आस्था र विचारबिनाको मानिस हुँदैन । त्यसैले ममा पनि आफ्नै स्वतन्त्र विचार, विश्लेषणहरु थिए र आज पनि छन् । कुरा विद्यार्थी कालबाटै शुरु गर्न चाहन्छु । २०३५ सालमा पाकिस्तानमा जुल्फिकर अलि भुट्टोलाई फाँसीको सजाय दिएपछि त्यसको व्यापक विरोध अन्तर्राष्ट्रियस्तरमै भयो । त्यसैको प्रभावमा नेपालमा आन्दोलन नै शुरु भयो । त्यसबेला म ५ कक्षामा पढ्थेँ । हामीले पढिरहेको बेला कक्षामा अनेरास्ववियु विद्यार्थी संगठनका नेताहरु आएर अब पढाइ होइन, देशको विकास र प्रजातन्त्र प्राप्तिको लागि हाम्रो संघर्षमा साथ दिन हडताल गर्नुपर्छ भन्दै जोशिला मिठा भाषण गर्नुभयो । दैनिक उही कक्षाकोठा, उही शिक्षक, उही डेस्कबेन्च, उही पुरानै प्रकृतिको पढाइबाट वाक्क भएका हामीहरुलाई केही समयका लागि भए पनि नयाँ वातावरणमा स्वतन्त्र भएजस्तो लाग्यो । पत्रपत्रिकामा पढ्न नपाइने, रेडियोमा सुन्न नपाइने देशविदेशका नौला कुराहरु सुन्न पाउँदा खुशी भयौँ । गाउँगाउँबाट उठ…., बाबाले सोध्लान् नि…. आदि त्यसबेलाका क्रान्तिकारी भनिने गीतहरु सुन्न र गाउन पाउँदा खुबै रमाइलो महसुस भयो । कांग्रेस, कम्युनिष्ट भनेका त साँच्चिकै देश बनाउने मान्छे रहेछन् भन्ने ठानियो अनि उनीहरुले नै दिएका प्रचार सामग्री पर्चा र पम्प्लेटहरुलाई लुकिछिपी गाउँघरमा रातिराति टाँस्दै फाल्दै गर्दागर्दै बहुदल कि निर्दल भन्ने चुनावको माहौलमा आफैलाई होमियो । त्यसै बेलादेखि बिस्तारै म कम्युनिस्ट विचारधारातर्फ मोडिएँ ।
देशमा स्थापित तर प्रतिबन्धित राजनैतिक पार्टीहरुबारे धेरै ज्ञान नभए पनि कांग्र्रेस र कम्युनिस्टकै बारेमा विद्यार्थीहरुबिच छलफल हुने गर्दथ्यो । पढाइकै सिलसिलामा एसएलसी पास गरेर पिएन क्याम्पस पोखरा आएपछि खुलेरै अनेरास्ववियु (पाँचौं) मा आबद्ध भइयो । यसै क्रममा २०४६ सालमा प्रहरी सहायक निरीक्षक दर्जाबाट नेपाल प्रहरीमा प्रवेश गरेपश्चात जागिरे जीवनमा आफ्नो कर्तव्य र कामकारबाहीहरु पूर्णरुपमा स्वतन्त्र रहेर सम्पादन गरे । ३० वर्षे जागिरे जीवनबाट अवकाश भएपछि म पुनः पुरानै विचारधारालाई पछ्याउँदै जनताको बहुदलीय जनवादको सिद्धान्तलाई अँगाल्ने नेकपा एमालेमा आबद्ध भए । मैले आफ्नो पार्टीभित्र सधैँ आफूलाई लागेको विषयमा फरक सुझाव राख्दै आएको छु । यो गणतन्त्रबाट देश उँभो लाग्दैन, यो व्यवस्थाको विकल्प खोजिनु पर्छ, देशमा स्थायी अभिभावकको रुपमा संसद नियन्त्रित संवैधानिक राजसंस्था चाहिन्छ चाहिन्छ । यसको पहल नेकपा एमालेले नै गर्नुपर्छ ता कि भोलिका दिनमा अरुले यही कुरा उठाउँदा अरुकै मुद्दामा एमाले गणतन्त्रमा जस्तै लतारिदै जान नपरोस् भन्ने सुझाव राख्न चाहन्छु ।
म नेकपा एमालेको कार्यकर्ता भए पनि कुनै विपक्षी पार्टीले वा कसैले राम्रो कार्य गर्छन् भने उक्त कार्यको मैले समर्थन गर्छु । नराम्रो कार्य गर्ने जोसुकैको विरोध गर्छु, चाहे त्यो आफ्नै पार्टी वा आफ्नै पार्टीको नेता किन नहोस् । म नेकपा एमालेको इमान्दार पार्टी सदस्य हुँ, पार्टीका कार्यक्रममा भाग लिन्छु । पार्टीलाई सकेको सहयोग गर्छु, बदलामा पार्टीबाट केही पाउने आश पनि राख्दिन अनि कुनै नेताको झोला पनि बोक्दिन अर्थात् म झोलाछाप झोले हैन, बन्दिन । अन्य पार्टीका कार्यकर्ताहरु पनि आ–आफ्नो पार्टीको समर्थक सहयोगी बनुन्, प्रचारक रहुन् तर पार्टी वा नेता वा विदेशीको पिछलग्गु झोले, दास र एजेन्ट नबनुन्, बन्नुहुँदैन, हुनुहुँदैन भन्ने ठान्दछु । अग्रजहरुको विचार बोक, झण्डा नै बोक्नु छ भने राष्ट्रको बोक, झोला नै बोक्नु छ भने दुःखी, असहाय, रोगी र वृद्धवृद्धाको बोक, चिन्तन नै गर्नुछ भने देशको गर, देशकै झोला बोक ।
सबैले सत्यता र यथार्थताको धरातलमा टेकेर सबै पार्टी र तिनका सिद्धान्त अनि विचारको सम्मान र चिन्तन गर्ने, विश्लेषण गर्ने, अनुशासित साझा नागरिक बन्न सक्नुपर्छ । आजकल देशमा सबैजसो पार्टीका कार्यकर्ताहरु आफ्नो पक्षकोले जे बोले, जे गरे पनि समर्थन गर्ने र अर्को पक्षकोले राम्रो गरे पनि विरोध गर्ने, गाली गर्ने, छाडा अश्लील बोल्ने संस्कारबाट ग्रसित छन् । यो उनीहरुको सांगठनिक अनुशासन हो वा लहैलहैमा लाग्ने उच्छृङ्खलपन वा दासप्रवृत्ति वा निराशावाद ? चाकडीवाद हो वा केही झर्ला र खाउँला भन्ने लोभ ? केही बुझ्न सकिएन । कम्तीमा मलाई त्यो बन्धनको डोरीले बाँध्दैन र म बाँधिन पनि चाहन्न । सबैले आ–आफ्नो पार्टीको अनुशासनमै रहेरै, इमान्दार सदस्य भएरै कालोलाई कालो र सेतोलाई सेतो नै हो भनेर भन्न सक्नुपर्दछ । भ्याभ्या गर्दै, पछिपछि दौडिँदै कराउनेहरुलाई सोध्न चाहन्छु कि लहैलहैमा दगुर्ने तिमीहरु पार्टीका विचारक हौ वा दास हौ वा भेडा जमात हौ ?
१०४ वर्षको जहानिया राणाशासनको अन्त्यपछि २००७ सालमा त्रिपक्षीय सम्झौताबाट आएको भनिएको प्रजातन्त्रपश्चात् २०१७ सालदेखि झण्डै ३० वर्ष देशमा शासन सञ्चालन गरेको पञ्चायती व्यवस्थालाई पनि त्यसबेलाका राष्ट्रबादी भनिने मण्डलेहरुले देश, काल, परिस्थिति, हाबापानी र माटो सुहाउँदो राजनीतिक व्यवस्था भन्दै गुणगान गाएको सुनिएकै हो । राजा महेन्द्र निःसन्देह दूरदर्शी र राष्ट्रवादी पुरुष थिए, त्यो अलग कुरा हो । २०३६ सालपछि सुधारिएको पञ्चायती प्रजातन्त्र भन्न थालियो, जनताले पत्याइदिए, पञ्चहरुले ताली पड्काए । बिदेशीकै इशारामा आएको भए पनि २०४६ सालको जनआन्दोलनपश्चात संबैधानिक राजतन्त्र सहितको प्रजातन्त्रलाई भने जनताले भब्य स्वागत गरैरै स्विकारेका हुन्, बाजागाजा बजाएरै नाचेकै हुन तर पनि टिकेन वा टिक्न दिइएन । झोलाछापहरुको कमि भएर ब्यबस्था गएको त पक्कै होइन होला ?
२०४७ को संविधान जारी भएपछि नेपालको बिकासको स्तर र आर्थिक वृद्धिदर लोभलाग्दो थियो तर यो सफलतालाई बिदेशीले देख्नै सकेनन् । त्यसपछिका दिनहरुमा कहिल्यै दोहोरो अंकको आर्थिक वृद्धिदर फेरि हामिले देख्न पाएनौँ । नेपालको प्रगतिमाथि विदेशी कुदृष्टि पर्यो अनि नेपालीले नै नेपालीलाई मार्ने, दुःख दिने, अशान्ति र अस्थिरताको खेल शुरु गराइयो । निजीकरणको नाममा भएका उद्योग कलकारखाना ध्वस्त पार्ने काम भयो । २०५२ फागुनबाट शुरु भएको माओबादी बिद्रोहको ज्यादतिबाट आजित भएका जनताले माओबादी र सरकारतर्फका दुबैखाले बन्दुकको चेपुवामा हत्या, हिंसा, आतङ्क, लुटपाट र बलत्कारलाई सहन नसकी बाध्य भएर सडकमा उत्रिए । बिदेशीकै इशारामा १२बुँदे सम्झौताको डिजाइनमा शुरु भएको १९ दिने दोश्रो जनआन्दोलनबाट जनताको संविधान संबिधानसभाबाटै जनताले नै लेख्न पाउनुपर्छ भन्दै ल्याइएको अहिलेको गणतन्त्रात्मक ब्यबस्थालाई पनि निरीह जनताले देशमा राजनैतिक स्थिरता, बिकास र समृद्धि आउँछ भन्ने नेताका गफ र आश्वासन पत्याइदिन बाध्य भए । झोला छापहरु अहिले पनि यो ब्यबस्था र आफ्ना नेताको भजन गाउन ब्यस्त छन् । यहाँ हरेक झोलाहरु अर्थात झोलेहरु बिक्रीमा छन् । कोही एक छाक मासुभातमा बेचिन्छन्, कोही २÷५ लिटर पेट्रोलमा त कोही केही मूल्यमा, कोही सेवामा त कोही सेवकमा । एउटा नेता आयो कि सबै जना काम छोडेर त्यसैको पछि दौडिन्छन् ।
प्रजातन्त्रको बिकल्प प्रजातन्त्र नै हो र बहुदलीय ब्यबस्थामा फेरि पनि देशको शासन सत्ता सञ्चालन गर्ने भनेको दल अर्थात् राजनैतिक पार्टी र पार्टीमा आवद्ध नेताले नै हो यसमा दुइमत छैन र हुनु पनि हुँदैन । हाम्रो देशले सपनामा पनि देश देख्ने, नेपाल र नेपालीको उन्नति र प्रगति गर्न सक्ने, सारा नागरिकले गर्व गर्नलायक, दूरदृष्टि अनि बुद्धिविवेक, कुटनैतिक ज्ञान भएको, इमान्दार, आँटिलो राजनेता खोजिरहेको छ तर त्यो को हो ? कि जन्मेकै छैन वा जन्मेकै भए पनि जीवित रहेनन् कि ? त्यस्तो ब्यक्ति कोही भएर पनि कहिल्यै मौका नै पाएनन् कि ? अथवा मौका पाएर पनि सबैको साथ सहयोग पाएनन् कि ? हामीले विश्लेषण गर्नुपर्ने बेला आइसकेको छ । आज देशले देशहितको लागि कुनै निर्णय गर्दा भारत, चीन, रुस, अमेरिका, युरोपियन युनियन लगायतले के भन्लान् भनेर उनीहरुको चाहना बुझ्न थालिएको अबस्था उत्पन्न हुँदैछ । अब प्रत्येक नेपालीले देशको बिकास र राष्ट्रियताको बारेमा चिन्तन गर्नुपर्छ, पार्टीभन्दा देश सधैँ माथि रहन्छ भन्ने सत्यलाई अँगाल्नु जरुरी छ ।
अहिले देशको राजनितिक फिल्मको पर्दामा देखिएका कुनै पनि रैथाने पुराना वा अनुहारभरि खरानी घसेका नयाँ नेता वा पार्टीप्रति आफ्ना गुटका झुण्डबाहेक अरु नेपाली जनताको अगाध बिश्वास, भरोसा र प्रेम छैन तर पनि यो वा त्यो भनेर समर्थन गर्न र मनलागी नलागी कुनै एउटालाई भोट हाल्न नागरिक बाध्य छन्, उनैको पछि दगुर्न विवश छन् । जनताले यो ब्यबस्था र अहिलेका नेताहरुको बिकल्प चाहेका छन्, यो सत्य हो तर बिकल्प के त ? को त ? पत्याइहाल्ने नयाँ नेतृत्व पनि त मैदानमा देखिएका छैनन् । सबै पार्टीहरुमा व्यापक शुद्धिकरणको, नेतृत्व हस्तान्तरण र व्यापक पुनर्गठनको आवश्यकता छ । राष्ट्रियताको रक्षा र स्थायीत्वको लागि बिकल्पको रुपमा राजसंस्था नै देशको अभिभावक बन्नुपर्छ कि ? हिजो राजालाई देश बिगारे भनेर दोष दिने पार्टीहरुले आज किन आफैले देश बनाउन सकिरहेका छैनन् ? त्यसैले सबै एक ठाउँमा उभिएर हिजोका तितामिठा, रिसराग र छलकपटलाई बिर्सेर देशको लागि गम्भीर बहस गर्दै निष्कर्षमा पुग्न ढिला गर्नुहुँदैन ।
देश भ्रष्टाचारको दलदलमा फसेको छ । झुक्किएर वा बाध्यतामा वा बिपक्षीलाई ठेगान लगाउन वा दुनियालाई देखाएजस्तो गराउनको लागि कुनै एकादुई भ्रष्टाचारका मुद्दालाई अनुसन्धान गरेर कारबाहीको दायरामा लगियो भने पनि केवल सानातिना कर्मचारी र मतियारलाई मात्रै दोषी ठहर्याइ नेतालाई उन्मुक्ति दिने गरिएको छ । जबकि सबै भ्रष्टाचारका प्रमुख खलनायक नेता नै हुन् । पहिला पहिला सामान्य बजेटभन्दा बिकास बजेट बढी हुन्थ्यो तर अहिले देशको आयश्रोतले साधारण खर्च पनि धान्न हम्मेहम्मे छ । छुट्याइएको बिकास बजेट पनि खर्च गर्न नसकेर जात्रा छ । बेरुजुको आकार देशकै बार्षिक बजेटको हाराहारीमा पुगेको छ । संविधान र ऐन कानुन पनि नेतामात्रै जन्माउने फेक्ट्री र नेतै पाल्ने गरी बनाइएको छ । देशमा सानाठुला सरकारै सरकार छन् जसले जनतालाई करमात्रै थुपारेका छन, पैतृक सम्पत्ति नै बेचेर कर तिर्नुपर्ने अबस्था छ तर जनताले केही प्रतिफल पाउन सकेका छैनन् । स्थानीय सरकारहरुले पनि मनपरी निर्णयहरु गरिरहेका छन्, आसेपासे पालिरहेका छन् । सरकारी बजेट खर्च गर्ने प्रणाली नै गलत छ । एउटा डटपेन किन्दा समेत कमिसन खाने परिपाटी सबै कार्यालय एवं संघसंस्थामा मौलाएको छ भने ठेक्कापट्टा र ठुलाठुला टेन्डरको त कुरै नगरौँ । कमिसनखोर, बिचौलिया, आफन्तबाद र सिण्डिकेटधारीहरुको बिगबिगी छ तर पनि तिनलाई पाता कसेर मुन्ट्याउने, नियन्त्रण गर्ने आँट, हिम्मत, साहस, इच्छाशक्ति भएको दल र नेता कोही किन देखिँदैन ?
नागरिकहरुमा पनि नकारात्मकतामा रमाउने र राम्रो कामलाई पनि नराम्रो तरिकाले खिसिटिउरी गर्दै हावामा उडाउने प्रवृत्ति बढ्दो छ । गणतन्त्रको नाउमा छाडातन्त्र, भिडतन्त्र मौलाएको हो कि भन्ने महसुस नागरिकले गरिरहेका छन् । बिपीकै बिचार र चिन्तनको प्रचार गरेर नेका सुतिरहेको छ मानौँ कि उ ब्युँझिनै पर्दैन, सुध्रिनै पर्दैन ! नेकपा एमालेलाई पनि हामीसँग धेरै जनता छन् भन्ने घमण्ड र अस्वस्थ सोचको प्रतिस्पर्धाले धराशायी बनाउला जस्तो छ । हामीले रगत बगाएको ब्यक्तिपुजाको लागि थिएन भन्दै माओवादी कार्यकर्ताहरु पलायन भैसकेका छन् भने मधेसबादी, समाजबादीहरु क्षेत्रीयतामै सिमित छन् । सबै पार्टीबाट निरास भएका जनताको भावनालाई आफुतिर आकर्षित गर्न आएका नयाँ पार्टीहरुको आफ्नै नैतिक धरातल र सत्तालिप्साले आफै रसातालमा पुग्दैछन् भने राजाबादीहरु कहिल्यै एक हुन नसक्ने रोगले ग्रसित छन् ।
देशप्रति चिन्ता गर्ने युबायुबतीहरु सडकमा ओर्लिन त चाहन्छन् तर उनीहरुमा कुनै राष्ट्रबादी नेताको नेतृत्व छैन । यस अर्थमा फेरि पनि कांग्र्रेस र कम्युनिस्टले नै भुरेटाकुरे पार्टीलाई मिलाएर केही बर्ष आलोपालो सरकार चलाउने निश्चित छ तर कतिन्जेल ? सरकार जसले चलाउने हो चलाउ तर देश र नागरिकलाई शिरमा राखेर भबिष्यमा नेपाललाई बिश्वको कुनस्तरमा कहिले पुर्याउने हो भन्ने बिकासको मोडल तयार पारेर निश्चित समयको लक्ष्य तोकेर चलाउ । हामी जनतालाई निरीह नबनाउ, कुनै बिदेशीले कठै नेपालको राष्ट्रियता र बिचरा नेपाली भन्ने अबस्थामा नपुर्याउ । अब जनता पनि सुध्रिनु पर्छ, झोलाछाप झोले बन्नु हुँदैन अन्यथा कुनै दिन गाउँशहरबाट झोलाछाप झोले लखेट्ने अभियानको शुरुवात नहोला भन्न सकिन्न ।


