गोर्खा भर्ती र अग्निवीर योजना

भारतीय र बृटिस सेनामा गोर्खा भर्तीको इतिहास २०० वर्ष भन्दा लामो छ । यो इतिहास बेलायती साम्राज्य र भारतको राजनीतिक परिप्रेक्ष्यसँग नजिकबाट सम्बन्धित छ । गोर्खा सैनिकको परम्परा, बहादुरी, इमान्दारीता, लगनशिल र अनुशासनका कारण उनीहरूको माग बिगतैबाट ब्रिटिशसेनादेखि भारतीय सेनासम्म उच्च रह्यो ।

गोर्खा सैनिकको अवधारणा सन 1814-1816 को अंग्रेज-नेपाल युद्ध (गोरखा युद्ध) पछि सुरु भयो । यो युद्ध ब्रिटिश ईस्ट इण्डिया कम्पनी र नेपालबीच भएको थियो । युद्ध समाप्तिपछि सुगौली सन्धिमा हस्ताक्षर गरियो, जसले नेपाललाई आफ्नो र आफ्नो नियन्त्रणमा रहेको ठुलो भूभाग गुमाउन बाध्य बनायो । यस युद्धमा गोर्खा सैनिकहरूले देखाएको अदम्य साहस, बहादुरी र युद्धकलाले ब्रिटिश सेनालाई प्रभावित गर्‍यो । त्यसपछिका दिनहरुमा ब्रिटिश ईस्ट इण्डिया कम्पनीले गोर्खा सैनिकलाई आफ्नो सेनामा भर्ती गर्न थाल्यो । सुगौली सन्धिको लगत्तै गोर्खाको पहिलो पल्टन स्थापना गरि क्रमश: नेपालीहरुलाइ गोर्खा सैनिकको नाममा विभिन्न ब्रिटिश पल्टनमा समावेश गरियो । गोर्खाहरूलाई उनीहरूको धैर्यता, बहादुरीता, साहस र अनुशासनको कारण “सर्वोत्तम सैनिक” मानिन्थ्यो । गोर्खा सैनिकले ब्रिटिश सेनाका लागि विभिन्न युद्धहरूमा बहादुरी देखाए, जस्तै 1857 को भारतीय विद्रोह, पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्ध आदि ।

दोश्रो बिश्वयुद्दमा गोर्खा सैनिकहरूको बहादुरी र युद्धकौशल को ख्याति विश्वभर फैलिएको थियो । बिश्वबिजयको लक्ष्य लिएर हिडेका जर्मन शासक एडोल्फ हिटलरले गोर्खा सैनिक हरूको बारेमा भनेको यो भनाइ निकै प्रसिद्ध छ –
“If I had Gurkhas, no army in the world could defeat me.”
(“यदि मेरो सेनामा गोर्खाहरू हुन्थे भने, मलाई संसारको कुनै पनि सेनाले परास्त गर्न सक्दैनथ्यो।”)

यो कथनले गोर्खाहरूको अदम्य साहस र अनुशासनप्रति हिटलरको सम्मान र प्रशंसा दर्शाउँछ । यद्यपि यो भनाइको ऐतिहासिक स्रोत स्पष्ट छैन तरपनि गोर्खा सैनिकहरूको बहादुरी र युद्धकला भने निर्विवाद रूपमा विश्व प्रसिद्ध छ, जसले विश्वका थुप्रै नेताहरू र सेनालाई प्रभावित पारेको छ ।

भारतको स्वतन्त्रता र गोर्खा भर्ती

Forbes

सन 1947 मा भारत स्वतन्त्र भएपछि ब्रिटिश सेना र भारतीय सेनाबीच गोर्खाभर्तीका सेना पनि बाँडफाँड गरियो । त्यसैबेला गरिएको बेलायत, भारत र नेपालबिचको त्रिपक्षीय सम्झौता अनुसार गोर्खा सैनिकहरूलाई उनिहरुकै चाहना र इच्छा बमोजिम नै भारतिय सेनामा बस्ने कि बृटिस सेनामा जाने भनेर रोजाइयो । केही पल्टन बेलायती सेनामा समावेश भए भने केही पल्टन भारतीय सेनामा स्थानान्तरण भए । यस्तो बाडफाड त्यही सम्झौता अनुसारनै भएको थियो भने सम्झौताको तेश्रोबुदामा नेपालमा गोर्खा भर्ती जारी राख्न सहमती दिइयो । यहि सम्झौताको आधारमा बेलायत र भारतले नेपालबाट गोर्खा भर्ती गर्न थाले, जसले नेपाललाई आर्थिक रूपमा पनि फाइदा पुर्‍यायो भने उनिहरुले पनि बहादुर नेपाली गोर्खाहरुद्वारा आफ्नो सिमाना र भुमीको रक्षा र आन्तरिक सुरक्षा गर्ने मौका पाए । त्यसबेला गोर्खा रेजिमेन्टहरूलाई यसरी विभाजन गरिएको थियो ।

(क)बेलायततर्फ जाने चारवटा गोर्खा रेजिमेन्टहरू:
1. 2nd King Edward VII’s Own Gurkha Rifles (The Sirmoor Rifles)
2. 6th Queen Elizabeth’s Own Gurkha Rifles
3. 7th Duke of Edinburgh’s Own Gurkha Rifles
4. 10th Princess Mary’s Own Gurkha Rifles
माथी उल्लेखित यी रेजिमेन्टहरू पछि गएर ब्रिटिश गोर्खा ब्रिगेड (Brigade of Gurkhas) को हिस्सा बने । बेलायती रेजिमेन्टहरूलाई पछि गएर 1994 मा एकीकृत गरी “Royal Gurkha Rifles” नाम दिइयो।

(ख)भारततर्फ रहने छवटा गोर्खा रेजिमेन्टहरू:
1. 1st King George V’s Own Gurkha Rifles (The Malaun Regiment)
2. 3rd Queen Alexandra’s Own Gurkha Rifles
3. 4th Prince of Wales’s Own Gurkha Rifles
4. 5th Royal Gurkha Rifles (Frontier Force)
5. 8th Gurkha Rifles
6. 9th Gurkha Rifles

यी रेजिमेन्टहरू अहिलेपनि भारतीय सेनाको महत्वपूर्ण हिस्सा हुन । यिनिहरुलाई भारतिय सैनिक सेवामा स्थानान्तरण गराइ सके पश्चात आबश्यकतानुसार नाम र लोगोसमेत परिवर्तन एबं परिमार्जन गर्दै जनशक्ती पनि बढाउदै लगियो । भारतीय सेनामा रहेका गोर्खा रेजिमेन्टहरूले आफ्नो परम्परा र विरासतलाई कायम राख्दै विभिन्न ऎतिहासिक तथा आधुनिक युद्धहरूमा भाग लिएको देखिन्छ । हाल भारतिय सैनिक सेवामा ७ वटा गोर्खा रेजिमेन्टहरु रहेको चर्चा सुनिन्छ जसमा हजारौँ गोर्खा सैनिकहरु कार्यरत छन् भने हजारौ सेवानिबृतभै पेन्सन पाइरहेकाछन । प्रत्येक रेजिमेन्टले आफ्नो परम्परा, भेषभूषा र युद्ध कौशललाई निरन्तरता दिएका छन । गोर्खाहरुको मजबुत र गठिलो शारीरिक बनौटले गर्दा कठिन भूभाग र प्रतिकूल वातावरणमा पनि सहजै युद्ध गर्नसक्ने क्षमताका कारण गोर्खा सैनिकहरूलाई विश्वका उत्कृष्ट सैनिकहरूमा गणना गरिन्छ ।

भारतीय सेनामा गोर्खा सैनिकहरूको योगदान

भारतीय सेनामा गोर्खा सैनिकहरू महत्वपूर्ण हिस्सा बनेका थिए र अहिलेपनि उनिहरुको महत्व झनैबढेको अबस्थालाइ विभिन्न दृष्टिकोणबाट बुझ्नसकिन्छ । उनीहरूले विभिन्न युद्ध र अपरेशनहरूमा उल्लेखनीय योगदान दिएका छन्, जस्तै उदाहरणको लागी सन 1947-48 को कश्मिर युद्ध, 1962 को भारत-चीन युद्ध, 1965 र 1971 का भारत-पाकिस्तान युद्धहरू, 1999 को कारगिल युद्ध तथा संयुक्त राष्ट्रसंघमा शान्तिस्थापनार्थ खटिएर गरेको सेवा आदिलाई लिनसकिन्छ । गोर्खा पल्टनहरूको आदर्श वाक्य “जय महाकाली, आयो गोर्खाली” भन्ने रहेको छ भने परम्परागत हथियारमा नेपाली भोजपुरे खुकुरी राखिएको छ । नेपालको खुकुरी नै गोर्खा सैनिकको सान हो । गोर्खा सैनिकको निशानमा भने गोर्खाली परम्परा र साहस झल्काउने प्रतीक चिन्ह राखिएको छ ।

गोर्खा सैनिकहरूले भारतीय सेनामा उत्कृष्ट योगदान गरेबापत थुप्रै सम्मान र पदकहरू पाएका छन्, जस्तै:
– परमवीर चक्र (भारतको सर्वोच्च सैनिक सम्मान) ।
– महावीर चक्र र वीर चक्रजस्ता प्रतिष्ठित पदकहरू ।
गोर्खा सैनिकहरूको योगदानले भारतीय सेनालाई मात्र होइन, विश्वभरको सैनिक इतिहासमा एउटा अलग पहिचान दिएको छ । उनीहरूको साहस, कर्तव्यनिष्ठा र बलिदानको कथा पुस्तौंसम्म प्रेरणादायी रहनेछ ।

भारतमा लागुभएको अग्निवीर योजना के हो ?

अग्निवीर योजना भारत सरकारले सन 2022 मा भारतीय सेनाको भर्ती प्रणालीलाई सुधार गर्न र आधुनिक युद्धको आवश्यकता मा आधारित युवामुखी सेना निर्माणगर्न ल्याएको योजना हो । यस योजनाअन्तर्गत भारतीय सेनामा भर्ती भएका युवाहरुले शुरुमा “अग्निवीर” का रूपमा सेवा गर्छन् । यो योजना थल सेना, जल सेना, र वायु सेनामा समेत लागू गरिएको छ । अग्निवीरहरूलाई ४ वर्षका लागि मात्र भर्ती गरिन्छ । ४ वर्ष पछि कुल अग्निवीरहरूको २५% लाईमात्र स्थायी रूपमा भारतिय सैनिक सेवामा समावेश गरिन्छ भने बाँकी ७५% को सेवा समाप्त गरिन्छ । चारबर्षसम्म सेवा गर्दा उनिहरुलाइ तोकिएको मासिक तलब सुबिधाका साथै पछि सेवानिवृत्त हुँदा “सेवा निधि” को रूपमा प्रत्येक अग्निवीरलाई करिब १२ लाख एकमुष्ट रकम दिएर बिदा गरिन्छ । यसरी निबृतहुनेहरुले भबिश्यमा कुनै प्रकारको पेन्सन पाउदैनन । यहि प्राबधानका कारण अहिले भारतिय सेनामा गोर्खा भर्ती प्राय ठप्प नै भएको अबस्था छ ।

अग्निवीर योजनामा नेपालको असहमति किन ?

नेपाल सरकारले अग्निवीर योजनामा विभिन्न कारणले असहमति जनाएको कारण भारतिय सेनामा ऎतिहासिक गोर्खा भर्ती रोकिदा भबिश्यमा भारतिय सेनामा नेपाली गोर्खा रेजिमेन्टको उपस्थिती नै नरहने हो कि भन्ने चिन्ता ब्याप्त छ । नेपाल र भारतका सेनाप्रमुखहरुको भेटमा समेत यो बिषयलाइ बारम्बार उठाइएको समाचारमा सुन्नपनी पाइन्छ तर ठोस कुनै निर्णय भएको अबस्था भने छैन । नेपाल असहमत हुनुका केही कारणहरु निम्न रहेकाछन ।

१) सामरिक र कूटनीतिक कारण
सन 1947 मा भारत, बेलायत र नेपालबीच भएको त्रीपक्षिय सम्झौता अनुसार गोर्खा सैनिकहरूलाई दिइने सेवा सुविधाहरू सुनिश्चित गर्नुपर्छ । अग्निवीर योजनाले स्थायी रोजगार र पेन्सन सुविधाहरू प्रदान नगर्ने भएको अनि त्यही सम्झौताले शुरुभएको गोर्खा भर्तिलाइ भारत सरकारले एकतर्फीरुपमा निर्णय गरेको नेपाल सरकारकारको बुझाइछ ।
नेपाल भारतबिचको सदियौ देखिको सम्बन्धको प्रमुख कडिको रुपमा गोर्खा भर्ती पनि एक हो । यहि परिबेशमा शुरु भएको एकदेशको सेनाप्रमुख अर्कोदेशको मानार्थ सेनाप्रमुख हुने गौरबपुर्ण परंम्परा, सम्मान र सम्बन्धपनि रहि आएकोछ । गोर्खा सैनिकहरूको सेवा अवधि छोट्याउनुले नेपाल-भारत सम्बन्धमा नकारात्मक प्रभाव पर्न सक्ने डर दुबै पक्षमा रहेकोले यसमा शिघ्र ठोस निर्णय लिन जरुरी देखिन्छ ।

२) सामाजिक र आर्थिक प्रभाव
गोर्खा सैनिकहरू नेपालको दिर्घकालसम्मका अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा पनि हुन् । अग्निवीर योजनाले उनिहरुको सेवा अवधि छोट्याउने भएकाले उनीहरूले नेपालमा पठाउने रेमिट्यान्समा कमी आउने देखिन्छ भने अर्कोतिर सेवा समाप्तिपछि पेन्सन नभएकाले भूतपूर्व गोर्खाहरूको आर्थिक स्थायित्व कमजोर हुनजान्छ । चारबर्षे अस्थाइ जागिर खाएर फेरि अर्को रोजगारीको लागि भौतरिनुपर्ने अबस्था उनिहरुको हुनेछ । नेपालमा बिगतमा शुरु भएको माओबादी शसस्त्र बिद्रोहकोकारण ठूलो धनजनको क्षती भएको, देश बिकासको हिसाबले बिसौबर्ष पछाडी धकेलिएको साथै दण्डहिनता र सामाजिक सद्भाव नै खल्बलिएको तितो अनुभव पनि छ । यस्तो परिबेशमा भोलिका दिनमा त्यसरी सैनिक तालिम लिएर फर्किएका बेरोजगार युवाहरुलाइ फेरि कुनै समुहले प्रयोग नगर्ला भन्नपनी सकिँदैन । नेपालको यो चिन्ता पनि आफ्नो ठाउमा जायज देखिन्छ ।

३) नेपालको आन्तरिक राजनीति
नेपालका केही राजनैतिक पार्टी वा समूहहरूले गोर्खा भर्ती लाई उपनिवेशवादको, गुलामीबादको परम्परा भन्दै बिगतै देखी विरोध गर्दैआइरहेका स्वरहरु पनि नसुनिएका हैनन, तथापी नेपाली समाज र युवाहरुमा तिनिहरुको कराइको खासै प्रभाब परेको देखिदैन । अग्निवीर योजनाले भने यस बहसलाई थप बल दिएको बुझ्न सकिन्छ । नेपाल सरकारले भारतसँग यो योजनाबारे स्पष्ट जवाफ माग गर्नुपर्दछ । नेपाली गोर्खा भर्तिको हकमा भारतले पुरानै ब्याबस्था हुबहु कायम राखेर यो समस्याको निकास खोज्न ढिला गर्नुहुदैन । भारतले यसै योजना अन्तर्गत नेपालका युवाहरूलाई आफ्नो सैनिक सेवामा सहभागी गराउन चाहान्छ, तर नेपालले गोर्खा भर्तिको हकमा पुरानै ब्याबस्था कायम नभएसम्म सहमति दिन सक्ने स्थिती देखिदैन ।

निष्कर्ष

सन 2047 मा बेलायती र भारतिय रेजिमेन्टहरुमा गरिएको गोर्खा सैनिकको विभाजनले गोर्खा सैनिकहरूको भूमिकालाई अन्तर्राष्ट्रिय रूपमा थप मजबुत बनायो । गोर्खा रेजिमेन्टहरू अहिले पनि भारतीय र बेलायती सेनामा बहादुरीको प्रतीक मानिन्छन् । नेपाली गोर्खा सैनिकको बहादुरीता, रणकौशल क्षमता, धैयता, साहश, कमाण्डरको आदेशमा आफ्नो ज्यान को प्रवाह नगरी शत्रुमाथी मेघ गर्जिए झै गर्जिदै जाइलाग्ने बलिदानी साहासिक आज्ञापालनता बिश्वमै उदाहरणिय मानिन्छ । यस्तो सेनाको गोर्खा शक्तिलाइ खण्डित पार्ने गरि ल्याइएको अग्निबिर योजनाले समग्र भारतिय सैनिकको युद्धक्षमता नै कमजोर हुने देखिन्छ भने नवप्रबेशी गोर्खा सेनाको हक, हितमापनि यो योजना रहेको देखिदैन । यो योजनाले भारत सरकारलाइ केवल भबिश्यमा बढ्दो पेन्सन खर्च वृद्धि रोक्नको लागि मात्र सफलता प्राप्त गरेको छ ।

गोर्खा भर्तीले भारतिय सैनिक सेवालाइ मात्रै नभइ नेपाल र भारतबीचको सम्बन्धलाई पनि थप बलियो बनाएको तथ्यलाइ दुबै राष्ट्रले बिर्सनु हुदैन । गोर्खा सैनिकहरूको अनुशासन, बलिदान र वीरता आज पनि भारतीय सेनामा सम्मानपूर्वक स्मरण गरिन्छ । गोर्खा सैनिकहरू इतिहासका महत्वपूर्ण हिस्सा हुन्, जसले आफ्नो पहिचान र परम्परालाई विश्वभर चिनाएका छन् । अग्निवीर योजना भारतको सैनिक संरचना सुधारका लागि महत्त्वपूर्ण कदम भए पनि नेपालका लागि यो योजना कूटनीतिक, आर्थिक र सामाजिक रूपमा चुनौतीपूर्ण देखिएको छ । गोर्खा भर्तीको हकमा मात्र लागुहुने गरि भनेर भारत सरकारले पुरानै प्राबधान लागू गराएर यो समस्याको निराकरण गर्नुनै बुद्धिमानी कदम हुनसक्छ । नेपाल-भारत सम्बन्धमा नयाँ संवाद र नयाँ सम्झौताका ढोका र अवसरहरू खोल्ने माध्ययम पनि यो प्रकरणले सिर्जना गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु