हाम्रो समाजमा स्वर्ग र नर्कको बारेमा विभिन्न चासो र टीका टिप्पणी, चर्चा परिचर्चा हुने गरेको त हामिले सुने बुझेकै छौ । सिधा भाषामा भन्नुपर्दा मृत्यु पश्चात धर्मात्मि हरु स्वर्ग जान्छन भने पापिहरु नर्क जान्छन भन्ने भनाइ सुनिन्छ । मृत्यु पश्चात् जाने भनेको उसको आत्मा हो । स्वर्ग (Heaven) र नर्क (Hell) को अवधारणा प्राचीन कालदेखि नै विभिन्न धर्म, दर्शन र समाजमा विद्यमान छ । यी शब्दहरू मूलतः जीवनपश्चात् आत्माले प्राप्त गर्ने सुखद (स्वर्ग) वा दुःखद (नर्क) अनुभवहरू जनाउन प्रयोग गरिन्छन् तर यसको वास्तविकता, अस्तित्व, सत्यता र महत्वबारे कमैलाइ मात्र ज्ञान् हुनसक्छ ।
हिन्दूधर्ममा स्वर्ग र नर्कलाई कर्मसिद्धान्तसँग जोडिएको छ । मानिसले गरेको कर्मअनुसार मृत्युपश्चात उसको आत्मा स्वर्ग (सुखको स्थान) वा नर्क (दुःखको स्थान) मा पुग्छ भनिछ । स्वर्ग भनेको पुण्यात्माहरूको वासस्थान हुने स्वर्गलोक हो जहाँ इन्द्रको शासन छ । यहाँ अमृत, अप्सराहरू, दिव्यसंगीत, र नन्दनवन जस्ता आनन्ददायक चीजहरू पाइन्छन् । त्यसैगरि नर्क भनेको पापीहरूले सजाय भोग्ने स्थान नर्कलोक हो जहाँ यमराजको अधिपत्य हुन्छ । गरुड पुराण अनुसार यहाँ २१ प्रकारका नर्कहरु छन्, जसमध्ये रौरव, तामिस्र आदि प्रसिद्ध छन् । यो अवधारणा भौतिक संसारमा सत्कर्म गर्न प्रेरित गर्ने उदेश्यले बनाइएको हुनसक्छ ।
बौद्धधर्ममा स्वर्ग र नर्कलाई स्थायी नभई अस्थायी रूपमा वर्णन गरिएको छ । स्वर्ग (देवलोक) जहाँ पुण्यवान् आत्माहरू पुनर्जन्म लिन्छन् तर यो पनि मरणशील छ भनिन्छ भने नर्क (नरक लोक) जहाँ पाप कर्म गर्ने आत्माहरू अस्थायी रूपमा दुःख भोग्छन् । अन्ततः सबै आत्माहरूले निर्वाण (मोक्ष) प्राप्त गर्ने लक्ष्य राख्नुपर्छ, जसले जन्ममरणको चक्र अन्त्य गर्छ ।
इसाई र इस्लामधर्ममा स्वर्ग र नर्कलाई स्थायीरूपमा लिइन्छ । स्वर्ग ईश्वरको/अल्लाहको सामीप्य प्राप्त गर्ने स्थान, जहाँ अनन्त शान्ति, प्रेम र आनन्द छ । नर्क पापी हरूको लागि दण्डस्थल, जहाँ दुष्ट आत्माहरूलाई आगो मा पोल्ने, अँध्यारो ठाउँमा फ्याँक्ने, उम्लिरहेको तेलमा डुबाउने लगायतका सजाय दिइन्छ भन्ने मान्यता रहेको पाइन्छ । सबै धार्मिक आस्था र शास्त्रहरुको मान्यता भनेकै स्वर्गमा पुग्न सत्कर्म, सत्यता, दयालु र धार्मिक नियमहरू पालन गर्नुपर्छ अन्यथा नर्कको बास हुन्छ भन्ने नै हो ।
विद्वान, दार्शनिकहरूले स्वर्ग र नर्कलाई कुनै निश्चित स्थान नभई मानसिक र नैतिक अवस्था भनेर व्याख्या गरेका छन् । जब मानिस यहि जिवनमा सन्तोषी, दयालु, सत्यवादी र न्यायप्रिय बन्छ तब उसको मन शान्त हुन्छ, जुन स्वर्ग समान हो । जब मानिस लोभ, घृणा, ईर्ष्या, द्वेष, हिंसा र पापले ग्रस्त हुन्छ, तब उसको जीवन नै नर्क बन्छ । स्वर्ग र नर्क अहिले बाचिरहेकै यहि जिवनमै छ । स्वर्ग र नर्क हाम्रो मानसिकता, नैतिकता र सोचाइमा निर्भर रहन्छ भन्ने उनिहरुको मत हो ।
वैज्ञानिक रूपमा हेर्ने हो भने स्वर्ग वा नर्क भन्ने त्यस्तो कुनै स्थान भौतिक रूपमा अस्तित्वमा रहेको कुनै प्रमाण छैन ।मृत्युपछिको जीवनबारे वैज्ञानिक निष्कर्षहरू छैनन् । Near-Death Experiences ( नजिकको मृत्यु अनुभव ) भएका मानिसहरूले उज्यालो देख्ने, शान्ति अनुभव गर्ने, डरलाग्दा राक्षसहरु लिन आएको वा अँध्यारो अनुभव गर्ने बताइए पनि तिनीहरू वैज्ञानिक रूपमा पुष्टि भएका छैनन् । होउन पनि कसरी ? कोहि मरेको मानिस फर्केर आएर त्यस्तो अबस्थाको वर्णन पनि त कतै गरेको पाइदैन त्यसैले बैज्ञानिक दृष्टिकोणले यी सबै हल्लाहरु हुन, मिथ्या हुन, झुट्टा हुन, रुढीबादी सोच हरु हुन । वैज्ञानिकहरू भन्छन्, मृत्युकोबेला मस्तिष्कमा केमिकल परिवर्तन भएर hallucination जस्तो अनुभव हुन सक्छ, जसलाई धार्मिक मान्यता अनुसार स्वर्ग वा नर्क भन्ने गरिएको मात्रै हो । त्यसैले स्वर्ग र नर्क वैज्ञानिक रूपमा प्रमाणित छैन तर मानिसको आस्था अनुसार मानसिक अनुभव हुन सक्छ ।
सामाजिक दृष्टिकोणमा स्वर्ग र नर्क भनेको सद्भाव, प्रेम, न्याय र सद्गुणहरू हावी भएको समाज नै स्वर्ग हो भने द्वेष, हिंसा, भ्रष्टाचार, अन्याय र अपराधले भरिएको समाजनै नर्कहो। यदि मानिसले सत्कर्मगर्छ, सकारात्मक सोच राख्छ, समाज लाई सहयोग गर्छ भने उसको जीवन नै स्वर्ग समान बन्छ । यसको ठिक बिपरित यदि मानिस ले दुष्कर्म गर्छ, अरूलाई दुख दिन्छ, अपराधमा संलग्न हुन्छ भने उसको जीवन नै नर्क समान हुन्छ । यसरी हेर्दा स्वर्ग र नर्क हाम्रो समाजको अहिले कै अवस्था अनुसार पनि परिभाषित गर्ने गरिन्छ ।
यसरी हेर्दा धार्मिक रूपमा स्वर्ग र नर्क मृत्युपछि आत्माले जाने स्थान हो, जहाँ पुण्यले स्वर्ग र पापले नर्कको अनुभव गराइन्छ, दार्शनिक रूपमा स्वर्ग सुखद मानसिक अवस्था हो भने नर्क दुःखद मानसिक अवस्था हो । वैज्ञानिक रूपमा, स्वर्ग वा नर्कको कुनै प्रमाण छैन तर तिनीहरू मानिसको मनोवैज्ञानिक अनुभव हुन सक्छ । सामाजिक रूपमा नैतिक र सद्भावयुक्त समाज नै स्वर्ग हो, अन्याय र अपराधले भरिएको समाज नै नर्क हो । स्वर्ग वा नर्क मृत्यु पछि मात्र होइन, हाम्रो कर्म र विचार अनुसार हाम्रै जीवनमा अनुभव गर्न सकिन्छ । यसैले, सत्कर्म गरेर यो जीवनलाई नै स्वर्ग बनाउनु नै उत्तम बाटो हो । यदि व्यक्ति शुद्ध मन, सद्गुण, दया, प्रेम र शान्ति सहित बाँच्छ भने उसले स्वर्गीय आनन्द यहि जिवनमै अनुभव गर्छ तर लोभ, ईर्ष्या, घृणा, अपराधजस्ता नकारात्मक तत्वले भरिएको जीवन आफैंमा नर्क समान हुन्छ भन्ने आधुनिक समाजको मान्यता रहिआएको छ ।
के मृत्यु पश्चात् मानिस स्वर्ग वा नर्क जान्छन् त ?
मृत्युपश्चात् मानिस स्वर्ग वा नर्कमा जान्छ कि जान्दैन भन्ने कुरा धार्मिक, आध्यात्मिक, तथा दार्शनिक दृष्टिकोणमा भर पर्छ । हिन्दूधर्ममा मानिसले गरेको कर्मअनुसार मृत्यु पछि उसको आत्मा स्वर्ग वा नर्क जान्छ भन्ने विश्वास छ । यदि उसले पुण्य कर्म गरेको छ भने स्वर्गलोक जान्छ, जहाँ दिव्य आनन्द पाइन्छ, यदि पाप कर्म गरेको छ भने नर्कमा गइ यमराजको न्याय अनुसार सजाय भोग्नुपर्छ । हिन्दू धर्ममा पुनर्जन्मको अवधारणा पनि छ, जसअनुसार आत्मा पुनर्जन्म लिँदै आफ्नो कर्म अनुसार नयाँ जीवन प्राप्त गर्दैजान्छ जवसम्म मोक्ष प्राप्त गर्दैन ।
बौद्ध धर्ममा स्वर्ग र नर्कलाई स्थायी स्थान नभई अस्थायी अवस्थामा लिइन्छ । बौद्ध दर्शनमा कर्म अनुसार विभिन्न लोकमा पुनर्जन्म हुने विश्वास छ, तर अन्ततः निर्वाण प्राप्त गरेर जन्ममरणको चक्रबाट मुक्त हुन सकिन्छ भने इसाई र इस्लाम धर्महरूमा मृत्युपछि आत्माको परम निर्णय परमेश्वर द्वारा गरिन्छ । सत्कर्म गर्नेहरू स्वर्ग जान्छन्, जहाँ शाश्वत शान्ति पाइन्छ, जबकि पाप गर्नेहरू नर्कमा जान्छन्, जहाँ उनीहरूले अनन्त पीडा भोग्छन् ।
कतिपय दार्शनिकहरूका अनुसार स्वर्ग वा नर्क कुनै भौतिक स्थान नभई मानिसको नैतिकता, मानसिकता र आत्मिक शुद्धताको प्रतीक हो । यदि मानिसले जीवनभर सत्कर्म गर्यो भने मृत्यु अघि नै उसले स्वर्गीय शान्तिको अनुभव गर्छ, यदि पापकर्म गर्यो भने आत्मिक पीडाबाट गुज्रन्छ । वैज्ञानिक रूपमा, स्वर्ग वा नर्कको अस्तित्व र स्थान प्रमाणित गरिएको छैन । मृत्युपछिको अवस्था अज्ञात छ र मानिसको चेतना कसरी समाप्त हुन्छ भन्ने कुरा अझै अध्ययनकै विषय हो ।
नर्कमा कस्ता दण्ड दिइन्छ र स्वर्गमा कस्ता सुख पाइन्छ ?
स्वर्ग र नर्कको विवरण विभिन्न धर्म, पुराण, र धार्मिक ग्रन्थहरू मा फरक-फरक पाइन्छ । हिन्दूधर्म, बौद्धधर्म, इसाईधर्म र इस्लाममा स्वर्ग-नर्कका अनुभव फरक र डलाग्दो तरिकाले वर्णन गरिएका छन् । हिन्दू धर्ममा नर्क (यमलोक) को विस्तृत वर्णन गरुड पुराण, महाभारत र भागवत पुराण लगायतका ग्रन्थहरूमा पाइन्छ । त्यहाँ २१ देखि ८४ लाख जुनिसम्मका नर्कका भिन्न-भिन्न प्रकारका विवरण छन् । यो जिवनमा मानिसले गलत कर्म नगरुन भनेर सभ्यसमाज निर्माणको लागि यस्ता प्रचारहरु गरिएको पनि हुनसक्छ । जस्तै :
(क) तामिस्र (Tamishra) – लोभ, विश्वासघात, चोरी गर्ने हरूलाई अँध्यारो नर्कमा लगेर कठोर यातना दिइन्छ ।
(ख) अन्धतमिस्र (Andhatamishra) – अरूको सम्पत्ति जबरजस्ती लिनेहरूलाई यो नर्कमा पठाइन्छ, जहाँ उनीहरू लाई अत्यधिक यातना दिइन्छ र अन्धो बनाइन्छ ।
(ग) रौरव (Raurava) – निर्दयी मानिसहरूलाई राक्षसरूपी जीवहरूले चिथोरेर सताउँछन् ।
(घ) कुम्भीपाक (Kumbhipaka) – निर्दोष प्राणिहरूको हत्या गर्नेहरूलाई उम्लिरहेको तेलमा हालेर पोलिन्छ ।
(ङ) क्रिमिभोजन (Krimibhojana) – अरूलाई ठग्ने र अन्न खेर फाल्नेहरूलाई कीराहरूले खान्छन् ।
(च) महाराैरव (Maharaurava) – निर्दयी र असत्य बोल्नेहरूलाई आगोले जलाइन्छ ।
(छ) वैतरणी (Vaitarini) – माता-पिताको अपमान गर्ने हरूलाई पिप, रगत, पसिना, विष आदिले भरिएको नदी पार गर्न लगाइन्छ । आदि ।
यदि जिवनमा कुनै पाप गरिएको रहेछ भनेपनी त्यस्तो नदि पार गर्न सहज होस भनेर हाम्रो संस्कारमा मृत्युको अघाडी अन्तिम दानको रुपमा गाइदान सहितको बैतरणी गर्ने प्रचलन चली आएको पाइन्छ । त्यसरी दान गरिएकी गौमाता को पुच्छर समाएर त्यस्ता कष्ट्प्रद अबस्थामा सहजै पार पाउन सकिन्छ भन्ने मान्यता हो । माथी उल्लेखित लगायतका थुप्रै यस्ता धेरै नर्कहरु छन्, जहाँ विभिन्न अपराधहरू अनुसार यातनाहरू दिइन्छ भनेर भन्ने गरिएका कथाहरु सुन्न पाइन्छ ।
हिन्दू धर्ममा इन्द्रदेवको अधीनमा रहेको पुण्यात्माहरूको वासस्थान स्वर्ग अर्थात स्वर्गलोक देबलोक हो । मृत्यु पश्चात् स्वर्गजानेहरुले के कस्तो सुख सुबिधा भोग्दछन त ? भन्ने बारेमा पनि केही शास्त्रहरुमा उल्लेखित स्वर्गका प्रमुख विशेषताहरू यस्ता छन् । जस्तै :
१) अमरत्वको अनुभूति – स्वर्गमा पुगेपछि मानिसलाई रोग, शोक, पीडा हुँदैन । उसले अमर महसुस गर्दछ ।
२) ऐश्वर्य र विलास – सुनका महलहरू, सुगन्धित पुष्पहरू र अमृत समान भोजन पाइन्छ । कुनै कुराको अभाब र चिन्ता हुदैन ।
३) अप्सराहरूको नृत्य – मेनका, रम्भा, उर्वशी जस्ता अप्सरा हरू नृत्य गरेर मनोरञ्जन गराउँछन् ।
४) कामधेनु र कल्पवृक्ष – इच्छाएको वरदान प्राप्त गर्न सकिन्छ ।
५) नन्दनबन – स्वर्गीय वन, जहाँ सुन्दर सुगन्धित फूल, मीठा मिठा फल र स्वच्छ वायु प्रवाहित हुन्छ ।
६) सिद्ध, ऋषि-मुनिहरूको संगति – महान आत्माहरूको संगतमा ज्ञान प्राप्त हुन्छ ।
७) संगीत र आनन्द – नारद मुनिको वीणाको धुन, देवलोक को संगीतले आत्मालाई शान्ति दिन्छ । आदि ।
हिन्दू धर्म अनुसार पुण्य समाप्त भएपछि व्यक्ति स्वर्गबाट फेरि पृथ्वीमा जन्मन बाध्य हुन्छ । अहिलेको जिवनमा कमाएको पुण्य जति छ त्यतिनै समय स्वर्गको सुख भोग्न पाइने हो । मोक्ष नहुदा सम्म यसरीनै स्वर्गनर्क र पुनर्जन्म को चक्र चलि रहन्छ भनिन्छ ।
निष्कर्ष
स्वर्ग र नर्कलाई विभिन्न धार्मिक, आध्यात्मिक, दार्शनिक वा वैज्ञानिक रूपमा विभिन्न तरिकाले बुझ्न सकिन्छ । हाम्रो कर्म नै स्वर्ग वा नर्कको आधार हो । मृत्युपश्चात स्वर्ग वा नर्कमा जाने कुरा विश्वास र आस्थामा भर पर्छ । धर्मअनुसार मृत्यु पछि आत्माले स्वर्ग वा नर्कमा गइ कर्मको फल भोग्छ तर वैज्ञानिक रूपमा, यसको कुनै ठोस प्रमाण छैन । त्यसैले मानिसले जीवनमै सत्कर्म गरेर “यही जीवनलाई स्वर्ग तुल्य बनाउने” सोच राख्नु नै बुद्धिमानी हुन सक्छ ।
स्वर्ग र नर्कको अवधारणा मुख्य रूपमा कर्मसिद्धान्तमा आधारित छ । पुण्यकर्म गर्नेहरूलाई स्वर्गीय सुख प्राप्तहुन्छ भने पापकर्म गर्नेहरूलाई नर्कमा यातना दिइन्छ तर, यी अवधारणाहरू धार्मिक ग्रन्थहरूमा आधारित भएकाले तिन लाई विश्वास गर्ने वा नगर्ने व्यक्ति-व्यक्तिको दृष्टिकोणमा निर्भर रहन्छ । अहिले बाचिरहेको यहि जीवनलाई नै स्वर्ग बनाउन हामिले सत्कर्म गर्नु नै उत्तम बाटो हुन सक्छ ।


