चितवनको गौरव र गरिमामय प्रस्तुति भन्ने नाराका साथ विगत १८ वर्षदेखि आयोजना हुँदै आएको चितवन महोत्सव समयको यति ठुलो अन्तरालपछि थप परिस्कृत हुनुपर्नेमा झन् अव्यवस्थित बन्दै गइरहेको छ । उत्पादक, बिक्रेता र उपभोक्तालाई एक ठाउँमा भेट हुने वातावरण बनाएर उद्योग र व्यवसायमा सकारात्मक टेवा दिने उद्देश्यमा महोत्सव कति सफल भयो ? अहिलेसम्म कुनै अध्ययन भएको छैन ।
चितवन महोत्सवका पछिल्ला संस्करणहरु हाटबजारमै सीमित भएका छन् । महोत्सव आयोजक र महोत्सवमा स्टल राख्नेहरुको प्रमुख उद्देश्य नै कसरी हुन्छ पैसा कमाउने भन्नेमै केन्द्रित भएको पाइन्छ । महोत्सवमा प्रवेशका लागि यसपालिदेखि टिकट दर सय रुपैयाँ बनाइयो । सय रुपैयाँको टिकट काटेर महोत्सव अवलोकन गर्न जाने दर्शकले महोत्सव परिसरमा भिड व्यवस्थापन नहुँदा बिचमै फर्केर आउनु परेपछि यसलाई कसरी सफल मान्ने ?


शनिबार सबैको फुर्सदको दिन हो । महोत्सव अवलोकनका लागि धेरैजसोले यही दिन रोज्छन् नै तर टिकट काट्न आए भन्दैमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गर्दा माघ ५ गते शनिबार चितवन महोत्सव परिसरमा अप्रत्यासितरुपमा दर्शकको भिड भयो । महोत्सवमा थेगी नसक्नु भिड भएपछि कोलाहलकै वातावरण बन्यो । सांस्कृतिक कार्यक्रम हुने स्टेजतिर गइरहेका दर्शक र त्यतातिरबाट फर्किरहेका दर्शकको ठेलमठेलमा बालबालिका निसास्सिए । एउटा प्रदर्शनी कक्षको टेबुल नै भत्कियो । केही दर्शकहरु त्यही स्टलभित्रबाट छिरेर अर्को स्टलहुँदै अर्को बाटोतिर निस्किए । धन्न ठुलो दुर्घटना हुन पाएन ।
महोत्सव अवलोकनका लागि तोकिएको दररेटको टिकट काटेर दर्शक महोत्सव परिसरभित्र छिरेपछि उनीहरुको सुरक्षाको जिम्मेवारी महोत्सव आयोजकको हुन्छ । ठाउँठाउँमा सुरक्षाकर्मी (गार्ड) राखेर भिड व्यवस्थापन गरिनु पर्ने हो, तर आयोजक उद्योग वाणिज्य संघले यसतर्फ ध्यान दिएको पाइएन । हातमा काखेबच्चा लिएका आमाहरुदेखि लिएर किशोरकिशोरी, बालबालिका र वृद्धवृद्धा भिडको धक्कमधक्का सहेर भिडसँगै लतारिए । त्यो भिडमा कोही किचिएर अकल्पनीय दुर्घटना भएको भए के हुन्थ्यो ?
महोत्सव परिसरमा दर्शक हुल्नु मात्र महोत्सव आयोजनाको सफलता होइन । दर्शकलाई सुरक्षितरुपमा महोत्सवको अवलोकन गर्ने वातावरण आयोजकले मिलाउनु पर्छ । धुलोरहित भनिए पनि महोत्सव परिसरमा दर्शकको चाप धेरै भएर धुलो उडेको थियो । सांस्कृतिक कार्यक्रम हुने स्टेजतिर जाने र फर्कने बाटो एउटै हुँदा भिडमा निसास्सिनु पर्ने अवस्था आएको थियो । तत्कालका लागि भिड व्यवस्थापनका उपाय अवलम्बन गर्दै चितवन महोत्सवका अबका संस्करणहरुमा दर्शकले दुःख नपाऊन् भन्नेतर्फ आयोजकको ध्यान जाओस् ।