लाजै पचाएर माग्ने मगन्तेहरु

“माग्नु” भन्ने शब्दको परिभाषा मगाइको सन्दर्भ र प्रसङ्ग (context) मा निर्भर गर्छ । सामान्यतया कुनै कुरा प्राप्तिको लागि निवेदन गर्नु, अनुरोध गर्नु, हात थाप्नु, भिक्षुकले भीक्षा वा दान माग्नु, आवश्यकताको आधारमा कसैले अरुसित केहि सहयोग माग्नु, अतिआबश्यक परेर ब्यबहार चलाउन सापटी वा पैचो माग्नु, विवाहको लागि केटा वा केटि पक्षले प्रस्ताब राख्नु, काम गरेबापत पारिश्रमिक माग्नु, कुनै विशेष समुहको अधिकारको लागि सम्बन्धित पक्षले अर्थात जनताले राज्यसंग माग राखेर माग्नु, कुनै कुरा सित्तैमा वा फिर्ता गर्ने गरी माग्नु, कुनै कुरा विनम्रतापूर्वक वा जवरजस्ती तवरले अरूसँग माग्नु, व्यक्ति वा राज्यले सहयोग वा अनुदान माग्नु आदि ।

मगन्ते भन्नाले अरूसँग बारम्बार भीक्षा, दान वा सहायता माग्ने व्यक्तिलाई बुझ्नुपर्छ । प्रसङ्गअनुसार मगन्तेहरु पनि फरक फरक अबस्थाका हुनसक्छन जस्तै जीविकोपार्जन को लागि सडक, मन्दिर वा सार्वजनिक स्थानहरूमा भीक्षा माग्ने मान्छे, आर्थिक, सामाजिक वा व्यक्तिगत लाभको लागि अरूबाट बारम्बार केही न केही मागिरहने मानिस, कुनै व्यक्ति आफैमा आत्मनिर्भर नभई सधैं अरूको सहारामा मात्र बाँच्ने प्रवृत्ति राखेमा पनि उनिहरुलाई ‘मगन्ते’ भन्न सकिन्छ ।

मगन्तेहरू पनि विभिन्न प्रकारका हुन्छन । उनिहरुको माग्ने तरिका, उद्देश्य र परिस्थिति अनुसार मगाइ पनि फरक फरक हुनसक्ने भए । जस्तै : परम्परागत भिक्षार्थी (Religious or Traditional Beggars) कै कुरा गरौ ! यिनिहरु मठमन्दिर, गुम्बा, मस्जिद वा धार्मिक स्थलहरू मा भीक्षा माग्नेहरूमा पर्दछन । केही धर्ममा भिक्षा माग्नु आध्यात्मिक अभ्यास जस्तै मानिन्छ । जस्तै: बौद्ध भिक्षुहरू, हिन्दुधर्ममा साधु सन्यासी सन्तहरू जो भिक्षाबाटै जीवन निर्वाह गर्दछन भने कोहि बाध्यताले माग्नुपर्ने मगन्ते (Forced or Circumstantial Beggars) हुन्छन । जस्तै: गरिबी, असक्षम वा असहाय स्थितिका कारण माग्न बाध्य हुन्छन । सडकमा असहाय अवस्थामा जीवन बिताइरहेकाहरू लाई यसै परिभाषा भित्र समेटनु पर्ने हुन्छ ।

केही पेशागत मगन्तेहरु (Professional Beggars) पनि हुन्छन जसले माग्ने कार्यलाई पेशा बनाएर नियमित रूपमा पैसा माग्छन । धेरैजसो शहरका व्यस्त स्थानहरू, चोकहरु, बसपार्क, रेल स्टेशन वा सडक छेउ आदिमा यिनिहरु भेटिन्छन् । राम्रै स्वास्थ्य भएका व्यक्तिहरूले पनि अरूलाई भावनात्मक रूपमा प्रभावित पारेर मागि रहेका हुन्छन भने दिनेले पनि चुपचाप केही नबोली यथासक्य दिइरहेकै हुन्छन । कसैकसैले भने यस्तो हृष्ठ्पुष्ट, हट्टाकट्टा मान्छेले मागेर खान लाज लाग्दैन ? काम गरेर खान सक्दैनस भनेर तुच्छ भाषामा गाली गरेको पनि हामिले देखिरहेकै, सुनिरहेकै हुन्छौ ।

कोहिले माग्नकै लागि धार्मिक अतिबादी, आतंकबादी वा अपराधिक संगठन नै बनाएर माग्ने गर्दछन । गिरोह वा माफिया समूहद्वारा डर धाक धम्की दिएर वा बाल बालिका वा अपांग व्यक्तिहरूलाई जबरजस्ती माग्न लगाएर आफ्नो स्वार्थ पुर्तीगर्ने आपराधिक गिरोहहरूको अस्तित्व पनि हाम्रो समाज वा राष्ट्रिय, अन्तरास्ट्रिय स्तरमा पाइन्छ भने माग्नुलाइ पेशाकै रुपमा अंगाल्ने ठग प्रबृतिका व्यावसायिक माग्ने (Fake or Deceptive Beggars) को पनि बिगबिगी छ । उनिहरु वास्तविक असहाय हैनन तर पनी दयालु मानिसको भावनामा खेलेर सहानुभूति बटुली पैसा कमाउने उद्देश्य राख्ने प्रकृतीका माग्नेहरू हुन ।

आजकल घरमामात्रै होइन कि बाहिर निस्केर हिडनासाथ विभिन्न प्रकृतिका मगन्तेले हैरान पार्छन । काठमाडौका सडकमा बटुवाहरुलाइ हिडनै अप्ठ्यारो देखिइदैछ जसमा नेपाली भन्दापनी भारतिय नागरिकहरु नै बढी छन । खुट्टै समाएर माग्नेहरुको जमात उल्लेख्य छ । हामिहरुले राष्ट्र र समाजलाइ सभ्य बनाउनको लागि असहाय भएकै कारण वास्तविक रुपमा मागेरै जिवनयापन गर्नुपर्ने बाध्यातामा रहेका मानिसहरुलाइ दिल खोलेर दान, सहयोग गर्नैपर्छ । राज्यले पनि यसरी मागेर जिवनयापन गर्नुपर्ने अबस्थाका गरिब, असहाय, अपाङ्ग, बिरामी, मानसिक रोगी, जस्ता गाँस बास कपासको ठेगान नभएरै वा परिवारले अस्वीकार गरेर सडक पेटिमा बस्न बाध्य भएका वा भौतारिएकाहरुलाई उचित प्रबन्ध वा ब्याबस्थापन गराउनु नै पर्छ । कहिलेकाही विभिन्न प्राकृतिक प्रकोप वा घटनामा परेर परिस्थितिले पनि मानिसलाइ अस्थाइ रुपमा माग्न बाध्य बनाउन सक्छ । त्यस्तो अप्ठेरोमा परेकालाइ पनि मानबियताको हिसाबले सहयोग गर्नैपर्छ तर ठग मगन्तेहरु, ब्याबशायिक वा संगठित नक्कली मगन्तेको बिगबिगीलाइ रोक्न राज्यले निर्मम भएर प्रस्तुत हुनैपर्छ, कठोर नीति लिनै पर्छ ।

अहिले हाम्रो समाजमा आधुनिक मगन्तेहरु (Modern-Day Beggars) को बिगबिगी छ । उनिहरुले प्रत्यक्ष रुपमा भिक्षा माग्दैनन, तर ब्यक्तिगत वा समुह नै बनाएर विभिन्न बहानामा हात चाही थापिरहन्छन, मागी रहन्छन, आर्थिक सहायता लिइरहन्छन । झूटो कथा बनाएर, सामाजिक संञ्जालमा पोष्ट गरेर, समाजसेवी बनेर चन्दा उठाउनेहरूको जमात ठुलै छ । अहिले समाजमा विभिन्न समूह, धर्म, संस्कृति, जातीय पहिचान र भावनात्मक विषयलाई आधार बनाएर आर्थिक सहायता माग्ने विकृति व्यापक देखिन्छ । कुनै जात, समुदाय वा धर्मलाई विशेष गरी पीडित देखाएर आर्थिक सहायता उठाउने प्रवृत्ति बढदो छ ।

आधुनिक मगन्तेहरुको सजिलो उपाय बनेकोछ “चन्दाको धन्दा” । केही धार्मिक समूहहरूले स्कुल, अस्पताल, बाटो, मठमन्दिर, चर्च वा मस्जिद निर्माणका लागि भन्दै चन्दा उठाउने तर रकम दुरुपयोग गर्नेगरेको हामिले देखे सुनेकै छौ । महायज्ञ, सप्ताह, कोटिहोम आदि जस्ता धार्मिक कार्यक्रमको आयोजना गरेर धार्मिक भावनाका मनहरुलाइ लुटनेहरुको धन्दा पनि मज्जाले नै चलेकोछ । सामाजिक संघ-संस्थाको नाममा माग्ने विकृति पनि समाजमा ब्याप्त छ । केही NGO, क्लब, समाज, समूह वा संगठनहरूले समाजसेवाको नाममा चन्दा उठाएर निजी फाइदाका लागि खर्च गर्ने प्रबृतीपनि फस्टाउदो छ । अनाथालय वा वृद्धाश्रम आदिका नाममा चन्दा उठाउने, तर पीडितलाई नाम मात्रको सहयोग गरेर बाकी रकममा आफुले मस्तीगर्ने समाजसेवीको फेसनपनि बढदो छ । बाढीपहिरो, भूकम्प जस्ता प्राकृतिक विपत्तिपछि सहयोग का नाममा पैसा उठाउने, तर त्यो रकम वास्तविक पीडित सम्म नपुग्ने समस्या भोगेकै छौ ।

मानिसको भिडभाड हुने ठाउमा नक्कली अपांगता देखाउने, एउटि महिलाले सासाना बच्चाहरु बोकेर “मेरो बच्चा भोकैछ” भन्दै पसल पसल र घरघरमा माग्दै हिडने, फलानोको जीवन रक्षा गरौ भन्दै माइक घन्काएर अटो रिक्सा वा गाडीनै लिएर माग्न हिडनेको जमात पनि ठुलै छ । गरिब विद्यार्थीलाई पढाइदिन वा उपचार गरिदिन भन्दै पैसा उठाउने अनि दुरुपयोग गर्ने पनि प्रसस्तै भेटिन्छन । यी मध्ये केही वास्तविक समस्यामा परेका व्यक्तिहरू पनि होलान तर धेरैजसो ठगहरु नै हुन, जसले गर्दा वास्तविक पीडितहरू ओझेलमा पर्ने, समाजमा अविश्वास बढ्ने र सहायताको नाममा लुट्ने प्रवृत्ति मौलाउने खतरा बढी रहेको छ ।

हेर्दा पैत्रीक सम्पत्ती वा आफ्नै कमाइले खानलाउन पुग्ने जस्तै देखिन्छन फेरि पनि हरेक बहाना पारेर किन हात पसार्दै माग्न हिडेका होलान कुन्नी ? किन पटक्कै लाज नलागेको होला ? यस्ता व्यक्तिहरूलाई “आत्म सम्मान गुमाएका परजीवी” भन्न सकिन्छ । समाजमा राम्रै, सक्षम, खानदानका हु भन्छन तर विभिन्न बहाना बनाएर अरूसँग मागिरहने प्रवृत्ति वास्तवमै चिन्ताजनक छ । सक्षम भएर पनि मेहनत गर्न नचाहने, सधैं अरूको सहानुभूति र दया मा निर्भर हुने, बिनाकारण अरूको भर पर्न खोज्ने, सानो खर्चपनि आफ्नै गोजीबाट नगर्ने प्रवृत्ति बढ्दो छ । आफू लाई बिचरा देखाएर, झूटा कथा बनाएर वा हरेक कुरामा बहाना बनाएर पैसा माग्ने, सामाजिक हैसियत राम्रो भए पनि कुनै संकोच नगरी पैसा, चन्दा वा सहयोग माग्ने देखेर दया आउन थालेको छ । परिश्रम नगरी सजिलै कमाइ गर्ने माध्यायम बनाउने यस्ता ब्याक्तिहरुलाइ समाजबाट बहिष्कृत गरिनुपर्छ । एउटाबाट मागेर बिचमा आफुले मोज गरेर थोरै रकममात्र पिडित वा संस्थालाइ दिने कथित मगन्ते समाजसेविलाइ गाउगाउबाट लखेटनु पर्छ ।

हाम्रो समाजमा टोले मगन्तेहरु पनि उत्तिकै सक्रिय छन । तिज, दसैं, तिहार जस्ता चाडपर्बको नाउमा रमाइलो गर्ने बहनामा होस वा बिबाह, बर्तबन्ध, चौरासी लगायतका पुजाआजाका कुनै कार्यक्रममा क्लब, समूह वा संस्थाको नाममा घरघरमा गएर घरधनि वा पाहुनालाइ इज्यतको हवाला दिएर बाध्यतामा पारेर जबरजस्ती पैसा माग्ने मगन्ते प्रबृती बढदो छ । दिदी बहिनीहरुको आमा समूह होस बा पुरुषहरु को युवा समूह होस, मौका पायो कि गित गाएझै गरेर हुन्छ वा नाचेझै गरेर हुन्छ वा उपस्थिती जनाएबापत पैसा मागिहाल्ने । सामाजिक संस्कारका कार्यहरुमा उनिहरुलाइ खुशियालिमा सामेल हुन, काममा सहयोग पाउने आशामा, रमाइलोमा सहभागिता जनाउन, खुसी साटासाट गर्न वा आत्मिय सम्झेर निमन्त्रणा गरिन्छ तर उनिहरुको ध्यान पैसा माग्न मै केन्द्रित हुन्छ ।

विवाहमा रत्यौली खेलेबापत वा पूजामा भजन गाए बापत हाम्रो समूहलाइ चन्दा दिनुपर्छ भनेर खुल्लमखुल्ला माग्दछन । पुजा सकिएपछी मलाइ पनि टिको लगाइदिनु भनेर कुनै नातासम्बन्ध नै नपर्ने गोरुबेचे साइनोकाहरुले पनि हाकाहाकी मुखै खोलेर पैसा माग्ने पनि प्रसस्तै भेटिन्छन । यस्तो मगन्ते संस्कारलाइ हामिले किन बढवा दिइरहेका छौ कुन्नी ? गाउघरमा भजनकिर्तन गाउने समूह हरूले पनि हामीलाई दक्षिणा दिनुपर्छ भन्ने मानसिकता राख्नु, रत्यौली गीत गाउनेले पनि पैसा दिए मात्रै गाइन्छ भनेर शर्त राख्नु वा पैसा नपाइने भए चुइक्क नबोल्नु, गाउने नाच्ने समुहले पाहुना लगायतलाइ नामै तोकेर यति दिनुपर्छ भन्दै टुक्का हाल्दै गित गाउने गर्नाले पैसा नदिए अपमानित हुने डर वा अरूले दिएको देखेर जबरजस्ती दिनुपर्ने बाध्यतामा पार्नु अनि रकम नदिए अपमान गर्ने छुद्र प्रबृती समाजमा देखिनु दुर्भाग्य हो ।

रमाइलोका लागि मात्र गाइने गीतमा समेत टोलका केही मै हु भन्ने नाइकेहरुले समेत पैसा संकलनको माध्यायम बनाइरहेको देखिन्छ । सांस्कृतिक वा धार्मिक कार्यहरू लाई समेत केही मगन्तेहरुले पैसा उठाउने अवसरको रूपमा प्रयोग गर्ने गरेका छन चाहे त्यो तिहारमा देउसी भैलो खेल्ने नाममा जबरजस्ती ठूलो रकम माग्ने हुन वा पूजा, जात्राका नाममा पैसा उठाएर व्यक्तिगत रूपमा दुरुपयोग गर्नेहरु हुन । ” हामी निम्तो मान्न आयौ, नाच गान गर्‍यौं, रमाइलो गर्‍यौं, भोज खायौ, अब तिमीहरूले पैसा दिनुपर्छ” भन्ने माग राख्ने सम्पन्न बर्गका मगन्तेहरुकै कारण समाजमा मगन्ते संस्कृती फैलिरहेको छ ।

यो प्रवृत्ति समाजमा विभिन्न कारणले बढिरहेको छ, जसलाई संस्कृतिकरण गरिएको माग्ने प्रवृत्ति भन्न सकिन्छ । धार्मिक, सांस्कृतिक वा सामाजिक अवसरहरू मा रमाइलो गर्ने बहानामा पैसा माग्ने चलनले वास्तवमा सामजिक मूल्य मान्यताहरु गलत दिशातिर गइरहेको छ । पहिले विभिन्न उत्सव, पूजाआजा, विवाह लगायतका अवसरहरूमा नाचगान, भजन र रमाइलो स्वाभाविक रूपमा गरिन्थ्यो तर अहिले यसलाई पैसा उठाउने माध्यम बनाइँदैछ । यसरी रमाइलोको बहानामा मागिएको पैसा आयोजक वा सम्बन्धित समूहले समाज सुधारका कुनै काममा खर्च गर्थे भने पनि ठिकै हो भन्न सकिन्थ्यो होला तर उनिहरुले केवल आफ्नो फाइदाका लागि प्रयोग गर्ने गरेका छन जुन सरासर गलत हो ।

