डा. अजय डा. सरू फाउण्डेशनद्वारा १८ जना बालबालिकाको अभिभावकत्व ग्रहण

चितवन – डाक्टर अजय डाक्टर सरू फाउण्डेशनले देवघाटका १८ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेको छ । साइराम डेण्टल केयरका सञ्चालकद्वय डा.अजय न्यौपाने र डा.सरू थापाले उक्त फाउण्डेशनमार्फत तनहुँको देवघाट गाउँपालिकाका ५ वटा वडाका १० विद्यालयमा अध्ययनरत १८ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका हुन्।

फाउण्डेशनले बुवा आमा नभएका/अभिभावक विहिन तथा अती विपन्न समुदायका बालबालिकालाई अभिभावकत्व ग्रहण गरेर उनीहरूको शिक्षा, स्वास्थ्य तथा आवश्यक विषयहरूमा सघाउने जिम्वेवारी लिएको डाक्टर अजय न्यौपानेले बताए।

उनले आफुहरुले विगत देखी नै सामाजिक कार्य गर्दै आएको बताउदै यसलाई थप व्यवस्थित र निरन्तरता दिने उदेश्यले फाउण्डेशन नै स्थापना गरेको बताए ।

विपन्न समुदायका बालबालिकाको उज्वल भविष्य निर्माण गर्न फाउण्डेशनले काम गरिरहेको डा.सरू थापाले बताईन् । उनले अभिभावक गुमाएका विपन्न परिवारका बालबालिकालाई अभिभावक नभएको महसुस हुन नदिन अभिभावकत्व ग्रहण गरेको बताइन्।

देवघाट गाउँपालिका ५ स्थित कालिका आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बिष्णु अधिकारिले अनाथ तथा विपन्न बालबालिकाको जिम्मा लिएर महान कार्य गरेको भन्दै डा. दम्पतीलाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रमको संयोजन कालिका माध्यमिक विद्यालय अल्मुनाई एसोसिएसन चितवनका अध्यक्ष विकास ढकालले गरेका थिए । उनले अभिभावकत्व ग्रहणका लागि देवघाटका १० वटा विद्यालयमा अध्ययन गर्ने अनाथ तथा विपन्न बालबालिकाहरुलाई छनोट गरिएको बताए ।

साथै फाउण्डेशनले शनिबार १८ जना बालबालिकालाई झोलासहित स्टेसनरी सामग्री, पोशाक, खेल र हाइजिनका सामग्री वितरण समेत गरेको थियो । फाउण्डेशन स्थापनाको सुरुवात देखी नै पहिलो प्राथमिकतामा शिक्षा र स्वास्थ्य रहेकाले देवघाट गाउपालिकाका सरकारी बिद्यालयमा अध्ययनरत बिपन्न बालबालिकालाई सामाग्रीहरु वितरण गरेको डा न्यौपानेले बताए ।

डाक्टर अजय, डाक्टर सरू फाउण्डेशनले बालबालिकाको दाँतमा समस्या आउन नदिन निःशुल्क सिल चितवन (किरा लाग्न सुरू गरेको दाँतमा सिमेन्ट भर्ने) अभियान पनि चलाइरहेको छ भने अन्य खेलकुदका सामाग्रीहरु वितरण गर्दै आईरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु