हाँसो, मुस्कान र स्वास्थ्य

हाँसो, मुस्कान वा हाँस्नु भनेको खुशी, रमाइलो वा कुनै अनौठो परिस्थितिको प्रतिक्रियास्वरूप प्रकट हुने प्राकृतिक भावना हो । हाँस्नु मानसिक, शारीरिक र सामाजिक क्रियाकलापको सम्मिश्रण हो, जसमा मानिसको अनुहारमा मुस्कान आउँछ, चमक आउछ र प्रायः शरीरले हल्का कम्पनको अनुभव गर्छ । हाँसो केवल मनोरञ्जनको स्रोत मात्र होइन, व्यक्तिको भित्री भावना र मनोदशा व्यक्तगर्ने माध्यम पनि हो । हाँसो मानिसको जीवनमा एउटा महत्वपूर्ण पक्ष हो, जसले हाम्रो मानसिक, शारीरिक र सामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । हाँसो केवल खुशीको माध्यम मात्र होइन, यो प्रकृतिले दिएको एउटा नि:शुल्क औषधि पनि हो । हाँसोले शरीरमा सकारात्मक परिवर्तन ल्याउँछ र दीर्घकालीन स्वास्थ्य सुधारमा मद्दत पुर्याउँछ भनेर बैज्ञानिक अनुसन्धानहरुले प्रमाणित समेत गरिसकेका छन ।

हाँसोले मानसिक तनाव घटाउन महत्त्वपूर्ण भूमिका खेल्छ । जब हामी हाँस्छौं, हाम्रो मस्तिष्कले एन्डोर्फिन नामक रसायन उत्पादन गर्छ, जसले खुशीको अनुभव गराउँछ । यो प्रक्रिया डिप्रेसन, चिन्ता र तनावलाई कम गर्न उपयोगी हुन्छ । हाँसोले मानिसलाई सकारात्मक सोच्न प्रेरित गर्दछ र जीवनमा उत्साह थप्दछ । हाँसोले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । जब हामी हाँस्छौं, शरीरमा रक्तसञ्चार बढ्छ र अक्सिजनको प्रवाह राम्रो हुन्छ । यसले मुटु स्वस्थ राख्न मद्दत गर्नुको साथै रक्तचाप घटाउन, मांसपेशीको तनाव कम गर्न र शरीरमा भएका हानिकारक पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । कहिलेकाही हाँस्दा हाँस्दै आँसु, सिगान र खकार निस्किने गरेको हामी सबैले देखे, बुझे, जाने, भोगे कै तथ्य हो । नियमित रूपमा हास्ने व्यक्तिमा हृदय रोग र मधुमेह जस्ता रोगहरू हुने सम्भावना कम हुन्छ ।

हाँसोले मानिसहरूबीचको सम्बन्धलाई मजबुत बनाउँछ । जब हामी समूहमा हाँस्छौं, हामीबीचको भावनात्मक सम्बन्ध अझ प्रगाढ हुन्छ । यसले पारिवारिक, सामाजिक र व्यावसायिक सम्बन्धलाई सुधार्न मद्दत गर्दछ । हाँस्ने वातावरणले हामीलाई अरूसँग सहकार्य गर्न सजिलो बनाउँछ र आपसी विश्वास बढाउँछ । हाँस्नका लागि ठूला कारणहरू आवश्यक छैनन् । सासाना रमाइलाघटनाहरू, रमाइला किताबहरु पढ्दा, फिल्महरू हेर्दा, साथीभाइसँग गफिदै समय बिताउनाले पनि हाँसो जन्मिन्छ । हास्यव्यंग्यको अभ्यास गर्नु, रमाइलो क्रियाकलापहरूमा संलग्न हुनु र बच्चाहरूको सरल हास्यलाई हेर्नुजस्ता कामले जीवनमा सकारात्मकता ल्याउँछ ।

हाँसोका प्रकारहरू

विभिन्न कारण, परिस्थिति र भावनाको आधारमा फरक फरक प्रकारका हाँसोहरु हुन्छन । अब आउनुहोस, कस्ता प्रकारका हाँसोहरुले कस्तो भाव ब्याक्त गर्दछन भन्ने बारेमा चर्चा गरौ :

Forbes

१) स्वाभाविक हाँसो (Genuine Laughter)
यो हाँसो स्व:स्फूर्त र वास्तविक हुन्छ । कुनै रमाइलो घटना, ठट्टा वा खुशीको क्षणमा यस्तो प्रकारको हाँसो हाँस्ने गरिन्छ । यस्तो हाँसोले खुशी र मानसिक शान्ति प्रदान गर्छ । यसलाइ दिल खोलेर हाँस्नु पनि भनिन्छ ।

२) सामाजिक हाँसो (Social Laughter)
यो हाँसो मानिसहरूको समूहमा सामाजिक सम्बन्ध सुधार गर्न प्रयोग हुन्छ । यस्तो हाँसो साथीभाइ, परिवार वा सहकर्मीहरूसँग समय बिताउँदा देखिने सामान्य हाँसो हो । यो कहिलेकाहीं औपचारिक हुन्छ, जस्तै शिष्टाचारका रूपमा हाँसिदिनु ।

३) नर्वस हासो (Nervous Laughter)
यो असहज परिस्थितिमा वा तनावपूर्ण अवस्थामा देखिने हाँसो हो । मानवीय स्वभावले आत्मरक्षा वा असहज परिस्थितिलाई सहज बनाउने प्रयासको रूपमा यस्तो हाँसो प्रकट हुन्छ ।

४) व्यंग्यात्मक हाँसो (Sarcastic Laughter)
व्यंग्यात्मक हाँसो अरूलाई कटाक्ष गर्न वा खिसी टिउरी गर्न प्रयोग गरिन्छ ।

५) दुष्ट हाँसो (Evil Laughter)
यो कुनै खराब योजना, दुष्टता वा कसैलाई हानि पुर्याउने उद्देश्यले प्रकट हुने हाँसो हो । यो प्रायः नकारात्मक चरित्रसँग सम्बन्धित हुन्छ त्यसैले यसलाइ नकारात्मक हाँसोको रूपमा लिइन्छ ।

६) हल्लिखल्ली हाँसो (Boisterous Laughter)
ठूलो ठुलो स्वरमा, हल्लाखल्ला गरेर अरुलाइ देखाइने वा अन्य समुहलाइ आफुतिर आकर्षित गर्ने हाँसो हो । यो अत्यधिक खुशीको अभिव्यक्ति पनि हो, जुन नियन्त्रण बाहिर पनि जान सक्छ ।

७) ठट्टा गर्ने हाँसो (Playful Laughter)
यो साथीभाइसँग रमाइलो गर्ने क्रममा देखिने हल्का र रमाइलो प्रकारको हाँसो हो । यस्तो प्रकारको हासो तनाव हटाउन र सम्बन्ध सुधार्न उपयोगी हुन्छ ।

८) फरक आवाजको हाँसो (Different Sounds of Laughter)
कतिपयले हाँस्दा “हाहा”, “हिही”, “होहो” जस्तो आवाज निकाल्छन् । यसलाइ नक्कली प्रकृतिको हाँसोसित पनि तुलना गर्न सकिन्छ । हाँस्ने शैली व्यक्तिगत स्वभाव, संस्कृति र वातावरणअनुसार फरक हुन्छ।

मुस्काउनु र हाँस्नुमा के फरक छ ?

मुस्कान र हाँसो दुवै जीवनलाई सकारात्मक र सुखद बनाउने साधन हुन् । मुस्कान शान्त र सौम्य हुन्छ भने हाँसो तीव्र र सक्रिय हुन्छ । यी दुवै भावना व्यक्तगर्ने भिन्न भिन्न तरिका हुन् तर दुवैले जीवनमा खुशी र सन्तुलन ल्याउँछन् । जीवनमा मुस्कान पनि बाँडौं, हासो पनि फैलाऔं । मुस्काउनु र हास्नु दुवै मानिसका सकारात्मक भावना प्रकट गर्ने माध्यम हुन्, तर यी दुईमा केही महत्वपूर्ण फरकहरु छन् ।

मुस्कान भनेको अनुहारको हल्का खुशीको भाव हो, जसमा ओठहरू अलिकति फैलिन्छन् र अनुहारमा शान्त र सहजता देखिन्छ । यो धेरै समय मौन र सौम्य हुन्छ जस्तै खुशीको संकेत, शिष्टाचारका रुपमा अभिबादन गर्दा, प्रेम, धन्यवाद वा सम्मान प्रकट गर्न, सौम्यक र आत्मियता देखाउन प्रयोग हुन्छ । मुस्कानले आत्मीयता र आत्मविश्वास बढाउँछ । यसले पारिवारिक, सामाजिक वा औपचारिक सम्बन्धमा सौम्य प्रभाव पार्छ । मुस्कान प्रायः छोटो, शान्त र ध्यानाकर्षक हुन्छ । मुस्कान हल्का, सन्तुलित र संयमित भावना हो जुन अनुहारको मांसपेशी अर्थात मुख र आँखावरिपरि मात्रको भागमा संलग्न हुन्छ।
हाँस्नु भनेको भावनाको गहिरो अभिव्यक्ति हो, जसमा अनुहार, स्वर र शरीरको सक्रियता हुन्छ । यो प्रायः हल्ला खल्ला, ठुलोआवाज वा शारीरिक हलचलसहित व्यक्त हुन्छ । यो रमाइलो घटना, ठट्टा, वा खुशीको चरम अवस्था लाई व्यक्त गर्न प्रयोग हुन्छ । हाँसोले ठट्टा, रमाइलो र मनोरञ्जन प्रदान गर्दछ । यसलाइ खुशीको अधिकता वा स्वाभाविक प्रतिक्रियाको रूपमा लिइन्छ । यसले तनाव घटाउन वा सकारात्मक ऊर्जा फैलाउन मद्दतगर्छ । हाँसोमा पुरै शरीर संलग्न हुन पनि सक्छ । यसमा हाँसोको आवाज, पेटको हलचल र कहिलेकाहीँ आँसु पनि आउन सक्छ । हाँसो लामो समयसम्म रहन सक्छ र यो धेरै ऊर्जा दिने क्रिया हो । यसले सम्बन्ध सुधार गर्न र तनाव हटाउन मद्दत गर्नुका साथै रमाइलो र खुला वातावरणको सिर्जना पनि गर्दछ ।

हाँसो र मुस्कान मानिसका लागि प्राकृतिक उपहार हुन्, जसले शारीरिक, मानसिक, र सामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । यी दुईले तनाव कम गर्न, खुशी बढाउन, र जीवनलाई सुखद बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन् । हाँस्नु र मुस्काउनु स्वास्थ्यका लागि अमूल्य औषधि हुन् । यसले मात्र शरीर र मस्तिष्कलाई फाइदा पुर्याउँदैन, सम्बन्ध सुधार्ने, समाजलाई सकारात्मक बनाउने र जीवनलाई सुखद बनाउने काम पनि गर्छ । त्यसैले, दैनिक जीवनमा हाँसो र मुस्कानलाई समेटौं र स्वस्थ, सुखद र आनन्दित जीवन जिऔं ।

मुस्कान र हाँसोले मस्तिष्कलाई सकारात्मक ऊर्जा प्रदान गरेर डिप्रेसन हटाउन सहयोग पुर्याउँछ, आत्मविश्वासी देखाउँछ र आफूलाई राम्रो महसुस गराउँछ । यसले जीवनप्रतिको सकारात्मक दृष्टिकोणको विकास गर्न र शरिरको शारीरिक प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । हाँसोले शरीरमा प्रतिरोधी शक्ति बढाएर रोगसँग लड्ने क्षमताको सुधार गर्छ । नियमित हाँसोले रक्तचाप कमगर्न, मुटु स्वस्थ राख्न, शारिरिक तनाब घटाएर मांशपेशीलाई आराम प्रदान गर्न थप सहयोग पुर्याउँछ । हाँस्दा शरीरमा नेचुरल पेनकिलरको रूपमा काम गर्ने हर्मोन सक्रिय हुन्छ । अध्ययनहरूले देखाएका छन् कि नियमित हाँस्ने र मुस्काउने व्यक्तिहरू लामो र स्वस्थ जीवन बाँच्छन् ।

मुस्कान र हाँसोले मानिसहरूबीचको सम्बन्ध र आपसी विश्वास बढाउँछ । हाँस्दा र मुस्काउँदा वरपरको वातावरण रमाइलो र सुखद बन्छ । मुस्कान र हासोले नयाँ साथी बनाउन, पुराना सम्बन्ध सुधार्न, आत्मविश्वास र सकारात्मक छवि प्रस्तुत गर्न मद्दत गर्छ, जसले काम गर्ने क्षमतामा सुधार ल्याउँदै सफलता हासिल गर्न सहयोग पुर्याउछ । हाँस्न र मुस्काउन सक्ने व्यक्तिहरूले अरूलाई प्रेरित गर्न र सबैलाई एकजुट गर्न सक्षम हुन्छन् । मुस्कान र हाँसोले मनलाई हल्का र खुशी महसुस गराउँछ । तनावपूर्ण अवस्थामा मुस्कुराउन सक्नेले नै असहज स्थितिलाई सहज बनाउँन सक्छ ।

के महिला र पुरुषको हाँसोको भाव फरक हुन्छ ?

महिला र पुरुष दुवैमा हाँसोले समान भावनात्मक विशेषता राख्छन् तर समाज, संस्कृति र जैविक कारकहरूको प्रभावले गर्दा महिलाको र पुरुषको हाँसो व्यक्त गर्ने तरिका र भावमा केही फरक देखिन सक्छ । यी फरकहरू स्वाभाविक, सांस्कृतिक र कहिलेकाहीँ मनोवैज्ञानिक भावनामा आधारित हुन्छन् ।

महिलाहरू प्रायः स्वाभाविक रूपमा सौम्य, लजालु र हल्का स्वरमा हाँस्ने गर्छन् । महिलाहरूको हाँसोमा अनुहारका भाव बढी स्पष्ट देखिन्छन् जस्तै, आँखा चिम्लिने, गाला उठ्ने, अनुहार राताम्य हुने आदि । महिलाहरू प्रायः सहानुभूति वा खुशी प्रकट गर्न हाँस्छन् । उनीहरूको हाँसोले माया, प्रेम, शिष्टाचार, आत्मीयता वा सहानुभूति झल्काउँछ । समाजले महिलालाई सौम्य, नम्र र आत्मीय बन्न प्रेरित गरेको हुनाले उनीहरूको हासोले यस्ता गुण झल्काउने गरेको हो । महिलाहरू प्रायः शिष्टाचारको रूपमा वा अरूलाई सहज महसुस गराउन पनि हाँस्ने गर्छन् । उनिहरु अपरिचित व्यक्तिसँग हाँस्न अलि बढी नै होसियारी अपनाउँछन् भने परिचित वातावरणमा बढी खुला रूपमा दिल खोलेर हाँस्छन् । वैज्ञानिक अध्ययनले देखाएको छ कि महिलाहरू प्रायः अरूको ठट्टामा प्रतिक्रिया दिँदै हाँस्छन् ।

पुरुषहरूको हाँसो प्रायः ठूलो आवाजमा, निडर र स्पष्ट हुन्छ । उनीहरूको हाँसोमा प्रायः स्वर र शरीरको क्रियाशीलता बढी देखिन्छ । हाँस्ने क्रममा आत्मविश्वास र शक्ति देखाउने प्रयास गर्न सक्छन् । उनीहरूको हाँसो ठट्टा, रमाइलो वा प्रभाव पार्न केन्द्रित हुन्छ । समूहमा रहदा पुरुषहरू ठट्टा वा हास्यव्यंग्यमा बढी संलग्न हुन्छन्, अपरिचितहरू माझ पनि प्रायः निर्धक्क र ठट्टा गर्दै हाँस्छन् । महिलाको तुलनामा पुरुषहरू ठट्टा गर्ने भूमिकामा बढी सक्रिय देखिन्छन् ।

निष्कर्ष

हाँसो जीवनलाई सकारात्मक, स्वस्थ र आनन्दित बनाउनको लागि प्राकृतिको अमूल्य उपहार हो । यसले मानसिक शान्ति, शारीरिक स्वस्थता र सामाजिक सम्बन्धलाई बलियो बनाउँछ । महिला र पुरुषको हाँसोमा फरक हुनु कुनै कमजोरी वा विशेषता होइन, यो समाज, संस्कृति र व्यक्तिगत स्वभावसँग सम्बन्धित हो । दुबैबिचको फरक हाँसोले मानवीय व्यवहारको विविधता झल्काउँछ । हाँसो कुनै पनि लिङ्गको मात्रामा सीमित छैन यसको उद्देश्य खुशी, सम्बन्ध सुधार, आत्मबल र सकारात्मक ऊर्जा फैलाउनु हो ।

हाँस्नु मानव जीवनको प्राकृतिक महत्त्वपूर्ण पक्ष हो । हाँसोको भिन्न-भिन्न प्रकारहरूले व्यक्ति र परिस्थितिलाई झल्काउँछ । चाहे स्वाभाविक हाँसो होस् वा सामाजिक हाँसो होस, यसले मानिसलाई मानसिक शान्ति, शारीरिक फाइदा र सामाजिक सम्बन्ध सुधार्न मद्दत गर्छ । जीवनमा हाँसोलाई प्राथमिकता दिऔं, आफ्ना तनावलाई छाडौं र स्वस्थ जीवनको आनन्द उठाऔं, आखिरमा “हाँसो नै सबैभन्दा राम्रो औषधि हो” । जीवनमा हाँस्नका लागि समय निकालौं र खुशी होऔ र सद्भाव बाडौ । हाँसौं, रमाऔं, स्वस्थ बनौं ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु