‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’ माथि एक नजर

देशको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) केही दिनदेखि ‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’ मा व्यस्त बनेको छ । फागुन १२ गते झापाको कचनकवल, हुकाहुकीचोकबाट सुरु भएको एकमहिने अभियान चैत १२ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ ।

नेपालको सबैभन्दा होचो भूभाग कचनकवलबाट जागरण अभियान सुरु गरेर माओवादी केन्द्रले राजनीतिक उडान भरिरहेको छ । यस अभियानको अवतरणसँगै सफलताको उचाईमा आफूलाई पु¥याउने माओवादी केन्द्रको चाहना देखिन्छ ।

किन आयोजना ग¥यो त नेकपा (माओवादी केन्द्र) ले तराई–मधेश जागरण अभियान ? यसको औचित्य पुष्टि गर्नका लागि नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिले १८ वटा बुँदा सार्वजनिक गरेको छ । ती १८ वटा बुँदामध्ये प्रमुख नौ वटा बुँदा यस प्रकार छन् :

(१) हुलाकी मार्गको निर्माणलाई यथाशीघ्र सम्पन्न गर्न तथा यसलाई कृषिजन्य उत्पादन र ग्रामीण उद्यमशीलताको केन्द्रका रुपमा विकास गर्न राज्यलाई दबाब दिन ।

(२) अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने सामाजिक सञ्जाल विधेयकको विरोध गर्न ।

(३) पूर्ण प्रेस स्वतन्त्रतासहित सामाजिक सञ्जाल नियमन कानुनको लागि दबाब दिन ।

(४) जनतासँग प्रत्यक्ष संवाद र अन्तक्र्रियाबाट स्थानीय जनसरोकार, जनजीविका तथा विकास निर्माणसँग सम्बन्धित समस्याबारे जानकारी लिई पार्टीका तर्फबाट आवश्यक पहलकदमी लिन ।

(५) प्रतिगमनको खतराविरुद्ध खबरदारी गर्दै संविधान रक्षा गर्न ।

(६) सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न ।

(७) दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न ।

(८) जीर्ण तथा रुग्ण उद्योगलाई सञ्चालनको साटो निजीकरण गरेर करोडौँको राष्ट्रिय सम्पत्ति दोहन गर्ने सरकारी षडयन्त्रको भण्डाफोर गर्न ।

(९) किसानले मल, बीउ, बजार सुनिश्चितता लगायतका भोग्दै आएका समस्या हल गर्न स्थानीय कृषि उत्पादनमा वृद्धिमार्फत आत्मनिर्भर ग्रामीण अर्थतन्त्र निर्माणका लागि दबाब दिन ।

कस्तो रह्यो त अहिलेसम्म आठ जिल्लाको यात्रा ?

फागुन १२ गते बिहान झापाको कचनकवलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मर्निङ वाकका क्रममा भद्रपुर–२ मा रहेको किचकबधलगायत त्यस क्षेत्रका पुरातात्विक महत्वका ऐतिहासिक संरचनाहरूको अवलोकन गरे । स्थानीय जनसमुदायको न्यानो स्वागतले आफू उत्साहित बनेको उनको प्रतिक्रिया थियो ।

फागुन १३ गते मोरङको रमाइलोबजार, कानेपोखरीमा, १५ गते सुनसरीको गढी, सत्तेरझोडामा, १६ गते सप्तरीको रुपनी–४, हप्कीमा, १७ गते सिरहामा सभाहरु भए । सिरहाको नवराजपुर–१, भगवतीपुरमा रिङ्कुकुमारी सदाको घरमा पुगेर उनका अभिभावकलाई भेटी अध्यक्ष प्रचण्डले बलात्कारपछि मारिएकी रिङ्कुको न्यायका लागि आवाज उठाउने प्रतिबद्धता जनाए ।

फागुन १८ गते धनुषा, २२ गते महोत्तरीको सम्सी र २३ गते सर्लाहीमा भव्य सभाहरु आयोजना भए । सबै ठाउँमा जनताको सहभागिता उल्लेखनीय देखिन्थ्यो । सभा हुनुपूर्व अध्यक्ष प्रचण्डले हिँडेर स्थानीयवासीलाई सडकमा र घरघरमा भेट्दै भलाकुसारी गर्न पनि भ्याए । जनमत बुझ्नका लागि यो अभियान राम्रो माध्यम पनि बन्यो ।

बाँकी छन् अझै १४ जिल्लाका कार्यक्रमहरु

झापादेखि सर्लाहीसम्म आइपुग्दा जनताबाट राम्रै साथ पाएको माओवादी केन्द्रले फागुन २४ गते रौतहट, २५ गते बारा, २६ गते पर्सा र २७ गते चितवनको जगतपुरमा बृहत् सभा गर्दैछ । अध्यक्ष प्रचण्डको गृहजिल्ला पनि भएकोले चितवनको सभलाई विशेष बनाउने तयारीमा पार्टी जुटेको गृहजिल्ला पनि भएकोले चितवनको सभलाई विशेष बनाउने तयारीमा पार्टी जुटेको छ ।

फागुन २८ र चैत ४ गते रुपन्देहीमा, चैत २ गते नवलपुरमा, ३ गते परासीमा, ५ गते कपिलवस्तुमा, ६ गते दाङमा, ७ गते बाँकेमा, ८ गते बर्दियामा, ९ गते जनकपुरमा र ११ गते कैलालीमा सभाहरु सम्पन्न भएपछि १२ गते कञ्चनपुरमा अभियानको समापन समारोह हुनेछ ।

‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’ को अहिलेसम्मको गतिविधि हेर्दा यो अभियानले जनताको ध्यान आफूतिर तान्न माओवादी केन्द्र सफल भएको देखिन्छ । केहीले यो अभियानलाई सत्ताबाट बाहिरिँदाको छटपटी भनेर आलोचना गरेका छन् । माओवादी केन्द्र अभियानमार्फत् जनतामा फर्किएकै हो भने यस्ता आलोचनाले पार्टीले लिन थालेको उचाइलाई कुनै फरक पार्ने छैन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू