केही समय अगाडि म आफ्नो जन्म ठाउँ स्याङ्जा जिल्लाको आँधिखोलास्थित बढुवा गाउँमा गएको थिएँ । मेरा आदरणीय दाजु हातमा लौरो लिएर हा हा र हुइ हुइ गर्दै कराइरहनु भएको थियो । पहिलेको तुलनामा गाउँमा खानेपानी, बिजुली, इन्टरनेट, बाटोघाटो, स्कुल, कलेज, अस्पताल, प्रहरी कार्यालय, नजिकैको बजार, ग्यास इलेक्ट्रीक चुल्होमा खाना पकाउने लगायतका आधुनिकताका सबै गतिविधिहरुमा धेरै परिवर्तन र विकास हुँदै गैरहेको देख्दा खुशी पनि लाग्यो । अर्कोतर्फ बुवा हजुरबुवाहरुले बनाएका घर, खेतबारी, पाटीपौवा, चौतारीहरुले आफैलाई कुरिरहेको अवस्था अनि युवायुवतीविहीन रित्ता बस्तीहरु देखेर भित्रभित्रै मन भक्कानियो । हिजोका दिनमा छेउकुना जोतेर खनेर अन्न उब्जाउने खेतहरु बाँझै थिए भने बारीभरि सिरु घाँस अनि खरबारीहरु तितेपाती र रुखबिरुवाले भरिएका रहेछन् ।
आफ्नै गाउँको अवस्थाको अनुभव गरेपछि मैले देखेका देशभरका गाउँघर खाली हुनु पछाडिका कारणहरुबारे केही तथ्यहरु उजागर गर्न मन लाग्यो । २०५२ सालबाट शुरु भएको माओवादी विद्रोहले गाउँमा खेती किसानी गरेर स्वाभिमानपूर्वक बाँचिरहेका मध्यमवर्गीय परिवारहरुलाई सामन्त, शोषक, फटाहा, सुराकी, शत्रु, दुश्मन आदिको उपनाम दिँदै काट्न, मार्न, लुट्न, कुट्न, अपहरण गर्न अनि चन्दा आतंक मच्चाउन थालेपछि गाउँका धेरै परिवार जिउज्यान जोगाउनकै लागि बाध्यतामा परेर बिस्थापित हुन पुगे । निम्न वर्गीयहरु रोजीरोटीको लागि शहर पसे अनि गाउँमै बसेका धेरै युवायुवती बन्दुक बोकेर हिँडेबापत शान्ति सम्झौतापश्चात् पाएको पैसा मेनपावर दलाललाई बुझाएर खाडी छिरे । कोही उच्चशिक्षाको लागि भन्दै शहर पसे त कोही धेरै कमाउने र सुखसयलको जिन्दगी बिताउने उद्देश्यले विदेश भासिए । गाउँ छोडेकाहरुले शहर र विदेशमै आफ्नो पसिना बगाए तर फेरि फर्केर गाउँ गएनन् । त्यो बेलामा गाउँ छोड्नुको अर्को प्रमुख कारण सबै सेवासुविधाहरु र विकास शहरमा मात्रै केन्द्रित हुनु पनि थियो । अहिलेको मुख्यकारण भनेको बाघ, भालु, बाँदर, चितुवा, बँदेल, दुम्सी लगायतका जंगली जनावरले दिने हैरानी र दुःखले रहेछ । यिनीहरुमध्ये पनि बाँदरको आतंक प्रमुख देखियो ।
बाँदरलाई मानिसको पुर्खा पनि भन्ने गरिएको छ । दुई खुट्टाले उभिएर हिँड्न सक्ने, जंगलमा बस्ने, हेर्दा मान्छेजस्तै देखिने चारखुट्टे स्तनधारी जनावर हो बाँदर । धेरै चकचक गर्ने, बिगार गर्ने, बदमासी गर्ने, तहसनहस पार्ने, उटपट्याङ्ग काम गर्ने, रुखको टुप्पासम्म पुग्न सक्ने मान्छेलाई हामीले कस्तो बाँदरजस्तो रहेछ भनेर होच्याउने गर्छौं । किनभने यस्ता विशेषताहरु नै बाँदरमा पाइन्छन् । भनिन्छ कि बाँदरले आफ्नो घर पनि बनाउँदैन अनि अरुलाई बनाउन पनि दिँदैन । नेपालमा लोकल, ठिमाहा, ढेडु, गुनि, आसामी रातो, रातो लंगुर, खैरो लंगुर, हनुमानलगायत बाँदरका प्रजाति पाइन्छन् ।
अहिले गाउँमा आफ्नै पाखुरा बजाएर आफै उब्जाएर स्वच्छ वातावरणमा बस्न चाहने अधिकांशलाई बाँदरको आतंकले उठिबास लगाउँदैछ भने महङ्गो शहरी जीवन धान्न नसकेर गाउँ फर्किन चाहनेलाई पनि हतोत्साही गराएको अवस्था छ । कृषकको महिनौ बर्षौंदेखिको उत्पादन आशाको मेहनतलाई बाँदरले केही मिनेटमै सखाप पारिदिने गरेको छ ।
आजकलका बाँदरहरु मानिस देखेर डराउन छोडिसकेका छन् । धपाउन खोज्दा मानिसमाथि नै जाइलाग्दै चिथोर्ने कोपर्ने टोक्ने गरेको पाइन्छ । अहिले गाउँबस्तीहरु थप खाली हँुदैछन्, उर्वर खेतबारीका पाटाहरु बाँदरका बासस्थान बनेका छन् तर विगतैदेखिका सरकारले बाँदर नियन्त्रणतर्फ कुनै चासो नै देखाएका छैनन् । अझ भनौँ भने सरकारसित बाँदर समस्याको हल गर्नसक्ने कुनै ठोस दीर्घकालीन कार्ययोजना नै छैन । माओवादी बिद्रोहलाई शान्तिसम्झौतामार्फत ब्यवस्थापन गरे जस्तै यो बाँदर आतंकलाई पनि तत्काल सम्बोधन गरिएन भने थप खाद्य संकट र बेरोजगारी बढ्ने, गाउँ रित्तिने तर शहर भरिने, जनावरबाट जनावर र मानिस दुबैमा विभिन्न सरुवा रोगहरु सर्ने फैलिरहने अनि मानव र जनावरबिचको द्वन्द्व थप बढ्दै जाने निश्चित छ ।
गाउमा बाँदरहरुले बस्नै नसकिने अवस्था भएको भनेर विगतमा संसदीय समितिहरुमा आवाज उठेका र सामान्य छलफल पनि भएकै सुनिएको थियो । धादिङ्गका किसानहरुले बाग्मती प्रदेशसभा अगाडि धर्ना दिँदै नाराबाजी गरेका समाचार पनि पढिएकै हो । स्याङ्जाका प्रदेशसभा सांसदले गण्डकी प्रदेशसभामा आवाज उठाएका खबर पनि सुनिएकै हो तर यसको कुनै तार्किक निष्कर्ष निकालिएको भने कतै सुनिएन । दिनहुँजसो बाँदरले दुःख दिएको गुनासो लिएर गाउँका पीडित किसानहरु स्थानीय प्रशासन, बन कार्यालय, कृषि कार्यालय, निकुञ्ज लगायतमा धाइरहेकै छन् तर कहीँ कतैबाट सुनुवाइ भएको छैन । बिगतको निर्बाचनमा बाँदर समस्या हल गरिदिने उम्मेदवारलाई भोट दिने भन्ने गाउँबासीको भनाइ पनि आएकै हुन् ।
नेपालमा बाँदरको संख्या कति छ भन्ने कुनै आधिकारिक तथ्यांक भेटिँदैन । बाँदरले गाउँमा मात्रै होइन कि शहरमा समेत दुःख दिन थालेको सुन्नमा आएको छ । काठमाडौँ आसपासभित्रै स्वयम्भू, बालाजु, पशुपती क्षेत्रलगायत विभिन्न ठाउँमा १ लाखको हाराहारीमा बाँदर रहेको अनुमान छ । महेन्द्र राजमार्गलगायत देशका हरेक जिल्लाको यात्रामा निस्किँदा जताततै बाँदरैबाँदर देखिन्छन् । यो हिसाबले अनुमान गर्ने हो भने नेपालमा बाँदरको संख्या लाखौँ हुन सक्छन् भन्ने मेरो अनुमान रहेको छ ।
गाउँमा बाँदर नियन्त्रणको लागि हेरालो राख्ने, छेको हालेर लखेट्ने, अर्को गाउँतिर धपाउने, बन्दुक पटाका पड्काउने, विष हाल्ने, पासो थाप्ने, करेन्ट बिछ्याउने, राँको बाल्नेलगायत घरेलु उपाय अपनाइएको पाइन्छ । थाइल्यान्ड र भारतको हिमाञ्चल उत्तरप्रदेशमा जस्तै भाले र पोथी दुबैलाई बन्ध्याकरण गराइदिन पाए पनि केही वर्षभित्रै बाँदरको समस्या हल हुँदै जान्थ्यो कि भन्नेको मत पनि उठिरहेको छ । केही समय पहिला श्रीलंकाले २ लाख बाँदर चीनमा पठाउने सम्झौता गरेजस्तै कुनै उपयुक्त सम्झौता नेपाल सरकारले पनि गरोस् भन्ने चाहना नागरिकको छ ।
पहिलाका नेताहरुले विदेश जान र संरक्षणको नाउँमा केही डलर सहयोग पाइने आशमा जस्तासुकै प्रावधान राखिएका अन्तर्राष्ट्रिय सन्धिसम्झौतामा आँखा चिम्लेर सही धस्काएको कारणले नेपालबाट विदेशमा बाँदर निर्यातमा समस्या आएको अर्थात् विश्वको जैविक विविधताको संरक्षणमा लागेको अन्तर्राष्ट्रिय संस्था आइयुसिएन र वनस्पति तथा वन्यजन्तुको चोरीपैठारी रोक्नको लागि कार्य गर्दै आइरहेको संस्था साइटिसको नेपाल सदस्य अर्थात पक्ष राष्ट्र भएकोले विदेश निर्यात गर्न मिल्दैन भन्ने तर्क पनि गरिँदैछ । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐनले केही बाँदरलाइ संरक्षित प्रजातीको सूचीमा राखेको छ ।
अब राज्यले बाँदर नियन्त्रणको लागि कठोर निर्णय लिनेबेला आइसकेको छ । यसका मात्र दुई विकल्प छन् –
(१) मार्दै जाने । (२) विदेश निर्यात गर्ने ।
मार्ने कुरा गर्दा पशुअधिकारको कुरा उठ्छ । यो पृथ्वी सबैको साझा घर हो, यहाँ सबैलाई बाँच्ने अधिकार छ । सबैले बाँच्न, रमाउन पाउनुपर्छ भन्ने मेरो पनि मान्यता हो । फेरि हाम्रो धार्मिक परंम्परा र संस्कार अनुसार बाँदरलाई हनुमानको रुपमा पूजा गरिन्छ । त्रेता युगमा भगवान श्रीरामले समेत बानर सेनाकै सहयोगमा लंकामाथि विजय प्राप्त गरेको धार्मिक ग्रन्थमा पढ्न पाइन्छ । बाँदर र रामलाई भगवान र भक्तको रुपमा चिनिन्छ । त्यसैले धेरै हिन्दुधर्मावलम्बीहरु मार्ने कुरालाई सोच्नसम्म पनि सक्दैनन् । ऐनमा समेत बाँदर मार्नेलाई ६ महिनादेखि २ वर्षसम्म कैद वा दश हजार रुपैयाँ जरिवाना वा दुबै सजायको व्यवस्था भएको देखिन्छ ।
बाँदर नियन्त्रणका लागि बाँदरको विदेश निर्यातको बाटो अपनाउँदै यो समस्याको हल गरिनु पर्छ । बाँदरको समस्या समाधान नहुञ्जेल गाउँघरमा गरिने परम्परागत खेतीबालीको विकल्पमा खुर्सानी, बेसार, कागती, निबुवा, अम्रिसो, रेशमखेती, च्याउखेती, घाँसखेती, जडीबुटीखेती, पशुपालन, माछापालन, माहुरीपालन, कुखुरापालनलगायत वैकल्पिक पेशा व्यवसायतर्फ आकर्षित गराउनुपर्ने देखिन्छ । मान्छे नै खुवाएर बाघ पाल्न सकिँदैन भन्ने प्रधानमन्त्री केपी ओलीको केही दिन अगाडिको भाषणले यसबारेमा पनि कुनै ठोस निर्णय आउँछ कि भन्ने झिनो आशा भने अहिले जागेको छ ।


