्यही बाटो अनुसरण गर्छ नै । समाज का अगुवाहरू स्वार्थी हुँदै गएपछि आमजनतामा पनि स्वार्थवाद बढ्दै गएको देखिन्छ । सामाजिक सञ्जालले पनि व्यक्तिलाई व्यक्तिगत पहिचान, लोकप्रियता र सफलताको मोहमा पार्दै लगेको छ । धेरैले सामाजिक सञ्जालमा आफूलाई राम्रो देखाउन मात्र ध्यान दिएको कारण वास्तविक जीवनमा अरूलाई सहयोग गर्ने भावना कमजोर बन्दै गएको छ । वल्लाघरमा बस्नेले पल्लोघरमा बस्नेलाइ चिन्दैन, सामाजिक काममा कोहि खटदैन, यहाँ कसैलाइ फुर्सद छैन, सधै हतार हतारमा मात्रै दौडिरहेका छन अहिलेका मानिस ।
शिक्षा प्रणालीमा नैतिक शिक्षा, समाजसेवा र परोपकार जस्ता विषयहरू प्राथमिकतामा पर्दैनन्, बालबालिकालाई सानैदेखि नैतिक मूल्यहरूको शिक्षाको अभाव हुँदा उनीहरू पनि लोभी र स्वार्थी प्रवृत्तितर्फ आकर्षित हुदैगैरहेका देखिन्छन । धेरैजसो नेपालीहरु बिदेशिएका छन वा विदेशिने क्रममा छन्, जसका कारण उनिहरुमा आफ्नो देश र समाजप्रति उत्तरदायित्वको भावना घट्दै गएको छ । उनिहरुमा आफ्नै सुखशयल र आफ्नैबारेमा मात्रै सोच्ने मानसिकता विकास हुनथालेको छ । जति धेरै सम्पत्ति, त्यति धेरै सुख भन्ने सोच हावीहुँदा मानिसहरू स्वार्थी र भ्रष्ट बन्दै गैरहेकाछन् । व्यक्तिहरूमा परिवारको अपेक्षा, समाजको दबाब र सफलताको चाहनाले गर्दा उ कहिल्यै सुखी बन्न सकिरहेको छैन । हामिले कल्पना गरेको समाज र अहिले यथार्थतामा भोगिरहेको समाज को अबस्था देख्दा साच्चै रुन मन लाग्छ ।
हाम्रो हिन्दू धर्मशास्त्रहरूमा समाजको अबस्था र महत्व को बारेमा स्पष्ट रूपमा धेरै कुराहरु उल्लेख गरिएको छ । वेद, उपनिषद्, महाभारत, मनुस्मृति र अन्य ग्रन्थहरूमा समाजमा नैतिकता, कर्तव्य, सहअस्तित्व तथा परोपकार को बारेमा धेरै महत्व दिइएको छ । उदाहरणको लागि केही श्लोकहरुलाइ यहाँ प्रस्तुत गर्न चाहान्छु ।
संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्।
देवा भागं यथा पूर्वे सञ्जानाना उपासते॥
(ऋग्वेद १०-१९१-२)
अर्थात हामी सबै मिलेर हिँडौं, मिलेर बोलौं र हाम्रो मन एक बनाऔं । जसरी परापूर्वकालका देवताहरू समभाव ले एकसाथ पूजा गर्थे, त्यसै गरी हामी पनि एकतामा बाँधिऔं । यो श्लोकले समाज एकताको आधारमा चल्नुपर्छ, सबैले मिलेर अघि बढ्नुपर्छ भन्ने प्रष्ट सन्देश दिएको छ ।
परोपकाराय फलन्ति वृक्षाः परोपकाराय वहन्ति नद्यः।परोपकाराय दुहन्ति गावः परोपकारार्थमिदं शरीरम्॥
(महाभारत, शान्ति पर्व १०९-११)
अर्थात रूखहरू परोपकारका लागि फल दिन्छन्,नदीहरू परोपकारकै लागि बग्छन्, गाईहरू अरूलाई सेवा गर्नकै लागि दूध दिन्छन, त्यसैगरी हाम्रो शरीर पनि परोपकारका लागि नै हो ।
सत्यं ब्रूयात् प्रियं ब्रूयात् न ब्रूयात् सत्यमप्रियम्।
प्रियं च नानृतं ब्रूयात् एष धर्मः सनातनः॥
(मनुस्मृति ४-१७०)
अर्थात सत्य बोल्नुपर्छ, प्रिय कुरा बोल्नुपर्छ तर सत्य भए पनि अप्रिय कुरा भन्नु बोल्नु हुँदैन । त्यस्तै, प्रिय भए पनि असत्य कुरा भन्नु हुँदैन । यही सनातन धर्म हो ।
सं मनसः सह चक्षुः सं वाचः सह श्रोत्रम्।
सं वो मनांसि जानताम्॥
(अथर्ववेद ३-३०-३)
अर्थात हामी सबैको मन एउटै बनोस्, हामी सबैले एउटै दृष्टिकोण राखौँ, एउटै वाणी बोलौं, एउटै कानले सुन्ने गरौँ र एउटै समझदारी विकास गरौँ ।
इष्टान्भोगान्हि वो देवा दास्यन्ते यज्ञभाविताः।
तैर्दत्तानप्रदायैभ्यो यो भुङ्क्ते स्तेन एव सः॥
(भागवद्गीता ३-१२)
अर्थात देवताहरूले तपाईँलाई आवश्यक वस्तुहरू दिनुहुन्छ, तर तिनीहरूलाई उचित सम्मान र सेवा नगरी जो उपभोग गर्छ, त्यो चोर समान हुन्छ । समाजमा व्यक्ति स्वार्थी हुनुहुँदैन, जसरी देवताले निःस्वार्थ रूपमा सेवा गर्छन्, त्यसरी नै हामीले पनि समाजका लागि निस्वार्थ योगदान दिनुपर्छ भन्ने यसको प्रष्ट आशय हो ।
अन्त्यमा, मनिसहरू स्वभावैले सामाजिक प्राणी हुन् । त्यसैले स्वार्थी रूपमा एक्ला एक्लै बाँच्ने आदिम मानवहरू समूहमा बाँच्न, सहकार्य गर्न र समाज निर्माण गर्न बाध्य भए । आवश्यकता, सुरक्षा, संचार र सहयोगको कारण उनीहरू समूहमा बस्न थाले जसले गर्दा संस्कृति, नियम, धर्म, प्रशासन र आधुनिक समाजको विकास भयो । समाज राम्रो बनाउने जिम्मेवारी समाजमा बस्ने प्रत्येक व्यक्तिको हो । सदाचार, परोपकार, सहकार्य र नैतिकता कायम राख्न सकिए मात्र सभ्य र सुसंस्कृत समाजको निर्माण हुन्छ । हिन्दू धर्मशास्त्रले समाजलाई एकताको सूत्रमा बाँध्न, परोपकार गर्न, न्याय र सत्य बोल्न, अहंकार त्याग्न र मेलमिलापको भावना राख्न प्रेरित गर्छ । समाज राम्रो भए मात्र व्यक्ति पनि सुखी हुन्छ, त्यसैले सबैले समाज सुधारको लागि योगदान गर्नुपर्छ ।
सभ्य र सुसंस्कृत समाज भनेको मात्र भौतिक विकास भएको समाज होइन, यसमा मानिसहरूको सोच, आचरण र नैतिकता उच्च हुनु जरुरी छ । शिक्षित, अनुशासित, समानतापूर्ण, सहयोगी र सांस्कृतिक चेतनायुक्त समाज नै वास्तविक सभ्य समाज हो । यस्तो समाज निर्माण गर्न हामी सबैले व्यक्तिगत र सामूहिक रूपमा योगदान दिनु आवश्यक छ । यदि हामी स्वार्थी प्रवृत्तिलाई नियन्त्रण गर्न सक्छौँ भने मात्र सभ्य, सुसंस्कृत र सहयोगी समाजको निर्माण सम्भव हुन्छ ।