यस्ता ब्याक्तिकै कारण समाजमा सहानुभूति र सहयोग को भावना नै कमजोर बन्दै गैरहेको छ । यस्तो समस्या बाट समाजलाइ मुक्त गराउन सहायता दिनुअघि साँचो तथ्य पत्ता लगाउने र विश्वसनीय अबस्थामा त्यो पनि सिधै पिडितले पाउनेगरी मात्र सहयोग दिने बानीबसालौ । झूटा अभियन्ता र जबरजस्ती चन्दा उठाउने प्रवृत्तिलाई अन्त्य गराउन कानुनी कारबाहीको लागि खवरदारी गरौ । यदि हामी सचेत नभए, यस्तो विकृतिले गर्दा समाजमा नकारात्मक प्रभाव पर्नसक्छ । सक्षम देखिने व्यक्तिले मागिरहेको देखिएमा सबैले उसलाइ परिश्रम गरेर खान प्रेरित गरौ । व्यवसायिक माग्नेहरू माथि कानुनी कारबाहीको पहल गरौ । संस्कृति र परम्परालाई आर्थिक लोभभन्दा माथि राख्नुपर्छ । रमाइलो वा धार्मिक कार्यक्रममा पैसा उठाउने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ । पैसा उठाएर यसको पारदर्शिता नराख्ने समूह वा व्यक्तिहरूलाइ बहिष्कार गर्नुपर्छ ।

मगन्ते मानसिकता समाजमा गहिरिँदै गएको समस्या हो । संस्कृति, परम्परा, धार्मिक कार्य र रमाइलोलाई कमाउने धन्दा बनाउनु दुःखद पक्ष हो । परोपकार, आत्मीयता र खुशियाली साट्ने अवसरलाई आर्थिक स्वार्थमा प्रयोग गरिनु विकृति हो, जसले वास्तविक सामाजिक सद्भावलाई कमजोर बनाउँदैछ । यो समस्याको समाधान का लागि समुदायस्तरबाट नै चेतना जगाउनुपर्छ । स्वेच्छिक सहयोग र नैतिक दायित्व बीचको अन्तर बुझाउने, त्यस्ता माग्ने समूहहरूलाई बहिष्कार गर्ने, निमन्त्रणा नै नगर्ने र संस्कृतिलाई व्यापारिक स्वरूपमा जाननदिन पहल गर्न आवश्यक छ ।

निष्कर्ष

संक्षेपमा, माग्नु भन्नाले आवश्यक परेको वस्तु, सेवा वा अधिकार प्राप्तगर्न अरूसँग अनुरोध गर्ने कार्यलाई जनाउँछ । यसरी, माग्ने वा मगन्ते शब्दले मूलतः भीक्षा माग्ने व्यक्तिलाई जनाइए पनि कहिलेकाहीं अत्याधिक निर्भरशील मानिसलाई व्यंग्यात्मक रूपमा मगन्ते भनेर भन्न सकिन्छ । सबै मगन्तेहरू एकैखाले हुँदैनन् । कोही बाध्यताले माग्छन्, कोहीले पेशा बनाउँछन्, त कोहीले ठगी गर्छन् ।

समाजमा यस्ता समस्यालाई बुझेर सही रूपमा समाधान गर्न आवश्यक छ । समाजमा असल कर्म गरेर जीविका चलाउन सक्ने मानिसले आत्मसम्मान गुमाएर सधैं मागि रहने प्रवृत्ति निकै दुखद हो । यस्तो प्रवृत्ति रोकिनुपर्छ, रोक्नुपर्छ । पहिले पूजा, भजन, विवाह, देउसीभैलो, रत्यौली आदि खुशी साट्ने माध्यम थिए, तर अहिले पैसा उठाउने ‘प्रोजेक्ट’ जस्तो बनाइएको छ । यो प्रवृत्तिले हाम्रो मौलिक संस्कृतिलाई नै नष्ट गर्दैछ । बाध्यतामा परेर माग्नुपर्ने अबस्था भएका र भिक्षुकहरुलाइ सम्मानका साथ सहयोग वा भिक्षा दिउ तर ठग प्रबृतीका बिना परिश्रम सजिलै पैसा कमाउनको लागि हात पसार्दै आउने लोभिहरुलाइ बहिष्कार गरौ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू