यो वनस्पतिको विशेष गन्ध हुन्छ । संस्कृतमा यसलाई तीक्ष्णगन्धा पनि भन्दा रहेछन्। भारत वा नेपालमा यसलाई कसैले मरुङ पनि भन्छन्।
विज्ञका अनुसार सितलचिनीजस्तो गुण भएको बिरुवा अर्काे पाउन गाह्रै पर्छ । अनुसन्धानबाट पत्ता लागेको छ कि यसमा रहेको प्रोटिन भटमास, दूध, अन्डामा पाइने जत्तिकै गुणकारी हुन्छ र अझ कतिले त भटमासमा भन्दा बढी गुणयुक्त प्रोटिन यसमा पाउँछन्। गर्भवती आमालाई भिटामिन, फोलिक एसिड, भिटामिन सी आदि खान हामी स्वास्थ्यकर्मीले भन्छौँ। सितलचिनी खाउँ र कुपोषणबाट बालबालिकालाई बचाऔँ भन्दैनौँ।
अंग्रेजीमा मोरिङ्गा भनिने यो वनस्पतिलाई सायद विदेशी आएर राम्रो छ भनेपछि मात्र हाम्रा देशका नीति–निर्माताको आँखा खुल्छ कि? यो वनस्पति तराई तथा मध्यपहाडमा लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिन्छ । तराईतिर यसलाई सोहिजन, सैजन, सजिउन, मुनका नामले चिनिन्छ, कतै सितलचिनी पनि भनिन्छ।
यो वनस्पतिबारे विश्व स्वास्थ्य संगठनले पनि अनुसन्धान गर्दै छ। अनुसन्धानबाट पत्ता लागेको छ कि सितलचिनीको पातमा कार्बोहाइट्रेट साथै भिटामिन सी, पोटासियम आदि पनि पर्याप्त पाइन्छ। एक शब्दमा भन्ने हो भने विभिन्न प्रकारमा भिटामिन र सूक्ष्म पोषण तत्व राखेर प्रकृतिले सित्तैमा दिएको उपहार हो यो। तर पौष्टिक उपहार नै अपहेलित छ।
यसको कलिलो कोसा बजारमा बिक्री हुन्छ र तरकारी खाइन्छ। तर, अन्य भागमा यसको उपयोगिताबारे आमउ अझ कसैले जानकारी छैन।
सितलचिनी नहुने ठाउँमा पनि यसको पातलाई सुकाएर तरकारीमा वा दालमा प्रयोग गर्न सकिन्छ। यस्तो वनस्पति पाइने नेपालका बालबालिका कुपोषण हुनु भनेको त घरको आँगनमा सुनखानी भएर दरिद्र जीवन बिताउनुजस्तै हो।


दक्षिण एसियामा पाइने यो वनस्पति हजारौँ वर्षदेखि घरेलु औषधिका रूपमा प्रयोग हुँदै आएको छ। आयुर्वेदमा यो वनस्पतिले तीन सय जति रोगको उपचार गर्छ भनिएको छ। यसलाई कतिले त जादुको रूख पनि भन्छन्। सायद यसको पौष्टिकता र औषधीय गुणका कारण अमेरिका र युरोपमा समेत यसको लोकप्रियता बढेकै छ।
अफ्रिकाका केही देशमा पनि यसको प्रयोग गरिन्छ। यसलाई जादुको रूख भनिनुको कारण सायद यसमा धेरै प्रोटिन, गाजरमा भन्दा बढी भिटामिन ए, केरामा भन्दा बढी पोटासियम र दूधमा भन्दा बढी क्याल्सियम भएर हो कि?
भारतको बेंग्लोरमा गरिएको एक अनुसन्धान अनुसार कुपोषित बालबालिकालाई सितलचिनीको पाउडर खानासँगै खुवाउँदा उनीहरूको स्वास्थ्यमा धेरै सुधार भयो। यसमा रोगसँग लड्ने शक्ति हुन्छ, आमाको दूध बढाउने तत्व हुन्छ भनेर आयुर्वेदमा लेखिएको छ। केही अनुसन्धानले यसको प्रयोगबाट उच्च रक्तचाप घट्न सक्ने सम्भावना देखाएको छ। यसैले अमेरिकामा त यसको क्याप्सुल र पाउडर नै बनाएर बेचिन्छ।