हात्तीलाई सास्ती र ध्वनि प्रदूषण रोकौँ

मानिसको मनोरञ्जनको लागि जनावरलाई प्रयोग गरिनु अनुचित काम हो । विशालकाय स्तनधारी जनावर हात्तीलाई मनोरञ्जनको साधनका रुपमा प्रस्तुत गरिनु गलत काम हो । कुनै पनि पशु र पक्षीलाई मान्छेको हितमा प्रयोग गरिनु उचित होइन । हात्ती लोपोन्मुख जनावर हो । मनोरञ्जनात्मकरुपमा हात्तीलाई प्रयोग गरिनु राम्रो काम होइन । हात्तीलाई सास्ती हुने काम बन्द हुनु पर्छ ।

विगतका वर्षहरुमा हात्ती महोत्सव भनी हात्तीलाई दौडाउने, फुटबल र पोलो खेलाउने गरिन्थ्यो । पशु अधिकारवादीहरुले विरोध सुरु गरेपछि अहिले हात्ती महोत्सवको नाम फेरेर हात्ती तथा पर्यटन महोत्सव राखिएको छ । नाम फेरिए पनि काम उस्तै । साँस्कृतिक कार्यक्रमका नाममा चर्को आवाज, होहल्ला कायमै । यो अवस्था आखिर कहिलेसम्म ?

क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा बर्सेनि सौराहामा हात्ती महोत्सव हुँदै आएको छ । यस वर्ष पुस ११ देखि १५ गतेसम्म रत्ननगर नगरपालिका–७, बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना गर्न लागिएको छ । यस महोत्सवमा पाँचै दिन दैनिक दुई घण्टा चर्को आवाजमा साँस्कृतिक कार्यक्रम हुँदैछ । यो कार्यक्रमले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा ध्वनि प्रदूषण हुनेछ ।

चर्को आवाजमा संगीत बजाउने, होहल्ला गर्ने कार्यले महोत्सवस्थल नजिकै बग्ने राप्ती खोला पारिको निकुञ्जमा आश्रित जनावरलाई असर पुग्छ । त्यसैले निकुञ्जको मध्यवर्ती क्षेत्रमा हुने ध्वनि प्रदूषण रोक्न आवश्यक छ । पर्यटनका नाममा पशुलाई सास्ती दिने काम कसैले पनि नगरौँ । आफ्नो स्वार्थका लागि जनावरलाई असर पर्ने काम गरिनुलाई राम्रो मान्न सकिँदैन ।

चितवनको सौराहामा आयोजना हुँदै आएको हात्ती महोत्सवमा जनावरमाथि ज्यादती भयो भनेर भर्खरै मात्र भारतीय चर्चित अभिनेता जोन अब्राहमले नेपाल सरकारका पर्यटनमन्त्री बद्री पाण्डेलाई पत्र पठाउनुले पनि जनावरलाई असर पर्ने काम गर्न हुँदैन भन्ने सन्देश दिएको छ । यदि सौराहाले साँच्चै नै संरक्षणमा साथ दिने हो भने त्यहाँ आयोजना हुने मेला वा महोत्सव जनावरमैत्री बनाउनु पर्छ । महोत्सवको स्वरुप परिवर्तन गरेर त्यसलाई निरन्तरता दिन सकिन्छ तर त्यसो गर्दा ध्वनि प्रदूषण र हात्तीमाथि सास्ती हुने काम भने बन्द गर्नुपर्छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु