प्रेमबस्ती माविका पूर्वविद्यार्थीहरुले स्थापना गरे अक्षयकोष

चितवन – भरतपुर महानगरपालिका–७ स्थित प्रेमबस्ती माविका पूर्वविद्यार्थीहरुले डेढ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । प्रेमबस्ती मावि एसएलसी ब्याच २०५३ का विद्यार्थीहरुले अक्षयकोष स्थापना गरेका हुन् ।

विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेनदार विद्यार्थीहरुलाई सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गरिएको एसएलसी ब्याच २०५३ का संयोजक भेषबहादुर पौडेलले जानकारी दिए । शनिबार सम्पन्न विद्यालयको ६७औँ वार्षिकोत्सव समारोहमा १ लाख ५० हजार ३ सय ३५ रुपैयाँको चेक विद्यालयका प्रधानाध्यापक रामेश्वर न्यौपानेलाई हस्तान्तरण गरिएको छ ।

चेक हस्तान्तरणका अवसरमा संयोजक पौडेलसहित पूर्वविद्यार्थीहरु नेत्रनारायण आचार्य, अनिल प्रसाईं, मीनबहादुर गुरुङ, सिर्जना दाहाल र सरला श्रेष्ठ र किशोर सापकोटाको उपस्थिति रहेको थियो । २८ वर्षपछि प्रत्यक्ष भेटेर, फेसबुक मेसेन्जर तथा ह्वाट्सएप ग्रुपमा जोडिएर ५० जना पूर्वविद्यार्थीबाट रकम संकलन गरेर अक्षयकोष स्थापना गरिएको संयोजक पौडेलले बताए ।

‘साथीहरुको सहयोगबिना यो सम्भव थिएन’ उनी भन्छन्, ‘हामीले गरेको आह्वानलाई सहर्ष स्वीकार गरी देशभित्र र बाहिर रहनु भएका साथीहरुले रकम पठाइदिनु भयो र यो कार्य सम्भव भयो ।’ उनले यो कार्यमा जोडिएका सबैलाई धन्यवादसमेत दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु