चितवन – सौराहामा महोत्सवका नाममा हात्तीलाई सास्ती दिने कामलाई निरन्तरता दिइएको कामप्रति नेपालकै सेलिब्रिटीले नै विरोध गर्न थालेका छन् । प्रसिद्ध पप गायिका अभया सुब्बाले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश राख्दै हात्ती पोलो प्रतिबन्धित हुनुपर्ने बताएकी छन् ।
‘पशु अधिकारको लागि तपाईंहरु कति जनाले आवाज उठाउन सक्नुहुन्छ ?’ भिडियो सन्देशमा सुब्बाले भनेकी छिन्, ‘चितवनमा इलेफेन्ट पोलो फेरि हुँदैछ । मलाई त लागेको थियो कि हात्ती पोलोमाथि धेरै अगाडि नै प्रतिबन्ध लागिसक्यो होला । तर पुन ब्युँताउने काम भएको रहेछ ।’
भिडियो सन्देशमा हात्ती पोलो असाध्यै क्रुर खेल भएको र यसमा हात्तीलाई शारीरिक र मानसिकरुपमा एकदमै गाह्रो पर्ने बताएकी छन् । ‘निर्दोष प्राणी हो हात्ती । हात्ती पोलो प्रतिबन्धित हुनुपर्छ’ उनले हात्तीको पक्षमा बोल्न आह्वान गर्दै भनेकी छन्, ‘यदि तपाईंहरुले हात्तीलाई माया गर्नुहुन्छ भने प्लिज, तपाईंहरुले आवाज उठाउनुहोस् । एकै स्वरमा भन्नुहोस्, हात्ती पोलोमाथि प्रतिबन्ध लगाउनु पर्छ भनेर ।’


